जोखिममै सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा…
फाइल फाेटाे सामान्य अवस्थामा बिरामीलाई शल्यक्रिया गर्दा चिकित्सकलाई केही हदको जोखिम मोल्नुपर्छ नै । खतराको बीचबाट सफल हुने शल्यक्रियाले अझ बढी उनीहरुलाई पेशागत सन्तुष्टि मिल्छ । शल्यक्रियाबाट नयाँ जीवन प्राप्तिको अनुभव गर्नेले व्यक्त गर्ने खुशी यथार्थमा चिकित्सकको जीवनको सर्वोत्तम खुशी बन्छ । ती खुशीले नै चिकित्सकलाई जटिल परिवेशका माझमा थुप्रै चुनौतिसँग लड्ने ऊर्जा मिल्छ भन्ने उदाहरण पाउन सकिन्छ । यद्यपि त्यही उदाहरणीय काम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत स्त्रीरोग विशेषज्ञ डा.सुबी बस्न्यात नेतृत्वको टोलीले देखाएको छ । कर्णालीका सयौं महिलाको प्रसव वेदनासँग साक्षात्कार डा.सुबी र उनको नेतृत्वको टोलीलाई विश्वव्यापी सङ्कट बनेको कोरोना भाइरस (कोभिड-१९) को त्रासका बीच सात गर्भवतीलाई सुत्केरी र शल्यक्रिया गर्नु सहज थिएन । तथापि यही महामारीको सङ्कटमा उक्त टोलीले कोरोना सङ्क्रमित पाँच गर्भवतीलाई सुत्केरी र दुईजनालाई शल्यक्रिया गर्यो । “सामान्य सुत्केरीलाई शल्यक्रिया गर्दाको जोखिम त छँदै थियो तर यो महामारीको प्रकोपको बेलामा जोखिम झन् चरम बनेर आयो,” डा.बस्न्यातले भने, “कोरोना सङ्क्रमित महिलाको सुरक्षित शल्यक्रिया गर्नुका साथै आफू पनि त्यो सङ्क्रमणबाट बच्न त्यत्तिकै संयम हुनुपर्ने ।” शुरुको सिञ्जा गाउँपालिकाको कोरोना सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा निकै डर लागेर आएको उनले बताए । उनले अगाडि भने, “जटिल परिस्थितिमा टोलीमा रहेर विशेष सहयोग पुर्याउन नर्स तथा अपरेशन थिएटरका सबै स्टाफको ठूलो भूमिका छ । सबैको संयुक्त प्रयासले आफूसहित कोरोना सङ्क्रमित सुत्केरीको जीवन बचाउन र सुरक्षित राख्न सफल भयौं ।” टोलीले कालीकोट महावै गाउँपालिका, जुम्ला गुठिचौर, सिञ्जा, तिला गाउँपालिका र चन्दननाथ नगरपालिकाका कोरोना सङ्क्रमित सात गर्भवतीको शल्यक्रिया र सुरक्षित सुत्केरी गराएको थियो । त्यसैगरी, उनको नेतृत्वमा स्त्रीरोग विशेषज्ञ डा।राजीव शाह, एनेस्थेसियोलोजिष्ट डा.रविन खातुङलगायतको टोलीले मुटु रोगी सिञ्जा गाउँपालिका जुम्ला र ज्वरो रोगी महावै गाउँपालिका कालीकोटको सुत्केरी गराउनुपर्ने कोरोना सङ्क्रमितको सफल उपचार गरेर ज्यान जोगाएको थियो । स्त्रीरोग विशेषज्ञ डा.शाहले सङ्क्रमित सात गर्भवतीमध्ये चार जनालाई सामान्य सुत्केरी, दुई जनालाई शल्यक्रिया र एक जना सेभेएर प्रिक्लाम्सिया भएको गर्भवतीको पनि उपचार गराईएको बताए । “बन्दाबन्दी पूर्वप्रति महिनामा सुरक्षित गर्भपतनका १०-१५ केस आउने गरेकोमा त्यसपछि प्रति महिना ३०-४० केस आउने गरेका छन्,” उनले भने, “शायद बन्दाबन्दीका कारण गाउँमा स्वास्थ्य सेवा सहजै पाउन नसकेर अहिले गर्भपतनका केसहरु बढेको हुन सक्छ ।” ढाई वर्षको छोरी छोडेर उपचारमा डा.दम्पती काडमाडौं महानगपालिका १५ छाउनीका स्थायी निवासी स्त्रीरोग विशेष डा.सुबी बस्न्यात ढाई वर्षको छोरी छोडेर जुम्ला प्रतिष्ठान आएको अहिले सात महिना भयो । निर्वाध उपचार सेवामा खटिनु पर्दा घर जाने समय मिलेको छैन, उनलाई । यो समयमा गर्भवती महिलाको केस बढी आउने भएकोले घर जान नपाईएको बताउँछिन्, उनी । डा.सुबीको श्रीमान् एनेस्थेसियोलोजिष्ट डा.रविन खातुङ् पनि प्रतिष्ठानमै कार्यरत छन् । डा.दम्पती घरयासी मामलालाई भन्दा सेवालाई प्रधान ठानेर अहोरात्र खटिरहेका छन् । कर्णालीका गर्भवतीसहित सबै महिलाका दुःख र भावना बुझ्दै आएकी डा.बस्न्यात र उनीका श्रीमान् बिगत सात वर्षदेखि प्रतिष्ठान जुम्लामा काम गर्दै आएका छन् । “यतिबेला विश्व कोरोना महामारीको चपेटामा छ । सामान्य अवस्थामा त आफ्नो ड्युटी पूरा गर्नुपर्दछ भने यो विषम घडीमा पछि हट्ने कुरै भएन”, उनले भनिन्, “यहाँका महिलाको स्वास्थ्य सेवामा कमि हुन नदिन म सेवामै खटिएकी छु ।” शुरुमा छोरीका लागि तीन/तीन महिनाको अवधिमा घर जाने गरेपनि अहिले कोरोनाले त्यो अवस्था नरहेको उनले बताइन् । मेडिकल अफिसरका रुपमा पाटन अस्पतालमा काम गर्दै गर्दा प्रतिष्ठान जुम्लाका तत्कालीन उपकुलपति डा.पारसकुमार आचार्यको सहयोगमा विसं.२०७० सालमा डा.सुबी र उनको श्रीमान् डा.रविन जुम्ला आएका थिए। प्रतिष्ठानकै सहयोगमा डा.सुबीले एमडीईन गाईनोलोजी र डा.रविनले एमडीईन एनेस्थेसिया गरेका छन् । काडमाडौं महानगपालिका १५ छाउनी स्थायी घर रहेका डा.दम्पतिलाई जुम्ला प्रवेश शुरुमा असामान्य थियो । यद्यपि प्रवेश गरेको पहिलो महिनामा यहाँका खसभाषी महिलाको उपचारमा खटिँदा छोटै समयमै घुलमिल हुन सकिएको अनुभव डा.सुबीले सुनाइन् । यो सात वर्षको अवधिमा कर्णालीका महिलालाई उपचार सेवा दिन पाउँदा निकै सन्तुष्टि मिलेको डा.दम्पतीले बताईन् । नागरिकको सेवालाई पहिलो ठानेर सात महिनादेखि ढाई वर्षको छोरीलाई काठमाडौंमै छोडेर डा.दम्पति प्रतिष्ठानमा अनवरत रुपमा काम गर्दै आएका छन् । रासस
वाग्मतीमा अस्पताल निर्माण अन्तिम चरणमा, असोज १० गतेभित्रै बुझाउने प्रतिबद्धता
ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका-४ प्युटारस्थित थाङसिनटारमा गाउँपालिकास्तरीय अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःशर्त अनुदानमा ‘एक पालिका एक अस्पताल’ को अवधारणाअनुरूप उक्त अस्पताल निर्माणको कार्य अघि बढेको हो । गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले गत वर्ष २०७६ भदौ २० गते १५ शय्याको अस्पताल बनाउने योजनानुसार गत जेठ २० गते सम्पन्न हुनुपर्ने गरी काम अघि बढाएको ललितपुर क्षेत्र नं १ ख का प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले बताए । उनले भने, “प्रदेशले कुल तीन करोड ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । यसमा दुई करोड तीन लाख २२ हजार ९२२ रूपैयाँमा सम्झौता भएर काम अघि बढेको थियो ।” ज्ञानज्योति बिल्डर्स प्रालि नामक ठेकेदार कम्पनीले सो अस्पताल निर्माणको काम गरिरहेको सञ्जेलले जानकारी दिए । प्रदेश सरकारले वाग्मतीमा १५ शय्याको अस्पताल बनाउने उद्देश्यका साथ बजेट विनियोजन गरे पनि पाँच शय्याको मात्र भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनले भने, “भौगोलिक विकटता र कम जनसङ्ख्याको आधारमा हामीले यति शय्याको अस्पताल तयार गरेका छौं । बाँकी १० शय्याका लागि बिस्तारै काम अघि बढाइनेछ ।” विश्वव्यापी रूपमा फैलिरहेको कोभिड महामारीका कारण समयमै गर्नुपर्ने अस्पताल निर्माणको काममा ढिलाइ भएकाले आउँदो असोज १० गतेभित्रमा ठेकेदार कम्पनीले सम्पन्न गरी बुझाउने प्रतिबद्धता जनाएको लोप्चनले जानकारी गराए । करिब १२ रोपनी क्षेत्रफलमा दुई तलाको अस्पताल बन्नेछ । गाउँमा अस्पताल बन्ने कुरा भएपछि समाजसेवी प्रेम गोले र चतुरमान गोलेले तीन रोपनी नौ आना जग्गा दान गरेका थिए । यसमा बाँकी करिब नौ रोपनी सार्वजनिक जग्गा रहेको लोप्चनको भनाइ छ । रासस
चितवन मेडिकल कलेजले थाल्यो प्लाज्मा थेरापीबाट उपचार
काठमाडौं । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौंडा उपमहानगरपालिका-११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति दुई पोका ‘बि पोजेटिभ’ प्लाज्मा चढाइएको छ । बिहीबार नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए । पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषको रगत ‘बि पोजेटिभ’ रहेको थियो । दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले जानकारी दिए । कोभिड सङ्क्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरुको रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरुको भनाइ छ । पौडेलले भने, “प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो ।” अठार वर्ष उमेरमाथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना सङ्क्रमणमुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा भएको पौडेलको भनाइ छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक सातादेखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताए । उनले क्रमशः अन्य बिरामीलाई पनि आवश्यकता र उपलब्धताअनुसार प्लाज्मा थेरापी गरिने जानकारी दिए । जिल्लामा गम्भीर रहेका धेरै सङ्क्रमितको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । सो मेडिकल कलेजले कोभिड प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ । रासस