शनिबार नेपालभर ९९ जनामा संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ९९ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ९५९ पुगेकाे छ । नेपालमा आजसम्म २० लाख ९१ हजार १६६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २४८ जना निकाे भएसँगैं हालसम्म २ लाख ६७ हजार ८१२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा कसैकाे पनि मृत्‍यु भने भएकाे छैन ।

मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र

वाग्मती । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन न्यून हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त जानकारीअनुसार मकवानपुरमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १० मात्र रहेको बताइएको छ । मकवानपुरमा कोरोना पुष्टि भएका तीन हजार ८७५ मध्ये तीन हजार ८३३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भइसकेका छन् । सङ्क्रमित सबै हेटाँैडाका रहेको र होम आइसोलेशनमा उपचारतमा बसेको सो कार्यालयले जनाएको छ । कारोना सङ्क्रमण शुरु भएको ११ महिनामा मकवानपुरमा हालसम्म कोरोना सङ्क्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । साथै एक हजार २१९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको बताइएको छ । उक्त कार्यालयका अनुसार यही माघ १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानको आठाँै दिनसम्ममा एक हजार २१९ जनाले सो खोप लगाएको हो ।

नेपाललाई चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने

काठमाडाैं । चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उनका चिनियाँ समकक्षीले उक्त परिमाणको खोप सहयोगको घोषणा गरेकाे गएराति परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिनियाँ सहयोगप्रति मन्त्री ज्ञवालीले आभार व्यक्त गरेका छन् ।