जनशक्ति अभावले रोग नियन्त्रण गर्न चुनौती छ-डा. यदुचन्द्र घिमिरे
काठमाडौं । याे समय वर्षायामको हो । वर्षायाममा विभिन्न किसिमका सरुवा रोगहरूको जोखिम हुन्छ । झाडापखाला, आउँ, हैजा जस्ता रोग पनि यही समयमा देखिन्छन् । यस्तै, लामखुट्टेको टोकाइबाट लाग्ने, डेंगी, मलेरिया, कालाजार लगायतका रोगहरू पनि यही समयमा बढी लाग्छन् । हाम्रो जस्तो वातावरणको सफाइ राम्रो नभएको देशमा वर्षाको समयमा झन विभिन्न रोग सार्ने माध्यम बाहकको संख्या पनि बढ्ने र त्यसका कारण रोग पनि विभिन्न राेगहरू पनि थपिँदै जाने हुन्छ । यस्ता रोगहरू कतिपय खानाबाट, पानीबाट र रगत चुस्ने जिवहरूको टोकाइबाट सर्ने हुन्छन् । डेंगीको कुरा गर्ने हो भने अहिले नेपालमा यसको संक्रमण फैलिसकेको छ । रैथाने हिसाबमा लगातार हाम्रो देशमा पनि यो सिजनमा बढी देखिन्छ । यसको निगरानीका लागि इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गरिरहेको छ । हामीले प्रदेश र स्थानीय तहमा यस विषयमा छलफल गरिरहेका छौँ । यतिखेर हाम्रो मुख्य ध्यान डेंगीमा गइरहेको छ । डेंगी किटजन्य रोग हो । एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । यो हाम्रो देशमा सन २००४ देखि फाट्टफुट्ट देखा परेको थियो । २००९ पछि देशका विभिन्न ठाउँमा फैलन सुरु गरेको थियो । अहिलेसम्म आइपुग्दा डेंगीको संक्रमण भेटिन थालेको छ । तर, ७७ जिल्लामै यो रोग सार्ने लामखुट्टे देखा परेको छ कि छैन भन्ने विषयमा अध्ययन हुन सकेको छैन । अन्तबाट संक्रमण भएर रिपोर्ट भएको पनि हुन सक्छ । तर, धेरैजसो जिल्लामा रैथाने अर्थात त्यही ठाउँमा टोकेर त्यही ठाउँमा बिरामी भएर त्यही ठाउँबाट अरु स्वस्थ मान्छेलाई सारेको प्रमाण देखिएको छ र महामारी भएको पनि छ । काठमाडौ, चितवन, पोखरा, धरानमा महामारी नै भएको छ । यी ठाउँहरूमा रैथाने रूपमै रहेको छ । र, यी ठाउँमा यस्तो समस्या आउँछ भन्ने अनुमान सजिलै लगाउन सकिन्छ । यस्तो महामारी ति ठाउँमा आउँछ कि आउँदैन भनेर हामी चनाखो पनि भएका छौँ । यस्तो हुन नदिन सबैभन्दा महत्वपूर्ण रोकथामका कुराहरूमा ध्यान दिएका छौँ । त्यो भनेको बाहिरी वातावरण व्यवस्थापन हो । लामखुट्टेले फुल पार्ने, लर्भा निकाल्ने जुन ठाउँ छन् त्यस्तो ठाउँलाई नियन्त्रण गर्न सक्यौँ भने यसको नियन्त्रण हुन्छ । घरभित्र वरिपरि पनि यसको जोखिम हुन्छ । घरभित्र रहेको थोरै पानीमा पनि लामखुट्टेले अण्डा पार्न सक्छ । कुलर, गमला, एसीको पानी,ट्वाइलेट, बाथरुममा रहेको पानीमा पनी लामखुट्टेले अण्डा पार्छ । यस्ता विषयमा जानकारी गराउन हामीले स्वास्थ्यकर्मीलाई तालिम पनि दिरहेका छौँ । स्वास्थ्यकर्मीसहित जनसमुदायलाई सचेत गराउन अभियान नै सञ्चालन गर्ने योजना छ । लार्भा नष्ट पार्ने, रोग परीक्षणका कुरा र बिरामीको व्यवस्थापनका कुरामा हामीले ध्यान दिएका छौँ । यो वर्ष ७२ जिल्लामा डेंगी फैलिसकेको रिपोर्ट भएको छ । कुनै जिल्लामा भयावह अवस्था अहिले सम्म आएको छैन । यो वर्षको अहिलेसम्म १ हजार २ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । यसको मतलब नेपालमा यति जनामा मात्र संक्राण छ भन्ने होइन । कतिपय लक्षणबिहीन पनि हुन्छ । लक्षण देखा नपरेर पनि संक्रमण भएको हुन सक्छ । कुनै पनि व्यक्तीलाई एक पटक संक्रमण भएपछि चार किसिमको सेरोटाइप हुन्छ । नेपालमा कुन कुन टाइपको सेरोटाइप छ भन्ने गहन अध्ययन पनि भएको छैन । अहिलेसम्मको अध्ययन अनुसार एकजना मान्छेमा चार पटक सम्म चारवटा सेरोटाइप भएपछि एकपटक संक्रमण भएपछि त्यसलाई जीवनभरिलाई प्रतिरक्षा प्रणाली विकास हुन्छ । तर, यहाँ चार वटै सेरोटाइप छ या छैन भन्ने एकिन छैन । जनसमुदायमा धेरै व्यक्तिलाई विगतका वर्षमै संक्रमण भइसकेको छ । हाम्रो तयारी र नेपालमा भएको विगतको संक्रमणदर हेर्दा ठूलो महामारी होला भन्ने देखिँदैन । विशेषगरी प्रदेशले पनि यो विषयमा तयारी गरिरहेको छ । हामीले तीनै तहलाई जिम्मेवारी तोकेर रणनीति बनाइएको छ । लामखुट्टेजन्य रोग पहाडमा पनि सर्दै १० वर्ष अगाडि र अहिलेको तापक्रम फरक छ । पहिलो चिसो हुने ठाउँमा अहिले गर्मी हुन थालेको छ । तातो भइसकेपछि लामखुट्टेको लागि उपयुक्त ठाउँ हिमाल पहाड पनि हुन थाले । हामीले हिमाल पहाडमा डेंगी देखियो भन्छौ त्यहाँ पनि कुन ठाउँमा देखिएको हो भन्ने कुरा हुन्छ । मनाङ, मुस्ताङमा पनि कतिपय ठाउँ यस्ता छन् जहाँ गर्मी हुन्छ । रुकुमको चौरजहारी तराई जस्तै छ । यस्ता ठाउँ हिमाल पहाडका धेरै ठाउँमा छन् । ति ठाउँमा लामखुट्टे देखिने र यसको टोकाइबाट डेंगी देखिन्छ भने अर्को अब लामखुट्टले पनि कुन ठाउँमा कसरी बाँच्ने भन्ने कुरा सिकिसक्यो । वातावरण परिवर्तन भयो अर्को त्यही वातावरणमा कसरी बाँच्ने भन्ने कुरा लामखुट्टेले पनि जान्यो यिनै कारण हिमाल पहाडमा पनि यसको संक्रमण फैलियो । कतिपय कुराहरू पत्ता नलागेको पनि हुनसक्छ साँचो कुरा के हो भने लामखुट्टे नभएको ठाउँमा पनि पुगेका छन् । वषौँसम्म अण्डा जिवित रहन्छ अचम्मको कुरा के छ भने लामखुट्टेले यो वर्ष पारेको अण्डा वर्षौँसम्म जिवित रहन्छ । पाइप, टायर,गाडी र सामानको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँसम्म पुगेका अण्डा पानी परेपछि फेरि लामखुट्टेमा परिणत हुन्छन् । यो वर्ष लामखुट्टेले अण्डा पारेको ठाउँमा अर्को वर्ष पानी पर्दा त्यसबाट पनि बच्चा बन्न सुरु हुन्छ । यसको साइकल १० दिनसम्म हुन्छ । तीन–चार दिनमा फुलबाट लार्भा बन्छ, लार्भाबाट प्युपा बन्छ र त्यसबाट एडल हुन्छ । यसरी १० दिनमा लामखुट्टे बन्छ । त्यसरी बनेको लामखुट्टे त्यो ठाउँ उसका लागि सुहाउँदो छ भने बाँच्छ र छैन भने मर्छ । यो सरुवा रोग पनि हो डेंगी सरुवा रोग हो कि हैन भन्नेमा धेरै मान्छे अनविज्ञ छन् । यो एक प्रकारको सरुवा रोग नै हो । सरुवा रोग फरक फरक किसिमका हुन्छन् । एउटा मान्छेबाट मान्छेमा स्वासप्रस्वासको माध्यमबाट सर्छ भने अर्को सार्न माध्यम चाहिन्छ । डेंगी एकबाट अर्कोमा सर्न माध्याम चाहिन्छ । यो एकबाट अर्को मान्छेमा सर्न लामखुट्टे चाहिन्छ । एउटा डेंगी संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई टोक्यो भने डेंगी सर्छ । यसलाई हामी किटजन्य सरुवा रोग भन्छौँ । अध्ययन भएको छैन समुदायमा कति जनामा संक्रमण देखिएको छ । त्यसमध्ये कस्ता व्यक्तिमा यसको लक्षण देखपर्छ र कस्तो व्यक्तिमा लक्षण देखा पर्दैन । कुन सेरोटाइप नेपालमा छ भन्ने विषयमा गहन अध्ययन हुन सकेको छैन । यसका लागि ठूलो लगानी चाहिन्छ । र आवश्यक जनशक्ति पनि । हामीसँग दुवैको अभाव छ । सरकारले पनि सिमित मात्रामा बजेट छुट्याएको हुन्छ । यसका लागि हामीले विभिन्न अन्तरार्ष्ट्रिय संघसस्था सम्म पनि सहयोग माग्न कुरा गरिरहेका छौँ । डेंगी नियन्त्रणका लागि मुख्य कुरा भनेको सरसफाइ र जनचेतना हो । जनचेतनाको काम मुख्यतया स्थानीय तहको हो । यसमा कस्ता मापदण्ड बनाउने भन्ने विषयमा हामीले सहयोग गर्छौ र प्रदेशले यसमा समन्यवको भूमिका निर्वाह गर्छ । संविधानले नै यस्ता विषयमा संघ, प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै अधिकार दिएकाे छ । यसमा हाम्रो काम भनेको नीति निर्माण र मापदण्ड बनाउने , प्रदेशको काम उपचार कहाँ पुगेको छ , छैन, नपुगेको ठाउँमा के गर्ने, केन्द्र र सथनीयसरकारसँग कसरी सहकार्य गर्ने भन्ने हो भने, स्थानीय तहको काम भनेको नागरिकको घरदैलोमा पुगि कहाँ के छ , के गर्नुपर्छ भनेर सचेतना जगाउने काम हो । हामी तयारी अवस्थामा छौँ लामखुट्टेसँग जोडिने अनयरोग मलेरिया, कालाजार देखापर्छ । यी रोगहरूबाट बच्न एउटै विधि अपनाउनुपर्छ । त्यो हो लामखुट्टेको टोकाइबाट जोगिने । त्यसको लागि घरभित्र बस्दा जाली, झुलको प्रयोग गर्ने घर विरिपरि पानी जम्न नदिने, सरसफाइ गर्ने, बाहिर निस्कदा लामो बाउला भएको लुगा अथवा पुरै जिउ ढाकिने गरक कपडा लगाउनुपर्छ । यति गर्न सक्यो भने यि र यस्ता रोगहरूबाट बच्न सकिन्छ । त्यसैले हामीले यस्ता विषयमा चेतना जगाउन कार्यक्रम गर्ने भन्ने योजना अनुसार काम गर्ने तयारी गरेका छौँ । उपचार विधि के हुन्छ ? यो एक किसमको भाइरसबाट लाग्ने भाइरल रोग हो । भाइरस स्पेसेफिक खालको उपचार हुँदैन । यसले धेरै किसिमका समस्या ल्याउँछ । ति समस्यालाई हामीले विशेषगरी हेर्छौ यसका लागि यो नै उपचार हुन्छ भन्ने हुँदेन । यसले ल्याएको समस्या र जटिलतालाई हेरेर उपचार गरिन्छ । तर एउटा महत्वपूर्ण कुरा के हो भने स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाह बेगर औषधी खान हुँदैन । टायर, बट्टा, थोरै पनि पानी जम्ने आर्टिफिसियल भाँडामा यो रहन्छ । यस्ता चिज घरपरीपरी हुन्छन् । यस्तोमा हप्तामा एक पटक त्यो पानी फाल्नुपर्छ । इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको काम देशभरि फैलिएका विभिन्न किसमका रोग नियन्त्रण गर्ने हो । यसका लागि कस्ता नीति नियम र मापदण्ड आवश्यक पर्छन भन्ने विषयमा हामी काम गर्छौं। म यो महाशाखाको प्रमुख भएर आएको केही समयमात्र भएको छ । अहिले कस्ता रोगको संक्रमण फैलिरहेको छ यसको नियन्त्रणका लागि के गर्ने भन्ने विषयमा म छलफल गरिरहेको छुँ । काम गर्न दक्ष जनशक्ति चाहिन्छ । तर, हामीसँग जनशक्ति अभाव छ । यो महाशाखामा मात्र हैन । स्वास्थ्य क्षेत्रमै जनशक्तिको अभाव भएका बेला काम गर्न चुनौती पक्कै छ तर कुनै पनि रोग नियन्त्रणका लागि आफ्नो तर्फबाट हरसम्भव प्रयासरत रहने छु । (इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेसँग गरिएको कुराकानीमा आधारित)
रोबोटबाट सर्जरी, बिएण्डबी अस्पताललाई सफलता
काठमाडौं । ललितपुरको बिएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी भएको छ । सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन् । ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् । नेपालमा पहिलोपटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहेकी थिइन्। रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । देशमै पहिलो रोबोटिक सर्जरीको रेकर्ड बनाउन सफल डा. नूतन शर्माले यो सफलतालाई जीवनकै सर्वाधिक ठूलो उपलब्धि भनेकी छिन् । डा. शर्माले भनिन्, ‘यो मेरो करिअरको महत्वपूर्ण क्षण त हो नै, त्योभन्दा बढी नेपालको स्वास्थ्य क्षेत्रका लागि एक कोशेढुंगा हो । त्यसमाथि देशमै पहिलो रोबोटिक सर्जरी गर्ने सफलताको रेकर्ड हामीले राख्नु अर्को गर्वको विषय भयो ।’ बीएन्डबी अस्पतालका सहायक निर्देशक निरज वैद्यका अनुसार नेपालमै पहिलो पटक रोबोटमार्फत शल्यक्रिया सम्पन्न भएको हो । रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको शल्यक्रियामा पनि प्रयोगमा ल्याइने उनले जानकारी दिए । डा. वैद्यका अनुसार, यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत गरेको छ । शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा. शर्माले बताइन् । उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ । यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणामहरूमा सुधार ल्याउने उनको भनाई छ । रोबोटिक शल्यक्रिया न्यूनतम चिरफारमा सम्पन्न हुने हुँदा बिरामीहरूलाई पीडा खासै हुँदैन र घाउ अनि खत पनि धेरै रहन्न । तीन सय असी डिग्रिमै घुमेर शल्यक्रिया गर्न सक्ने रोबोटको चुस्त काम टाढैबाट गर्न सकिने हुनाले चिकित्सकहरु बिरामीबाट संक्रमित हुने सम्भावनालाई पूरै हटाएकोले यो स्वास्थ्यकर्मीहरुका लागि पनि लाभदायक भएको डा. शर्मा दाबी गर्छिन् ।
सुदूरपश्चिम प्रदेश सरकारले थाल्यो डेङ्गु र स्क्रबटाइफसविरुद्ध अभियान
बैतडी । सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ । गएको माघयता यहाँ एक सय १६ जनामा डेङ्गु तथा चार सय नौजनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि प्रदेश सरकारले अभियान थालेको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सबैभन्दा बढी स्क्रबटाइफसका बिरामी डडेल्धुरामा एक सय ९१ जना छन् । कैलालीमा ८२, अछाममा ४७, दार्चुलामा ३२, डोटीमा २५, कञ्चनपुरमा १७, बैतडीमा सात, बझाङमा सात र बाजुरामा एकजना सङ्क्रमितको अभिलेखीकरण भएको छ । यसैगरी, डोटीमा २७, कञ्चनपुरमा २६, अछाममा २३, कैलालीमा १९, बाजुरामा १२, बझाङमा पाँच, दार्चुला तीन, डडेल्धुरा एकजनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । बर्सात सुरु भएसँगै डेङ्गु र स्क्रबटाइफसका बिरामी बढ्दै जान थालेका निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । उनले भने, ‘वर्षा सुरु भएसँगै पहाडका साथै तराईमा पनि सङ्क्रमणको जोखिम बढेको छ । तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे कम देखिएका थिए अब पानी परेर लामखुट्टे बढ्ने र सङ्क्रमणको जोखिम उच्च हुनेछ ।’ पछिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिहरूको परीक्षण गर्दा डेङ्गु र स्क्रबटाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिहरूमा समेत डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । वर्षा सुरु भएसँगै पछिल्लो समय डेङ्गु र स्क्रबटाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ । उनले भने, ‘तराईका साथै पहाडमा पनि डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ, बर्सातको समयमा विशेष ख्याल गर्नुपर्छ ।’ बर्सातको समयमा किर्नालगायत किराहरूले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामीहरू बढ्ने गरेका हुन् । चौपाया नजिक गइरहनेलाई किर्नाले टोक्ने जोखिम बढी हुने बताउँदै उनले माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रबटाइफस हुने जानकारी दिए । विशेष गरी पशुपालक किसानलाई सावधानी अपनाउन उनले आग्रह पनि गरे । चिकित्सकहरूका अनुसार एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु लाग्ने गरेको छ । यो रोग लागेकालाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता आउने, पेट दुख्ने र पखाला लाग्ने, सास फेर्न समस्या हुने, लामो समयसम्म टाउको, जोर्नी र मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, टोकेको ठाउँमा कालो दाग बस्ने लक्षण देखिन्छ । डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरूमा सङ्क्रमित बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए । यसैबीच, डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि चेतनामूलक र सरसफाइ अभियान पनि सञ्चालन गरिएको छ । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका निर्देशनालयले जनाएको छ ।