समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न, पोखरा फाइनान्ससँगको मर्जर पारित

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौँ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो, हेटौडामा सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्य तथा प्रगतिबारे जानकारी गराएका थिए । साथै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण स्वीकृतिका लागि पेश गरिएकोमा सभाले सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रिया सर्वसम्मत रूपमा अनुमोदन गर्दै बाँकी प्रक्रिया सम्पन्न गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि आरएसएमए एसोसियट्सलाई बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय पनि सर्वसम्मत रूपमा भएको छ ।   

सेयर बजारमा ११ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा सामन्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २७३१ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३३४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै राधी विद्युतको ५४ करोड, एसवाई प्यानलको ४९ करोड, युनाइटेड मोदीको ४८ करोड र रिभर फल्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । बुधबारको कारोबारमा ५ वटा उपसमूहको सूचक घटेका छन् भने अरु बाँकी सूचक बढेका छन् ।  वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२४ प्रतिशत बढेको छ । कारोबारमा आएको बैंकिङ, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको हो ।   

६ महिनामा एक खर्ब नजिक जीवन बीमाको व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन-पुस) सम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज (बुधबार) सार्वजनिक गरेको तथ्यांकनुसार १४ जीवन बीमा कम्पनीहरुले पुससम्मममा १ करोड १४ लाख ५५ हजार २३५ बीमालेख जारी गरी ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । जुन रकम अघिल्लो आवको तुलनामा १७ प्रतिशत बढी हो । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीहरूले कुल ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । ६ महिनाको अवधिमा सबैभन्दा धेरै व्यापार नेपाल लाइफले गरेको छ भने व्यापार वृद्धिको सिहाबले राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि देखिएको छ । पुस मसान्तसम्ममा नेपाल लाइफले २५ अर्ब ५१ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समिक्षा अवधिमा कम्पनीको व्यापार १३.६० प्रतिशतले बढेको छ । दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा नेशनलन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको ६ महिनामा ११ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको यही अवधिको तुलनामा १८.३७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीहरुले ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । त्यस्तै तेस्रो धेरै व्यापार गर्ने कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले १० अर्ब २२ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले  ९ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको व्यापार ८.०९ प्रतिशतले बढेको छ । पुस महिनासम्ममा हिमालयन लाइफले ८ अर्ब ६२ करोड २० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ३३ करोड २७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ, एसियन लाइफले ४ अर्ब ६४ करोड २ लाख रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ४ करोड ११ लाख रुपैयाँ, सानिमा रियलायन्स लाइफले ३ अर्ब ६३ करोड ८२ लाख रुपैयाँ, मेटलाइफले ३ अर्ब २४ करोड २१ लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब १८ करोड ९८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब ९८ करोड ४४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ७९ करोड ६८ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ११ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा हिमालयन लाइफको ३.४९ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको १२८.२५ प्रतिशत, सूर्यज्योति लाइफले ११.८६ प्रतिशत, एसियन लाइफको १० प्रतिशत, सिटिजन लाइफको १९.४३ प्रतिशत, सानिमा रिलायन्सको १२.२८, मेट लाइफको १३.०२, आईएमई लाइफको ३०.७३, रिलायबल नेपालको २५.१३, प्रभु महालक्ष्मीको १५.२२ र सन नेपालको ५.५३ प्रतिशत व्यापार बढेको छ ।