११.५२ अंकले घट्यो नेप्से परिसूचक, करिब साढे चार अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.५२ अंकले ओरालो लागेको छ । नेप्सेका अनुसार आइतबारको कारोबारमा परिसूचक ०.४२ प्रतिशतले घटेर दुई हजार ७०८.२५ अंकमा कायम भएको हो । आइतबार विभिन्न ३३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ५८ हजार ८७ पटक रु चार अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ दशमलव ७२ मा कारोबार भएको छ । आज १७३ वटा कम्पनीको सेयर मूल्य घट्दा ७९ वटाको बढेको छ । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशत, एनआइबिएल समृद्धि फण्ड–२ को ५.८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ५.१२ प्रतिशतले घटेको छ । साथै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.६२ प्रतिशत, विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ३.९२ प्रतिशतले ओरालो लागेको छ ।
२५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार २५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ असोज १२ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
१ सय रुपैयाँमै एशियन लाइफको सेयर बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले साढे ३ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको छ । कम्पनीले आज भदौ २२ गतेदेखि भदौ २९ गतेसम्म ३ लाख ५८ हजार ५१२ कित्ता अवितरित हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले असार २५ गतेदेखि साउन २० गतेसम्म चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । अर्थात् कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा विक्री नभएको संस्थापक समूहतर्फको ३० हजार ३८ कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख २८ हजार ४७३ कित्ता गरी ३ लाख ५८ हजार ५१२ कित्ता सेयर लिलाम बिक्रीमा राखेको हो । कम्पनीको सेयर मूल्य न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकको ठिमी, कुमारी पाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा चिप्लेढुङ्गा, बाग्लुङ, बुटवल, घोराही दाङ, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।