बैंकलाई बीमा गर्न नदिँदा बीमा बजारमा ‘सन्नाटा’, जीवन बीमा कम्पनी बढी प्रभावित
काठमाडौं । बैंकलाई बीमाको संस्थागत अभिकर्ताको रुपमा काम गर्न नदिने नेपाल राष्ट्र बैंकको नीतिको असर बीमा बजारमा देखिन थालेको छ । मौद्रिक नीतिमार्फत् आएको राष्ट्र बैंकको यो नीति कार्यान्वयनको ३ महिना पुग्नै लाग्दा यसले बीमा बजारमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर देखिन थालेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिएसँगै त्रैमासिक रिपोर्ट बनाउने तयारीमा रहेका बीमा कम्पनीहरुले त्यसको संख्यात्मक तथा गुणात्मक समीक्षा गर्न थालेका छन् । बैंक र बीमा कम्पनीहरुबीच बैंकास्योरेन्सको नाममा सम्झौता भई कार्यान्वयन हुँदै आएको यस्तो कारोबारमा रोक लागेसँगै बीमकहरुलाई त्यसको असर कसरी घटाउने भन्ने चिन्ताले सताउन समेत थालेको छ । के थियो मौद्रिक नीतिमा ? मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिँदा राखिने सम्पत्तिको बीमा गर्न ऋणीले बीमा कम्पनी छनोट गर्न पाउने र ऋणसँग सम्बन्धित बीमाबाहेक अन्य बीमा पोलिसी बैंकले बेच्न नपाउने व्यवस्था गरिएको छ । ‘बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनैपनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था गरिनेछ ।’ मौद्रिक नीतिमा भनिएको छ । मौद्रिक नीतिको यही व्यवस्थाबमोजिम राष्ट्र बैंकले बैंकहरुलाई आवश्यक सर्कुलर समेत पठाइसकेको छ । मौद्रिक नीतिमा उल्लेख गरिएको ‘ऋणसँग सम्बन्धित बीमा’ भन्ने वाक्यांशले निक्षेप तथा कर्जा सुरक्षण कोषमा गर्ने ऋणको अनिवार्य बीमालाई बुझाउँछ । त्यसैले त्यो व्यवस्थाले अन्य प्रकारको बीमामा रोक नै लगाएको छ । अर्कोतर्फ बैंकबाट ऋण लिने ऋणीले आफ्नो सम्पत्तिको बीमा गर्दा बीमा कम्पनी आफैंले छनोट गर्न पाउने भएपछि बैंक र बीमा कम्पनीबीच हुनसक्ने अप्रत्यक्ष सहमतिको सम्भावनालाई समेत यसले अन्त्य गरिदिएको छ । बीमा कम्पनीहरुलाई तीनथरी प्रभाव बैंकास्योरेन्समा रोक लगाएसँगै बीमा कम्पनीहरुलाई खासगरी तीनओटा असर परेको बीमकहरु बताउँछन् । यसले एकातर्फ बीमा क्षेत्रको व्यापारमा प्रत्यक्ष असर पारेको छ भने अर्कोतर्फ बैंकमार्फत् विस्तार भएको बीमाको पहुँचलाई रोकिदिएको छ । त्यस्तै, बैंक र अन्य संस्थागत अभिकर्ता तथा बैंक र अन्य व्यक्तिगत अभिकर्ताबीच देखिने प्रतिस्पर्धात्मक वातावरणलाई समेत यसले प्रभाव पारेको तर्क बीमकहरुको छ । यी तीनओटै प्रभावलाई कम आँक्न नमिल्ने समेत उनीहरु बताउँछन् । बैंकास्योरेन्स बन्द हुँदा बीमाको बजार कति घट्यो भन्ने सम्बन्धमा बीमकहरुको एकमत छैन । कसैले यसले खासै असर नगरेको बताउँदा कसैले बजार नै डामाडोल हुँदै गरेको प्रतिक्रिया समेत अप्रत्यक्ष रुपले दिन थालेका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवानाथ पाण्डेले बैंकलाई संस्थागत अभिकर्ता बन्न रोक लगाएपछि बीमा व्यवसाय घट्ने कुरामा शंकै नभएको बताए । त्यसलाई कसरी सामना गर्ने विषय अहिले महत्वपूर्ण भएको उनी बताउँछन् । ‘संस्थागत अभिकर्तामा रोक लगाएपछि व्यवसाय घट्नु स्वभाविक नै हो तर हामीले त्यसको वैकल्पिक व्यवस्था गरेर कसरी बजार बढाउने भन्ने तर्फ ध्यान दिनु आवश्यक छ’ उनले भने । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री भने निर्जीवन बीमा बजारमा यो व्यवस्थाले खासै ठूलो असर नगरेको बताउँछन् । जीवन बीमा कम्पनीहरुलाई भने यसले केही असर गरेको हुनसक्ने उनको अनुमान छ । राष्ट्र बैंकले त्यस्तो रोक लगाएपछि अहिले बीमा समिति पनि वैकल्पिक उपायहरुको खोजी गरिरहेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल त्यस्तो नीतिबाट पर्ने प्रत्यक्ष र अप्रत्यक्ष असरलाई हटाउँदै बीमा बजारलाई थप विस्तार गर्दै लैजानेतर्फ विभिन्न विकल्पबारे छलफल भइरहेको बताए । उनले स्थानीय सरकारहरुसँग स्थानीय तहसम्म बीमा पहुँच पुर्याउन के कसरी सहकार्य गर्न सकिन्छ भनेर छलफल गर्दै आएको समेत बताए । गत असार मसान्तसम्म संस्थागत अभिकर्ता मार्फत् हुने बीमाको कुल बजारहिस्सा ३ प्रतिशत मात्रै छ यद्यपि यो हिस्सा पछिल्लो एक वर्षभित्रै कायम भएको हो । एक वर्षकै दौरानमा यति ठूलो बजारहिस्सा कायम गर्न सफल भएको बजार बन्द भएकोले यो क्षेत्रमा एक प्रकारले सन्नाटा नै छाएको हो ।
नेपाल बैंकका सीइओ अधिकारीले लिए शपथ
काठमाडौँ । नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्णबहादुर अधिकारीलाई संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रधान कार्यालयमा असोज १५ गते आयोजित एक कार्यक्रममा सपथ ग्रहण गराइएको हो । सो अवसरमा संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले उच्चतम व्यवसायिक अभ्यास सहित उम्मेदवारहरु मध्ये योग्यतम व्यक्तिलाई बैंकको प्रमुख कार्यकारी अधिकृत चयन गरिएको वताउँदै यस कार्यमा नेपाल सरकार, बैंकभित्रका कर्मचारी युनियन र सम्वद्ध सरोकारवालाबाट प्राप्त सहयोगप्रति सराहना गरे । बैंकका संचालक दीपेन्द्रविक्रम थापाले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अत्यन्त व्यावसायिक व्यक्तित्व रहेको वताउँदै उनको कार्यकाल सबै सरोकारवालामा बैंक होस् त नेपाल बैकजस्तै अर्थात बैंक भनेकै नेपाल बैंक भन्ने मान्यता स्थापित गर्न सफल रहोस् भन्ने शुभेच्छा प्रकट गरे । सो अवसरमा नवनियुक्त सीईओ अधिकारीले नेपालकै अगुवा बैकमा प्रमुख कार्यकारी पदमा आफुलाई दिईएको विश्वासपूर्ण जिम्मेवारीप्रति हरदम इमान्दार रही नेपालको बैकिङ इतिहासको धरोहरको रुपमा रहेको नेपाल बैकको श्रीवृध्दिका लागि नैतिकतापूर्ण एवम् व्यवसायिक बैंकिङ अभ्याससहित मन, बचन र कर्मले समर्पित रहने प्रतिवद्धता प्रकट गरे । अधिकारीलाई असोज ११ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा छनोट गर्ने निर्णय गरेको थियो ।
एनआईशी एशियाबाट वर्ल्डलिंकबीच सम्झौता: इन्टरनेटको बिल तिर्दा १० प्रतिशत छुट पाइने
काठमाडौं । एनआईशी एशियाबाट बैंकबाट वल्र्डलिंकको इन्टरनेट तिर्दा १० प्रतिशतसम्म सस्तो गर्ने भएको छ । एनआईशी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच भएको सहमति अनुसार एनआईशी एशिया बैंकको डेबिटकार्ड, क्रेडिटकार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी त्यस्तो भुक्तानी गर्दा त्यस्तो छुट प्राप्त गर्नेछन् । यो योजना असोन ३० गते सुरु भई कात्तिक १६ गते छठ पर्वसम्म कायम रहेने समेत जनाइएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र वल्र्ड लिङ्क लि.को तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत श्री संजय कुमार साहले हस्ताक्षर गरेका थिए ।