जेनजी प्रदर्शनमा क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि नेशनल लाइफको १ करोड सहयोग
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । जेनजी आन्दोलनका क्रममा देशभरका सार्वजनिक संरचनामा भएको क्षति, पुनर्निर्माण, राहत तथा आर्थिक पुनरुत्थानका लागि यो सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ । उक्त रकम बराबरको चेक प्रमुख कार्यकारी अधिकृत सुरेशकुमार खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई मंगलबार एक विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगबारे सीईओ खत्रीले कम्पनीले विगतदेखि नै शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन तथा वातावरण संरक्षणजस्ता क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता कार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । कम्पनीका अनुसार नियामक निकायको निर्देशनअनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आइरहेको छ ।
२६ सय तल झर्यो नेप्से, ५ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २५९५ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ । एनआरएनको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै राधी विद्युत कम्पनीको २२ करोड, युनियन हाइड्रोपावरको १८ करोड ७६ लाख, सिंगटी हाइड्रोको १८ करोड ४५ लाख र शिवम् सिमेन्टको १८ कारोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । माबिलुङ इनर्जीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मुक्तिनाथ कुषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । मंगलबार सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको छ । बैंकिङ ०.६६, विकास बैंक १.४७, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.२१, अन्य १.८१ तथा व्यापार ०.११ प्रतिशतले घटेका छन् ।
नेपाल एसबिआई बैंकद्वारा पशुपति क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपति मन्दिर परिसरस्थित कैलाश डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुभारम्भ बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले रोपाइँ गरेर गरेका थिए । सो कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, संचालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा सहित बैंकका अन्य पदाधिकारीहरूको उपस्थित रहेको थियो । बैंकले यसअघि पनि पशुपति क्षेत्र संरक्षण तथा हरियाली प्रवर्द्धनका उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ । नेपाल एसबिआई बैंकले ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा सञ्चालनमा रहेको छ ।