शरद् ओझा प्रकरणमा सर्वोच्चको ‘आदेशअनुसार गर्न सरकारलाई पत्र

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएकाले त्यसअनुसार गर्न सरकारलाई पत्र काटेको छ ।  अदालतले मंसिर ७ गते नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा आदेशको प्रतिलिपिसहित म्याद जारी गर्दै भदौ २३ गते सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएकाले ‘आदेशअनुसार गर्न हुन’ भनेको हो ।   अदालतले अन्तरिम आदेश छलफलका लागि मंसिर १६ गते उपस्थित हुनुपर्ने उल्लेख गरेको छ । सर्वोच्चले जारी गरेको म्याद सूचनामा ‘यसमा के कसो भएको हो ? निवेदक माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्याद बाहेक सूचना प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न’ भनिएको छ । गत भदौ २३ गते सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको इजलासले ओझाले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आदेश जारी भएपनि उक्त दिन देशभर जेनजी पुस्ताले गरेको आन्दोलनको कारण सर्वोच्च अदालत, सिंहदरबार लगायतका निकायमा आगजनी भएको थियो ।  असोज १ गते ओझा सर्वोच्चको पत्र लिएर बीमा प्राधिकरण हाजिर गर्न पुगेका थिए । अर्थमन्त्रालयले भने ओझालाई अध्यक्षको हैसियतमा काम नगराउन पत्र काटेको थियो ।  २०८१ फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्ति भएदेखि नै उनी विवादित बन्न पुगेका थिए । योग्यता नै नपुगी झुटो कागजात पेश गरेर अध्यक्ष बनेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।  २०८२ असार ३० गतेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणका अध्यक्ष ओझाबारे छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका थिए ।

एनएमबि बैंकको कार्ड पेमेन्ट गेटवे सञ्चालनमा, विदेशी कार्डबाट अनलाइन भुक्तानी

काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यस सेवाले भौतिक तथा अनलाइन ई–कमर्स व्यवसायीहरूलाई डिजिटल कारोबार सहज, द्रुत र सुरक्षित रूपमा गर्न मद्दत गर्ने बैंकले जनाएको छ । नयाँ गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका डेबिट वा क्रेडिट कार्ड मार्फत ग्राहकबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । यस सुविधाले नेपालभित्र तथा विदेशबाट पनि डिजिटल भुक्तानी लिन सकिने भएकाले व्यवसाय विस्तारमा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ । गेटवेमाअन्तर्गत ओटीपी वा पासवर्ड–आधारित प्रमाणीकरण प्रणाली समावेश गरिएको छ, जसले कार्डबाट हुने अनलाइन कारोबारलाई अझ सुरक्षित बनाउँछ । बैंकका अनुसार यसले अनाधिकृत भुक्तानी वा जोखिमपूर्ण खरिदमा उल्लेखनीय कमी ल्याउनेछ र उपभोक्ता तथा व्यवसायी दुवैमा विश्वसनीयता बढाउनेछ । एनएमबि बैंकले यो सहकार्य ई–कमर्स प्रवर्द्धन तथा देशको डिजिटलाइजेसनलाई सुदृढ बनाउने महत्त्वपूर्ण कदम भएको बताएको छ । सबैका लागि कार्ड भुक्तानीलाई सजिलो र सुरक्षित बनाउँदै, बैंकले डिजिटल अर्थतन्त्रतर्फ देशलाई अगाडि लैजाने लक्ष्य राखेको छ । सुरक्षित भुक्तानी सेवा अपनाउन इच्छुक अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा पेमेन्ट गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

लक्ष्मी लघुवित्तको १५औँ वार्षिकोत्सवमा वित्तीय साक्षरता र रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार १५औँ वार्षिकोत्सव केन्द्रीय कार्यालय तथा शाखा–उपशाखाहरूमा विविध कार्यक्रमसहित मनाएको छ । संस्था २०६७ साल मंसिर १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई औपचारिक रूपमा स्थापना भएको हो । केन्द्रीय कार्यालयमा आयोजित मुख्य समारोहमा सञ्चालक समितिका अध्यक्ष, लक्ष्मी सनराइज बैंकका उच्च व्यवस्थापन टोली, संस्थाका प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थितिमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा बारा जिल्लाको देवताल–रौवाही चोकस्थित शाखा कार्यालयमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । त्यसैगरी, मुख्य शाखा कार्यालयमा १५० जना ग्राहक सदस्यहरूसँग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । १५औँ वार्षिकोत्सव अन्तर्गत सञ्चालन भएका सप्ताहव्यापी कार्यक्रम अन्तरगत विभिन्न शाखा कार्यालयहरूले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, बुद्धिजीवी, विद्यालयका विद्यार्थी तथा ग्राहक सदस्यलगायत करीब १८०० भन्दा बढी व्यक्तिहरूको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेका छन् ।