सामान्य बढ्यो सेयर बजार, फाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौं । सोमबार सेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो ।   सोमबार नेप्से ०.२५ प्रतिशतले बढेर परिसूचक १६०१.६१ बिन्दु पुगेको छ । सोमबार दिनभरमा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर कारोबार भएको छ ।  बजार बन्द हुँदा १५५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।  दिनभरमा ३२९ वटा कम्पनी कारोबारमा आउँदा ५६ हजार १२२ पटक सेयर किनबेच भएको छ । आज दुई वटा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । १३ समूह मध्ये होटेल तथा पर्यटन, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह घटेको छ भने बाँकी अरू समूह बढेको छ । आज सबैभन्दा बढी फाइनास समूह ०.९० प्रतिशतले बढेको छ भने सबैभन्दा बढी अन्य समूह ०.१७ प्रतिशतले घटेको छ ।   

मेटलाइफ नेपालले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौं । मेटलाइफ नेपालले यस महिना आफ्नो २४औँ वार्षिकोत्सव मनाएको छ । यो अवसरले देशभरका लाखौँ मानिसहरूको जीवन र भविष्यको संरक्षणप्रति कम्पनीको निरन्तर प्रतिबद्धता र दीर्घकालीन विकासलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ । विगत वर्षहरूमा मेटलाइफ नेपालले जीवनका सुख–दुःख, परिवर्तन र चुनौतीपूर्ण क्षणहरूमा नेपाली परिवारको साथ दिँदै आएको छ । आफ्नो यात्राको क्रममा कम्पनीले डिजिटल प्रविधि र सरलीकृत प्रक्रियामार्फत ग्राहक पहुँच र सुविधा विस्तारमा उल्लेखनीय लगानी गरेको छ। यसै क्रममा मेटलाइफ नेपालले ‘३६० हेल्थ सेवा’ र ‘वान बाइ मेटलाइफ’ मोबाइल एपमार्फत स्वास्थ्य व्यवस्थापन सेवा सुरु गर्ने नेपालकै पहिलो बीमा कम्पनीको रूपमा आफूलाई स्थापित गरेको छ । वैश्विक अनुभव र स्थानीय आवश्यकताको गहिरो बुझाइलाई संयोजन गर्दै मेटलाइफ नेपालले नेपाली परिवारलाई प्रदान गर्दै आएको मार्गदर्शन र सहयोगलाई निरन्तर सुदृढ बनाइरहेको जनाएको छ । मेटलाइफ बंगलादेश, मलेसिया, नेपाल तथा भियतनामका प्रमुख (हेड) इलेना बुटारोभाले आगामी वर्षहरूलाई लिएर उत्साह व्यक्त गर्दै भनिन्, 'नेपालसँगै अघि बढ्दै हाम्रा ग्राहकहरूको भविष्यप्रति थप आत्मविश्वास निर्माण गर्ने हाम्रो उद्देश्य पूरा गर्न हामी प्रतिबद्ध छौँ।' यस वर्ष ‘ग्रेट प्लेस टु वर्क’ मान्यता प्राप्त गर्न सफल भएकोमा मेटलाइफ नेपालले आफ्ना सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । साथै, स्वास्थ्य, वित्तीय साक्षरता, शिक्षा, वातावरणीय सचेतना र सामुदायिक उत्थानजस्ता सामाजिक तथा कल्याणकारी पहलहरूमा कर्मचारीहरूको निरन्तर समर्पणप्रति कम्पनीले प्रशंसा व्यक्त गरेको छ । मेटलाइफ नेपालले सुरक्षा जीवनका सबै आयाममा फैलिनुपर्ने अवधारणालाई आत्मसात् गर्दै अघि बढिरहेको जनाएको छ ।

साढे ३० खर्ब रुपैयाँ नाघ्यो विदेशी मुद्रा सञ्चिति, २० महिनाको आयात धान्ने

काठमाडौं । विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार कात्तिकसम्ममा कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशत बढेर ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो । जबकि गत असार मसान्तसम्ममा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ । २०८२ असारसम्ममा १९ अर्ब ५० करोड अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति रहेको थियो ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ रहेको छ । गत असारसम्ममा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंकहरूसँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो । समीक्षा अवधिमा राष्ट्र बैंकमा रहेको मुद्रा सञ्चिति १२.८ प्रतिशत र बैंकमा २५.८ प्रतिशत बढेको हो ।  कात्तिकको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।  आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५०.० प्रतिशत, १४४.९ प्रतिशत र ३७.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।