प्राधिकरणमा बढुवा भएका निर्देशकले पाए जिम्मेवारी, रेग्मीले कानून र ढुंगेलले अनुसन्धान महाशाखा सम्हाल्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गर्दै नवनियुक्त निर्देशकहरूको पदस्थापना गरेको छ । प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी विभिन्न महाशाखाका लागि जिम्मेवारी तोकेको हो । नयाँ जिम्मेवारीअनुसार, निर्देशक कमल प्रसाद रेग्मीले कानून महाशाखा र निर्देशक पूजन ढुंगेल (अधिकारी) ले अनुसन्धान महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन् । यसैगरी, हालै निर्देशकमा बढुवा भएका अधिकारीहरूलाई पनि विभिन्न महाशाखाहरूको नेतृत्व तोकिएको छ । निर्देशक शाम्बराज लामिछानेलाई नियमन महाशाखा, निर्देशक ध्रुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्देशक निर्मल अधिकारीलाई बीमालेख महाशाखा र निर्देशक कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । प्राधिकरणले बीमा क्षेत्रको नियमन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ ।
नेपाल लाइफको ‘प्रोजेक्ट केयर’ अभियान : सगरमाथा सफाइका लागि राउण्ड टेबल नेपालसँग गर्यो सहकार्य
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएको फोहोर संकलन गर्ने उद्देश्यले ‘प्रोजेक्ट केयर’ अभियान अन्तर्गत राउण्ड टेबल नेपालसँग सहकार्य गरेको छ । काठमाडौंको ग्लोबल कलेजमा आयोजित समारोहमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी सीईओ पराजुली, नायव सीईओ अमित कुमार कयाल, राउण्ड टेबल नेपालका अध्यक्ष अग्रवाल, निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल तथा सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले संयुक्त रूपमा गरे । नेपाल लाइफका सीईओ पराजुलीका अनुसार सगरमाथा नेपालको मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण अपरिहार्य छ। यसै सन्दर्भमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान अघि बढाएको हो । राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालका अनुसार, यस वर्ष ५,००० किलो फोहोर संकलन गर्ने लक्ष्य राखिएको छ भने आगामी दिनमा २५,००० किलो फोहोर व्यवस्थापन गरिने योजना छ । उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । राउण्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवालले सगरमाथामा आरोहीहरूको संख्यासँगै फोहोरको मात्रा तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै, नेपाल सरकारले सफाइका विभिन्न प्रयास गरे तापनि प्रभावकारी हुन नसकेको बताए । यस अभियान अन्तर्गत कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने योजना छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरुआत हुनु सकारात्मक कदम भएको बताए। उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सगरमाथाको फोहोरबारे नकारात्मक समाचारहरू आइरहेको अवस्थामा, यो अभियानले समस्या समाधानमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । नेपाल लाइफका नायव सीईओ अमित कुमार कयालका अनुसार, त्यागिएका टेन्ट, अक्सिजन सिलिन्डर, खाद्य सामग्रीको प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरूका कारण सगरमाथा ‘विश्वकै सबैभन्दा अग्लो फोहोर थलो’ बन्न नदिन यो अभियान महत्त्वपूर्ण हुनेछ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशव्यापी रूपमा विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा सगरमाथा सफाइ अभियानलाई सहयोग पुर्याउँदै नेपाललाई स्वच्छ, हरियाली र वातावरणमैत्री बनाउन योगदान दिन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । यस कार्यक्रममा नेपाल लाइफका कर्मचारी, राउन्ड टेबल नेपालका पदाधिकारी तथा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेको इन्स्योरेन्सको साढे १५ करोड बढीको सेयर बिक्रीमा, मूल्य २६० रुपैयाँ
काठमाडौं । नेको इन्स्योरेन्सको साढे १५ करोड बढीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका संस्थापक सेयरधनीहरूले संस्थापक समूहको ६ लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता २६० रुपैयाँ तोकेको छ । यस आधारमा कम्पनीको १५ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयरमा सर्वसधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउँछन् । खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आज चैत १५ गतेदेखि चैत २९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ ।