वैदेशिक रोजगार बीमा पुलसम्बन्धी निर्देशन दोस्रोपटक संशोधन, बीमकले दैनिक विवरण पेश गर्नुनपर्ने

काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवनबीमा सामूहिक कोष (पुल) सञ्चालन सम्बन्धी निर्देशन, २०८१ संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले २०८२ वैशाख ५ गते दोस्रोपटक संशोधन गरेको हो । प्राधिकरणले यसअघि २०८१ फागुन फागुन ६ गते पहिलोपटक निर्देशन संशोधन गरेको थियो ।  प्राधिकरणले निर्देशन संशोधन गरेर यसअघि सदस्य बीमक (बीमक) ले आफूले जारी गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको विवरण दैनिक रूपमा कोष प्रबन्धकसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेकोमा अब नपर्ने भएको छ ।  निर्देशन, २०८१ को परिच्छेद २ को ७ अनुसार अब बीमकले आफूले जारी गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको विवरण १५ गतेसम्मको १६ गतेभित्र र त्यसपछिका विवरण मसान्तदेखि अर्को महिनाको १ गतेभित्र कोष प्रबन्धकसमक्ष पेश गर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ ।  यसअघिको निर्देशनमा सदस्य बीमकले आफूले जारी गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको विवरण दैनिक रूपमा कोष प्रबन्धकसमक्ष पेश गर्नुपर्ने व्यवस्था थियो । त्यस्तै, बीमकले आफूले भुक्तानी गरेको दाबी बापत्को रकम प्रत्येक महिनाको १५ गतेसम्ममा र १६ देखि मसान्तसम्मको रकम अर्को महिनाको १ गतेभित्र पेश गर्न सक्नेछन् । संशोधन अघिको निर्देशनमा भने प्रत्येक महिनाको सात गतेभित्र कोष प्रबन्धकसमक्ष पेश गर्नुपर्ने व्यवस्था थियो । वैदेशिक रोजगार बीमा पुलसम्बन्धी निर्देशनको अनुसूचीमा हेरफेर गर्ने अधिकार प्राधिकरणका अध्यक्षलाई दिइएको छ । यसअघिको निर्देशनमा अनुसूची हेरफेर गर्ने अधिकार कसैलाई दिइएको थिएन । परिच्छेद २ को ९ मा कोषको सदस्यता खारेज हुनेसम्बन्धी व्यवस्था छ । उक्त परिच्छेदको २ मा सदस्यता खारेज भएको र विभागमा सूचीकृत नभएको तथा यो निर्देशन पालना नगर्ने बीमकले रोजगार म्यादी जीवन बीमालेख बिक्री गर्न नपाइने उल्लेख गरिएको छ । यसअघिको निर्देशनमा सामूहिक कोषमा सहभागी हुन तथा बीमालेख बिक्री गर्न नपाइने व्यवस्था गरिएको थियो । यसबाहेक अन्य व्यवस्थामा पनि संशोधन भएको छ । परिच्छेद २ को उपदफा ६ मा कोष प्रबन्धकको काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ । उक्त उफदफाको (ख) मा प्राधिकरणले संशोधन गरेको छ । संशोधनअनुसार कोष प्रबन्धकले बीमा शुल्क प्राप्त भए नभएको यकिन गर्न पाउनेछन् ।  यसअघिको निर्देशनमा कोष प्रबन्धकले बीमा शुल्क दैनिक रूपमा प्राप्त नभएको यकिन गर्न पाउने व्यवस्था रहेको थियो । दोस्रोपटकको संशोधनमा प्राधिकरणले दैनिक शब्दलाई हटाएको छ ।  वैदेशिक रोजगार बीमा पुल सम्बन्धी निर्देशन परिच्छेद २ को (ङ) मा ‘सदस्य बीमक’ भन्नाले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोषमा हिस्सेदार भएको बीमक भनेर परिभाषित गरेकोमा संशोधन गरेर अनुसूची-१ बमोजिम हिस्सेदार भएको सम्झिनुपर्ने भनेर नयाँ व्यवस्था गरेको छ । 

हिमालयन रिइन्स्योरेन्सलाई वैदेशिक रोजगार बीमा पुलको प्रबन्धकको जिम्मेवारी

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगार जीवन बीमा पुलको प्रबन्धकका रूपमा काम गर्ने जिम्मेवारी पाएको छ । नेपाल बीमा प्राधिकरणले सामूहिक बीमा कोष तथा खाता सञ्चालन र व्यवस्थापनको जिम्मेवारी हिमालयन रिलाई दिएको  प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । गत चैत ४ गते प्राधिकरणमा भएको छलफलपछि दुवै पुनर्बीमकबीच आपसी सहमतिमा वैदेशिक रोजगार बीमालेखबापत प्राप्त रकम जम्मा गर्ने कोष तथा खाता हिमालयन रिलाईले सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । वैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालनसम्बन्धी निर्देशन २०८१ को दफा ५ अनुसार, प्रत्येक पुनर्बीमक कम्पनीले चार–चार वर्षका लागि पालैपालो कोष प्रबन्धकको रूपमा काम गर्नुपर्ने व्यवस्था रहेको छ । सोही निर्देशिकाअनुसार अबको ४ वर्षका लागि हिमालयन रिइन्स्योरेन्सलाई जिम्मेवारी दिइएको हो । प्राधिकरणले जीवन बीमक र अन्य पुनर्बीमकहरूलाई उक्त निर्णयअनुसार आवश्यक कार्य गर्न निर्देशन समेत दिएको छ । यस कदमले वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।   

सूर्यज्योतिले मनायो १७ औं वार्षिकोत्सव, १५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान

काठमाडौं । नेपालमा पहिलोपटक सफल मर्जरको अभ्यास गर्दै इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । उक्त अवसरमा कम्पनीका अध्यक्ष, सञ्चालकहरू, निवर्तमान सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन टिम, विभागीय प्रमुखहरू तथा १५ वर्षभन्दा बढी सेवा गरेका २१ जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीले हासिल गरेको वित्तीय बल, विश्वसनीयता तथा उत्कृष्ट सूचकहरूको उपलब्धिका लागि आभार व्यक्त गरे । साथै, कम्पनीले अपनाउँदै आएको नविनतम प्रविधि र समय सापेक्ष ग्राहकमैत्री सेवाप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याए । प्रमुख कार्यकारी अधिकृत खत्रीले आगामी दिनमा कम्पनीलाई अझ बृहत् र विशाल बनाउँदै अगाडि बढ्ने दृढ संकल्प व्यक्त गरे। साथै, कर्मचारीहरूको हकहित, सिप तथा व्यक्तित्व विकास कम्पनीको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै उनले सूर्यज्योतिमा कर्मचारीहरूले पारिवारिक वातावरणको अनुभव गर्ने बताए । कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना, नवीनतम सेवाको विस्तार र सेवा गुणस्तर सुधारमार्फत ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता समेत उनले जाहेर गरे। यस आर्थिक वर्षको अन्त्यसम्म हालसम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य रहेको उनले जानकारी दिए । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले उपलब्धिमूलक यात्रामा साथ दिने ग्राहक, अभिकर्ता, कर्मचारी, सेयरधनी, नियमनकारी निकाय र साझेदारप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ मजबुत साझेदारी गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष भट्टराईले सञ्चालक समिति सधैं संस्थागत सुशासन, स्वच्छ व्यवस्थापन र नीति नियमको परिधिभित्र रही अघि बढेको उल्लेख गर्दै आगामी दिनमा अझै प्रभावकारी रूपमा त्यसको पालना गर्ने बताए। साथै, कर्मचारीको वृत्ति विकासप्रति पनि समिति प्रतिबद्ध रहेको स्पष्ट पारे । कम्पनीले भर्खरै नेपालकै पहिलो अनलाइन जीवन बीमा लोन सुविधा र 'सूर्यज्योति केयर्स' डिजिटल कार्ड सार्वजनिक गर्दै बीमा क्षेत्रको आधुनिकताको सुरुआत गरिसकेको छ ।