एलआइसी नेपालको सिइओको शैक्षिक योग्यता पुगेन, बीमा समितिले रोक्यो पटनायकको नियुक्ति

काठमाडौं, १ भदौ । बीमा समितिले एलआइसी नेपालको प्रमुख कार्यकारी (सिइओ) बन्न आएका भारतीय नागरिकलाई सिइओ बन्नवाट रोकेको छ । बिमकको सुशासन सम्बन्धि निर्देशिकाले तोकेका मापदण्ड नपुगेको भन्दै एलआइसी इन्डियाले पठाएको सुभाषचन्द्र पटनायकलाई सिइओ बन्नबाट रोकेको हो । यसअघिका सिइओ पिआर मिश्राको कार्यकाल सकिएपछि एलआइसी इन्डियाले पटकनायकलाई नयाँ सिइओको रुपमा पठाएको थियो । मिश्रा आफ्नो कार्यकाल सकेर भारत फर्किएको केही महिना विते पनि कम्पनीको वेबसाइटमा मिश्रालाई नै सिइओ भनेर उल्लेख गरिएको छ । ‘नयाँ सिइओको लागि अनुमति मागिएको थियो, कम्पनीले प्रस्ताव गरेको ब्यक्तिको शैक्षिक योग्यता सुशासन निर्देशिकाले तोके अनुसार नभएकोले अस्वीकृत गरियो,’ समितिका एक अधिकारीले भने । ती अधिकारीका अनुसार पटनायकको शैक्षिक योग्यता स्नातक पास मात्रै थियो । निर्देशिकामा स्नातकोत्तर तह पास गरेको हुनुपर्ने भन्ने ब्यवस्था छ ।

हिमालयन बैंक र लाइफ ईन्स्युरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता

काठमाडौं, ३२ साउन । हिमालयन बैंक लिमिटेड र लाइफ ईन्स्युरेन्स नेपाल लिमिटेड बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त व्यबस्था अनुसार बैंकले लाइफ ईन्स्युरेन्स नेपालको कर्पोरेट एजेन्टको रुपमा जीवनबीमा सेवा प्रदान गर्नेछ । सो सम्बन्धि सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा र लाइफ ईन्स्युरेन्स नेपालको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् ।

पुनर्बीमा कम्पनीमा बीमा कम्पनीको प्रतिनिधित्व हुने ब्यवस्था गरियो

काठमाडौं, ३१ साउन । पुनर्बीमा कम्पनीमा बीमा कम्पनीको प्रतिनिधित्व हुने भएको छ । बीमा समितिले जारी गरेको बीमाको सुशासन सम्बन्धि निर्देशिकामा एउटा बीमा कम्पनीको पदाधिकारी र संचालक अर्काे कम्पनीको पदाधिकारी वा संचालन बस्न नपाउने ब्यवस्था भए पनि त्यस्तो ब्यवस्थामा संसोधन गरेर कम्पनीको प्रतिनिधित्व सुनिश्चित गरिएको हो । बीमा समितिको हालैको संचालक समितिले सुशासन निर्देशिकामा भएको त्यस्तो ब्यवस्था संसोधन गरेको छ । संसोधित ब्यवस्थामा पुनर्बीमा कम्पनीको संचालक समितिमा अन्य बीमा कम्पनीका प्रतिनिधि रहन सक्ने ब्यवस्था गरिएको छ । पुनर्बीमा कम्पनीमा बीमा कम्पनीहरुको तर्फवाट २ जना संचालक रहने ब्यवस्था छ । समितिले जारी गरेको निर्देशिकाको कारण पुनर्बीमा कम्पनीको संचालक समिति गठन नै हुन नसक्ने अवस्था आएपछि संसोधन गरिएको समितिका एक अधिकारीले जानकारी दिए । ‘पुनर्बीमा कम्पनीमा संचालक हुन पाउने बाटो खुल्ला गरिएको छ, अहिलेको ब्यवस्थाले पुनर्बीमा कम्पनीको संचालक समिति गठन हुन नसक्ने अवस्था आएपछि यस्तो सुधार आवश्यक देखियो,’ समितिका ती अधिकारीले भने ।