बीमा कम्पनीको शाखा विस्तार नीतिः शाखा ३ बर्षमा नाफामा जानै पर्ने

काठमाडौं, २३ साउन । बीमा समितिले बीमा कम्पनीहरुको शाखा विस्तार सम्बन्धि नीतिलाई थप परिमार्जन गरेको छ । समितिले बीमा कम्पनीको कार्यालय स्थापना तथा विस्तार सम्बन्धमा परिपत्र जारी गर्दै प्रदेशस्तरीय कार्यालय खोल्न पाउने, नयाँ शाखा ३ बर्षभित्रमा नाफामा जाने सुनिश्चितता देखिए मात्रै अनुमति माग्नु पर्ने, उपत्यका वाहिर २ ओटा शाखा खोलेपछि मात्रै उपत्यकामा नयाँ शाखा खोल्न पाइने र विदेशमा सम्पर्क तथा प्रतिनिधि कार्यालय खोल्न पाउने गरी नयाँ ब्यवस्था गरिएको जानकारी दिएको छ । बीमा कम्पनीले प्रदेश कार्यालय, शाखा, उप शाखा कार्यालय खोल्नका लागि प्रस्तावित स्थान वित्तीय रुपले सम्भाव्य रहेको स्थलगत सम्भाव्यता अध्ययन प्रतिवेदन बस्तुनिष्ठ रुपमा तयार भएको हुनुपर्र्नेे छ । सम्भाव्यता अध्ययन प्रतिवेदनमा प्रस्तावित क्षेत्रमा कार्यरत अन्य वीमकको अवस्थिति र तिनीहरुसँग व्यवसायमा हुने चुनौति र अवसरका साथै रणनैतिक योजना, शाखा स्थापनाका लागि हुने पुँजीगत तथा अन्य खर्चहरु, तीन वर्ष भित्रमा वीमा कारोबारबाट प्रस्तावित शाखा नाफामा संचालित हुन सक्ने औचित्यपूर्ण आधार समेत समावेश गर्नु पर्ने ब्यवस्था गरिएको छ । नयाँ शाखा स्थापना गर्नको लागि शाखा कार्यालयमा सुचना आदान प्रदान गर्नको लागि नेटवर्किङ गरी वा विद्युतीय माध्यमवाट केन्द्रीय कार्यालयमा सुचना प्रणालीमा तत्काल आवद्ध हुन सक्ने व्यवस्था गरेको हुनुपर्नेछ । समितिले नयाँ शाखा स्थापनको स्वीकृति दिएको मितिले २ महिनाभित्रमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरि सक्नु पर्ने बाध्यकारी ब्यवस्था पनि गरिएको छ । बीमा कम्पनीका दुई वा सो भन्दा कम शाखा रहेका काठमाण्डौं उपत्यका बाहेकका नगरपालिका वा गाउँ विकास समिति वा वीमकहरूको उपस्थिति न्युन रहेका र कुनै वीमकको शाखा कार्यालय नरहेको वा कुनै पनि वीमा कारोबार गर्ने इकाई नभएकोे गा.वि.स. वा नगर पालिकामा शाखा विस्तार गर्न प्राथमिकता दिनुपर्ने नयाँ ब्यवस्थामा भनिएको छ । समितिले तोके बमोजिम लघु वीमा, वा कृषि, वाली, पशुपंक्षी वीमा प्रयोजनका लागि खोलिएका शाखा कार्यालयहरु समेतलाई वीमकका शाखाको रुपमा गणना गरिने भएको छ । यस्तै ‘संघीय प्रदेशहरुमा प्रदेश सरकारका नीति र कार्यक्रम अन्तर्गत आफू मातहतका वीमकका शाखा, उप शाखा कार्यालयहरुको अनुगमन, निरीक्षण, सुप्रिवेक्षण तथा समितिसँग समन्वयात्मक रुपमा कार्य गर्ने गरि प्रदेश स्तरीय कार्यालय प्रत्येक प्रदेशमा खोल्न प्राथमिकता दिइनेछ,’ परिपत्रमा उल्लेख गरिएको छ । काठमाडौं उपत्यकामा पॉंच वा सो भन्दा बढी शाखा कार्यालय संचालनमा रहेका वीमकहरुलाई काठमाडौं उपत्यका बाहिर बीमा कम्पनीको उपस्थिति कम रहेको, तोकिएका जिल्लामा वा लघुवीमा वा कृषि, वाली, पशुपंक्षी वीमा सम्बन्धि काम गर्ने कुनै स्थानमा कम्तीमा एक शाखा र, काठमाण्डौ उपत्यका बाहिर अन्यत्र मध्ये जिल्ला सदरमुकाम तथा नगरपालिका भन्दा बाहिर कम्तीमा एक शाखा भएको अवस्थामा त्यस्ता स्थानमा दुईवटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात मात्र काठमाडौं उपत्यकाभित्र थप एक शाखा खोल्न स्वीकृति प्रदान गर्न सकिने ब्यवस्था समितिले गरेको छ । उपत्यका भित्र शाखा खोल्न निवेदन पेश गर्दा यसरी खोलिने शाखाको लागि बाहिर खोलिएका शाखाहरुको विवरण पेश गर्नुपर्नेछ । साथै, उपत्यकाभित्र शाखा खोल्न स्वीकृति दिँदा चक्रपथ बाहिर तथा नगरपालिकामा खोल्न प्राथमिकता दिइने भनिएको छ । विदेशमा सम्पर्क/प्रतिनिधि कार्यालय खोल्ने ब्यवस्था नयाँ ब्यवस्थामा विदेशमा सम्पर्क वा प्रतिनिधि कार्यालय खोल्न पाउने ब्यवस्था पनि गरिएको छ । यसको लागि समितिले तोकेको न्युनतम चुक्ता पुँजी पुरा गरेको, संस्था र संस्थाका सञ्चालकलाई यस समितिबाट कुनै कारवाही गरिएको भए यस्तो कारवाही भएको ६ महिना पुरा भइसकेको जस्ता मापदण्ड पूरा गरेको हुनुपर्ने समितिले ब्यवस्था गरेको छ ।

प्रभु इन्स्योरेन्स २१औं वर्षमा प्रवेश

काठमाडौं, १८ साउन । प्रभु इन्स्योरेन्स लिमिटेड २१औं वर्षमा प्रवेश गरेको छ । स्थापनादिवसको अवसरमा एक आयोजित कार्यक्रममा कम्पनीका उपाध्यक्ष राजेन्द्र मल्लले कम्पनीले गत आर्थिक वर्षमा गरेको कार्य प्रगति सम्बन्धमा जानकारी गराएका छन् । कम्पनीले आफ्नो सेवा विस्तारको लागि दुर्गम जिल्लाहरुमा कृषि शाखा कार्यालय स्थापना गरि कारोवार सुचारु गरेको मल्ले जानकारी गराएका छन् । साथै, उनले आगामी दिनमा सेवा विस्तारको लागि थप शाखा तथा उपशाखा कार्यालय स्थापना गर्ने जानकारी गराएका छन् । सोही कार्यक्रममा बौल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई पालना गर्दै प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै गईरहेको बताएका छन् । गत वर्षको महाभूकम्प, अघोषित नाकाबन्दी तथा मधेश आन्दोलनलगायतले बीमा क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको बज्राचार्यले बताएका छन् । बज्राचार्यका अनुसार कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी सम्पूर्ण कारोबारलाई अझ बढी सुविधाजनक बनाउँदै मुलुकमा छरिएर रहेका सहकारी संस्थाहरु मार्फत अनलाइन प्रिमियम भुक्तानीको व्यवस्था गरिएको बताइएका छन् । हाल कम्पनीको केन्द्रिय कार्यालय सहित शाखा तथा उपशाखा संख्या १९ रहेको कम्पनीले जनाएको छ ।

एसियन लाइफ इन्स्योरेन्सको सिइओमा श्रेष्ठ पुनः नियुक्त

काठमाडौं, १६ साउन । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा राजेश कुमार श्रेष्ठ दोश्रो कार्यकालका लागि नियुक्त भएका छन् । साउन १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई दोश्रो कार्यका लागि प्रमुख कार्यकारी अधिकृतको नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठको दोश्रो कार्यकाल साउन २१ गतेबाट सुरु हुनेछ । उनले आगामी चार बर्षसम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् । एसियन लाइफ इन्स्योरेन्स कम्पनी विवादमा परेका बेला पहिलो पटक सिइओमा नियुक्त भएका श्रेष्ठले सुधारका धेरै काम गरेका थिए ।