एनएलजी इन्स्योरेन्स कम्पनीले २६ प्रतिशत लाभांश दिने, पूँजी ५० करोड रुपैयाँ नाघ्ने

काठमाडौं, २१ मंसिर । एनएलजी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २६ दशमलब ३१५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब ३१५ प्रतिशत नगद लाभांश गरी सो मात्रामा लाभांश दिने निणर्य गरेको छ । उक्त निणर्य मंगलबार बिहान बसेको कम्पनीको १९४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिको बैठकले पारित गरेपछि मात्र सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको पूँजी ५० करोड रुपैयाँ नाघ्ने छ । मंगलबार कम्पनीको प्रतिकित्ता सेयर करिब १६८७ रुपैयाँमा कारोबार भइरहेको छ ।

सनराइज बैंकद्धारा बचतकर्ता सामुहिक दुर्घटना अन्तर्गत बीमा रकम भुक्तानी

ललितपुर, १९ मंसिर । सनराइज बैंक लिमिटेडले शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था”  प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख रुपैयाँमा नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणा सम्म दावी गर्न सकिनेछ । यस बैंकका निक्षेप ग्राहक मिनबहादुर सिल्वालकोे नाती सानोकान्छा सिलवालको छोरा ललितपुर जिल्ला, ललितपुर न.पा. वडा नं. ४ विशंखूनारायण बस्ने दशरथ सिल्वालको घाइते भई उपचारको क्रममा निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्र्तगत मृतकको नाममा यस बैंकको टौखेल शाखामा रहेको निक्षेप रकमको ४ गुणा अर्थात ५ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरियो । उक्त रकम बराबरको चेक बैंकले आयोजना गरेको सुरक्षित घर कर्जा तथा अन्य बैंकिङ्ग सेवा सुविधा सम्बन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रममा बैंकका टौखेल शाखाका शाखा प्रबन्धक उपेन्द्रवीर बज्रचार्यले मृतककी श्रीमती भुमकुमारी महतलाई हस्तान्तरण गरेका हुन् ।

फत्तबहादुर केसी दिन दिनै अर्थमन्त्रालयमा, तेस्रो कार्यकालको लागि लविङ तिव्र

फत्तबहादुर केसी काठमाडौं, १९ मंसिर । पुस ८ गतेदेखि कार्यकाल सकिन लागेपछि बीमा समितिका अध्यक्ष डा फत्तबहादुर केसी तेस्रो कार्यकालका लागि नियुक्ती माग्दै दिनदिनै अर्थमन्त्रालय गएर लविङ गर्न थालेका छन् । केसीले अर्थमन्त्री कृष्णवहादुर महरा, अर्थमन्त्रीका आर्थिक सल्लाकार डा पुण्डप्रसाद रेग्मी, सचिव शान्तराज सुवेदी, सचिव राजन खनाल, अर्थमन्त्री महराका स्वकीय सचिव हिमाल शर्मा, सहसचिव आनन्दराज ढकाललाई बारम्बार भेटेर पुनर्नियुक्तीको लागि अनुरोध गरेका छ । तर पुनर्नियुक्तीको लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने डा केसीको प्रयास सफल भईरहेको छैन । दाहाल प्रधानमन्त्री भए लगत्तै बधाई दिन प्रचण्ड निवास लाजिम्पात पुगेका केसीले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पद मागेको थिए । तर त्यसमा उनी सफल भएनन् । पछिल्लो समय बीमा समितिकै अध्यक्ष पदमा निरन्तरता दिन लविङ थालेका छन् । डा केसीले प्रधानमन्त्रीका प्रशासनिक सल्लाकार नारायण दाहाल भेटेर आफ्नो इच्छा प्रकट गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । ‘उमेर पनि छ, योग्यता पनि छ, आफूले थालेका केही काम सम्पन्न हुन बाँकी छन् । तिनलाई पुरा गर्ने चाहान छ’ डा केसीले दाहालसँग भनेको भनाई उदृत गर्दै स्रोतले भने । जानकारहरुका अनुसार बीमा समितिको अध्यक्ष केसी हाल कि विदेशमा हुन्छन्, कि अर्थमन्त्रालयमा हु्न्छन्, कि शक्ति केन्द्रका एजेन्टहरुसँग होटलहरुमा बसेर लविङ गरिरहेका हुन्छन् । उनलाई अचेल बीमा समितिमा भेट्न पाईदैन ।संस्थागत सुशासन निर्देशिका जारी गरेर कम्पनीको कार्यकारी प्रमुखले दुई कार्यकाल भन्दा बढी जिम्मेवारी लिन नपाउने व्यवस्था गरेका केसी आफै तेस्रो कार्यकालको लागि लविङ गर्न थालेपछि बीमा क्षेत्रमा उनको बारेमा पेचिला टिकाटिप्पणी हुन थालेका छन् । डा फत्तबहादुर केसी डा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा लगेको, बीमा समितिमा दुई कार्यकाल काम गरिसकेको, निर्णय क्षमता कमजोर रहेको जस्ता कारणले उनले पुनर्नियुक्ती पाउने सम्भावना कम देखिएको स्रोतले बताए । घरी एमाले बनेर लाभ लिने, घरी माओवादी बनेर लाभ लिने, घरी नयाँ शक्तिको पछि लाग्ने, सिद्धान्त र राजनीतिक चरित्र नभएका व्यक्ति भन्दै माओवादी केन्द्रभित्र डा केसीको आलोचना हुन थालेको छ ।