नेशनल लाईफ इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा, ट्रेडिङ्ग इन्स्टिच्यूट खाल्ने तयारी

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय न्यूरोडमा सञ्चालन गरेको छ । बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा बोल्दै कम्पनीको अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा यस क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पुर्याउने प्रयोजनको लागि नयाँ शाखा खोलिएको बताएका छन् । सिंहले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१-८० को उच्चतम बोनस दर कायम गर्न सफल रहि नेपालको जीवन बीमा बजारमा कम्पनीको योगदान रहेको बताएकी छन् । कार्यक्रममा बीमा समितिको अध्यक्ष चापागाईले कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने बताएका छन् । अध्यक्ष चापागाईले यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो) बारे सुधार गर्नु पर्ने र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसंग तालिम दिन आवश्यक रहेको बर्ताएका छन् । साथै, अध्यक्ष चापागाईले गुणस्तरीय जनशक्तिको व्यवस्था गर्न बीमाको उच्च स्तरीय पढाईको लागि छलफल र सम्पुर्ण बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्था (ट्रेडिङ्ग इन्स्टिच्यूट)को व्यवस्था भैरहेको बताएका छन् ।

प्राइम लाइफ इन्स्योरेन्सको नाफा ४०० प्रतिशत बढ्यो

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नाफा ४०० प्रतिशत बढाएको छ ।  चालु आर्थिक वर्षको ६ महिनामा प्राइमले ११ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ गरेको थियो । गत आवको तुलनामा चालु आवमा कम्पनीले नाफा झण्डै ९ करोड रुपैयाँ बढाएको छ । प्राइमले बुधबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा आम्दानी बढाएर १५ करोड ४८ लाख रुपैयाँ पुर्याएको जानकारी दिएको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी ८ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीले यो वर्ष १ अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हालसम्म प्राइमले १० अर्ब ८३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको जानकारी दिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसाँ छ । समीक्षा अवधीसम्म प्राइमले १ अर्ब ५५ करोड ६६ बीमालेख जारी गरेको छ । हालसम्म कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीको घोषित बोनस प्रतिहजार वार्षिक न्युनतम ३५ देखि ७५ रुपैयाँ छ । गत वर्ष यस्तो बोनस दर २९ देखि ६३ रुपैयाँ थियो ।

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकअस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंकअस्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुरामकुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले जनता बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । आइएमई लाइफ इन्स्योरेन्सले हाल ४२ स्थानबाट विभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । न्यूनभन्दान्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु यस इन्स्योरेन्सको मुख्य उद्देश्य हो ।