रिलायन्स लाईफ इन्स्योरेन्स र जनता बैंक नेपाल बिच बैंकासुरेन्स सम्झौता

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र जनता बैैंक नेपाल लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौतामा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात बैंकले बीमकको बीमाअभिकर्ताको रुपमा आफ्ना ग्राहकहरुलाई रिलायन्सद्धारा जारी गरिएका बीमालेखहरु बिक्रि वितरण गर्ने छ । हाल यस कम्पनीको कूल पुँजी २ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । सो मध्ये बांकी रहेको ६३ करोड रुपैयाँको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ ।

एसियन लाइफको नाफा २४ प्रतिशतले वृद्धि

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले २०७४ पुस मसान्त अवधीमा २४ प्रतिशतले बढाएर आफ्नो नाफा २ करोड ५८ लाख पुर्याएको हो । २०७३ पुस मसान्तसम्ममा भने कम्पनीको नाफा २ करोड ८ लाख मात्रै थियो । ८० करोड चुक्ता पुँजी रहेको एसियन लाइफको जगेडा कोषमा २४ करोड रुपैंयाँ रहेको छ भने जीवन बीमा कोषमा ११ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । कम्पनीले एक अर्ब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ । प्रति हजार ४१ देखि ८५ रुपैंयाँ सम्म बोनस दर घोषणा गरेको कम्पनीमा २ लाख ५१ हजार ६२ जना विमित रहेका छन् । एसियन लाइफको प्रति सेयर आम्दानी ६.४२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३१.५७ रुपैंयाँ रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८३ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा खुदनाफा ८३ प्रतिशत बढाएको छ । कम्पनीले गत पुससम्म २७ करोड ९६ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो । नेपाल लाइफले आइतबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा नाफा बढको उल्लेख गरिएको छ । गत पुससम्म कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको बीमा शुल्क आम्दानी ४६ प्रतिशत बढेर ७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले न्युनतम प्रतिहजार ६२ देखि ८२ रुपैयाँसम्म बोनस दिदै आएको छ । ६ महिनामा कम्पनीले ५६ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी २९ करोड ३२ लाख रुपैयाँ थियो ।