सवारी साधनको ‘ब्लू बुक’ नविकरण गर्न लाइन बस्ने झण्झट सकियो, अब घरबाटै सुविधा पाइने
काठमाडौं । सवारी साधनको सवारी धनी प्रमाणपत्र (ब्लू बुक) नविकरण गर्न र कर तिर्न तपाई घण्टौ लाइन बसेर हैरान हुनुभएको छ ? चिन्ता नगर्नुस् । अब घरमै बसेर सवारी साधनको ब्लू बुक नविकरण, कर तिर्न र बीमा गर्न सकिन्छ । शिखर इन्स्योरेन्स कम्पनीको सहकार्यमा जिन्जर मार्केर्टिङ सर्भिस प्रा लिले सवारी धनीका लागि नविकरण, कर र बीमा सेवा दिने एकिकृत सेवा ल्याएको छ । व्यस्त मानिसहरुको लागि लक्षित गरेर यो सेवा शुरु गरेको जिन्जर मार्केर्टिङ सर्भिस प्रा लिका प्रमुख कार्यकारी अधिकृत गौरवमान शेरचनले बताए । ‘उद्योगी, व्यवसायी, कम्पनीका उच्च व्यवस्थापनमा काम गर्ने व्यस्त समूदायले हाम्रो सेवा निकै मन पराउनु भएको छ’ उनले भने–‘ब्लु बुक नविकरण गर्न, सवारी कर तिर्न कम्तिमा आधा दिन लाग्छ । व्यस्त मानिसहरु कि अफिसमा विदा लिएर कि कार्यालयलाई झुक्याएर सवारी नविकरण तथा कर तिर्न जाने गरेको पायौं । उनीहरुका लागि लक्षित गरेर यो सेवा ल्याएका हौं ।’ कम्पनीले दुई पाङ्ग्रे सवारीको ब्लू बुक नविकरण गर्नका लागि ३५० रुपैयाँ सेवा शुल्क बापत लिनेछ । चार पाङग्रेका लागि ५ सय रुपैयाँ मूल्य तोकिएको छ । कम्पनीले ब्लु बुक नविकरण र कर भुक्तानीको सेवा शुल्क लिए पनि सवारी बीमा गर्दा कुनै शुल्क नलिने उनले बताए । बीमा गर्दा बीमा कम्पनीले ग्राहकलाई दिने छुट समेत सवारीधनीलाई नै दिने उनले बताए । ‘ब्लु बुक नविकरण गर्न, सवारी कर तिर्न कम्तिमा आधा दिन लाग्छ । व्यस्त मानिसहरु कि अफिसमा विदा लिएर कि कार्यालयलाई झुक्याएर सवारी नविकरण तथा कर तिर्न जाने गरेको पायौं । उनीहरुका लागि लक्षित गरेर यो सेवा ल्याएका हौं ।’ ‘हामीले यसै साता सेवा शुरु गरेका हौं, ‘एकवाना’ नामक कम्पनीको प्रमुख र ३५ जना कर्मचारीले पहिलो दिन नै हाम्रो सेवा लिने बताउनु भएको छ । धेरै कम्पनीबाट फोन आएको छ,’ शेरचनले विकासन्युजसँग भने । अर्डर गरेको दुई दिनमा घरमै नविकरणसहित ब्लू बुक ल्याइदिने कम्पनीका कस्टमर सर्भिस एक्जेक्युटिभ पुजन श्रेष्ठले बताए । उनले भने, ‘हामी ग्राहकको व्यस्ततामा सहायता गर्न चाहन्छौं । ग्राहकको चाहेअनुसार उहाँहरुको घर वा अफिसमै ब्लूबुक नविकरण र कर तिरेर ल्याइदिन्छौं ।’ यस कम्पनीले हाल चावहिल, भाटभटेनी, नयाँ बानेश्वर, माछापोखरी, न्यूरोड र कुमारी पाटी गरी ६ स्थानबाट यो सेवा शुरु गरेको छ । यस सेवाको लागि मात्र कम्पनीले २५ जना कर्मचारी खटाएको छ । जिन्जर मार्केर्टिङ सर्भिसले बीमा कम्पनीहरुलाई सपोर्टिङ सेवा थालेको छ । यो सेवा नेपालमा नयाँ हो । कम्पनीले डेढ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थागत एजेन्टको रुपमा काम गर्दै आएको थियो । ‘जीवन बीमा तर्फ सबैभन्दा राम्रो कम्पनी नेपाल लाइफ देखियो र हामीले सोही कम्पनीको कर्पोरेट एजेन्ट भएर काम गरेका थियौ’ शेरचनले भने–‘निर्जीवन तर्फ शिखर इन्स्योरेन्स कम्पनी सबैभन्दा ठूलो हो, सेवा पनि राम्रो छ, दावी भुक्तानी पनि छिटो गर्छ, त्यसैले यस कम्पनीसँग साझेदारी शुरु गरेका हौं ।’ बीमा सेवाको मार्केटिङमा जुटेको यो कम्पनीमा ३५ जना कर्मचारी छन् । बीमा क्षेत्रमा जनचेतना र बजारीकरणको कमी रहेको उनले बताए । ‘जीवन बीमा, स्वास्थ्या बीमा, सम्पत्ति बीमाको महत्व मानिसलाई बुझाउन जरुरी छ । साथै बीमा सेवा प्रदायकले बजारीकरणमा जोड दिनुपर्छ’ उनले भने ।
यूनियन लाइफ इन्स्योरेन्सले हिजो अनुमति पायो, भोलिबाट सञ्चालनमा आउने
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले हिजो (बुधबार) बीमा समितिबाट कारोबार सञ्चालन अनुमति पाएको छ । यस कम्पनीले भोलि (शुक्रबार) औपचारिक रुपमा कारोबार शुरु गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले जानकारी दिए । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागार्इले नयाँ बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयको उद्घाटन गरी कारोबार शुभारम्भ गर्ने कम्पनीको तयारी छ । २ अर्ब १५ कराेड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी रहेको छ । हाल यस कम्पनीमा ३ जना मात्र रहेको सञ्चालक समिति छ । कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन् ।
बीमा संस्थानको जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजना
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बन्धु दोहोरो लाभ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले करिब ६ बर्ष अघि नै सार्वजनिक गरेको यो योजना भर्खर मात्र कार्यान्वयनमा ल्याएको हो । योजना अनुसार बीमितले २ पटक बीमा दावी गर्न पाउनेछन् । सावधिक अवधी पुरा भएपछि एक पटक दावी गर्न सकिनेछ । त्यसपछि बीमितको मृत्यु भएपछि नीजको परिवारले फेरी अर्काे एक पटक बीमा दावी गर्न सक्नेछन् । यो बीमा योजना ११ बर्ष उमेरदेखि ६५ बर्ष उमेरसम्म लागु हुनेछ । बीमा लेख लागु भएको २ बर्षपछि धितो राखेर ९० प्रतिशतसम्म ऋण लिन सकिने बीमा संस्थानकी सहायक प्रबन्धक आशा कुमारी बस्नेतले बताइन् । कम्पनीले यस अघि नै १० प्रकारका बीमा योजना कार्यान्वयन गरिरहेको छ । बीमा संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले सावधिक र आजिवन बीमा योजनाका गुण भएको योजनाले कम्पनीको बजार विस्तारमा ठुलो भूमिका निर्वाह गर्ने दावी गरे ।