सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले यस बैंकबाट सानिमा लाइफको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सानिमा लाइफ इन्स्योरेन्सका नायव महाप्रबन्धक केशवराज केसीले हस्ताक्षर गरेका छन् ।

एसियन लाईफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १२ प्रतिशत अर्थात ९ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै कर प्रयोजनका लागि ५० लाख ८७ हजार रुपैयाँ छुट्टाईएको एशियनले जनाएको छ । नियामक बीमा समिति र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने छ ।

३ वर्षमा ५०० प्रतिशत नाफा बढ्ने प्राइम लाइफ इन्स्योरेन्सको प्रक्षेपण, इपीएस ५२ रुपैयाँ पुग्ने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा नाफा ५०० प्रतिशत बढाउने प्रक्षेपण गरेको छ । प्रईम आर्थिक वर्ष ०७६/०७७ मा नाफा ५ सय प्रतिशत बढाएर १ अर्ब ४ करोड ५३ लाख रुपैयाँ पर्याउने भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीले २२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवमा ३९ करोड ९८ लाख र आगामी आवमा ६५ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीले प्रक्षेपित वित्तीय विवरण आफैले तयार पारेको जानकारी दिएको छ । नाफा बढेपछि कम्पनीको ३ वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५२ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५४ पैसा थियो । चालु आवमा घटेर २२ रुपैयाँ ४० पैसामा झर्ने छ । आगामी आवमा बढेर ३२ रुपैयाँ ६० पैसा पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षमा कम्पनीको आम्दानी १ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीले २६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा बढाएर ४२ करोड ५९ लाख र आगामी आवमा ७० करोड ८५ लाख रुपैयाँ पुग्ने देखिएको छ । यस्तै कम्पनीको संचित नाफा बढेर २ अर्ब २६ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीको संचित कोषमा ८० करोड ७६ लाख रुपैयाँ थियो । प्राइमले फागुन २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासन बन्द बैशाख २ गते हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ । आगामी वर्षमा बढेर २ अर्ब रुपैयाँ पुग्ने प्राइमले जानकारी दिएको छ ।