आइएमई जनरल इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेशनल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्तबादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । कार्यक्रममा आइएमई जनरलका सीईओ श्रेष्ठले नर्भिक इन्टरनेश्नल हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म नगद रहित हस्पिटलाईजेसन सुविधा प्रदान गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । साथै, सोही अवसरमा नर्भिक हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको छ । उनले अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरेका छन् ।
यूनाईटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने, पूँजी एक अर्ब नाघ्ने
काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले सेयरधनीमाझ २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० बराबर २४ कित्ता सेयर निष्कासन गरी पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्राको सेयरको बिक्री खुला हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । १२४ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३६ रुपैयाँ रहेको छ ।
रिलायन्स लाईफले ल्यायो बालजीवन योजना, बच्चाको दिर्घकालीन आर्थिक सुरक्षा गर्ने
काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ वर्षको अवसरमा “मेरो मुटु बालजीवन बीमा” योजना अघि ल्याएको छ । एक महिनाको उमेर देखि नै बच्चाको बीमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकैसाथ हुनु यस योजनाको विशेषता हो । यस योजनाले बच्चाको दिर्घकालीन आर्थिक सुरक्षा तथा बचतको आस्वस्थता प्रदान गर्नेछ । यस योजनामा परिपक्वतामा पाइने सुविधाहरुका साथै बीमा अवधिभरी प्रस्तावकको कुनै पनि कारणले मृत्यु वा दुर्घटनामा परिस्थायी अशक्तता भएमा सो घटना पश्चातको बाँकी सबै बीमा शुल्क मिनाहा हुनेछ । साथै बीमांक रकमको १ प्रतिशतको दरले हुन आउने रकम आयको रुपमा बीमाअवधी भरी हरेक महिना प्रदान गरिने छ जसले गर्दा बच्चाको भविष्य निर्माणमा विशेष मद्दत पुग्नेछ । यस बीमा योजनाको सञ्चालनसँगै कम्पनीले जम्मा ५ वटा जीवनबीमा योजनाबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ र निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको छ । हाल यस इन्स्योरेन्सको कूल पूंजी २ अर्ब १० करोड रुपैयाँ र चुक्ता पूंजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । सो मध्ये बाँकी रहेको ६३ करोड रुपैयाँको साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिनेछ ।