जनरल इन्स्योरेन्स कम्पनी नेपालको सेवा आरम्भ, बीमा समिति सहभागी भएन
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले कारोबार आरम्भ गरेको छ । कम्पनीले बुधबारदेखि केन्द्रिय कार्यालयबाट कारोबार आरम्भ गरेको हो । जनरल इन्स्योरेन्स कम्पनी नेपालले १८ औं नीर्जीवन बीमा कम्पनीका रुपमा सेवा आरम्भ गरेको हो । कम्पनीले आगामी आर्थिक बर्षभित्रै ४५ वटा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य तय गरेको सञ्चालक समितिका अध्यक्ष कुनाल क्यालले जानकारी दिए । २०६४ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको जनरल इन्स्योरेन्स कम्पनी नेपालले ११ बर्षपछि लाइसेन्स पाएर सेवा आरम्भ गरेको हो । उतिबेलै २ बर्षसम्म कार्यालय भाडामा लगाएर सेवा सञ्चालनको सबै तयारी सम्पन्न गरेको जनरलले लाइसेन्स नपाएपछि कार्यालय बन्द गरेको थियो । कम्पनीका महाप्रबन्धक एसके तमोटले नागरिकमा बीमाको पहुँच अभिवृद्धि गर्ने, बीमा व्यवसायलाई स्वस्थ र प्रतिष्पर्धी बनाउने बताए । जनताको घर दैलोमा बीमा सेवा उपलब्ध गराउने उदेश्यमा कम्पनी अघि बढ्ने पनि महाप्रबन्धक तमोटले जानकारी दिए । कार्यक्रममा बीमा समितिबाट भने कसैले पनि सहभागीता जनाएनन् । ‘हामीले बीमा समितिका अध्यक्षलाई निम्ता गरेका थियौं, अध्यक्षज्यूले बिशेष कारण बस आफु सहभागी हुन नसक्ने जानकारी गराउनु भयो’, कम्पनीका महाप्रबन्धक तमोटले भने । कम्पनीले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईलाई प्रमुख अतिथीका रुपमा निम्तो गरेको थियो । तर कार्यक्रममा अध्यक्ष मात्रै नभएर समितिका कसैले पनि सहभागीता जनाएनन् । नयाँ खुलेका सबै जीवन बीमा कम्पनीको कारोबार आरम्भ कार्यक्रममा अध्यक्ष चापागाईसहित समितिका उपल्लो तहका कर्मचारीले सहभागीता जनाउँदै आएका थिए । एक कम्पनीको पोलिसी सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष देखि तल्लो तहका कर्मचारीले समेत सहभागी हुँदै आएका थिए । तर जनरल इन्स्योरेन्स कम्पनीको कारोबार आरम्भ कार्यक्रममा भने समितिबाट कसैले पनि सहभागीता नजनाएका हुन् । १८२ जना संस्थापक सेयरधनी रहेको कम्पनीमा क, ख र ग वर्गका वित्तिय संस्थाहरुको पनि लगानी रहेको छ ।
आईएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न पायो अनुमति
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंगलबार ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । हकप्रद निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । छिट्टै हकप्रद सेयर निष्कासन गर्ने कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त वादे श्रेष्ठले बताए ।
आइएमई लाइफ इन्स्योरेन्सको बिक्री प्रवन्धकमा सिभिल क्यापिटल
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सिभिल क्यापिटल मार्केटका तर्फबाट निमित्त कार्यकारी प्रमुख सुमन आचार्यले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर निष्काशनको सम्पूर्ण काम बिक्री प्रवन्धक सिभिल क्यापिटलले गर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको र उक्त सेयर निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजी २ अर्ब रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ । साथै, संस्थापक सेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत रहने छ । कम्पनीले हालसम्म मुलुकभर ५० शाखा उपशाखा मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ ।