एसियन लाइफको बोनस सेयर ५० प्रतिशत घट्यो, अब ६ प्रतिशत मात्रै

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर ५० प्रतिशतले घटेको छ । कम्पनीले यस अघि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर घटाएर ६ प्रतिशतमा झारेको हो । कम्पनीले अब लगानी कर्तालाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैशाख १२ गते बसेको सञ्चालक समिति बैठकले बीमा समितिको निर्देशन अनुसार बोनस सेयरको दर घटाएर ६ प्रतिशत बनाएको हो ।

आइएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी हस्पिटलबीच नगद रहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटल बिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिईओ) युगेशभक्तबादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा इन्स्योरेन्सका सिईओ श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमा लेखमा तोकिएको सिमासम्म क्यासलेस हस्पिटलाईजेसन सुविधा प्रदान गर्ने बताएका छन् । साथै श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले इन्स्योरेन्ससंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गरेका छन् । अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा यस इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।

नेको इन्स्योरेन्सको ९९ हजार कित्ता हकप्रद लिलामीमा, बोलपत्र पेश गर्ने अन्तिम दिन बैंशाख २६ मा

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्ने भएको छ । कम्पनीको संस्थापक र सर्वसाधारणको गरी ९९ हजार ९४९ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको हो । हकप्रद सेयर खरिद गर्नका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति बैंशाख २६ गतेलाई तोकिएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । सर्वसाधारणको ९५ हजार ८८५ र संस्थापकतर्फ ४ हजार ६३ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । हकप्रद सेयर किन्न अंकित मूल्य १ सय रुपैयाँ भन्दा बढी दर प्रस्ताव गर्नुपर्ने छ । बोलपत्र न्युनतम १०० कित्तालाई गर्नुपर्ने छ । कम्पनीले चुक्तापुँजी बढाउन गत माघ २६ देखि चैत १ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेको हकप्रद सेयर लिलामी गर्न लागेको हो ।