जनता बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका हुन् । बैंकले आफ्ना ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले लाइफ इन्स्युरेन्ससँग सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
सिटिजन लाइफले विद्यार्थीलाई बीमा एजेन्ट हुँदै विज्ञ बनाउने, देशभरकाे स्कूलमा बीमा कार्यक्रम गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स्को विद्यार्थीसँग बीमा अभियान शुरु गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम आन्तर्गत सिटिजन लाइफले बीमा सम्बन्धि जनचेतना अभिबृद्घि गराउने उद्देश्यका साथ विद्यार्थीसँग बीमा अभियान सुरु गरेको बताएको छ । कम्पनीले भृकुटीमण्डमा असार २३ गते भृकुटीमण्डमा एक कार्यक्रमका बीच सिटिजन लाइफ इन्स्योरेन्स्का ब्राण्ड एम्बेसडर बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ तथा सिटिजन लाइफ इन्स्योरेन्स्का प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले अभियानको संयुक्त रुपमा शुभारम्भ गरेका छन् । नेपालमा बीमाको जनचेतनाको मात्रा कम रहेको र करिब १० प्रतिशतले मात्र जीवन बीमा गरेको पाईएको छ । अधिकांश मानिसहरु जीवन बीमा योजना, यसका सुविधाहरु र यसको योगदानहरुका बारेमा अनभिज्ञ रहेकोले बेलैमा जीवन बीमाको उपयोगिताको बारेमा थाहा दिन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समाजप्रतिको आफ्नो दायित्व बोध गर्दै विद्यार्थीसँग बीमा भन्ने कार्यक्रम लिएर आएको प्रमुख कार्यकारी अधिकृत पौडेल बताए । विद्यार्थीकालमा अध्ययन गरेको विषयले विद्यार्थीहरुमा पछिसम्म असर रहने र त्यसमाथि व्यवहारिक ज्ञानले झन् बृढि प्रभाव पार्ने एक अध्ययनले देखाएको छ । त्यसै कारण, विद्यार्थीहरु नै भोलिको परिवर्तनको संवाहक र देशको कर्णधार भएको बुझेर सिटिजन लाइफले विद्यार्थीसँग बीमा भन्ने कार्यक्रम लिएर आएको हो । यस कार्यक्रममार्फत विद्यार्थी स्वयंले बीमाको महत्व बुझ्ने, आफ्नो परिवारलाई र अरुलाई समेत बुझाई समाजमा नै बीमाको बारेमा जनचेतना फैलाउनमा सहयोग पुर्याउने विश्वास कम्पनीले लिएको छ । विद्यार्थीले बीमा एजेण्ट भई कार्य गर्न सक्ने, बीमा कम्पनीमै काम गर्न चासो देखाउने, बीमा सम्बन्धि नै उच्च अध्ययन गरि बीमा विज्ञ भई कार्य गर्न सक्ने सम्भावनाको ढोका खोल्ने उनले बताए । काठमाडौबाट सुरु गरिएको यो कार्यक्रम बिस्तारै देशभरीका सरकारी तथा निजी शैक्षिक संस्थाहरु मर्फत धेरै भन्दा धेरै विद्यार्थीहरु समेट्ने लक्ष्य लिइएको छ ।
हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार हिमालयन बैंकले लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ । सो सम्बन्धि सम्झौता पत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज.ब.रा. र लुम्बिनी जनरल इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधानले एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।