शिखर इन्स्योरेन्सले संस्थापकलाई भन्यो : साधारण सेयरमा परिवर्तन गर्ने कि नगर्ने ?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरधनीलाई आफनो स्वामित्व साधारण सेयरमा परिवर्तन गर्ने कि नगर्ने स्पष्ट पार्न भनेको छ । कम्पनीले लगानी संरचनामा परिवर्तन गरी संस्थापकको स्वामित्व ७० बाट घटाएर ६० र सर्वसाधारणको बढाएर ४० प्रतिशत पुर्याउने भएपछि संस्थापकलाई स्वघोषण गर्न भनेको हो । कम्पनीले आउदो ३५ दिनभित्र संस्थापक सेयर परिर्तन गर्ने वा नगर्ने स्पष्ट पार्न अनुरोध गरेको हो । कम्पनीको सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएको र कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गरिसकेको छ । नियामक बीमा समितिबाट स्वीकृति पनि प्राप्त गरिसकेको शिखरले जनाएको छ ।
एशियन लाइफको साधारणसभा जेठ १९ मा, ४ प्रतिशत बोनस सेयर र ६० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापूँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बीमा समितिले आउदो असारसम्म चुक्तापुँजी २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि हकप्रद जारीबाट चुक्तापुँजी बढाउन लागेको हो । कम्पनीको आउदो जेठ १९ गते वीरगञ्जमा हुने १० औं वार्षिक साधारणसभामा हकप्रद सेयर निष्कासन गर्न विशेष प्रस्ताव पेश हुने भएको छ । साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्ने छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत अर्थात ४ करोड ८३ लाख रुपैयाँ बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर जारीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ पुग्ने छ । सोको ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसैगरी संस्थापक सेयरलाई साधारणमा परिणत गरी स्वामित्व अनुपात संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव सभाले पारित गर्ने छ । हाल संस्थापक र सर्वसाधारणको स्वामित्व ७०ः३० रहेको छ । सेयर संरचना परिवर्तनपछि सञ्चालक समितिमा परिवतर्न गरी ७ जनाको गठन हुने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । जसअनुसार संस्थापकतर्फबाट ४, सर्वसाधारण २ र एकजना विज्ञ सञ्चालक नियुक्त हुने छन् । अधिकृत पुँजी २ अर्बबाट बढाएर ५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४३ करोड ५७ लाख
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको ९ महिनामा नाफा ६.३७ प्रतिशत बढेको छ । गत चैतसम्म कम्पनीले ४३ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको चैतसम्म नेपाल लाइफले ८२ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५४ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले हालसम्म ६३ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवमा मात्रै १० अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीसंग हालसम्म ११ लाख १२ हजार ५७९ बीमालेख रहेको छ ।कम्पनीको जगेडा कोषमा ३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।