आइएमई जनरल इन्स्योरेन्स एक अर्ब बीमा प्रिमियम संकलन गर्न सफल
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७४।०७५ मा कूल बीमा शुल्क १ अर्ब ९२ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) युगेशभक्त बादे श्रेष्ठले गत आवमा सो मात्राको बीमा प्रिमियम संकलन सफल भएकोमा खुशी व्यक्त गर्दै उच्च व्यवस्थापन तथा कर्मचारीहरुलाई नयाँ आवको शुभकामना दिएका छन् । २०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको छ । आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा आईजीआईलाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने सीईओ श्रेष्ठले जानकारी दिएका छन् । साथै, श्रेष्ठले आउने दिनहरुमा सबै ग्राहकहरुसंग अझै गहिरो व्यावसायिक सम्बन्ध स्थापना गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
ग्लोबल आईएमई बैंक र नेशनल लाइफ इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापछि ग्लोबल आईएमई बैंकका जुनसुकै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्न सकिने छ । बैंकले १३१ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १३२ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सिद्धार्थ इन्स्योरेन्सको एकैसाथ ६ वटा शाखा सञ्चालनमा
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले मंगलबार(आज) एकैसाथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारको क्रममा कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, वाराको निजगढ, मोरङ्गको विराट चोकमाशाखा सञ्चालन गरेको छ । यसै क्रममा इनरुवा शाखाको उद्घाटन सोही नगरपालिकाका मेयर राजन मेहता र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक दीपक धूतले संयुक्त रुपमा गरेका थिए । त्यसैगरी, नीजगढ शाखाको उद्घाटन नीजगढन गरपालिकाका मेयर सुरेशकुमार खनाल र कम्पनीका बरिष्ठ प्रबन्धक बद्रीबहादुर अधिकारीले संयुक्त रुपमा गरेका छन् । यसबाट बीमाको पहुँचलाई आम नागरिकसम्म पुर्याउन सहयोग मिल्ने र उद्योगी व्यवसायीहरुले छिटो छरितो एवं प्रभावकारी बीमा सेवा प्राप्त गर्नेमा कम्पनी विश्वस्त रहेको छ । यी शाखा विस्तार सँगै कम्पनीको ६१ वटा शाखा तथा २ वटा एक्सटेन्सन काउण्टर भएको छ । अब सातै प्रदेशमा आफ्नो शाखा सञ्जाल मार्फत बीमा सेवा विस्तार गरी गुणस्तरीय एवं प्रभावकारी रुपमा कृषि तथा पशुपन्छी सहित सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्नेछ । साथै, कम्पनीले गत आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।