शिखर इन्स्योरेन्सको नाफा ३१ करोड, ईपीएस ३९ रुपैयाँ
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ । गत चैतसम्म कम्पनीले ३१ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा शिखरको नाफा २६ करोड ६३ लाख रुपैयाँ थियो । ९ महिनामा कम्पनीले ५० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ४३ करोड ७५ लाख रुपैयाँ गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आम्दानी २३ प्रतिशत बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब रुपैयाँ थियो । कम्पनीको जोखिम जगेडा कोष बढेर ९४ करोड ५० लाख रुपैयाँ पुगेको छ । तराई बाढी र डुवानका कारण ३० करोड रुपैयाँको दावी भुक्तानी परेको छ । सो दावी मध्य कम्पनीको हिस्सा १ करोड रुपैयाँ मात्र रहेको छ ।
बीमा कम्पनीका सञ्चालक समितिको निर्णयमा भर परेर सेयरमा लगानी नगर्नुहोस्- चिरञ्जीवी चापागाईंसँगको भिडियो अन्तरवार्ता
काठमाडाैं । बीमा समितिको अध्यक्ष चिरञ्जीबी चापागाईंले बीमा कम्पनीहरुको सेयर मूल्यमा अस्वभाविक उतारचढाव आउनुमा बीमा कम्पनीका सञ्चालक समितिको अपरिपक्व निर्णयहरु जिम्मेवार भएको बताएका छन् । विकासन्युजको नियमित स्तम्भ विकास वहसमा बोल्दै उनले लगानीकर्ताहरुलाई सञ्चालक समितिको निर्णयमा मात्र विश्वस गरेर सेयर किन्ने निर्णय नलिन सुझाव दिएका छन् । सञ्चालक समितिका निर्णयहरु गलत भएकै कारण एभरेष्ट इन्स्योरेन्स, यूनाईटेड इन्स्योरेन्स लगायतका बीमा कम्पनीहरुको लगानीकर्ता मर्कामा परेको बताएका छन् । वर्षौ साधारणसभा नभएको कम्पनीको १०० रुपैयाँको सेयरलाई १८/२० हजार रुपैयाँ तिर्नु लगानीकर्ता आफैको कमजोरी भएको उनले बताएका छन् । बीमा समितिको अध्यक्ष भएर आएपछि बीमा क्षेत्रको धेरै समस्या हल गरेको, बीमाको पहुँचमा उल्लेख्य वृद्धि गरेको उनको भनाई छ ।
आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पतालबीच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ब्लु क्रस अस्पताल प्रा.लि. बीच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेशन (क्यासलेश हस्पिटलाइजेशन) सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पतालका तर्फबाट सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका थिए । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।