आईएमई जनरल इन्स्योरेन्सको नाफा १०३ प्रतिशत बढ्यो, ईपीएस ३१ रुपैयाँ

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७४/०७५ मा खुदनाफा १०३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले १६ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा ८ करोड ३२ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । नाफा बढेपछि कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३१ रुपैयाँ २५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ पुगेको कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले आफनो व्यवसाय ४५प्रतिशत वृद्धि गरेर १ अर्ब रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष ६९ करोड ४९ लाख रुपैयाँ मात्र बीमा शुल्क आर्जन गरेको थियो । २७ करोड ७२ लाख रुपैयाँ दावी भुत्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको नाफा २६.६७ प्रतिशत बढ्यो, गत वर्ष २९ करोड ८३ लाख

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७४/०७५ मा नाफा २६.६७ प्रतिशत बढाएको छ । कम्पनीले गत आर्थिक वर्षमा २९ करोड ८३ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेशनलले २३ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार ४२ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ छ । यस्तै प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ छ । गत असारसम्म कम्पनीले ६ अर्ब ४० करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै २ अर्ब १ करोड रुपैयाँ दावी भुत्तानी गरेको छ । कम्पनीले न्युनतम ६१ देखि ८० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । जगेडा कोषमा ५० करोड ६८ लाख रुपैयाँ छ ।

राष्ट्रिय बीमा कम्पनीको नाफा १३२ प्रतिशत वृद्धि, गत वर्ष ५५ करोड

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा १३२.४७ प्रतिशत खुदनाफा बढाएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७४/०७५ मा ५५ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बीमा कम्पनीको नाफा २३ करोड ७० लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा कम्पनीले ३१ करोड ३९ लाख रुपैयाँ नाफा बढाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा ८१ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष २९ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको थियो । नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०६ रुपैयाँ ६४ पैसा पुगेको छ । राष्ट्रिय बीमा सुचिकृत मध्ये ईपीएस सबैभन्दा बढी हुने कम्पनी हो । यस्तै प्रतिसेयर नेटवर्थ ८७६ रुपैयाँ छ । नेटवर्थ बढी हुनेमा राष्ट्रिय बीमा नै रहेको छ । कम्पनीले १७ हजार २२० बीमालेख जारी गरेर ९३ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको जानकारी दिएको छ । समीक्षा अवधिमा ८ करोड २९ लाख रुपैयाँ मात्र दावी भुत्तानी गरेको छ । कम्पनीको जगेडा कोषको आकार बढेर २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ९३ करोड रुपैयाँ थियो ।