एशियन लाईफले ल्यायो जीवन संजीवनी योजना, ५० हजारमै बीमा गर्न सकिने

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बीमा योजना “जीवन संजीवनी” (अग्रिम भुक्तानी सावधिक र आजीवन) सार्वजनिक गरेको छ । कम्पनीको संचालक समितिका अध्यक्ष दिपकुमार श्रेष्ठले शनिबार आयोजित एक कार्यक्रमका अवसरमा नयाँ बीमा योजना सार्वजनिक गरेका हुन् । न्यूनत्तम ५० हजारको बीमाङ्कमै शुरु गर्न सकिने यस योजनामा बीमितले बीमा अवधीभर पटक-पटक किस्तामा भुक्तानी पाउनेछन् । त्यस्तै, बीमित ९९ वर्ष पुरा हुन्जेल जीवितै रहेमा थप बीमाङ्क रकम भुक्तानी पाउने कम्पनीले जनाएको छ । यस अन्तर्गत बीमितले बीमाको अवधीका आधारमा बीमा शुरु भएको ३ वर्षदेखि नै किस्तामा बीमाङ्कको रकम भुक्तानी पाउनेछन् । साथै, उनीहरुले रकम भुक्तानी पाउन बीमा समाप्ती अवधीसम्म कुर्नु नपेर्ने इन्स्योरेन्सले बताएको छ । यदि बीमा अवधीभित्रै बीमितको मृत्यु भएमा परिवारजनले बाँकी बीमाशुल्क नतिरी नै बीमाङ्क रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानी पाउने छन् । यस कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ र चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ । कम्पनीले यसअघि नै १८ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याई सकेको छ ।

ज्योति लाईफ इन्स्योरेन्सको नाफा ६९ प्रतिशतले वृद्धि, खुद नाफा ११ करोड नजिक

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १० करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । कारोबार शुरु गरेको १० महिनामै कम्पनीले सो मात्राको नाफा कमाउन सफल भएकाे हो । गत त्रैमासको तुलनामा इन्स्योरेन्सले ६९ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमासमा खुद बीमा शुल्कमा १५४ प्रतिशतले वृद्धी गर्दै २८ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । सो अवधिमा कम्पनीले अल्पकालिन लगानीलाई घटाइ दिर्घकालिन लगानीमा जोड दिएको थियो । जसका कारणले दिर्घकालिन लगानीमा ५७ प्रतिशत वृद्धी भएको तथा अल्पकालिन लगानीमा ८५ प्रतिशतले कमी आएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, इन्स्योरेन्सको जगेडा कोषमा ११ करोड ८३ लाख र जीवनबीमा कोषमा १६ करोड १ लाख रुपैयाँ रहेको छ । जुन रकम क्रमशः ६० र ६३ प्रतिशतले बढेको देखिन्छ । समिक्षा अवधि सम्ममा कम्पनीले १ वटामात्रै दाबी भुक्तानीको लागि निवेदन प्राप्त गरी उक्त दाबी भुक्तानी समेत गरिसकेको छ । साथै, अन्य दाबी भुक्तानी गर्न बाँकी नरहेको कम्पनीले जनाएको छ । कम्पनीले हालसम्म वैदेशिक रोजगार म्यादी बीमा योजना संचालन गरेको छैन । कुल बीमा शुल्कमा सावधिक तथा आजिवन जीवन बीमा योजना बिक्रीबाट मात्रै सो मात्राको बीमा शुल्क आर्जन गर्न सफल भएको इन्स्योरेन्सले बताएको छ । त्यस्तै, कम्पनीको खुद मुनाफा राम्रो रहेको कारणले वीमितहरुलाई दिइने बोनसदरमा सकारात्मक प्रभाव पर्ने र बोनस दर समेत आकर्षक हुन सक्ने देखिन्छ । साथै हाल सम्म १ वटा मात्र मृत्यु दाबी भुक्तानी परेकोले कम्पनीको जोखिम विश्लेषण विधि पनि प्रभावकारी रहेको देखिन्छ । साथै, इन्स्योरेन्सले यसै आवमा ६६ वटा शाखा संजाल विस्तार गर्ने बताएको छ ।

एशियन लाईफ इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले १० बराबर ६ अनुपातको हकप्रद सेयर जारी गर्न आफ्नो बिक्री प्रबन्धकमा उक्त क्यापिटललाई नियुक्त गरेको हो । उक्त नियुक्ती सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । इन्स्योरेन्सले वार्षिक साधारण सभाबाट पारित भएबमोजिम हालको चुक्ता पुँजीको ६० प्रतिशत अर्थात ७५ करोड ४० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्ने इन्स्योरेन्सले जनाएको छ । इन्स्योरेन्सको हाल ५ अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको छ । बीमा कोषल १३ अर्ब १३ करोड रुपैयाँ र कूल लगानी १२ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।