बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा पौडेल

काठमाडौं । बीमा समितिको निमित्त कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त भएका छन् । शुक्रबार समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले पौडेललाई निमित्त कार्यकारी निर्देशकमा बढुवा गरेका हुन् । अघिल्ला निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले असार १ गतेदेखि अवकास पाएपछि सो पद खाली थियो । यद्यपी बीमा समितिमा कार्यकारी निर्देशक पद भने चार बर्षदेखि खाली रहँदै आएको छ । बीमा समितिमा निर्देशकका रुपमा कार्यरत पौडेललाई बरिष्ठताका आधारमा निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।

पुनर्बीमा कम्पनीले १६० करोडको आईपीओ ल्याउदै, निष्कासन प्रवन्धकमा आरबीबी मर्चेन्ट

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्न लागको हो । आईपीओ निष्कासन गर्न नेपाल पुनर्बीमाले आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आईपीओ निष्काशन सम्बन्धी सम्झौता—पत्रमा पुनर्बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी र आरबीबीका सीईओ डा.रमेशकुमार भण्डारीले हस्ताक्षर गरेका छन् । पुनर्बीमाको अधिकृत पूँजी १५ अर्ब, जारी पूँजी १० अर्ब, र चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्कासन बाँडफाँड पश्चात संस्थाको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्ने छ । सार्वजनिक तथा निजी साझेदारी नीति अन्तर्गत सरकारको समेत स्वामित्व रहेको कम्पनीले ०७२ साउन १ गतेदेखि पुनर्बीमाको कारोवारको शुरु गरेको हो । गत आर्थिक वर्ष २०७४/०७५ अन्त्यसम्म ४ अर्ब रुपैयाँ पुनर्बीमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ४० करोड खुद नाफा गरेको जानकारी दिएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच क्यासलेस सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेजबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेजको तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म वीरगंजको पर्सामा रहेको नेशनल मेडिकल कलेजबाट नगद रहित अन्तरंग सेवा पाउने छन् । इन्स्योरेन्सले स्वास्थ्य सेवामा ग्राहकको पहुँच सजिलो बनाउने लक्ष्यका साथ नगद रहित अन्तरंग सेवा(हस्पिटलाईजेसन) स्वास्थ्य बीमा योजना अगाडि ल्याएको हो । उक्त सेवालाई प्रदेशिक तहमा समेत विस्तार गर्ने इन्स्योरेन्सको उद्देश्य रहेको छ ।