अब ग्लोबल आईएमई बैंकबाटै एशियन लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब ग्लोबल आइएमई बैंक लिमिटेडबाट एशियन लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने छ । उक्त सेवा पाइने सम्बन्धि ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाहरु मार्फत एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद पाइने छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । बैंकले हाल १३२ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४० एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

अब महालक्ष्मी विकास बैंकबाटै सूर्य लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । अब महालक्ष्मी विकास बैंक लिमिटेड बाटै सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा पाइने भएको छ । बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने उद्देश्यले सूर्य लाइफ इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गरेको हो । उक्त सम्झौतामा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्य लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् । महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहको छ । बैंकले हालसम्म २६ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनी पाँच वर्षमा प्रवेश, एक अर्ब १३ करोड नाफा कमाउन सफल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड पाँच वर्षमा प्रवेश गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पाँचौ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा बीमा व्यवसायको विस्तार र विकासमा पनि कम्पनीले महत्वपूर्ण योगदान गरेको बताएका छन् । साथै, अर्थमन्त्री डा. खतिवडाले भविष्यमा कम्पनीको क्षमता समेत बढ्दै जाने अपेक्षा राखेका छन् । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले विदेशी बिमकले गर्ने पुनर्बीमाको उल्लेख्य हिस्सा स्वीकार गरी सेवा दिन सफल भएकोमा कम्पनीलाई बधाई दिएका छन् । कम्पनीका अध्यक्ष महेशकुमार गुरागाईंले नेपालको एकमात्र पुनर्बीमा कम्पनीको उद्देश्य नेपाली बीमा बजारको सुदृढीकरण गर्न बिमकहरुलाई सहयोग गर्नु रहेको बताएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बीमा व्यवसायलाई समयसापेक्ष बनाउन आफ्नो दक्षता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रियस्तरको पुनर्बीमा सेवा दिने प्रतिबद्धता जनाउँदै तेस्रो मुलुकबाट बढी भन्दा बढी व्यवसाय गर्ने योजना रहेको बताए । केही महिनाभित्रै सर्वसाधारणलाई कम्पनीको सेयर जारी गर्ने पनि उनले जानकारी दिए । उक्त अवसरमा कम्पनीका उत्कृष्ट कर्मचारी श्रीमती बिनिता खनाल र सूश्री अनिता गौतमलाई नगद पुरस्कारका साथ सम्मान गरिएको थियो । नेपाल सरकारको प्रमुख लगानी रहेको यस कम्पनीको ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी छ । सर्वसाधारणलाई १ अर्ब ६० करोड सेयर बाडफाँड पश्चात चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्ने छ । कम्पनीले गत आर्थिक वर्षमा करिब चार अर्ब प्रिमियम संकलन गरी एक अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।