नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाल बीमक संघको २४औं वार्षिक साधारण सभा शुक्रबार (आज) काठमाडौंमा सम्पन्न भएको छ। सभामा संघका अध्यक्ष वीरेन्द्र बैदबार क्षेत्री लगायत निर्जीवन बीमा कम्पनीका प्रतिनिधि, नियामक निकायका पदाधिकारी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । साधारण सभामा संघका वीरेन्द्रले स्वागत मन्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रस्तुत प्रतिवेदनमा संघका गतिविधि, बीमा क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू तथा भावी कार्ययोजनाका बारेमा चर्चा गरिएको थियो । सभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, आय व्यय विवरण, आगामी कार्ययोजना तथा कार्यक्रमहरू सर्वसम्मत रूपमा पारित गरेको छ । साथै बीमा क्षेत्रको सुदृढीकरण तथा बीमा पहुँच विस्तारका विषयमा निर्णयहरूसमेत गरेको छ ।
निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३३.९७ प्रतिशत, कसको हिस्सा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (मंसिरसम्ममा) १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । ४ वटा लघु निर्जीवन बीमा कम्पनीले सो अवधिमा ४९ करोड ६० लाख रुपैयाँ कुल व्यवसाय आर्जन गरेका छन् । १४ निर्जीवन र ४ लघु निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्ममा मोटर बीमामार्फत सर्वाधिक व्यवसाय आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार पाँच महिनामा बीमा कम्पनीहरूले मोटर बीमामार्फत ६ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन कुल व्यापारमा मोटर बीमाको हिस्सा ३३.९७ प्रतिशत रहेको छ । दोस्रो धेरै व्यापार सम्पत्ति बीमामार्फत ४ अर्ब ९६ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २४.८४ प्रतिशत रहेको छ । तेस्रोमा व्यापार इन्जिनियरिङ र ठेक्का बीमामार्फत २ अर्ब ९१ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कुल व्यापारमा इन्जिनियरिङ बीमाको हिस्सा १४.५८ प्रतिशत रहेको छ । कम्पनीहरूले विविध बीमामार्फत २ अर्ब ५ करोड ४१ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । जुन कुल व्यापारमा विविधको हिस्सा १०.२८ प्रतिशत रहेको छ । त्यस्तै, बीमा कम्पनीहरूले सामुन्द्रिक बीमामार्फत १ अर्ब १७ करोड ९९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेका छन् । कुल व्यापारमा सामुन्द्रिक बीमाको हिस्सा सामुन्द्रिकको ५.९० प्रतिशत रहेको छ । यस्तै, मंसिरसम्ममा हवाई बीमामार्फत ८६ करोड ३ लाख रुपैयाँ संकलन गरेका छन् । कुल व्यापारमा हवाई बीमाको हिस्सा ४.३० प्रतिशत छ । कम्पनीहरूले ५ महिनामा कृषि तथा बाली बीमामार्फत ७१ करोड ९७ लाख रुपैयाँ र लघु बीमामार्फत ५० करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कुल व्यापारमा कृषि तथा बालीको ३.६० प्रतिशत र लघुको २.५२ प्रतिशत रहेको छ ।
५ महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय १९ अर्ब माथि, कस्को व्यापार कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना (मंसिर महिना) सम्ममा निर्जीवन बीमा कम्पनीहरूले १९ अर्बमाथि कुल व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार (आज) सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनीहरूले ११ लाख ६२ हजार १९६ वटा बीमा पोलिसी जारी गरेर १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका हुन् । बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै २ लाख ५९ हजार ९८ पोलिसी जारी गरेर कुल ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । मंसिर मसान्तसमममा सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले गरेको छ । कम्पनीले ५ महिनाको अवधिमा १ लाख ७ हजार ९२० बीमालेख जारी गरेर कुल २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले मंसिर महिनामा मात्रै ४३ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्सले १ लाख ३० हजार १६७ बीमालेख जारी गरी २ अर्ब १५ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ लाख २९ हजार ६४६ पोलिसी जारी गरेर २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ३१ करोड रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब २२ करोड रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।