भुकम्पमा क्षति भएका घर बनाउन २ प्रतिशत ब्याजमै कर्जा, राष्ट्र बैंकले दिन सक्ला त ८ खर्ब ?

विकासन्युज/काठमाडौं २४ बैशाख । विनासकारी भुकम्पमा परी क्षति पुगेको घर पुननिर्माणको लागि २ प्रतिशत ब्याजमै कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले यति सस्तो ब्याजमा कर्जा पाइने ब्यवस्था मिलाएको हो । विनासकारी भुकम्पको कारण क्षति भएका घर पुननिर्माण गर्नको लागि काठमाडौं उपत्यकामा २५ लाख र अन्य क्षेत्रमा १५ लाख रुपैयाँसम्म २ प्रतिशत ब्याजमा कर्जा पाइने भएको हो । यस्तो रकम राष्ट्र बैंकले शुन्य ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने र उनीहरुले २ प्रतिशत प्रसाशनिक खर्च राखेर सर्वसाधारणलाई उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ ।   गृहमन्त्रालयले दिएको विहिवार विहानसम्म दिएको तथ्यांक अनुसार बिनासकारी भुकम्पको कारण मुलकभरमा २ लाख ८८ हजार घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने २ लाख ५४ हजार घरमा आशिंक क्षति पुगेको छ । भुकम्पको कारण क्षति पुगेका घर पुननिर्माण गर्नको लागि यस्तो कर्जा पाइने राष्ट्र बैंकका प्रवक्ता डा. मिनवहादुर श्रेष्ठले जानकारी दिए । गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका करिब ५० हजार घर भुकम्पको कारण क्षतिग्रस्त भएका छन् । यस्ता घर पुन निर्माण गर्नको लागि प्रतिघर २५ लाख रुपैयाँको दरले कर्जा प्रदान गर्दा पनि १ खर्ब २५ अर्ब रुपैयाँ लाग्छ । यस्तै काठमाडौं वाहिरका करिब ४ लाख ५० हजार घर क्षतिग्रस्त भएका छन् । यी सवै घरको लागि प्रतिघर १५ लाख रुपैयाँको दरले कर्जा दिदा ६ खर्ब ७५ अर्ब रुपैयाँ लाग्छ । दुबै संख्या जोड्दा भुकम्पको कारण क्षति भएका घरको पुननिर्माण गर्नको लागि मात्रै ८ खर्ब रुपैयाँ खर्च लाग्ने देखिन्छ । राष्ट्र बैंकका प्रवक्ता डा. श्रेष्ठ भने यति ठूलो मात्रामा कर्जाको माग नहुने दाबी गर्छन । बैंक वित्तीय संस्थावाट कर्जा लिएर घर बनाएका सर्वसाधारणको लागि लक्षित गरेर यस्तो कार्यक्रम ल्याइएकोले यति धेरै कर्जाको माग नहुने उनको बुझाइ छ । ‘अहिले ल्याइएको योजना ब्याज सस्तो मात्रै हो, बैंकवाट कर्जा लिने र कर्जाको किस्ता तिर्ने ब्यवस्था पहिलाको जस्तै हो,’ डा. श्रेष्ठले भने– नियमित कर्जा तिर्न सक्ने आम्दानी भएका र कर्जा लिनको लागि धितो भएका ब्यक्तिहरु मात्रै यसमा सहभागी हुन पाउने भएकोले त्यति धेरै कर्जाको माग होला भन्ने अनुमान गरेका छैनौं । सरकारले ग्रामीण क्षेत्रमा र गरिबको लागि करिब ३ लाख घर बनाएर निशुल्क दिने योजना बनाएको छ । सरकारको यस्तो योजनाले पनि कर्जाको माग कम हुने राष्ट्र बैंकको भनाइ छ । तर पनि करिब ४ देखि ५ खर्ब रुपैयाँ पुन कर्जामा जान सक्ने आकलन गरिएको छ । यति रकम नै चाहिने भएपनि राष्ट्र बैंकका विभिन्न कोषमा भएको रकम परिचालन डा. श्रेष्ठको भनाइ छ । नेपाल राष्ट्र बैंकले शुन्य ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुलाई पुनकर्जा उपलब्ध गराउने र बैंक तथा वित्तीय संस्थाहरुले २ प्रतिशत प्रशासनिक खर्च राखेर सर्वसाधारणलाई कर्जा दिने ब्यवस्था मिलाउन लागेका हुन् । यसरी कर्जा प्रदान गर्ने नीतिगत निर्णय भएपनि राष्ट्र बैंकले कार्यविधि बनाए पछि कार्यान्वयन हुने छ ।

लुम्बिनी बैंकद्धारा एक करोड रुपैयाँ बढीको सहयोग घोषणा

विकासन्युज /काठमाडौं, वैशाख १८ । भूकम्पपीडितहरुलाई राहत तथा पुनःस्र्थापनाका लागि लुम्बिनी बैंक लिमिटेडले एक करोड रुपैयाँ बढीको सहयोग घोषणा गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् एक करोड दुई लाख २२ हजार दुई सय २२ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको जनाएको छ । बैंकले सहयोग रकममध्ये ५१ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र बाँकी ५१ लाख ११ हजार एक सय ११ रुपैयाँ भूकम्पपीडितहरुलाई राहत तथा पुनःर्बासको प्रक्रियाका लागि खर्च गर्ने विज्ञप्ति जारी गरी जनाएको छ । यस्तै, टुरिजम डेभलपमेन्ट बैंकले पनि बैंक तथा कर्मचारीहरुको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख प्रदान गरेको जनाएको छ । बारा जिल्लामा रहेका सहकारीहरुले पनि करिब चार लाख रुपैयाँ संकलन गरेको जनाइएको छ । यसैगरी, नेपाल उद्योग परिसंघले नुवाकोट, दोलखा, धादिङ र रामेछापमा सम्बन्धित जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरुलाई ४० टन बराबरको चामल, चिउरा र चाउचाउ वितरण गरेको जनाएको छ । नेपाल चेम्बर अफ कमर्सले पनि विभिन्न जिल्ला तथा शिविरहरुमा करिब १० लाख बराबरको १५ हजार प्याकेट खाद्यान्न, ४ सय क्यारेट पानी र १ सय ५० थान त्रिपाल वितरण गरेको जनाएको छ ।

भूकम्प पीडितका लागि मेगा बैंकको राहत कोष, सेवामा विशेष छुट सुविधा

विकासन्युज/ काठमाडौं, बैशाख १७ । मेगा बैंक नेपाल लिमिटेडले महाभूकम्प पीडित नेपालीका लागि राहत कोष सञ्चालन स्थापना गरेको छ । महाभूकम्प पीडितहरुलाई तत्काल राहत पुर्याउने उद्देश्यले ‘मेगा अर्थक्वेक ग्रान्ट अकाउन्ट’ (मेगा) नामक चल्ती खाता स्थापना गरेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए । यस खातामा जम्मा हुने सम्पूर्ण रकम भूकम्प पीडितहरुको उद्धार, उपचार, राहत, पुनस्र्थापना, भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले खडा गरेको “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा जम्मा गरिने सिइओ शाहले जनाए । बैंकले आफ्नो यस सहयोग अभियानमा सहभागी हुन बैंकका शेयरधनी, ग्राहकवर्ग तथा शुभेच्छुकहरुलाई अपिल गरेको छ । राहत रकम आफूलाई पायक पर्ने स्थानमा मेगा बैंकका कुनै पनि शाखाहरुमा खाता नम्बर ००१००१०२८६५९१ ‘डी’ मा स्वेच्छिक रुपमा रकम जम्मा गर्न सकिने बताइएको छ । गत शनिबार आएको महाभूकम्पले मुलुकभरनै मानवीय तथा भौतिक रुपमा गरेको अपुरणीय क्षतिप्रति मेगा बैंकले गहिरो दःख समेत प्रकट गरेको छ । महाभूकम्पबाट मेगा बैंक समेत प्रभावित भएको छ । काठमाडौँको टेकु शाखा, सिन्धुपाल्चोक जिल्लाको चौतारा शाखा र रसुवा जिल्लाको स्याफ्रूबेसी शाखा संचालन गर्ने अवस्थामा नरहेको बैंकले जनाएको छ । तर, ती शाखाहरुमा एटीम सेवा भने संचालनमा रहेको छ । तीन वटा बाहेक अन्य शाखा भने यथावत रुपमा संचालन रहेको बैंकले जनाएको छ । यसैगरी, महाभूकम्पका बेला सर्वसाधारणलाई राहत मिलोस भन्ने उद्देश्यले बैंकले आगामी एक महिनाभित्र विशेष छुट तथा सुविधा समेत उपलब्ध गराउने भएको छ । देशभित्र गरिने १ लाखसम्मको रेमिट्यान्स कारोबार पूर्णरुपमा निःशुल्क गरिएको छ भने मेगा बैंकको एटीएमहरुबाट नेपाली रुपैयाँमा जारी गरिएको एटीएम कार्ड प्रयोग गरी नगद भुक्तानी लिएको कारोबार शुल्कमा पूर्णरुपमा छुट गरिएको छ । यसका साथै, नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी स्थापना गरिएका कुनै पनि खातामा हुने कारोबारको शुल्कमा सदैव पूर्ण रुपमा छुट प्रदान गरिने मेगा बैंकले जनाएको छ ।