महालक्ष्मी विकास बैंकका सबै शाखा सञ्चालनमा
काठमाडौं । हालसालै घटेका विभिन्न दुःखद घटनाहरुमा ज्यान र सम्पत्तिमा पुगेको क्षतिप्रति महालक्ष्मी विकास बैंकले शोक प्रकट गरेको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि गरेको छ । बैंकले घटनाबाट सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ । साथै, सुरु भइसकेको सरकार गठन प्रक्रिया चाँडै टुंगिएर मुलुकको असामान्य अवस्था सामान्यतर्फ जाने, शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास बैंकले व्यक्त गरेको छ । विज्ञप्तिमा बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यहाँका ग्राहकले नजिकैका शाखामार्फत बैंकिङ सेवा लिन सकिने जानकारी दिइएको छ । बैंकले लेकसाइड पोखरा शाखा बाहेक अन्य १०२ शाखा कार्यालयमा सेवा नियमित रुपमा सञ्चालन भइरहेको र सम्पूर्ण डिजिटल सेवा पनि सुरक्षित रुपमा निरन्तर चलिरहेको जनाएको छ ।
आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बडादसैंलाई लक्षित गर्दै सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ । भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणले सुकिला बैंक नोट सटही गर्न सक्ने बैंकले जनाएको छ । मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित राष्ट्र बैंकको मुख्य कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रदेशीय कार्यालय तथा 'कु', 'खु' र 'गु' वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सटही सेवा उपलब्ध हुनेछ । राष्ट्र बैंकले संघसंस्था र सर्वसाधारणलाई तोकिएको अवधिभित्रै सुविधा लिन आग्रह गरेको छ ।
राष्ट्र बैंकले १.२० अर्ब रुपैयाँ बैंकमा लगानी गर्ने, ८ प्रतिशत निष्क्रिय कर्जा भएकाले आवेदन दिन पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ बराबरको रकम लगानी गर्नेछ । बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष कायम रहेको र निष्क्रिय कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ । आफूले लिन चाहेको रकम र ब्याजदरसमेत प्रस्ताव गरी आवेदन दिन केन्द्रीय बैंकले सूचनामार्फत आग्रह गरेको छ ।