यती एअरलाइन्समा विद्युतीय भ्यानको प्रयोग सुरु

काठमाडौं । नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ । यती एअरलाइन्सका कार्यकारी निर्देशक चन्दा शेर्पा र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले शुक्रवार एक समारोह बिच विद्युतीय भ्यान प्रयोगको शुभारम्भ गरेका हुन् । वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षामा यती एयरलाइन्सले विद्युतीय सवारी साधन प्रयोगमा ल्याएको हो । अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक शोधका अनुसार एउटा सामान्य यात्रु वाहक सवारी साधनले वार्षिक ४.६ टनका दरमा कार्बनडाइअक्साइड ग्याँस उत्सर्जन गर्छ । यो सुरुवातले सकारात्मक प्रतिक्रिया पाए पेट्रोलबाट चल्ने विद्यमान सबै (२० वटै) भ्यानलाई महिन्द्रा इ–सुप्रो विद्युतीय भ्यानले स्थानान्तरण गर्ने योजना यती एयरलाइन्सको रहेको छ । यती एअरलाइन्सले ‘’कार्बन क्रेडिट” खरिद गरेर आफ्नो “हरितगृह ग्याँस” उत्सर्जनको भर्पाइ गर्दै आएको छ । यो जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय संयन्त्र महासन्धी (युएनएफसीसीसी) बाट प्रमाणित उत्सर्जन न्युनिकरणको उपाय हो । विगतमा पनि यती एअरलाइन्सले “हरियो सुदूर पश्चिम परियोजना” र “सगरमाथा सफाइ अभियान” जस्ता महत्वपूर्ण वातावरणीय र सामाजिक अभियानहरु संचालन गर्दै आएको थियो । ‘विद्युतीय भ्यानको सुरुवात कार्बन न्युट्रलिटीप्रति हाम्रो प्रतिबद्धता जाहेर गर्ने एउटा अवसर हो । वास्तवमा कार्बन न्युट्रलिटी वातावरण संरक्षणको दिशामा हाम्रो इमान्दार र व्यवहारिक प्रयत्न हो । एउटा सकारात्मक परिवर्तनको अग्रज बन्न पाउँदा हामी गौरवान्वित छौं । हामीलाई विश्वास छ, यसले सबैलाई हाम्रो पृथ्वीको रक्षार्थ चेतनशिल कदम चाल्न उत्प्रेरणा दिनेछ,,’’ यति एअरलाइन्सका प्रबन्ध निर्देशक चन्दा शेर्पाले भनिन् । त्यसैगरी, युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले यती एअरलाइन्सको यस कार्यका लागि बधाई दिँदै भने, ‘आज यतीले कार्बन न्युट्रलिटी यात्रामा एक पाइला अघि बढाएको छ । हामी निकै खुसी छौं । दीर्घकालीन विकासमा अघि बढ्ने यो यात्रामा हामी तपाईंहरुको साथमा छौं । हामीलाई विश्वास छ, यो कार्यले प्रदुषण न्युनीकरण र पृथ्वीको संरक्षणमा सामुहिक कार्य गर्न अरु धेरैलाई पनि प्रेरणा दिनेछ ।’

आकासियो सुनकाे मूल्य, प्रतितोला ७३ हजार ५ सय

काठमाडौं । साताको दास्रो दिन सुन हाल सम्मकै उच्च मूल्यमा कारोबार भईरहेको छ । आइतबार प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको सुन सोमबार एक हजार रुपैयाँ वृद्धि भई हालसम्मकै उच्च मूल्य प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा बिक्री वितरण भईरहेको छ । त्यस्तै आइतबार प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनले भने ७३ हजार २ सय रुपैयाँ कायम गरेको छ । चाँदी आइतबारको तुलनामा १० रुपैयाँ बढेर प्रतितोला ८६० रुपैयाँमा बिक्री भईरहेको छ । पछिल्लो समय सुनको मूल्य वृद्धिसँगै व्यापार शून्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यामाहाको नेकेड बाइक ‘एमटी १५’ सार्वजनिक, मूल्य ४ लाख

काठमाडौ्र । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी १५, ‘द डार्क वारियर’ लाई नेपालमा सार्वजनिक गरेको छ । यामाहा एमटी १५ को मूल्य चार लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ, भने यो ‘मेटालिक ब्ल्याक’ र ‘डार्क म्याट ब्लु’ गरी दुई एक्साइटिङ कलरमा उपलब्ध छ । ‘एमटी’को पूर्ण रुप ‘मास्टर अफ टर्क’ हो । एमटी सिरिजका यामाहा मोटरसाइकल ‘पावर’ (शक्ति) र ‘एजाइलिटी’ (फुर्तिलोपना)का लागि लोकप्रिय छन् । हाइपर नेकेड प्लेटफर्ममा बनेको नयाँ एमटी १५ मा प्रयोग भएको फयुल इन्जेक्टेड इन्जिनले १०००० आरपीएममा अधिकतम १९.३ पीएस शक्ति र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । नयाँ एमटी १५ ‘एजाइल एसिलेरेसन’, ‘एजाइल ह्यान्डलिङ’ र ‘एड्भान्सड डिजाइन’ को सबैभन्दा उत्कृष्ट नमुना हो जुन ‘टर्क’ र ‘एसिलेरेसन’ अनुभव गर्न चाहने युवा राइडरलाई लक्षित गरेको कम्पनीले जानकारी दिएको छ । नयाँ एमटी १५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि रहेको छ । नयाँ एमटी १५ मा १४० एमएमको रियर टायर र २८२ एमएमको सिंगल च्यानल एबीएसहितको फ्रन्ट डिस्क छ । जसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाइदिन्छ । नेपाली राइडरहरु अहिले ‘स्पिड’ र ‘कन्ट्रोल’प्रति निकै चनाखो छ र यसकारण मोटरसाइकलिङको नयाँ ट्रेन्ड सुरु भइसकेको छ । एमटी१५ को लुक्स र टेक्नोलोजी अन्तर्राष्ट्रिय बजारमा चर्चित एमटी डीएनएबाट प्रभावित छ । १३८ किलोग्राम वजन भएको यो मोटरसाइकलको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ, भने ‘इन्जिन वार्म अप टाइम’ कम गर्न थर्मोस्ट्याट् कुलिङ सिस्टम जडान गरिएको छ । त्यसैगरी, ‘हाई आरपीएम’ स्पष्ट आवाजका लागि तीन तह भएको मफ्लर प्रयोग गरिएको छ ।