एमएडब्लु वृद्धिले सुरु गर्यो भक्तपुरमा दिपलको नयाँ सोरुम
भक्तपुर । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले शुक्रबार भक्तपुरको राधेराधेमा आफ्नो नयाँ सोरुम उद्घाटन गरेको छ । एमएडब्लु वृद्धिले स्काईलाइन मोटरमार्फत यो क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारिया र स्काईलाइन मोटरका निर्देशक विशाल पान्डेले संयुक्त रुपमा दिपलको भक्तपुर सोरुमलाई उद्घाटन गरे । उद्घाटन समारोहमा नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आर्टिफिसियल इन्टेलिजेन्ज भएका सवारीसाधनहरु नेपालमा भित्रिनु सुविधा र सुरक्षाका हिसाबले महत्वपूर्ण रहेको बताए । ‘अब सूचना प्रविधिका क्षेत्रमा मात्र होइन अटोमोबाइलमा पनि आर्टिकफिसियल इन्टेलिजेन्स भित्रिइसकेको छ,’ उनले भने, ‘सरकारले डिजेल पेट्रोलका सवारीसाधनको आयातलाई कम गर्न र देशमा प्रचुरमात्रामा भएको जलस्रोतलाई उपयोग गर्न सवारीधान, रेल र उद्योगलाई विद्युतीकरण गर्नुपर्छ ।’ उनले समाजका सबै तप्कासम्म विद्युतीय सवारीसाधनको पहुँचलाई सहज बनाउन सरकारले काम गर्नुपर्ने पनि बताए । त्यसैगरी, एमएडब्लु वृद्धि अटोकर्पका अध्यक्ष विष्णु अग्रवालले आकर्षक डिजाइन, सुरक्षा, विश्वसनीयता र आर्थिक लाभका कारण नेपालमा विद्युतीय गाडीको लोकप्रियता तीव्र गतिमा बढिरहेको बताए । ‘आजको दिनमा नेपालमा आयात हुने ८० प्रतिशत कार इभी हुन् । यसबाट नेपाली प्रयोगकर्तामाझ इभीप्रतिको विश्वसनीयता बढिरहेको देखिन्छ’. उनले भने । उनले चीनको सबैभन्दा पुरानो र दोस्रो ठूलो अटोमोबाइल कम्पनीलाई नेपालमा प्रतिनिधित्व गर्न पाउँदा आफूले गर्व महसुस गरिरहेको बताए । ‘६ महिनाअघि सार्वजनिक गरेयता हामीले पाँच सय ५० भन्दा बढी दिपल इभी डेलिभरी गरिसकेका छौं र सबै ग्राहक यसको पर्फमेन्सबाट सन्तुष्ट हुनुहुन्छ’, उनले भने । कार्यक्रममा स्काईलाइन मोटरका निर्देशक विशाल पान्डेले भक्तपुरमा औपचारिक रुपमा सोरुम सुरु गर्नुभन्दा पहिले नै बजारबाट राम्रो प्रतिक्रिया पाउन थालिसकेको बताए । एमएडब्लु वृद्धिले यसअघि नै पोखरामा आफ्नो अपरेसन सुरु गरिसकेको छ भने बुटवल, विरगंज, नारायणघाट, विराटनगर र विर्तामोड गरी थप पाँच सहरमा आफ्नो सञ्जाल विस्तार गर्ने योजना बनाएको छ।
२० वर्ष विदेशमा मजदुर गरेका भुसाल भन्छन् : देशमा आनन्दले परिवारसँग काम गर्न पाइन्छ
रामपुर । रामपुर नगरपालिका–९ का नारायण भुसालले व्यावसायिक रूपमा सागसब्जीखेती सुरु गरेका छन् । दुई दशक विदेशमा मजदुरी गरेका उनले रामपुर–७ को पाँच रोपनी पाखोबारी भाडामा लिएर सागसब्जीखेती थालेका छन् । ‘लामो समयसम्म अर्काको देशमा पसिना बगाए, गाउँ फर्केलगत्तै जग्गा भाडामा लिएर सागसब्जीखेती सुरु गरेको छु, अहिले सागसब्जी, रोप्ने र रेखदेखमै व्यस्त छु’, उनले भने । उनले तीन वर्षका लागि वार्षिक ४० हजार रुपैयाँमा जग्गा भाडामा लिएका हुन् । बेमौसमी सागसब्जी उत्पादनलाई जोड र्दिएका उनले काउली, ब्रोकाउली, बन्दा, धनियाँ, मुलालगायत सागसब्जी रोपेका छन् । व्यवसाय सुरु गरेको पहिलो वर्षमा नै प्रशस्त आम्दानी भएपछि भुसाललाई सागसब्जीखेतीमा उत्साह थपिएको छ । एक वर्षमा उनले चार लाख रुपैयाँ आम्दानी गरेको बताए । वार्षिक रूपमा सात लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको लक्ष्य छ । ‘अर्काको देशमा धेरै दुःख छ, विदेशको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ, दिनमा कम्तीमा पनि १२ देखि १५ घण्टाको काम गर्नुपर्छ, तैपनि कामअनुसारको पारिश्रमिक पाइँदैन, आफ्नो देशमा आनन्दले परिवारका साथमा काम गर्न पाइन्छ, यसमै आनन्द छ’, विदेशमा आफूले भोगेको अनुभव उनी सुनाउँछन् । उद्यमी भुसाललाई आफ्ना उत्पादन बिक्रीको कुनै चिन्ता छैन । उनले उत्पादन गरेका सागसब्जी रामपुर बजारमा बिक्री हुने गरेको छ । व्यापारीले घरमा नै आएर खरिद पनि गर्ने गरेका छन् । उहाँ सागसब्जी मात्र नभई फलफूलका बिरुवा उत्पादन गरेर बिक्री पनि गर्छन् । रासस
पोखरामा ट्याक्सी चालकले यात्रुलाई बाध्य बनाएर बढी भाडा असुल गर्दै
म्याग्दी । पोखरा जानका लागि मंगलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले चार हजार रुपैयाँ भाडा मागे । रघुगंगा–२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले छ हजार रुपैयाँ भाडा मागेको मागेको गुनासो गरिन् । ‘काउन्टरमा पालो कुरेर बस्ने ट्याक्सीले तोकिएभन्दा बढी भाडा नदिने जान मान्दैनन’, शर्माले भनिन्, ‘काउन्टरमा ट्याक्सी नराख्ने र यात्रुलाई बाध्य बनाएर बढी भाडा तिर्न लगाउँदा हामीलाई मर्का परेको छ ।’ बेनी–पोखरा सडकमा सञ्चालन हुने ट्याक्सीका चालकले चाडपर्वका अवसरमा आफूखुसी भाडा तोक्ने गरेको अन्य यात्रुहरूले पनि गुनासो गर्ने गरेका छन् । सरकारले बेनी–पोखरा दूरीका लागि ट्याक्सीका लागि प्रतियात्रु आठ सय ५० रुपैयाँका दरले भाडादर निर्धारण गरेको छ । चार जना क्षमताको ट्याक्सी रिजर्भ गर्दा अधिकतम तीन हजार चार सय रुपैयाँ भाडा तिर्नुपर्छ । तर ट्याक्सी चालकले भने रिजर्भमा गर्दा चार हजार रुपैयाँदेखि छ हजार र रिजर्भ नहुँदा प्रतियात्रु एक हजार दुई सय ५० रुपैयाँदेखि दुई हजार रुपैयाँ भाडा लिने गरेको बेनीका कृष्ण खत्रीले गुनासो गरे । दसैँ तिहारको समयमा यात्रुको चाप र सवारी साधनको अभावको मौका छोपेर बेनी–पोखरा सडकमा जिप र ट्याक्सीले बढी भाडा असुल गरेको उनले दाबी गरे । कूल ८३ किलोमिटर दुरीको बेनी–पोखरा सडकमा सेवा दिने दुई सयभन्दा बढी ट्याक्सी छन् । उपचारका लागि अस्पताल, सरकारी कार्यालय, व्यक्तिगत र व्यावसायिक कामले पोखरा जान आउनका लागि म्याग्दीबासीले ट्याक्सी प्रयोग गर्छन् । गण्डकी प्रदेशमा कास्कीपछि म्याग्दीमा धेरै ट्याक्सीको चल्छन् । मुस्ताङ र म्याग्दीका विभिन्न पर्यटकीय स्थल घुम्न आउने र फर्कने यात्रुहरुको चाप पनि बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन गरेर बढी भाडा असुल गर्ने, यात्रुलाई दुख दिने र सवारी साधन नपाएर अलपत्र परेका सर्वसाधारणलाई सहयोग गर्दै आएको बताए । तोकिएको भन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई कारबाही पनि भइरहेको केसीले बताए । तोकिएभन्दा बढी भाडा असुल गर्ने सवारी साधनलाई पाँच सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था रहेको उनको भनाइ छ । बेनी–पोखरा सडकमा ट्याक्सी सेवा दिँदै आएको बेनी यातायात प्रालिका सञ्चालक भोजबहादुर थापा ९कुमार०ले तोकिएभन्दा बढी भाडा नलिन सचेत बनाएको र त्यस्तो पाइए कारबाहीका लागि प्रहरीलाई सघाउने प्रतिबद्धता जनाए । गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिले चाडपर्वको समयमा बजार अनुगमन, यातायात भाडादरमा हुने ठगी र कालोबजारी नियन्त्रणका लागि सांसद गणेश गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेको छ । उपसमितिका सदस्य रहेका म्याग्दीबाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले चाडपर्वको समयमा सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु चढाउँदा दुर्घटनाको जोखिमका साथै तोकिएको भन्दा बढी भाडा असुल हुँदा यात्रुहरु मर्कामा परेको पाइएको बताए । उनले यातायात व्यावसायी, प्रशासन र प्रहरीलाई गुनासोबारेमा जानकारी गराएर कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको बताए । रासस