सफ्ट टेक चितवन २०८० सञ्चालन हुने

चितवन । उद्योग वाणिज्य संघ चितवन र कम्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा चितवनको संयुक्त आयोजनामा भदौ २१ देखि २३ सम्म सफ्ट टेक चितवन २०८० आयोजना हुने भएको छ । नव उद्यमी र उद्योग प्रवर्धन गर्न चाहनेलाई लक्षित गर्दै मेला आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘चितवनको समृद्धि सूचना प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको मेलामा आईटीसम्बन्धी काम गर्दै आएका विभिन्न कम्पनीका २० कक्ष रहनेछन् । उद्योग वाणिज्य संघ चितवनको परिसरमा आयोजना गर्न लागिएको मेलामा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्था, आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था औद्योगिक तथा व्यापारिक प्रतिष्ठानबीच अन्तरसम्बन्ध स्थापित गरी दिगो पारिस्थितिक प्रणाली निर्माण गर्नका लागि मेला आयोजना गरिएको महासंघ चितवन शाखाका अध्यक्ष टेकलाल भुसालले जानकारी दिए । उनका अनुसार मेलामा १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । चितवन र छिमेकी जिल्लामा गरी सफ्टवयर निर्माणका लागि १२ वटा कम्पनीले काम गर्दै आएका छन् । साथै यी क्षेत्रमा १२ वटा कलेजमा आइटीसम्बन्धी पठनपाठन हुँदै आएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । चितवन र यस आसपासका कलेजबाट आइटीसम्बन्धी वार्षिक दुई हजार जनशक्ति उत्पादन हुँदै आएको उनको भनाइ छ । श्रेष्ठले चितवनलाई आइटी हवका रुपमा विकास गर्न मेला आयोजना गर्न लागिएको बताए । मेलामा आइटिसम्बन्धी विभिन्न गोष्ठीसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

सुनको मूल्य बढेर प्रतितोला एक लाख १३ हजार रुपैयाँ पुग्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख १२ हजार चार सय ५० रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार चार सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

नेपाल इको प्यानल ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त गर्न सफल

काठमाडौं । नेपाल इको प्यानल प्रालि नेपाल सरकारले दिने ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । इको प्यानललाई नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभाग त्रिपुरेश्वर काठमाडौबाट दिइने ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त भएको हो । पेटेन्ट डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफ १८ बमोजिम श्री इको प्यानल नेपाल प्रालि चाँंगुनारायण नगरपालिका वडा नं २ भक्तपुर नेपालले वर्ग १९ अन्तर्गत प्रमाणपत्र दिइएको उद्योग विभागको पत्रमा उल्लेख गरिएको छ । प्रमाणपत्रको अवधि सात वर्षको रहने प्रमाणपत्रमा जनाइएको छ । त्यसपछि पुनः नवीकरण गर्नुपर्ने पनि त्यसमा उल्लेख गरिएको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० इन्जिनियर कृष्णभक्त दुवालले नेपाल इको प्यानलले क्रमशः लोकप्रियता कमाउँंदै गएसँंगै ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त हुन सफल भएको बताए । उनले इको प्यानलका निर्माण सामाग्रीहरु देशैभरि विक्रीवितरण थालेको जानकारी पनि गराए । नेपाल इको प्यानल निर्माण सामाग्रीको क्षेत्रमा अग्रस्थानमा रहेको निर्माण सामाग्री भएको उनले उल्लखे गरे । नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म डिलरहरुमार्फत यसले आफनो उत्पादन देशैभरि विक्रीवितरण गर्दै आएको छ । हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माण सम्भव हुनलगायतका अनेक विशेषताले यो निर्माण सामाग्रीले लोकप्रियता कमाउँदै आएको छ ।