बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इंक सम्मानित भएको छ । चीनको सियानमा आयोजित बीवाईडी एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा सम्मानित भएको हो । साइमेक्सले एसिया प्यासिफिक मेजर कन्ट्रीब्युसन डिष्ट्रिब्युटर अवार्ड र सेल्स कन्ट्रीब्युसन अवार्ड गरी दुई पुरस्कार पाएको हो । उल्लेखनीय बिक्री कार्यमा अगाडि बढ्दै साइमेक्स इंक एसिया प्यासिफिक क्षेत्रकै प्रमुख वितरक बनेको हो । अन्तर्राष्ट्रिय मञ्चहरूमा प्राप्त उल्लेखनीय उपलब्धिसँगै साइमेक्स इंकले चीनको सियानमा नेपाल एनुअल डिलर्स मिट २०२४ समेत आयोजना गरेको छ । नेपालमा बीवाईडी डिलरहरुको बीचमा आपसी सहयोग बढाउन, ज्ञान आदानप्रदान गर्न र सहकार्यलाई बलियो बनाउनका लागि सो इभेन्टले सहयोग गर्ने बताइएको छ । साइमेक्सले सन् २०२४ को योजनामार्फत यसको नेटवर्क विस्तारलाई प्रस्तुत गरिएको छ । हाल विभिन्न १५ स्थानमा बीवाईडी शोरुम स्थापना गरिएका छन् । भने, थप ३ शोरुम स्थापित हुने क्रममा रहेका छन् । साइमेक्स इंकले हाल विभिन्न स्थानमा २३ डीसी फास्ट चार्जर स्थापना गरेको छ । ‘हामी बीवाईडीबाट सम्मानित भएका छौं । यी प्रतिष्ठित पुरस्कार ग्रहण गरेका छौ ।’, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘यो पहिचान हाम्रो टिमको कडा परिश्रम र समर्पणका साथै मूल्यवान ग्राहक र साझेदारहरूको अटुट समर्थनको प्रमाण हो । हामी नवप्रवर्तनतिर अगाडि बढ्ने, दिगोपन प्रवर्द्धन गर्ने र हाम्रा सबै सरोकारवालाहरूमा अनुपम मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा सदैव अडिग छौं ।’

चांगनको डीपल एस०७ नेपाली बजारमा सार्वजनिक, के-के छन् फिचर्स ?

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपाली ईभी क्षेत्रलाई रूपान्तरण गर्ने ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ विद्युतीय एसयूभी दीपल एस०७ सार्वजनिक गरेको छ । यसको ट्यागलाइन ‘टच द फ्युचर’ले सुझाएजस्तै नयाँ दीपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौँ विशेषताहरू छन् । यो कारमा भएको विशेषताहरुले ‘विद्युतीय मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउने दाबी कम्पनीले गरेको छ । दीपल १ सय ६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ। नेपाली अटो क्षेत्रले लामो समयदेखि प्रतिक्षा गरेको यो ‘इन्टेलिजेन्ट विद्युतीय’ एसयूभीलाई आइतबार नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डेप्युटी जनरल म्यानेजर गुआन सिन, एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेको हुन्। दीपल एस०७ को सार्वजनिकीकरण नेपालमै पहिलो पटक कारमाथि ‘थ्री डी म्यापिङ प्राजेक्सन’ गरी गरिएको हो । १५ भन्दा बढी ‘फस्र्ट टाइम इन नेपाल’ विशेषता दीपल एस०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्वील ड्राइभ सिस्टम’ रहेको छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसले सिंगल चार्जमा ४ सय १० किलोमिटरको रेन्ज (डब्लूएलटीपी) दिन्छ। अटोमोबाइकल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दीपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौँ विशेषता छन् । संगीत, फोन कल र फोटो खिच्नेलगायतका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतबाट कमान्ड लिनसक्छ। साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयूडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ । साथै क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्‍याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दीपल ०७ मा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले डङाइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । दीपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १ सय २५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ। यसमा रहेको २० इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ । त्यस्तै नेपालमै पहिलो पटक, कुनै पनि ईभीमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ । दीपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो ई एसयूभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’लाई बलियो बनाएको छ। साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा हाइ क्वालिटी सोनी स्पिकर छन्। कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’हरु छन्। साथै पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिन रहेको छ। सुरक्षाका लागि दीपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहेको छ। विद्युतीय मोबिलिटीमा नयाँ अध्याय कार्यक्रममा एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवालले दीपल एस०७ एउटा ईभी मात्र नभएर नेपालमा स्वच्छ मोबिलिटीको भविष्य कस्तो हुनसक्छ भन्ने दृश्तान्त भएको बताए। ‘हामीलाई गर्व छ कि हामीले पर्फमेन्स र लक्जरीको सीमालाई फराकिलो पार्ने मात्र होइन नेपालमा पहिले कहिल्यै नदेखिएको र अनुभव नगरिएको इन्टेलिजेन्स र इनोभेसनले भरिएको कार ल्याएका छौँ,’ उनले भने। त्यसैगरी चांगान अटोका डेप्युटी जनरल म्यानेजर गुआयन सिनले चांगानका लागि नेपाली बजार महत्वपूर्ण र भरपर्दो भएको बताए। ‘हामी नेपाली बजारमा अझ धेरै चांगानका गुणस्तरीय, सुरक्षित र उच्च प्रविधिका गाडीहरु ल्याउने लक्ष्य लिएका छौँ। साथै ग्राहकको अनुभव र बिक्रीपछिको सेवालाई पनि हामी उत्तिकै महत्व दिएका छौँ किन कि चांगानको पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि नै हो,’ उनले भने। नेपालमा दीपल एस०७ को सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो ६ आकर्षक कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

अटो बजारमा शाओमीको धमाकेदार ‘इन्ट्री’, लन्च गरेको २७ मिनेटमै ५० हजार अर्डर

एजेन्सी । चिनियाँ स्मार्टफोन निर्माता शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गरेको छ । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गरेको २७ मिनेटभित्रै ५० हजार अर्डर प्राप्त गरेको बताएको छ । विश्वव्यापी रूपमा कारको बिक्री घटिरहेका बेला शाओमी विद्युतीय कार लिएर बजारमा प्रवेश गरेको छ, जसले विद्युतीय कार बजारमा नयाँ प्रतिस्पर्धाको संकेत दिएको छ । एक कार्यक्रममा कम्पनीका सिइओ लेई जुनले कम्पनीको स्ट्यान्डर्ड सु सेभेन मोडलको मूल्य २ लाख १५ हजार ९ सय युआन (२९ हजार ८ सय ७२ अमेरिकी डलर) र म्याक्स भर्सनको मूल्य २ लाख ९९ हजार ९ सय युआन हुने बताए । शाओमीले यतिबेला विश्वबजारमा कारको ठूलो हिस्सा ओगटेका टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । चीनमा टेस्लाको मोडेल ३ को सुरुवाती मूल्य २ लाख ४५ हजार ९ सय युआन रहेको छ । शाओमीका सिइओ लेई जुनका अनुसार सुसेभेन एकपटक चार्ज गर्दा ७ सय किलोमिटरसम्म दौडन सक्छ । यो टेस्लाको मोडेल ३ भन्दा राम्रो छ, जुन एकपटक चार्ज गर्दा ५ सय ६७ किलोमिटरसम्म दौडन सक्छ । कम्पनीले एसयु सेभेनमा फोन, ल्यापटप र अन्य डिभाइसमा प्रयोग हुने अपरेटिङ सिस्टम प्रयोग गर्नेछ, जसलाई उपभोक्ताले रुचाउने अपेक्षा गरिएको छ । रिसर्च कम्पनी काउन्टरपोइन्टका अनुसार शाओमी विश्वव्यापी रूपमा स्मार्टफोन बेच्ने तेस्रो ठूलो कम्पनी हो । अन्तर्राष्ट्रिय बजारमा यसको हिस्सा १२ प्रतिशत छ । विगत एक वर्षदेखि नै शाओमीले सुसेभेन लन्च गर्ने संकेत दिएको थियो । यसलाई पोर्शको ट्याकन र पानामेरा स्पोर्ट्स कार मोडेलहरूसँग तुलना गरिएको थियो । चुनौती र बढ्दो प्रतिस्पर्धा शाओमीको यो नयाँ कार सरकारी स्वामित्वको बीएआईसी ग्रुपको कारखानामा उत्पादन हुनेछ । यो फ्याक्ट्री बेइजिङमा छ र यस कम्पनीले एक वर्षमा कम्तिमा दुई लाख कार बनाउने लक्ष्य राखेको छ । अटोमेसनसँग सम्बन्धित बिल रुसोले बीबीसीसँग भनेका छन्, ‘कम्पनी अहिलेसम्म जुन स्तरमा पुगेको छ, त्यो आफैंमा ठूलो सफलता हो । तर, सबैभन्दा ठूलो सफलता त्यो हुनेछ जब शाओमी इलेक्ट्रिक कार बजारमा उपभोक्तामाझ आफ्नो स्थान बनाउन सक्षम हुनेछ ।’ यद्यपि, यस प्रविधिको क्षेत्रमा चुनौती भने निकै नै रहेको छ । यस तथ्यबाट पनि स्पष्ट हुन्छ कि आईफोन निर्माता एप्पलले गत महिना इलेक्ट्रिक कारहरू बनाउने आफ्नो योजना रद्द गरेको थियो । शाओमीले आगामी १० वर्षमा इलेक्ट्रिक कार व्यवसायमा १० अर्ब डलर लगानी गर्ने बताएको छ । रिस्टाड इनर्जी नामक रिसर्च कम्पनीसँग आबद्ध अभिषेक मुरलीले भनेका छन्, ‘चीनमा इलेक्ट्रिक कारहरू धेरै परिपक्व छन् र यसले एक स्थिर इकोसिस्टम सिर्जना गरेको छ जसले कार निर्माताहरूलाई धेरै मद्दत गर्दछ ।’ उदाहरणका लागि, यहाँ ब्याट्री आपूर्ति श्रृंखला धेरै बलियो छ र इलेक्ट्रिक कारहरूको बढ्दो माग पूरा गर्न ठूलो चार्जिंग नेटवर्क निर्माण गरिएको छ । शाओमीको पहिलो कार चीनमा यस क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला लन्च गरिएको हो । हालैका महिनाहरूमा टेस्लाका अर्बपति मालिक एलन मस्कले चीनमा आफ्ना कारको मूल्यमा कयौं हजार डलरले कटौती गरेका छन् । यसको कारण के हो भने विश्वव्यापी रूपमा बिक्री हुने सबैभन्दा ठूलो विद्युतीय कार कम्पनी बीवाईडीले पनि आफ्नो कारको मूल्य घटाएको छ । चीन विद्युतीय कारका लागि विश्वको सबैभन्दा ठूलो बजार हो । सो सन्दर्भमा चीनमा नयाँ प्रतिस्पर्धी शाओमी हो । पछिल्लो साता बीवाईडीले आफ्नो वार्षिक नाफामा नयाँ रेकर्ड कायम गरेको छ । यद्यपि कम्पनीले यो वर्षको अन्त्यतिर यो गति केही सुस्त भएको पनि बताएको छ । त्यस्तै, सांघाईस्थित कार निर्माता कम्पनी नियोले अर्थतन्त्रमा आएको मन्दीका बीच उपभोक्ताले खर्च घटाएको बताएको छ । अर्को साता अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले पनि जनवरीदेखि मार्चसम्मको बिक्रीको तथ्यांक सार्वजनिक गर्ने भएको छ ।