विकासन्युज

अमेरिकी भिसा नवीकरणमा ढिलाइ हुँदा भारतीय कामदार स्वदेशमै अलपत्र

काठमाडौं । अति दक्ष विदेशी कामदार लक्षित एच-वन-बी नाम दिइएको एक प्रकारको अमेरिकी भिसा लिएका र चाडपर्वको मौसममा स्वदेश फर्किएका हजारौं भारतीय व्यवसायीहरू अमेरिकाले श्रम अनुमतिका लागि भिसा नवीकरणका लागि अन्तर्वार्ता १२ महिना वा त्योभन्दा बढी समयसम्म स्थगित गरेका कारण काममा फर्किन असमर्थ बनेका छन् ।  मिडिया रिपोर्टका अनुसार नयाँ दिल्लीस्थित अमेरिकी दूतावास र विशेष गरी चेन्नई र हैदराबाद लगायत धेरै शहरहरूका वाणिज्य दूतावासहरूले यस्ता अन्तर्वार्ताहरूका लागि ‘एक्कासि पुनः तालिका’ बनाइ ढिलो गरेका कारण उनीहरू काममा फर्किन नसकेका हुन् । ‘विदेश मन्त्रालयले नियमित रूपमा संसाधनको उपलब्धतासँग मेल खाने आवश्यकताअनुसार वार्ताको तालिका परिवर्तन गर्दछ। हामी कुनै पनि परिवर्तनको बारेमा प्रभावित भिसा आवेदकहरूलाई सिधै सूचित गर्नेछौँ,’ नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका प्रवक्ताले भने । अमेरिकी विदेश मन्त्रालयले उच्च दक्ष भारतीय पेशेवरहरूलाई ‘अमेरिकी राष्ट्रिय सुरक्षा वा सार्वजनिक सुरक्षा’ सुनिश्चित गर्ने ट्रम्प प्रशासनको नयाँ सामाजिक मिडिया जाँचबुझ नियमहरू लागू भएपछि उनीहरूको अन्तर्वार्ता ढिलाइ भएको बताएको थियो । ‘विदेश मन्त्रालयले सबै भिसा आवेदकहरूको विस्तृत जाँच गर्छ, जसमा ‘एफ’, ‘एम’ र ‘जे’ गैर-आप्रवासी वर्गीकरणमा सबै विद्यार्थी र एक्सचेन्ज भिजिटर आवेदकहरूको अनलाइन उपस्थिति समीक्षा हुन्छ । डिसेम्बर १५ देखि हामी सबै विशेष व्यवसाय अस्थायी कामदार एच-न-बी भिसा आवेदकहरू र ‘एच-फोर’ भिसा वर्गीकरणमा उनीहरूका आश्रितहरूका लागि अनलाइन उपस्थिति समीक्षालाई विस्तार गर्दैछौँ,’ प्रवक्ताले भने । उनले भने, ‘प्रत्येक भिसाको मामलामा आवेदकले संयुक्त राज्य अमेरिकाको रक्षा र सुरक्षाको लागि जोखिम उत्पन्न गर्दैन, उसले भिसाको लागि आफ्नो योग्यता विश्वसनीय रूपमा स्थापित गरेको छ र आवेदकले भर्नाका सर्तहरूसँग मिल्दोजुल्दो गतिविधिहरूमा संलग्न हुन चाहन्छ भन्ने कुराको सुनिश्चित गर्न हामी आवश्यक समय लिन्छौं ।’

सिटिजन्स सन्तुलित योजनामा आवेदन दिने समय लम्बियो

काठमाडौं । सिटिजन्स सन्तुलित योजनामा आवेदन दिने समय लम्बिएको छ । सिटिजन्स क्यापिटलले पुस ४ गतेदेखि बिक्री खुला गरेको सिटिजन्स सन्तुलित योजनामा अब पुस १८ गतेसम्म आवेदन दिने सकिनेछ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सन्तुलित योजना बन्दमुखी योजना हो । कम्पनीले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री गरेको हो ।  जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको म्युचुअल फण्डमा १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् । 

मेची भन्सारः २०.१४ अर्बको आयात हुँदा १०.७१ अर्बको निर्यात, ६.८२ अर्ब रुपैयाँ राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट २० अर्ब १४ करोड ४० लाख रुपैयाँ मूल्य बराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईँका अनुसार जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ अर्थात् ७.५७ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा १८ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । उक्त अवधिमा १० अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो । यो नाकाबाट निर्यात ६.६५ प्रतिशतले घटेको छ । पूर्वी नाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैंची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत छन् भने आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता तथा चप्पल र खनिज उत्पादनलगायत छन । कार्यालयको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को मङ्सिर मसान्तसम्ममा आयात निर्यातबाट ६ अर्ब ८२ करोड २ लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

३ होटललाई नगद जरिवानासहित कारबाही, ११ फर्मलाई सुधार गर्न निर्देशन

काठमाडौं । नियमित रुपमा पछिल्ला दिनमा बजार अनुगमन गरी स्वच्छता कायम गराउन अग्रसर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ वटा फर्मलाई नगद जरिवानासहित कारबाही गरेको छ । विभागले उपलब्ध गराएको विवरणअनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौंलाई ५० हजार रुपैयाँ, गोल्मादेवी भोजनालय एण्ड लजलाई ५ हजार रुपैयाँ र चडेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।  ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरिएको हो । यस्तै, विभागले अन्य ११ फर्मको स्थलगत अनुगमन तथा निरीक्षण गरेर सुधारात्मक निर्देशन दिएको छ । विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने र कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ नियमित रुपमा बजार अनुगमन गरिरहेको स्पष्ट पारेको छ ।

अत्यधिक चिसो बढेपछि विद्यालय बिदा

काठमाडौं । विगत ४ दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्र भरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो । केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा असहजता भई बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै गौर नगर क्षेत्र भरिका सम्पूर्ण विद्यालयमा बिदा दिइएको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास कुमार ठाकुरले जानकारी दिए । बर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयमा बिदा दिइएको उनले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।

बूढीगण्डकी ‘क’ र ‘ख’ निर्माणको तयारी, लागत ८८ अर्ब रुपैयाँ

काठमाडौं । गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । १०३.४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताए । उनका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवर्द्धन गर्न लागेको हो । कम्पनीले ३१ अर्ब ३२ करोड रुपैयाँको लागतमा बूढीगण्डकी ‘क’ र ५६ अर्ब ९९ करोड रुपैयाँको लागतमा बूढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको इञ्जिनियर मगरले जानकारी दिए । बूढीगण्डकी ‘क’ अन्तर्गत, धार्चे-३ को लुस्याङमा बाँध बाँधेर ४ किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युत् गृह निर्माण गर्ने योजना कम्पनीको छ । आयोजना रन अफ द रिभर प्रविधिको हुनेछ । १११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए । सो आयोजनाको माछाखोलामा उत्पादित विद्युत् १२.७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बूढीगण्डकी ख मा जोडिनेछ । २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे-७ खानीबेंसीमा बाँधिनेछ । त्यहाँबाट ९.५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७.९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए । ‘यी दुवै आयोजनाको इआइ र पिपिए भइसकेको छ । भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ । आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ,’ उनले भने । यहाँ उत्पादन भएको र बूढीगण्डकीबाट प्राप्त भएको गरी ३२९.४ मेगावाट विद्युत् १८.५ किलोमिटर टाढा धादिङको लापास्थित सवस्टेशनमा जोडिने छ ।

प्यानलको ह्याङ बिर्सेर पार्टी एकतामा अघि बढ्नुपर्छ : विष्ट

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले महाधिवेशनको परिणामलाई हार र जितको रूपमा हेर्न नहुने बताएका छन् । पराजित भएका साथीहरूको यात्रा लामो रहेकोले पराजित नेताहरूलाई हतास नहुन उनको आग्रह छ ।   काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित उपाध्यक्ष विष्टले महाधिवेशनमा पराजित नेताहरूले क्षमताअनुसार जिम्मेवारी प्राप्त गर्ने दाबी गरे । दुइटा प्यानलबाट प्रतिष्पर्धा गरेर पार्टीको लोकतान्त्रिक आचरणलाई निरन्तरता दिएकोले मत परिणामपछि हिजोको प्यानलको ह्याङलाई बिर्सनुपर्ने उनको भनाइ छ । नेता र नेतृत्व अस्थायी रहने हुनाले नीति मात्रै प्रधान रहने हुनाले नेतृत्वले आलोचना सुन्नुपर्ने विष्टले दावी ग रे ।  कम्युनिस्ट पार्टिमा नेता र कर्याकर्तामा रहेको ग्याप अन्त्य गर्न आफू लागि पर्ने घोषणासमेत उनले गरे । उनका अनुसार जनता र कार्यकर्ताले प्रश्न उठाए ती प्रश्न सुन्नुपर्छ । पार्टीको प्राण भनेको जनअनुमोदन भएको उनले ठोकुवा गरे ।

३० प्रतिशत लाभांश दिने कैलाश हेलिकप्टरले आईपीओको हिस्सा दोब्बर बनाउँदै

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा रहेको कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले सेयरधनीहरूलाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ३१ करोड ५० लाख रुपैयाँको १० प्रतिशतका दरले ३ करोड १५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि २० प्रतिशतका दरले ६ करोड ३० लाख रुपैयाँ नगद गरी कुल ३० प्रतिशत अर्थात् ९ करोड ४५ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।  उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते दिउँसो साढे ३ बजे काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले लाभांशसँगै आईपीओ र हकप्रद सेयर निष्कासनको प्रस्ताव पनि पारित गर्ने कम्पनी सचिव रञ्जनकुमार घिमिरे जानकारी दिए ।  यस्तै, सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, संचालक समितिले गत वर्ष गरेका निर्णय र चालु आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ ।  २० प्रतिशत आईपीओ जारी गर्ने कैलाश हेलिकप्टरले प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ । आईपीओ निष्काशन सम्बन्धी कार्य अगाडि बढाउन कैलाशले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।  साथै कम्पनीले जारी पुँजी ३५ करोड रुपैयाँको १० प्रतिशतका दरले ३ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता ३२७ रुपैयाँमा आईपीओ जारी गर्ने तयारी अघि बढाएको थियो ।  तर, तेस्रो वार्षिक साधारण सभामा भने कम्पनीले जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, संस्थापक सेयर र सर्वसाधारण सेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव राखेको छ । जसअनुसार अब कम्पनीले जारी पुँजीको २० प्रतिशतका दरले १० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गर्नेछ । यससँगै सर्वसाधारणको सेयर स्वामित्व १० प्रतिशतबाट बढेर २० प्रतिशत पुग्नेछ । यस्तो छ कम्पनीको वित्तीय अवस्था  कैलाश हेलिकप्टरले प्रत्येक वर्ष आम्दानी बढाउँदै लगेको देखिन्छ । आम्दानी बढेसँगै कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २० प्रतिशत र आर्थिक वर्ष २०७९/८० मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।  कम्पनीका अनुसार सन् २०२५ को ९ महिनामा ५३ करोड ५० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । यस्तै, अघिल्लो वर्ष सन् २०२४ मा ७९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  यस्तै, सन् २०२२ मा ४० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ३२ करोड १० लाख रुपैयाँ बराबर आम्दानी गरेको थियो ।  सन् २०१७ मा स्थापित कैलाश हेलिकप्टर सन् २०१८ मार्च २३ बाट सञ्चालनमा आएको हो । साथै, जुलाई २०२३ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको थियो । यस कम्पनीमा विभिन्न ७ जना लगानीकर्ता रहेका छन् । कम्पनीको अध्यक्ष क्याप्टेन आशीष शेरचन छन् भने प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेय रहेका छन् । कम्पनीको सञ्चालकमा सुनिल श्रेष्ठ, रमेश पण्डित, श्रीराम केसी र ईश्वरी पौडेल रहेका छन् ।  कम्पनीले हाल ३ वटा एयरबस हेलिकप्टरमार्फत चार्टर्ड उडान, उद्धार कार्य, स्लिङ अपरेशन, साहसिक भ्रमण (एभरेस्ट बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प) जस्ता सेवा दिँदै आएको छ । सन् २०२७ सम्ममा थप २ वटा हेलिकप्टर खरिद गरेर ५ वटा पुर्‍याउने योजना रहेको कम्पनीले जनाएको छ ।