मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू, अनौपचारिक कारोबारमा कमी आउने
काठमाडौं । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबार मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्याङ्कन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए । मेची भन्सारसहित मुलुकका ८ वटा भन्सारका परीक्षणका रूपमा अनलाइन भ्यालुएसन सफ्टवेयर प्रणाली लागू गरिएको जनाइएको छ । झापाको मेची भन्सार र भद्रपुर भन्सार कार्यालयमा पुसको दोस्रो सातादेखि यो प्रणाली लागू गरिएको हो । वैध व्यापारलाई प्रोत्साहन गरिने भएकाले प्रणालीबाट राजस्व चुहावटमा कमी आउने प्रमुख कर अधिकृत न्यौपानेले बताए । विश्व व्यापार सङ्गठनले अनलाइन भ्यालुएसन प्रणाली लागू गर्न आफ्ना सदस्य मुलुकलाई आग्रह गर्दै आएको थियो । प्रणाली शुभारम्भ गर्न आएका अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले यस प्रणालीबाट भन्सारमा हुने विभिन्न किसिमका अनियमितता र अनौपचारिक कारोबारमा कमी आउने बताए । उनले सरकारले भन्सारमा सुशासन र करदाता मैत्री व्यवस्थालाई प्रोत्साहित गरिरहेको जनाउँदै प्रणाली कार्यान्वयनमा निजी क्षेत्रले सहजीकरण गर्नुपर्ने बताए । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य लिएको छ । जसमध्ये चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा ६ अर्ब ८२ करोड २ लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन गरिसकेको कार्यालयले जनाएको छ ।
आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने उनले बताए । आयोगले पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिए । १ सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूची तर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।
तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई भू-भागका अधिकांश स्थानमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तराई भू-भागमा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रभु महालक्ष्मी लाइफको पौने ५ करोडको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पौने ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको १ लाख ७८ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयरको अंकित मूल्य १ सय रुपैयाँ हो । तर, उक्त सेयरको मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा कम्पनीको ४ करोड ८० लाख ६० हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको सेयर खरिदका लागि पुस २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सेयर खरिदका लागि इच्छुक सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
५ दशकदेखि बन्द तामाखानी उत्खनन गर्न अध्ययन, एमएस दोङयी मिनरल्सले पायो अनुमति
काठमाडौं । ५ दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका-७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी ५ दशकदेखि बन्द अवस्थामा छन् । धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरूको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएका बताए । तामाखानी अध्ययनका लागि मच्छिम हुँदै गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकदेखि तामाखानी जोड्ने पहुँचमार्ग निर्माण गरिसकेका छन् । खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताउनुभयो । खानी उत्खननका लागि अध्ययन थालिएकामा मच्छिमवासीमा खुसीयाली छाएको स्थानीय अगुवा चन्द्रबहादुर छन्त्यालले बताए । उनका अनुसार मच्छिमको खानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए । तामा खानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा खानी खन्ने हो । त्यहाँ अझैसम्म पनि तामाका धाउहरू देख्न सकिन्छ । तामाखानीको सुरुङ छन् । पहाडमा तामा रसाएको देख्न सकिन्छ । स्थानीयवासीले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त खानीबाट निकालेको तामाबाट गाग्री, टाउलो, माना, पाथी, गिलासलगायत भाँडा तयार पार्ने गरिन्थ्यो । खानीको तामाले बनाएका भाँडा स्थानीयले घरमा सजाएर राखेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए । उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहानहरु (हटस्पिङ) पाइन्छन् । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो । मच्छिमको साथै धवलागिरिको गुर्जा र मल्कवाङ, रघुगङ्गाको ठाडाखानी, कुइनेखानी र मङ्गलेखानीमा तामाखानी छन् । धवलागिरिको नर्जा, मालिकाको रुम, डाँडागाउँ, निस्कोटमा स्लेट ढुङ्गा खानी छन् ।
मुस्ताङमा बन्यो २५ शय्याको प्रादेशिक अस्पताल भवन, हस्तान्तरण गर्ने तयारी
काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोममा निर्माणाधीन जिल्लाकै एकमात्र २५ शय्याको दुईतले पक्की अपाङ्गमैत्री प्रादेशिक अस्पताल भवन हस्तान्तरणको अन्तिम चरणमा छ । विसं २०७७ चैत २ गते दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको अस्पताल भवनको पूर्वाधार हस्तान्तरण गर्ने तयारीमा रहेको छ । अपाङ्गतामैत्री दुईतले अस्पताल भवन सुरुआती ठेक्का सम्झौता अनुसार २०७९ साल १ चैतमा सकिनुपर्ने थियो । तर, अस्पताल भवनको छानो छाउने डीपीआर डिजाइनमा प्राविधिक त्रुटि देखिँदा भवन निर्माण केही वर्ष रोकिएको थियो । निर्माण कम्पनीले ‘भिओ’ स्वीकृत नगरी काम अघि नबढाएपछि सार्वजनिक खरिद ऐन, १३औँ संशोधनअनुसार अस्पताल भवनको म्याद २०८१ साल २ पुससम्म थप गरिएको थियो । त्यसपछि निर्माणाधीन अस्पताल भवनको प्रि-डिजाइन गरी भिओ स्वीकृत गरिएपछि अस्पताल भवन निर्माणको काम अघि बढेको थियो । निर्माणाधीन भवनको गण्डकी प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरेपछि निर्माणको ठेक्का सम्झौता भएको थियो । भवन निर्माणको लागत अनुमान १६ करोड ३४ लाख रुपैयाँ रहेकामा १० करोड २१ लाख रुपैयाँमा इमोटल कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । अपाङ्गतामत्री स्वास्थ्य सेवा प्रवाह गर्ने गरी प्रदेश अस्पतालको भौतिक संरचना निर्माण भएको घरपझोङ गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए । भवन निर्माणको बजेट प्रदेश सरकारबाट र प्राविधिक पक्षको जिम्मा गाउँपालिकालाई अख्तियारी दिइएको सबइन्जिनियर कँडेलले उल्लेख गरे । अस्पताल भवनको भौतिक र वित्तीय प्रगति सतप्रतिशत भएको र निर्माण कम्पनीसँग भवनको परीक्षणकाल (डिएलपी) को अवधि रहेको सबइन्जिनियर कँडेलले बताए । उनले भने, ‘अस्पताल भवन निर्माण सकिएको छ, भवनमा विद्युत् र सेनेटरी पक्षमा आंशिक त्रुटि भएकाले सच्याउन लगाएका छौँ, निर्माण कम्पनीले त्रुटि सच्याएपछि भवन हस्तान्तरण हुनेछ ।’ गण्डकी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याबाट २५ शय्याको अस्पताल भवनमा रुपान्तरण गर्न तत्कालीन समयमा यहाँ अस्पतालको भौतिक संरचना निर्माण सुरु गरेको हो । यहाँ अस्पताल भवनको ठेक्का सम्झौता भएको पाँच वर्षपछि भवनको भौतिक संरचना तयार भएको हो । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकको स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी र सेवामूलक तुल्याउनेगरी निर्माण गरिएको हो । भवनमा ल्याब कक्ष, आपत्कालीन, प्रसूति, एक्सरे, अल्ट्रा साउन्ड, इसिजी कक्ष, बहिरङ्ग सेवा, सामान्य शल्यक्रिया, मेजर शल्यक्रिया, मेडिकल कक्ष, बिरामी बस्ने वार्डरुम र प्रशासनिक कक्ष र बैठक हललगायत संरचना निर्माण भएका सबइन्जिनियर कँडेलले जानकारी दिए । हाल जस्ताले छाएको ५० वर्ष पुरानो जीर्ण अवस्थाको भवनबाट सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या र चुनौती देखिएको थियो । नवनिर्मित अस्पतालको भवनबाट सेवा प्रवाह सुरु भएमा स्वास्थ्य सेवा प्रवाह सजिलो हुने अस्पतालका मेसु डा समीक्षा कँडेलले बताए ।
२ करोडको लगानीमा सञ्चालनमा आयो ज्येष्ठ नागरिक डे-केयर
काठमाडौं । चितवनमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि डे-केयर तथा आवास केन्द्र सञ्चालनमा आएको छ । आरोग्य केयरले भरतपुर महानगरपालिका-११ नौरङ्गेमा उक्त केन्द्र स्थापना गरी सेवा सुरु गरेको हो । केन्द्रले प्रारम्भिक चरणमा १५ ज्येष्ठ नागरिकलाई आवासीय सेवा प्रदान गर्ने गरी सेवा सुरु गरेको छ । फिजियोथेरापीसहित विभिन्न स्वास्थ्य सेवा, मनोरञ्जनात्मक कार्यक्रम तथा सामाजिक क्रियाकलाप प्रदान गरिने केन्द्रका अध्यक्ष हिरामान महर्जनले जानकारी दिए । उनले भने, ‘केन्द्र स्थापना गर्नुको मुख्य उद्देश्य ज्येष्ठ नागरिकको स्वास्थ्य, मनोरञ्जन र सामाजिक सहभागितालाई प्रोत्साहन गर्नु हो ।’ ज्येष्ठ नागरिकलाई परिवार बाहिर पनि सामाजिक तथा मानसिक रूपमा सक्रिय रहन सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए । केन्द्रमा मुख्य रूपमा फिजियोथेरापी सेवा, शल्यक्रियापछिको हेरचाह, डिमेन्सिया, अल्जाइमर, पार्किन्सन रोगीको हेरचाह, पक्षघात (प्यारालाइसिस) भएका बिरामीको सेवा तथा ‘पेलियटिभ केयर’ सेवा उपलब्ध रहेको उनले जानकारी दिए । हाल दैनिक आधारमा सेवा दिइँदै आएको केन्द्रले भविष्यमा आवश्यकताअनुसार सेवा विस्तार गर्ने योजना बनाएको केन्द्रका सूचना अधिकारी फडिन्द्र न्यौपानेले बताए । उनका अनुसार केन्द्र ४५ सेयर सदस्यको लगानीमा स्थापना गरिएको हो । करिब २ करोड रुपैयाँको लगानीमा ५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको केन्द्रले प्रारम्भिक चरणमा १५ शय्या क्षमताबाट सेवा सुरु गरेको छ । केन्द्रमा हाल १५ कर्मचारी कार्यरत छन्, जसमध्ये सात जना केयरगिभर रहेका छन् । आवासीय संरचना अन्तर्गत १० सामान्य शय्या र ५ मेडिकल क्याबिनको व्यवस्था गरिएको छ । सम्पूर्ण भवन अपाङ्गमैत्री संरचनाअनुसार निर्माण गरिएको न्यौपानेले जानकारी दिए ।
अमेरिकी डलरको मूल्य फेरि बढ्यो, कुवेती एक दिनारको ४६८.९२ रुपैयाँ
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ २० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५ रुपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ९२ पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ९५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २० पैसा रहेको छ ।