विकासन्युज

कर्णाली दुर्घटना अपडेटः गाडी अझै भेटिएन

काठमाडौं । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा खसेको यात्रुबाहक गाडी हालसम्म भेटिएको छैन । सशस्त्र प्रहरी बल, नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको ६ गोताखोरको टोली झण्डै चार घण्टादेखि उक्त गाडीको खोजबीन गरिरहेको छ ।  पानीको सतह बढेको र वर्षापछि आएको बाढीले पानी धमिलो हुँदा गाडी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए ।  उनी करिब ५० सुरक्षाकर्मीसहित घट्नास्थलमा पुगेका थिए । “राति भएकाले खोज तथा उद्धारको काम हुन सकेको छैन, शुक्रबार बिहानैदेखि पुनः खोज उद्धार कार्य थाल्छौँ”, उनले भने।  बिहीबार (आज) बिहान सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२-००१ ख १०५५ नम्बरको गाडी ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ साङ्गेतडामा दुर्घटना भई कर्णाली नदीमा खसेको थियो ।  जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकका अनुसार घटनास्थलमा उद्धार सामाग्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसको जनशक्ति संयुक्तरुपमा खोज तथा उद्धार कार्यमा परिचालन गरिएको थियो ।  सुर्खेत बसपार्कबाट बिहान छुट्दा उक्त गाडीमा पाँच जना सवार रहेको भनिए पनि उक्त सङ्ख्या एकिन नभएको प्रहरी नायब उपरीक्षक विकले बताए । उनका अनुसार गाडी कर्णाली नदीमा डुबेको स्थान प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्छ ।

मनसुनको जोखिम बढेपछि कान्ति लोकपथमा रातिको सवारी बन्द

काठमाडौं । वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि कान्ति लोकपथमा रातिको समयमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबार (आज) सार्वजनिक सूचना जारी गर्दै कान्ति लोकपथ हुँदै मकवानपुर-सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारी साधनलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न रोक लगाइएको जनाएको छ । कार्यालयका अनुसार कान्ति लोकपथका अधिकांश सडक खण्ड भौगोलिक तथा भूगर्भीय दृष्टिले अत्यन्त जोखिमयुक्त रहेका छन् ।  वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च भएकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो । राजमार्गमा हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले उक्त निर्णय लागू गरिएको प्रशासनले जनाएको छ । साथै सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित सबै पक्षलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।  

सवारी चेकजाँचमै खुल्यो भेप कारोबार, ८८१ थानसहित पाँच पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कागेश्वरी मनोहरा नगगरपालिका-८ बागमती करिडोरमा सवारी चेकजाँचका क्रममा ८८१ थान भेप र नगदसहित पाँच जनालाई पक्राउ गरी बिहीबार (आज) सार्वजनिक गरेको हो । कागेश्वरी मनोहरा-९ बस्ने २१ वर्षीय आदेश खड्का र १८ वर्षीय सौजन सिम्खडा, रसुवा चिलिमे गाउँपालिका-५ बस्ने २३ वर्षीय आकाश तामाङ, सोही स्थानका २० वर्षीय अर्जुन तामाङ र ललितपुरको बागडोल बस्ने ३२ वर्षीय चिनियाँ नागरिक लिउ वेट पक्राउ परेका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । सवारीसाधनमा हिँडिरहेका निजहरूलाई चेकजाँच गर्ने क्रममा उक्त परिणामको भेग र नगदसहित नियन्त्रणमा लिइएको जानकारी दिए । उनका अनुसार उक्त सामान फेला परेसँगै प्रहरीले बागडोलस्थित चिनियाँ नागरिकको कोठासमेत खानतलासी गरेको छ ।  निजहरूसँग ८८१ थान भेप, छ लाख रुपैयाँ, चार थान चाँदी जस्तो देखिने धातुको हात्तीका मूर्ति, ५०३ चिनियाँ युआन, दश थान पावर बैङ्क, तीन थान मोबाइल, ४६ बट्टा चिनियाँ चुरोट, दुई थान विलबुक, एक थान ल्यापटप, एक थान सिपियु, एक थान डायरी र एक थान प्रिन्टर बरामद गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।  पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको प्रहरीले जनाएको छ । 

रसुवागढीको मितेरी पुल बिहीबारदेखि सञ्चालनमा, चीनबाट फेरि भित्रिन थाले सामान

काठमाडौं । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका सवारीसाधन आजदेखि केरूङतर्फ आवतजावत गर्न थालेका छन् ।  चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट सवारीसाधन सञ्चालन हुन थालेका छन् । नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन दुई दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी चार दिनपछि सञ्चालनमा ल्याइएको हो ।  गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवतजावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो ।  उक्त बेलीब्रिज वर्षायामका लागि उपयुक्त छ/छैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले सवारी सञ्चालनमा रोक लगाएको थियो ।  पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी सवारीसाधन आवागमन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ ।  पुलको परीक्षण गर्नुका साथै नटलाई पुनःकस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि २२ वटा कन्टेनरसहित साना तथा ठूला सवारीसाधन आजैदेखि केरूङ प्रस्थान गरेका जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए ।  चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्राइगनफ्रुट बोकेका सानाठूला ३३ वटा सवारीसाधन नेपाल भित्रिएका प्रहरी प्रमुख थापाले जानकारी दिए । पुलको क्षमतालाई मध्यनजर गर्दै १४ फिटभन्दा  माथि उचाइ भएका सामान ल्याउने सवारीसाधन सञ्चालन गर्न नमिल्ने चिनियाँ प्राविधिकले बताएकाले सोहीअनुसार सचेत रहन सरोकार भएका सबैलाई उनले आग्रह गरे ।   उनका अनुसार नेपाल र चीनतर्फका दुवै भागमा १४ फिट लामो डण्डी गाडिएको छ । सो डण्डीभन्दा अग्लो लोड गरी सामान ल्याउन वा लान नमिल्ने चिनियाँ प्राविधिकले सूचनामार्फ जानकारी दिएका छन् ।  पुलबाट सवारीसाधन सञ्चालन हुन थालेसँगै सामग्री आयात सहज हुन थालेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताए । उनका अनुसार परीक्षणका लागि केही सवारीसाधन  भन्सार हातामा पुगेका छन् । (

राष्ट्रव्यापी सामुदायिक उत्सवसँगै यामाहाले मनायो ७१औं वार्षिकोत्सव

काठमाडौं । यामाहा नेपालले विभिन्न सामाजिक तथा ग्राहकमुखी कार्यक्रम आयोजना गर्दै आफ्नो ७१औं  वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष जुलाई १ मा मनाइने ‘यामाहा डे’ का अवसरमा कम्पनीले सातै प्रदेशमा ग्राहक, कर्मचारी, डिलर र समुदायलाई जोड्ने विविध कार्यक्रम सञ्चालन गरेको हो । वार्षिकोत्सवको सुरुवात देशभरका यामाहा शोरुम, डिलरशिप र कम्पनीका आउटलेटमा एकैसाथ केक काटेर गरिएको थियो । यस अवसरमा कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा गर्दै आएका कर्मचारीलाई सम्मान गरिएको थियो भने १०० भन्दा बढी डिलर डिजिटल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए । ग्राहकका लागि विशेष अफरअन्तर्गत देशभरका सेवा केन्द्रमा लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको थियो । साथै ‘७ प्रदेश, ७ ग्राहक’ अभियानमार्फत प्रत्येक प्रदेशका एक/एक जना भाग्यशाली ग्राहकलाई सर्भिस चार्जमा शतप्रतिशत क्यासब्याक दिइएको कम्पनीले जनाएको छ ।  जुलाई १ मा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विशेष वार्षिकोत्सव उपहारस्वरूप चकलेट पनि वितरण गरिएको थियो । सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी, पोखरा, काठमाडौं, भरतपुर, बर्दिबास र इटहरीलगायत सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  अभियानबाट करिब ३५० युनिट रगत संकलन भएको कम्पनीले जनाएको छ । विराटनगरस्थित प्लान्टमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो । यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयका नर्सरीदेखि कक्षा ७ सम्म अध्ययनरत सात जना विपन्न विद्यार्थीको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने घोषणा गरेको छ ।  साथै, १६ देखि ४० वर्षसम्म यामाहा सवारी प्रयोग गरेका पुराना ग्राहक, १ लाखदेखि २ लाख किलोमिटरसम्म यात्रा गरेका राइडर, पूर्वी चितवनमा प्रि-ओन्ड सवारी व्यवसाय सुरु गर्ने उद्यमी तथा ३२ वर्षदेखि कार्यरत मेकानिकलाई पनि सम्मान गरिएको थियो । एमएडब्लू राइड्स प्रालिका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले यामाहा नेपाल प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब ४०० परिवारको रोजगारीसँग जोडिएको बताउँदै डिलर, कर्मचारी र ग्राहकको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे ।  समुदायसँगै अघि बढ्ने प्रतिबद्धताअनुसार ट्राफिक सचेतना, रक्तदान, वृक्षारोपण र परोपकारी अभियानलाई निरन्तरता दिइने उनले बताए । यस अवसरमा काठमाडौंमा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो भने ब्लू स्ट्रिक्स राइडिङ कम्युनिटीले बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होममा परोपकारी राइड आयोजना गरेको थियो । यामाहाका नेपालस्थित ब्रान्ड एम्बेसडर अनुप विक्रम शाही तथा कम्पनीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले पनि ७१औं  वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए । एमएडब्लू ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको यामाहा नेपालले जापानी प्रविधि, विश्वसनीयता र उत्कृष्ट बिक्रीपछिको सेवामार्फत नेपाली दुईपांग्रे सवारी बजारमा अग्रणी स्थान कायम राख्दै आएको जनाएको छ ।

एमालेका पूर्वसांसद कोइरी गौशालाबाट पक्राउ

काठमाडौं । थमन विक हत्या प्रकरणमा दोषी ठहर भई पाँच वर्ष कैद सजाय सुनाइएका नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्तरीको गौशाला क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। यसअघि जिल्ला अदालत महोत्तरीले कोइरीलाई उक्त मुद्दामा सफाइ दिएको थियो । तर उच्च अदालत जनकपुरको इजलासले बुधबार जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई थमन विक हत्या प्रकरणमा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको थियो । उच्च अदालतको फैसला आएको केही समयमै प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउपछि उनलाई कानुनी प्रक्रियाअनुसार सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिने प्रहरीले जनाएको छ ।

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ पारित भएको छ ।  अध्यादेशलाई विस्थापन गर्न ल्याइएको उक्त विधेयकमाथिको दफाबार छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि निर्णयार्थ प्रस्तुत हुँदा विधेयक बहुमतले पारित भएको हो ।  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।  त्यसअघि मन्त्री मेहताले छलफलमा सदनमा उठेका प्रश्नमाथि जवाफ दिँदै सरकारले अघि सारेको १०० बुँदे सुधारको कार्यसूचीबमोजिम स्वास्थ्य क्षेत्रमा सुधार हुँदै आएको बताइन् ।    उनले विपन्न वर्ग पैसा नभएकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर १० प्रतिशत शय्या व्यवस्था गरिएको स्पष्ट गरिन् ।         विधेयकमाथि संशोधनकर्ता सांसदहरू आरेन राई, निशा डाँगी, खड्ग शाही, सीता थपलिया, प्रमिलाकुमारी गच्छदार, कमल सुवेदी, रमेश मल्ल, साजिदा खातुन सिद्धकी, कृपाराम रानालगायतले छलफलमा भाग लिएका थिए ।  छलफलमा सांसदहरूले उक्त विधेयकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेका समस्यालाई सम्बोधन नगरेको तथा पदाधिकारीलाई प्राथमिकता दिएकाले विद्यमान समस्या समाधान हुने गरी संशोधन गर्न आग्रह गरोका थिए ।         छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले विगतमा बहाल रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई ‘भाइरस’ को सङ्ज्ञा दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रमेश मल्ल र नेपाल कम्युनिष्ट पार्टी (एमाले( का ऐनबहादुर महरले नियमापत्ति जनाएका थिए ।  सो नियमापत्तिपछि सभामुख डोलप्रसाद अर्यालले त्यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यस विषयमा छानबिन गर्न सचिवालयलाई आदेश दिए । प्रतिनिधिसभाको अर्को बैठक यही असार २२ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ ।  

'मेहनत गरे नेपालमै कमाइ सम्भव छ'- मन्त्री रामजी यादव

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित बनाउँदै स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताएका छन्  ।  मन्त्रालयमा सबहीबार (आज) आयोजित कार्यक्रममा मन्त्री यादवले युवा उद्यमी र व्यवसायीको सहयोगीका रुपमा मन्त्रालयले भूमिका खेल्ने बताए । उनले वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमीलाई पुरस्कृत र सम्मानसमेत गरे ।  मोरङस्थित प्रशंसा ‘हनि’ फर्मका सञ्चालक लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ भने अन्य ६ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । कतारमा रोजगार गरी स्वदेश फर्केर मौरीपालन गर्दै उद्यमीका रुपमा स्थापित भएका राईले उद्यम यात्राको अनुभव सुनाए । उनले मेहनत भए आफ्नै देशमा आम्दानी गर्न सकिने विश्वास व्यक्त गरे । यसैगरी, झापाका मनिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यमकुमार गोले, पर्वतका शिवकुमार क्षेत्री, अर्घाखाँचीका दिनेश खत्री र बाजुराका कर्मराज मल्लले उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरे ।  कार्यक्रममा मन्त्रालयले बालश्रममुक्त घोषणा भएका १३ स्थानीय तहलाई सम्मान गरिएको थियो । काठमाडौंको चन्द्रागिरि नगरपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका र बाणगङ्गा नगरपालिका, इलामको सूर्योदय नगरपालिका, तनहुँको म्याग्दे गाउँपालिका, भोजपुरको पौवादुङमा गाउँपालिका, बागलुङ्गको बरेङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका र फेदीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाका प्रमुखले सम्मान र प्रशंसापत्र ग्रहण गरे ।  मन्त्रालयले रोजगार श्रमिकको मापदण्ड पूरा गरेका ६ व्यवसायी प्रतिष्ठानलाई सम्मान गरेको छ । सम्मानित हुनेमा नवजीवन अस्पताल प्राली, होङ्सी शिवम् सिमेन्ट, पूर्वी नवलपरासी, अम्बे स्टिल लिमिटेड, एशियन पेन्ट्स नेपाल, मारुती सिमेन्ट लिमिटेड, मैनावती स्टिल इन्डष्ट्रिज लिमिटेड रहेका छन् ।  कार्यक्रममा मन्त्रालयका सचिव डा. दीपक काफ्लेले श्रमिकको हकहित संरक्षण, रोजगार वातावरण सिर्जना र बालश्रममुक्त समाज निर्माण गर्न मन्त्रालयले सधैं प्रभावकारी भूमिका निर्वाह गर्न तत्पर रहँदै आएको बताए । उनले यी तीन पक्ष एकअर्काकामा अन्तर सम्बन्धित भएकाले सुधारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।