विकासन्युज

चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द

महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।  चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयको भनाइ छ । चिसो बढेसँगै यहाँका पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका हुन् । यहाँको बेल्डाडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि तीन दिनका लागि बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी, अत्यधिक जाडोका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी आगामी पुस २५ गतेसम्म जाडो बिदा गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिए । यस्तै, लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गरी विद्यालयको सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी मङ्गलबार र बुधबार गरी दुई दिन बिदा दिएको छ । लगातारको चिसोका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र यहाँका सबै पालिकाको जनजीवन प्रभावित बनेको छ भने बजारक्षेत्रमा चहलपहल पनि घटेको छ ।

नेपाल-कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।  कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटमा अध्यक्ष ढकालले दुवै संस्थाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपाल–कतार आर्थिक सहकार्यलाई नयाँ चरणमा प्रवेश गराउने समय आएको उल्लेख गरे ।  ‘नेपाल र कतारबीचको सम्बन्ध केवल कूटनीतिक होइन, जनस्तरको विश्वास र सहकार्यमा आधारित छ । कतारमा कार्यरत नेपाली श्रमिकहरूको योगदानले दुवै देशको अर्थतन्त्रबीच विश्वास र आत्मीयता निर्माण गरेको छ,’ अध्यक्ष ढकालले भने ।  अध्यक्ष ढकालले ऊर्जा, पूर्वाधार, वित्त, लगानी, पर्यटन, सेवा र लजिस्टिक्स क्षेत्रमा कतारको विश्वव्यापी क्षमता उल्लेख गर्दै यिनै क्षेत्रमा नेपालले निजी क्षेत्रस्तरको साझेदारीलाई प्राथमिकता दिएको स्पष्ट पारे ।  उनले सन् २०२३ अक्टोबरमा कतारका अमिर महामहिमको नेपाल भ्रमणका क्रममा भएको सहमति स्मरण गराउँदै नेपाल–कतार संयुक्त वाणिज्य परिषद् (जेबीसी) शीघ्र सञ्चालन गर्न महासंघ पूर्ण रूपमा तयार रहेको जानकारी दिँदै यसलाई छिट्टै अन्तिम रुप दिनुपर्ने बताए ।  ‘नेपाली पक्षबाट निजी क्षेत्रका प्रतिनिधिहरूको नामावली अन्तिम भइसकेको छ । अब हामी यो संयन्त्रलाई व्यवहारमा उतार्न चाहन्छौँ,’ उनले भने ।  अध्यक्ष ढकालले संयुक्त व्यवसाय परिषद् बिटुबी सहकार्य, क्षेत्रगत लगानीका अवसर पहिचान, व्यावसायिक अवरोध समाधान तथा संयुक्त लगानी र परियोजना अघि बढाउका लागि प्रभावकारी मञ्च हुने धारणा राखे ।  उनले नेपालमा जलविद्युत, नवीकरणीय ऊर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, उत्पादन, पूर्वाधार, स्वास्थ्य र शिक्षामा आकर्षक अवसरहरू उपलब्ध रहेको जानकारी दिँदै नेपाल लगानीका लागि खुला रहेको बताए । अध्यक्ष ढकालले विशेषगरी उत्पादनदेखि प्रसारण र ऊर्जा–आधारित उद्योगसम्म फैलिएको जलविद्युत क्षेत्र दीर्घकालीन साझेदारीको लागि उपयुक्त रहेकोमा जोड दिए । यस्तै पर्यटन क्षेत्रमा होटल, रिसोर्ट, साहसिक तथा स्वास्थ्य पर्यटन, साथै विमानसम्बन्धी सेवामा कतारी लगानीकर्ताको उल्लेखनीय भूमिका हुन सक्ने अध्यक्ष ढकालले बताए ।  सो अवसरमा कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले यो भेटवार्ताले नेपाल–कतार आर्थिक साझेदारीलाई थप मजवुत बनाउने बताए । साथै उनले आउने दिनमा महासंघसँगको सहकार्यलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए । साथै उनले नेपाल-कतार संयुक्त वाणिज्य परिषदलाई छिट्टै अन्तिम रुप दिने विषयमा आफू सकारात्मक रहेको बताए । अध्यक्ष ढकालले पछिल्लो महासंघको पहल र पैरवीमा नेपाल सरकारले लगानी वातावरण सुधारका लागि गरेका नीतिगत र कानुनी सुधारहरूको पनि उल्लेख गरे । नीतिगत स्थायित्व, डिजिटल प्रणाली, सार्वजनिक–निजी साझेदारी र प्रक्रियाको सरलीकरणमार्फत सरकारले सुधारहरु गर्दै लगिरहेको जानकारी दिए ।  हालै नेपालमा भएको युवा (जेनजी) आन्दोलन सुशासन, पारदर्शिता र देशमै अवसरको चाहना व्यक्त गर्ने सकारात्मक चेतनाको संकेतका रूपमा रहेको उल्लेख गर्दै यी आवाजलाई सही ढंगले सम्बोधन गर्न सके दीर्घकालमा संस्थागत सुदृढीकरण र स्थिर व्यावसायिक वातावरण निर्माणमा सहयोग पुग्ने बताए ।  अध्यक्ष ढकालले नेपालमा कतारी लगानीलाई स्वागत गर्दै नेपाली व्यवसायीलाई पनि सेवा, पर्यटन, सीप विकास र साना तथा मझौला उद्यम क्षेत्रमा कतारमा अवसर खोज्न आग्रह गरे । नियमित व्यावसायिक प्रतिनिधिमण्डल आदान–प्रदान, संयुक्त फोरम र संयुक्त व्यवसाय परिषदको शीघ्र सक्रियताले साझा रूचिलाई ठोस परियोजनामा बदल्न सकिने उनको धारणा छ । भेटका क्रममा अध्यक्ष ढकालले कतार चेम्बरका अध्यक्ष तथा प्रतिनिधिमण्डललाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन औपचारिक निमन्त्रणा समेत दिए । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीले उनले महासंघको साधारण सभामा सहभागिता जनाउने प्रतिवद्धता समेत जनाएको अध्यक्ष  ढकालले जानकारी दिए । 

सुपर खुदी हाइड्रोको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । सुपर खुदी हाइड्रोपावरले आज पुस २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १५ करोड ५० लाख रुपैयाँको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूलाई बिक्री गर्नेछ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङको आयोजना प्रभावित क्षेत्र मर्स्याङ्दी गाउँपालिका-२ र ३ का बासिन्दा र ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता मर्स्याङ्दी गाउँपालिका-१, ४, ५, ६, ७, ८ र ९ का बासिन्दालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता सेयर सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा माघ २१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

टिकट काउन्टरमा लागूपदार्थ सेवन, ७ जना कर्मचारी पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत ७ जना कर्मचारी लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगन्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागूपदार्थ खाएको प्रमाणित गरेपछि पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।  उनका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्त कुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन् । त्यस्तै, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी र धादिङको गल्छी घर भई काठमाडौं चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछानेलाई पक्राउ गरिएको उनले जानकारी दिए । लागूपदार्थ सेवन गरी यात्रु तथा पैदलयात्रीलाई दुःख, हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्न सो क्षेत्रमा प्रहरीको टोली खटिएको थियो । उनीहरूलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतमा पेस गरिएकामा सोमबार अदालतले लागूपदार्थ सेवन कसुरमा अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए । उनका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । 

३ करोड लगानीमा चिया खेती, १ हजार ३०० जना सेयर सदस्य​​​​​​​

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित वृहत् चिया खेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले आर्थिक विकासलाई दिगो बनाउने लक्ष्यसाथ योजनाबद्ध रूपमा चिया खेती विस्तार थालेको हो । गाउँपालिका तथा आमचोक चिया तथा कफी सहकारीका सेयर सदस्यहरूको संयुक्त लगानीमा हालसम्म चिया खेतीका लागि ३ करोड रुपैयाँ लगानी भइसकेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए । उनका अनुसार चिया खेती विस्तारमा १ हजार ३०० जना सेयर सदस्यको सहभागिता छ । ‘आमचोक गाउँपालिकामा चिया खेतीको प्रशस्त सम्भावना छ । हाल हामी वृहत् रूपमा चिया खेती विस्तार गरिरहेका छौँ । चिया खेतीलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्दै स्थानीयको जीवनस्तर सुधार गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।  प्राकृतिक सौन्दर्य र पर्यटनको उच्च सम्भावना बोकेको आमचोक क्षेत्रका नाङ्गा तथा खाली पाखालाई हरियालीमा रूपान्तरण गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले चिया खेती विस्तार गरिएको हो । हालसम्म करिब ७ सय रोपनीमा चिया खेती विस्तार भइसकेको अध्यक्ष राईले जानकारी दिए । खाली जमिनको सदुपयोग गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि योजनाबद्ध रूपमा चिया खेती विस्तार सुरु गरेको हो । गाउँपालिकाभित्र चिया खेतीको राम्रो सम्भावना रहेको वडा नं १, २, ३ र ६ मा प्राथमिकताका साथ खेती विस्तार थालिएको छ । यी वडामा प्रशस्त खाली जमिनसँगै पर्यटन प्रवर्द्धनको सम्भावना रहेकाले दीर्घकालीन योजनासहित कार्यक्रम अघि बढाइएको अध्यक्ष राईले बताए । ‘गाउँपालिकाले योजनाबद्ध रूपमा चिया खेती विस्तार गरिरहेको छ । यहाँका खाली जमिनको सदुपयोग गर्दै आयआर्जन वृद्धि र पर्यटन विकासलाई सँगसँगै अघि बढाउने हाम्रो प्रयास हो,’ उनले भने । आमचोक गाउँपालिकाको माथिल्लो भेगमा प्रशस्त खाली चौर रहेको र उक्त क्षेत्र चिया खेतीका लागि उपयुक्त भएको अध्यक्ष राई बताउँछन् । गाउँपालिकासँगै स्थानीयलाई निजी खाली जमिनमा चिया खेती विस्तार गर्न प्रोत्साहित गर्ने कार्यक्रम पनि सञ्चालन गरिने उनले जानकारी दिए । उत्पादन भएको चियाको प्रशोधनका लागि वडा नं २ मा चिया प्रशोधन कारखानाको संरचना निर्माण भइसकेको गाउँपालिका जनाएको छ । मेसिन जडानको काम भने बाँकी छ ।

ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने, प्रधानमन्त्री जेन्सले भने- विलयको कुनै कल्पना छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन गरेको आव्हानको सोमबार अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ । भेनेजुएलामा वासिङ्टनको सैन्य हस्तक्षेपले खनिजको धनी आर्कटिक क्षेत्र ग्रिनल्यान्डबारे चिन्ता उत्पन्न भएपछि अन्तर्राष्ट्रिय समुदायको भनाई आएका हुन् ।  आइतबार राति एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘हामीलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले ग्रिनल्याण्ड चाहिएको छ । डेनमार्कले सक्दैन ।’ ग्रीनल्याण्ड टापुमा दुर्लभ खनिजहरू छन् र ध्रुवीय हिउँ पग्लने र नयाँ ढुवानी मार्गहरू देखा पर्दा यो एक महत्त्वपूर्ण आकर्षण हुन सक्छ । ग्रिनल्याण्ड रुस र अमेरिकाबीच क्षेप्यास्त्र प्रहार गर्न सबैभन्दा छोटो मार्गमा पर्छ र वासिङ्टनले त्यहाँ पहिले नै सैन्य आधार बनाइसकेको छ । ट्रम्पले भने, ‘ग्रीनल्याण्डको बारेमा २० दिनमा कुरा गरौँ । हामी दुई महिनाभित्र ग्रीनल्याण्डको बिषयमा हाम्रो चिन्तालाई सम्बोधन गर्न लागि पर्नेछौँ ।’ ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले अमेरिकी नेतालाई सङ्केत गर्दै भने, ‘अब अति नै भयो । अब कुनै दबाब छैन । थप आक्षेपहरू छैनन् । अब विलयको कुनै कल्पना छैन।’ उनले भने, ‘हामी वार्ताका लागि खुला छौँ । छलफलको लागि खुला छौँ । तर यो उचित च्यानल मार्फत र अन्तर्राष्ट्रिय कानुनको सम्मानका साथ हुनुपर्दछ ।’ डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि संयुक्त राज्य अमेरिकालाई सप्ताहन्तमा आफ्नो परम्परागत सहयोगीलाई धम्की नदिन आग्रह गरे । सोमबार धेरै युरोपेली देशसहित इयूले कोपेनहेगनको समर्थन गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले काराकासमाथि आक्रमण गरेर र न्यूयोर्कमा हिरासतमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई कब्जा गरेर युरोपेली नेताहरूलाई चकित पारेका छन् । ट्रम्पले अब अमेरिकाले भेनेजुएलालाई अनिश्चितकालका लागि सञ्चालन गर्ने र तेलको विशाल भण्डार प्रयोग गर्ने बताए । द एटलान्टिकसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले ग्रीनल्याण्डमा भेनेजुयलाको सैन्य अभियानको प्रभावबारे सोधिएको प्रश्नमा यो निर्णय अरूले गर्ने बताए ।  ‘उनीहरूले यसलाई आफैंले हेर्नुपर्छ। मलाई थाहा छैन । अमेरिकालाई आफ्नो सुरक्षाका लागि ग्रीनल्याण्ड चाहिएको छ,’ उनले भने । ट्रम्पले गत महिना रुस र चिनियाँ पानीजहाज सबै क्षेत्रमा रहेको दाबी गरेका थिए ।  चीनको विदेश मन्त्रालयले सोमबार यसको जवाफ दिँदै अमेरिकालाई ‘तथाकथित चिनियाँ धम्कीलाई व्यक्तिगत फाइदाको बहानाको रूपमा प्रयोग नगर्न’ आग्रह गरेको छ। यस विवादले युरोपभरिबाट धेरै भनाइहरू चीनको समर्थनमा आएका छन् । युरोपेली सङ्घको विदेश नीतिमामिला प्रवक्ता अनिता हिप्परले पत्रकारहरूसँग भने, ‘इयू आफ्ना सदस्यहरूको क्षेत्रीय अखण्डताको रक्षा गर्न प्रतिबद्ध छ।’ फिनल्याण्ड, स्वीडेन र नर्वेका नेताहरूको भनाइमा बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ‘केवल ग्रीनल्याण्ड र डेनमार्क अधिराज्य’ ले मात्र क्षेत्रको भविष्य निर्धारण गर्न सक्ने बताए । 

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि...

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका-७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाएका हुन् । स्थानीयवासीले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित पुग्दा उक्त ठाउँमा पिसिसी ढलानका क्रममा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनर्निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताए । ‘निर्माणस्थलमा तयार पारिएको मसला (सिमेन्ट, गिट्टी र बालुवा) को मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो,’ उनले भने, ‘निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । निगरानी र अनुगमनमा कडाइका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिएका छौँ ।’ स्थानीयवासी विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शङ्का लागेपछि व्यवसायीलाई सचेत बनाउँदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक र जनप्रतिनिधिहरूलाई जानकारी गराएको बताए ।  मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना-जलजला-ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले १४ करोड ६१ लाख रुपैयाँमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता जनाए । पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरको विषयमा लिखित रूपमा स्पष्ट निर्देशन दिए पनि कमजोरी देखिनु ठेकेदारको कमजोरी भएको बताए । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यस आयोजना म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त हो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब ६ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ । ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ । ६ किलोमिटर दूरीमा सडकलाई फराकिलो बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । ८ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजनाअन्तर्गत दरवाङ-धारापानी (७ किलोमिटर) र मच्छिम-मुना (४ किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न ५२ करोड ८० लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको छ । गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा-काठमाडौं आवतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी जलजला हुँदै ढोरपाटन हालै सडक सञ्जालमा जोडिएको छ ।

कोशीमा स्टार्टअप उद्यममा साढे २ अर्ब लगानी, ३८.७ प्रतिशत हिस्सा ऋण

काठमाडौं । स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ । केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार यस क्षेत्रमा कुल लगानी २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । त्यसमा ३८.७ प्रतिशत हिस्सा ऋण रहेको छ भने ६१.३ प्रतिशत हिस्सा स्वपुँजी रहेको छ । अध्ययन अनुसार २१ देखि ३५ वर्ष उमेर समूहका ३९.३ प्रतिशत, ३६ देखि ५० वर्ष उमेर समूहका ४४.४ प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६.२ प्रतिशत उद्यमी रहेका छन् ।  त्यस्तै, २१ देखि ३५ वर्ष उमेर समूहका उद्यमीमध्ये सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रमा ७३.३ प्रतिशत र सबैभन्दा कम कृषि क्षेत्रमा २१.२ प्रतिशत उद्यमी संलग्न रहेका अध्ययनमा उल्लेख छ । युवापुस्ताले डिजिटल र प्रविधिमा केन्द्रित उद्यममा बढी रुचि राखेका देखिन्छ भने ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमी सबैभन्दा बढी कृषि क्षेत्रमा संलग्न रहेका देखिन्छ । सबैभन्दा कम सूचना प्रविधि क्षेत्रमा २६.७ प्रतिशत युवा आवद्ध रहेका छन् । साथै ५० देख ७० वर्ष उमेर समूहका सबैभन्दा बढी २७.३ प्रतिशत पर्यटन क्षेत्रमा रहेको देखिन्छ भने सूचना प्रविधि क्षेत्रमा यो उमेर समूहको कुनै पनि संलग्नता नरहेको अध्ययनमा उल्लेख छ । औैद्योगिक व्यावसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’ भएका कोशी प्रदेशका उद्यमहरूको सङ्ख्यालाई आधार मानी १६० वटा स्टार्टअप उद्यमबाट तथ्याङ्क सङ्कलन गरिएको केन्द्रीय बैंकले जनाएको छ । अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी पाँच व्यावसायिक क्षेत्र समावेश छन् । त्यसमा कृषि तथा वनजन्य ४१.३ प्रतिशत, उत्पादनमूलक १८.१ प्रतिशत, सेवामूलक १७.५ प्रतिशत, पर्यटन १३.८ प्रतिशत र सूचना प्रविधि क्षेत्रमा ९.४ प्रतिशत उद्यम छन् ।