विकासन्युज

स्वरोजगार र साना व्यवसायका लागि एमबीएल स्मार्ट लोन क्यूआरमार्फत उपलब्ध

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्याएको जनाएको छ। विभिन्न नेटवर्कमा आबद्ध क्यु आर मर्चेन्टहरूलाई लक्षित गर्दै बैंकले क्यूआर मर्चेन्ट एमबीएल स्मार्ट लोन सेवाको सुरुवात गरेको हो ।  बैंकले क्यूआर मर्चेन्टहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको हो । यस सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई बिना धितो सहज र सरल तरिकाले एमबीएल ए स्मार्ट एपमार्फत नै कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।  डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ ।  बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टरसहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ ।  साथै १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघ्याे, भारूको अंश २२.२ प्रतिशत

काठमाडौं । विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्म विदेशी मुद्रा सञ्चिति .३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको हो । गत असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । ५ महिनाको अवधिमा १९.६ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति मंसिरमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ । गत असारमा १९ अर्ब ५० करोड अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब ३५ अर्ब रुपैयाँ कायम छ । गत असारसम्म राष्ट्र बैंकमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंकसँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ थियो । ५ महिनामा राष्ट्र बैंकमा विदेशी मुद्रा १८.७ प्रतिशत र बैंकमा २७.४ प्रतिशत बढेको हो । २०८२ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

रिडी पावरको २४ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।  सञ्चालक समितिका अध्यक्ष कुवेरमणि नेपालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन पारित गर्दै लेखा परीक्षण प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण सहित वित्तीय विवरण अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोकेको छ । साथै कम्पनीको नियमावली अद्यावधिक गर्ने, नियामक निकायमा आवश्यक कार्य गर्न र कम्पनीका गाडी, स्क्राप तथा अन्य सेयर सम्पत्ति बिक्री गर्ने अधिकार सञ्चालक समितिलाई दिएको छ । अध्यक्ष नेपालले सभामा सेयरधनी, सञ्चालक समितिका सदस्य र शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीको २५ औं साधारणसभा भव्यरूपमा मनाउने योजना भएको जानकारी दिए ।  कम्पनीले गत वर्ष विद्युत बिक्रीबाट १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

५ महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं । ५ महिनामा पौने ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ भित्रिएको हो ।  मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । जबकि गत वर्षको मंसिर महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।  समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।  समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।  समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो ।

देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा

रूपन्देही । मानवसेवा आश्रमको सहकार्यमा बिहीबार रूपन्देहीस्थित देवदह नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको छ ।  यस घोषणासँगै अब नगरभित्र सडकमा बेवारिसे भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । साथै सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र दीर्घकालीन व्यवस्थापनलाई संस्थागत रूपमा अगाडि बढाइने नगरपालिकाले जनाएको छ । देवदह नगरपालिकाको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति, रूपन्देहीका प्रमुख उमानन्द चापाईं, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी, स्थानीय जनप्रतिनिधि,  विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले मानवसेवा आश्रम र स्थानीय तहबीचको सहकार्यबाट देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा हुनु सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको महत्त्वपूर्ण उपलब्धि भएको बताए।  मानवसेवा आश्रमले देशका विभिन्न स्थानीय तहमा सञ्चालन गर्दै आएको सहयोगापेक्षी सडकआश्रित मानवमुक्त अभियानमा देवदह नगरपालिका जोडिनु एक महत्त्वपूर्ण उपलब्धि भएको जनाइएको छ । आश्रमले विसं २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने लक्ष्यसहित देशभर अभियान तीव्र पारेको छ ।

वाटर इनर्जी सोलुसनले आईपीओ जारी गर्ने बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।  बिहीबार वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडबीच सम्झौता सम्पन्न भएको हो । कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

एकताबद्ध भएर निर्वाचनमा सक्रिय रहन नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरूको संयुक्त अपिल

काठमाडौं । नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरूले पार्टीभित्र देखिएको आन्तरिक विवादप्रति चिन्ता व्यक्त गर्दै संगठनलाई एकताबद्ध बनाएर अघि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् ।  उनीहरूले पार्टीको ऐतिहासिक भूमिका स्मरण गराउँदै वर्तमान राजनीतिक संकटको सामना गर्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त अपिलमा नेपाली कांग्रेसले इतिहासका विभिन्न कालखण्डमा निरंकुशता र अवरोधहरू पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना र सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख छ ।  सोही जिम्मेवारीलाई आत्मसात गर्दै अहिले देखिएको राजनीतिक संकट र पार्टीभित्रको तिक्तता अन्त्य गर्न नेतृत्वले विवेकपूर्ण निर्णय लिनुपर्ने भातृ संस्थाहरूको धारणा छ । अपिलमा पछिल्लो समय देशमा विकसित राजनीतिक अवस्था र नेपाली कांग्रेसभित्र देखिएको असहमति चिन्ताजनक बन्दै गएको उल्लेख गरिएको छ । यस्तो अवस्थामा देश र जनताको हितका लागि पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ । भातृ तथा शुभेच्छुक संस्थाहरूले नेपाली कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका तय भइसकेको सन्दर्भमा सोही प्रक्रियाअनुसार अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।  तोकिएको मितिभित्र महाधिवेशन सम्पन्न गर्न पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । अपिलमा नेपाल महिला संघ, तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, दलित संघ, आदिवासी जनजाति महासंघ, मुस्लिम संघ, थारू संघ, ट्रेड युनियन, सांस्कृतिक संघ, राष्ट्रिय मगर संघ, तामाङ संघलगायत विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरूले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । उनीहरूले सहमति, एकता र संगठनात्मक अनुशासन कायम राख्न नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.४ प्रतिशतले बढ्ने प्रक्षेपण

काठमाडौं । भारतको संघीय सरकारले आर्थिक वर्ष २०२५–२६ (१ अप्रिल २०२५ देखि ३१ मार्च २०२६) मा मुलुकको वास्तविक कुल ग्राहस्थ उत्पादन (जीडीपी) ७.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।  राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यो प्रक्षेपण अघिल्लो आर्थिक वर्षको ६.५ प्रतिशतको आर्थिक वृद्धिदर भन्दा माथि रहेको छ । तथ्याङ्क कार्यालयका अनुसार आगामी आर्थिक वर्षमा भारतको नोमिनल जीडीपी ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।  भारतीय अर्थतन्त्रको यो विस्तारमा मुख्यतया सेवा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने औंल्याइएको छ । सेवा क्षेत्रमा देखिएको निरन्तरको उत्साहजनक वृद्धिले समग्र अर्थतन्त्रलाई गति दिएको एनएसओले जनाएको छ ।  यो प्रक्षेपणले भारतीय अर्थतन्त्र सुधारको बाटोमा रहेको र आन्तरिक माग तथा सेवा क्षेत्रको प्रदर्शन बलियो रहेको सङ्केत गर्दछ ।