विकासन्युज

निर्वाचन आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोग र दलबीच छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका आयुक्तहरूले शुक्रबार (आज) आयोगको कार्यालयमा दलका प्रतिनिधिहरूसँग बैठक गरी आचारसंहिता पालना, प्रचार प्रसारका मापदण्ड र निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा विश्वसनीय बनाउने विषयमा विस्तृत छलफल गरेका हुन् । आयोगका अनुसार माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तय भइसकेकाले निर्वाचन प्रक्रिया सुरु भइसकेको अवस्थामा सबै राजनीतिक दलले आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएको छन् । आयोगले निर्वाचन प्रचार–प्रसारका क्रममा राज्य स्रोतको दुरुपयोग नगर्न, उत्तेजक अभिव्यक्ति र घृणात्मक भाषण प्रयोग नगर्न तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह नगर्न दलहरूलाई सचेत गराएको छ ।

निर्वाचन आयोग पुगेका नेपाली कांग्रेसका नेताहरू के भन्छन् ?

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय गर्न नहुने बताएका छन् ।  शुक्रवार नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न आयोगमा पुगेका सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले यस्तो बताएका हुन् ।  उनीहरूले आयोगले संविधान, राजनीतिक दलसम्बन्धि ऐन, नेपाली कांग्रेसको विधान र आफूहरूले उपलब्ध गराएको कागजातको आधारमा नै निर्णय गर्ने विश्वास गरे ।  कांग्रेसको आधिकारिकता आफूहरूले पाउने र छुट्टिएर गएकाहरू पनि मूलधारमा नै फर्किने नेताहरूको विश्वास छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचन हुने की नहुने आशंका भइरहेको बेलामा थप जटिल परिस्थिति उत्पन्न हुनेगरी निर्णय गर्न नहुने बताए ।  सिन्धुपाल्चोकमा आफूहरूले चुनावी सभा समेत थालेको उनको भनाइ छ ।  यस्तो स्थितिमा आयोगले संविधान विपरीत, कांग्रेसको विधान विपरीत निर्णय गरेमा देशमा निर्वाचनको प्रक्रिया नै बिथोलिने उनले बताए ।  निर्वाचन बिथोलिएमा त्यसको जिम्मेवारी आयोगले लिनुपर्ने उनको भनाइ छ ।  कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार आफूहरुको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस विभाजनलाई रोक्न अन्तिमसम्म प्रयास गरेपनि असफल भएको बताए ।  विभाजनले निर्वाचनसँगै देशको राजनीतिमा पनि ठूलो असर पर्ने उनको भनाइ छ ।  नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताए ।  उनले प्रतिनिधि सभाको निर्वाचनको लागी माघ ६ गते मनोनयनको लागि देउवाले नै टिकट बाँड्ने दाबी गरे ।  उनले शनिबारबाट नै सभापति देउवाले टिकट बाँड्न सुरु गर्ने जानकारी दिए । उनले गगन थापा, विश्वप्रकाश शर्माहरूले अर्को पार्टी गठन नगरेकोले उहाँहरू पनि देउवाको हातबाट टिकट लिएर चुनाव लड्न जाने दाबीसमेत गरे । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला लगायतका नेताहरू पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग गएका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ । 

६ महिनामा ४७५ उद्योगमा वैदेशिक लगानी, सूचना प्रविधिदेखि कृषिसम्म आकर्षण

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो महिनाहरूमा वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिवद्धता आएको हो ।  गत आर्थिक वर्षको ६ महिनामा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता प्राप्त भएको थियो । गत आवको ६ महिनामा ३४५ साना, ५ मध्यम र ४ ठूला उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता आएको थियो ।  चालु आर्थिक वर्षको ६ महिनामा ६ महिनामा ७ वटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । विभागका अनुसार गत पुसमा मात्र ३६ वटा साना उद्योगमा लगानी प्रतिवद्धता आएको छ । यी उद्योगहरूबाट २० हजार १२२ रोजगारी सृजना हुने आँकलन गरिएको छ ।  चालु आर्थिक वर्षको पछिल्लो महिनाहरूमा उद्योगमा लगानी प्रतिवद्धता  बढेको तथ्यले बताउँछ । विभागको तथ्यांकअनुसार साउन महिनामा मात्रै ५९ करोड ७५ लाख ६० हजार प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएकोमा भदौमा ३३ अर्ब ९ करोड २० लाख आएको थियो । त्यस्तै, असोजमा २ अर्ब ४ करोड ५७ लाख वैदेशिक लगानी प्रतिवद्धता आउँदा कात्तिकमा मात्रै १ अर्ब ५४ करोड ३९ लाख प्राप्त भएको थियो भने मङ्सिरमा मात्रै १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ लगानी प्रतिबद्धता भएको थियो।  सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा धेरै लगानी प्रतिवद्धता चालु आर्थिक वर्षको ६ महिनामा सूचना प्रविधिमूलक क्षेत्रका सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ ।  गत साउनदेखि पुस महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका २५७ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । रकमका आधारमा भने कृषिमूलक क्षेत्रका १३ उद्योगमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड बराबरको लगानी प्रतिवद्धता आएको छ । उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड, पर्यटनमूलक क्षेत्रका १ सय ४५ उद्योगमा १० अर्ब ५४ करोड र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागको तथ्यांकअनुसार नेपालमा बिजनेस भिसा लिने विदेशी बढेका छन् । ६ महिनामा १ हजार २२९ लगानीकर्ताले यस्तो भिसाको सिफारिस मागेका छन् । अघिल्लो आवको सोही अवधिमा २ हजार १ सय १७ सय जनाले यस्तो भिसा माग गरेका थिए । यस्तै, ६ महिनामा १ सय ७९ जनाले बिजनेस भिसा मागेका छन् । अघिल्लो वर्ष यही अवधिमा २ सय १ जनाले प्रतिनिधिले भिसा लिएका थिए । 

निर्वाचनका लागि भारतले नेपाललाई करिब ४०० सवारीसाधन दिने, पहिलो चरणमा १०६ वटा आउँदै

काठमाडौं । भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाललाई करिब ४०० वटा सवारीसाधन अनुदानमा उपलब्ध गराउने भएको छ । पहिलो चरणमा १०६ वटा गाडी अर्को हप्तासम्म नेपाल आइपुग्ने तयारीमा छन् ।  गृह मन्त्रालयका अनुसार यी सवारीसाधन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रयोग गर्नेछन् । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पहिलो चरणमा आउन लागेका १०६ वटा गाडीको भन्सार छुट प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए । ‘अर्थ मन्त्रालयले १०६ वटा गाडीको भन्सार छुट प्रक्रिया अगाडि बढाएकोले सम्भवतः अर्को हप्ता हामीलाई हस्तान्तरण हुनेछ,’ उनले विकासन्युजसँग भने ।  गृह मन्त्रालय स्रोतका अनुसार भारतले कुल ३८८ देखि ४०० को हाराहारीमा सवारीसाधन उपलब्ध गराउने छ । जुन विभिन्न चरणमा नेपाल आइपुग्नेछन् । यो सहयोग कुनै नयाँ सम्झौता वा समझदारी अन्तर्गत नभई नेपाल सरकारले गरेको वस्तुगत सहायताको अनुरोधमा भारतले उपलब्ध गराएको हो ।  अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार मन्त्रालयले १०६ वटा गाडीको भन्सार छुटका लागि आएको अनुरोधलाई स्वीकृत गरी पठाइसकेको छ । गृहका प्रवक्ता काफ्लेका अनुसार यी सवारी साधन आसन्न निर्वाचनको सुरक्षाका लागि मात्र नभएर हालैका आन्दोलनहरूमा क्षति भएका प्रहरीका गाडीहरू प्रतिस्थापन गर्न पनि प्रयोग हुनेछन् ।  ‘निर्वाचन पनि एउटा कारण हो, तर हालैका घटनाक्रममा प्रहरीका सवारीसाधनमा भएको क्षतिको पूर्ति गर्नु पनि आवश्यक थियो,’ उनले भने ।  सरकारले यस वर्षको बजेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि नियमित रूपमा गाडी खरिद गर्न बजेट छुट्याएको थियो । पछि थप स्रोत सुनिश्चिततामार्फत पनि केही गाडी खरिद गरिएको थियो ।  प्रदेश सरकारहरूबाट समेत केही सवारी साधन व्यवस्थापन भएको र अपुग सवारी साधन निर्वाचन अवधिका लागि भाडामा लिने व्यवस्था पनि मिलाइएको गृह मन्त्रालयले जनाएको छ । यी सबै प्रयासका बाबजुद अपुग हुने देखिएपछि नेपाल सरकारले भारत सरकारलाई सहयोगका लागि अनुरोध गरेको थियो ।  प्राप्त हुने गाडीहरू प्रदेश वा स्थानीय तहलाई नभई सिधै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रयोगका लागि उपलब्ध गराइनेछ, जसले निर्वाचन अवधिमा सुरक्षाकर्मीको परिचालनलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ । 

कांग्रेसको आधिकारितामा आयोगले विधि र परम्पराअनुसार निर्धारण गर्छ : भण्डारी

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिता आयोगले विधि र परम्पराअनुसार निर्धारण गर्ने बताएका छन् । निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका कांग्रेसका नेताहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।  राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन, र कानून रहेकाले सोहीअनुसार निर्णय हुने भण्डारीले जानकारी दिए । निर्वाचन आयोग विधि र पद्धति भन्दा बाहिर नजाने उनले स्पष्ट पारे ।  उनले भने, ‘निर्वाचन आयोगको आफ्नो परम्परा, विधि छ । संविधान, ऐन, कानुन छ । यसको परिधिभित्र रहेर निर्वाचन आयोगले निर्णय गर्ने हो । निर्वाचन आयोगले विधि र पद्धतिअनुसार निर्णय गर्नेछ । हाम्रो संस्थागत परम्परा पनि छ ।’ भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने प्रयोजनका निम्ति आवश्यक कार्यक्रम सकेर निर्वाचन सम्पन्न गराउने बताए ।  नेपाली कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समिति चयन गरेसँगै कांग्रेस विभाजित छ । दुवै पक्षले आधिकारिकता दाबा गरिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ । 

विशेष महाधिवेशनबाट ८८५ महाधिवेशन प्रतिनिधि बाहिरिएको खड्काको दाबी

काठमाडौं । नियमित महाधिवेशन पक्षधर नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरूले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताएका छन् । शुक्रबार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन् । उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भएपनि ८ सय ८५ हस्ताक्षरकर्ताहरूले हस्ताक्षर फिर्ता लिएको बताए । खड्काले भने, ‘हस्ताक्षरकर्ता, सहभागीकर्ता भन्नेखालको कुरा आएको छ । ती हस्ताक्षरकर्ता सहभागीमध्ये ८ सय ८५ जना त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित मुख्यसचिवले केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ ।’ विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूहरूसँग रहेको उनले पनि दावी गरे । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ ।  का‌ंग्रेसको यो विवादले पार्टीको चुनाव चिन्ह रुख र झण्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ ।

मित्सुबिशीले अमेरिकाका प्राकृतिक ग्यास सम्पत्ति किन्ने, ७.५३ अर्ब डलरको सम्झौता

काठमाडौं । जापानी व्यापारिक कम्पनी मित्सुबिशी कर्पोरेसनले अमेरिकामा रहेका प्राकृतिक ग्याससम्बन्धी सम्पत्तिहरू ७.५३ अर्ब अमेरिकी डलरको सम्झौतामा (ऋणसहित) अधिग्रहण गर्ने जनाएको छ । अमेरिकी ऊर्जा बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने उद्देश्यका साथ कम्पनीले उक्त निर्णय लिएको हो । मित्सुबिशीले टेक्सस र लुइसियानामा रहेका ती सम्पत्तिहरू एथन एनर्जी म्यानेजमेन्टबाट अधिग्रहण गर्नेछ । उक्त कारोबारमा ५.२ अर्ब डलर बराबरको इक्विटी खरिद तथा एथनको २.३३ अर्ब डलर ऋण समावेश छ । टोकियो स्टक एक्सचेन्जमा पेश गरिएको विवरणमा मित्सुबिशीले यस लगानीले कम्पनीको प्राकृतिक ग्यास तथा एलएनजी (तरल प्राकृतिक ग्यास) व्यवसायको आम्दानी आधारलाई मजबुत बनाउने जनाएको छ । कम्पनीका अनुसार यसले अमेरिकामा ‘अपस्ट्रिम ग्यास विकासदेखि विद्युत उत्पादन, डाटा सेन्टर विकास, रासायनिक उत्पादन तथा सम्बन्धित व्यवसायसम्म’ समेटिने एकीकृत मूल्य शृंखला निर्माण गर्ने प्रयासलाई तीव्र बनाउनेछ । कारोबार घोषणा भएपछि मित्सुबिशीको सेयर मूल्य २ प्रतिशतले घटेको छ । मित्सुबिशीले प्राकृतिक ग्यास क्षेत्रमा अलास्का, मलेसिया, क्यानडा र इन्डोनेसियालगायत विभिन्न देशमा लगानी गरिसकेको छ । कम्पनीले प्रतिस्पर्धी अपस्ट्रिम ग्यास परियोजनाको उपयोग गर्दै विद्युत उत्पादन तथा उत्पादनमूलक (म्यानुफ्याक्चरिङ) व्यवसायमार्फत अमेरिकामा आफ्नो विस्तार गर्ने योजना रहेको पनि जनाएको छ । मित्सुबिशी कर्पोरेसन जापानको सबैभन्दा ठूलो बहुराष्ट्रिय व्यापारिक (ट्रेडिङ) कम्पनीमध्ये एक हो । ऊर्जा, प्राकृतिक ग्यास र एलएनजी, खानी तथा धातु, तेल–ग्यास, विद्युत उत्पादन, रसायन, खाद्य तथा कृषि व्यवसाय, अटोमोबाइल, मेसिनरी, पूर्वाधार, औद्योगिक सामग्री, सूचना प्रविधि, डाटा सेन्टर र वित्तीय सेवासम्म यसको लगानी र कारोबार फैलिएको छ ।  अमेरिका, क्यानडा, अलास्का, मलेसिया, इन्डोनेसिया र अन्य थुप्रै देशमा ऊर्जा तथा प्राकृतिक स्रोतसम्बन्धी परियोजनामा संलग्न मित्सुबिशीले पछिल्ला वर्षहरूमा नवीकरणीय ऊर्जा, दिगो विकास र एकीकृत मूल्य शृंखलामा केन्द्रित रणनीति अघि बढाउँदै आएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ७ सयले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य शुक्रबार (आज) ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ७७ हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य ताेलाकाे ५ हजार ६४५ रूपैयाँ कायम भएको छ ।  बिहीबार एक तोला सुनकाे २ लाख ७६ हजार ५०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार ४८५ मा कारोबार भएको थियो ।