गैँडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक्त नयाँ गन्तव्य बनाउने योजनासहित राइनो क्रुज सञ्चालनमा ल्याउन लागिएको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा नारायणी नदीमा राइनो क्रुज सञ्चालन गर्न लागेका हुन् । कम्पनीका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलले पर्यटकीय प्रयोजनका लागि सञ्चालन गर्न लागिएको क्रुज गैँडाकोट पुलचोकबाट देवघाटसम्म सञ्चालन गर्ने तयारी गरिएको बताए । 'हामीले राइनो क्रुजलाई यातायातका लागि भन्दा पनि पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्ने तयारी गरेका छौँ', उनले भने, 'हामीले डिनर क्रुज (क्रुजभित्रै खाना खाने प्याकेजसहित)लाई केन्द्रित गरी राइनो क्रुज सञ्चालन गर्दैछौँ ।' यही माघमा सञ्चालनमा ल्याउने तयारीस्वरुप राइनो क्रुटलाई पुनर्निर्माण गरिएको उल्लेख गर्दै प्रबन्ध निर्देशक ढुङ्गेलले प्राविधिक परीक्षणपछि नियमित सञ्चलनको तयारी भइरहेको बताए । दुईवटा तला र एउटा ३६० डिग्री अवलोकनस्थल रहेको क्रुजको क्षमता दुई सय जना यात्रुको भए पनि एक सय ५० जनालाई सेवा दिनेगरी सञ्चालन गर्न लागिएको ढुङ्गेलको भनाइ छ । क्रुजभित्रै रेष्टुराँको सुविधा रहने भन्दै उनले क्रुजमा मनोञ्जन हुनेगरी लाइभ म्युजिक (गीत, सङ्गीत) प्रस्तुत हुने बताए। यस राइने क्रुजलाई लक्जरी रिभर क्रुज बनाउँदै नियमित प्याकेजहरू सञ्चालन गरिने उनले बताए। क्रुज यात्राका लागि प्याकेजमा क्रुजभित्रै खाना तथा नास्ताको व्यवस्था रहने भन्दै ढुङ्गेलले टिकटमात्र काटेर क्रुज यात्रा गर्दा पनि थप शुल्क तिरेर रेष्टुराँबाट खाना तथा खाजा खान सकिने जानकारी दिए । 'राइनो क्रुज नियमित सञ्चालनमा आएपछि हामीले प्याकेज र शुल्क सार्वजनिक गर्नेछौँ', ढुङ्गेलले भने, 'अहिले हामीले होटल रिभर क्राउन र क्रुजमा गरी रु ५० करोड लगानी गरेका छौँ, यहाँ ५० जनालाई प्रत्यक्ष रोजगारीसमेत सृजना भएको छ ।' होटल रिभर क्राउन र राइनो क्रुजलाई एउटै कम्पनीबाट सञ्चालन गरी होटललाई तारे (स्टार)होटलको स्तरमा पुर्याउने र आगामी पाँच वर्षभित्र पब्लिक कम्पनीमा गएर सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी रहेको उनको भनाइ छ । राइनो क्रुज सञ्चालनपछि सम्भाव्यता अध्ययन गर्दै थप दुईवटा ‘मिनी क्रुज’ पनि सञ्चालन गर्ने तयारी रहेको ढुङ्गेलले जानकारी दिए । 'गैँडाकोटको पुलचोक पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको र यहाँ आउने पर्यटकका लागि सहज पहुँच पनि भएकाले रिभर क्राउनबाट राइनो क्रुज सञ्चालन हुन लागेको हो', उनले भने, 'मनोरञ्जनसहित डिनर केन्द्रित क्रुजमा तीन घण्टासम्म समय बिताउन सकिनेगरी प्याकेज तयार हुँदैछ ।' गैँडाकोटमा नारायणी नदीमाथि बन्दै गरेको सिग्नेचर पुलसँगै राइनो क्रुजले यस क्षेत्रमा पर्यटनको नयाँ ढोका खोल्ने ढुङ्गेलले बताए । विसं २०७९ माघ १ गते चितवनको भरतपुर–१६ काभ्रे घाटमा सञ्चालन गरिएको क्रुज विभिन्न कारणले बन्द भएपछि पुनर्निर्माणसँगै गैँडाकोटबाट सञ्चालन गर्न लागिएको हो । काभ्रेघाट वरिपरि नारायणी नदीको बहाव, अवस्थिति धेरै कारणले त्यहाँ क्रुज यात्रा सहज नहुँदा यो बर्खामा विभिन्न उपकरण प्रयोग गरी क्रुजलाई गैँडाकोटसम्म ल्याइएको थियो । 'सबै कुराले गैँडाकोट उपयुक्त रहेकाले अब यस क्रुजलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजनासहित होटललाई समेत जोडेर हामी अगाडि बढेका हौँ', उनले भने, 'क्रुजलाई देवघाटसम्म सञ्चालन गर्दा नवलपुरसँगै चितवन र तनहुँको धार्मिक तथा जल पर्यटनमा नयाँ आयाम थपिने हाम्रो विश्वास छ ।' क्रुज सञ्चालनका लागि कम्पनीले यसअघि नै पवित्र धार्मिकस्थल देवघाटबाट गोलाघाटसम्मको अनुमति पाइसकेको छ । रासस
भूगर्भ सिमेन्टको आम्दानीमा १६.७६ प्रतिशत फड्को, खनिज खानीदेखि बजारसम्म पकड
काठमाडौं । भूगर्भ सिमेन्टले एक वर्षमै डेढ अर्ब रुपैयाँ बढी सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १ अर्ब ६७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा १६.७६ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीको आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ थियो । सिमेन्ट तथा क्लिङ्कर प्लान्टको क्षमता उपयोग दर उल्लेखनीय रूपमा बढेकाले आम्दानी र सञ्चालन क्षमतामा सुधार आएको कम्पनीले जनाएको छ । साथै गत वर्ष कम्पनीले बक्यौता उठाउन बाँकी रकम उल्लेखनीय रूपमा घटाएको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार सन् २०२५ मा सिमेन्ट बोरा बिक्री र क्लिङ्कर बिक्री दुवै बढेकाले आम्दानीमा वृद्धि भएको हो । उत्पादन क्षमताको उपयोग ५२ प्रतिशतबाट ६६ प्रतिशतमा पुगेको छ । यद्यपि, क्लिङ्करको कच्चा पदार्थ लागत बढ्दा कम्पनीको पीबीआईएलटीडी (ब्याज, लीज, मूल्यह्रास र कर अघिको मार्जिन) मार्जिन २९ प्रतिशतबाट घटेर १५ प्रतिशतमा झरेको छ । कम्पनीले सन् २५ मा ३ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । सन् २०१६ मा स्थापना भएको भुगर्भ सिमेन्टले छोटो समयमै व्यावसायिक संरचना र उत्पादन क्षमता उल्लेखनीय रूपमा विस्तार गरेको देखिन्छ । सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने योजनासहित कम्पनी सन् २०२३ जुनमा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ५० लाख रुपैयाँ रहेको छ । यसमध्ये ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने योजना अनुसार हकप्रदपछि चुक्ता पुँजी ८० करोड ८० लाख रुपैयाँ पुग्नेछ । त्यसपछि उक्त चुक्ता पुँजीको २० प्रतिशत आईपीओ जारी गरी चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुर्याउने रणनीति कम्पनीले लिएको छ । कम्पनीसँग आफ्नै खानी योजना रहेको छ, जसको दैनिक उत्पादन क्षमता ३ हजार २०० मेट्रिक टन रहेको छ । हाल भूगर्भ सिमेन्टले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी) र साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्दै आएको छ । विगतमा दैनिक ५०० मेट्रिक टन रहेको सिमेन्ट उत्पादन क्षमता सन् २०२३ को अगस्ट महिनामा विस्तार गरी ७०० मेट्रिक टन प्रतिदिन पुर्याइएको कम्पनीले जनाएको छ । साथै, कम्पनीसँग आफ्नै ३०० मेट्रिक टन प्रतिदिन क्षमताको क्लिङ्कर उत्पादन सुविधा पनि छ । क्लिङ्कर उत्पादनका लागि फ्लाइएस, जिप्समजस्ता कच्चा पदार्थ प्रयोग हुने गरेको छ भने बाँकी क्लिङ्कर स्थानीय व्यापारीमार्फत खरिद गर्ने गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सन् २०२४ मा बिक्री लागत कुल बिक्रीको करिब ६२ प्रतिशत र सन् २०२५ मा ७३ प्रतिशत पुगेको छ । कच्चा पदार्थको मूल्य बढ्दा त्यसको भार उपभोक्तामा सार्न नसकिएमा कम्पनीको नाफामा प्रत्यक्ष असर पर्ने देखिन्छ । बढ्दो प्रतिस्पर्धाले मूल्य समायोजन क्षमता थप चुनौतीपूर्ण बनाएको कम्पनीको भनाइ छ । कच्चा पदार्थको मूल्य उतार–चढाव र तीव्र प्रतिस्पर्धाले पनि व्यवसायमा असर गरिरहेको कम्पनीले जनाएको छ । अनुभवी प्रवद्र्धक, स्थापित ब्रान्ड र स्वामित्वमा रहेका चुनढुंगा खानीका कारण कम्पनीले स्ट्यान्डअलोन ग्राइन्डिङ युनिटहरूमाथि प्रतिस्पर्धात्मक लाभ कायम राखेको छ । ठूला उत्पादकहरूको वर्चस्व, कम प्रवेश अवरोध र मूल्य निर्धारणमा कमजोर प्रभावका कारण सिमेन्ट उत्पादकहरू प्रायः मूल्य स्वीकारकर्ताको भूमिकामा रहेको कम्पनीले उल्लेख गरेको छ । पछिल्ला तीन वर्षमा सिमेन्ट र क्लिङ्करको मूल्य घट्दा उद्योगभर नाफामा दबाब परेको छ । ८ वर्षभन्दा बढी सञ्चालन अनुभव रहेको कम्पनीको सञ्चालक समितिमा पाँच सदस्य छन् । प्रमुख कार्यकारी अधिकृत दीपक राज गिरी र प्रबन्ध निर्देशक नन्दी केशर पौडेलको नेतृत्वमा अनुभवी व्यवस्थापन टोली क्रियाशील छ । कम्पनीसँग लुम्बिनीको तिनपाने क्षेत्रमा ३२०० मेट्रिक टन क्षमताको चुनढुंगा खानीको इजाजतपत्र छ, जुन सन् २०२३ अगस्टमा विस्तार गरिएको हो । हकप्रद सेयर र आईपीओबाट संकलित रकमबाट कम्पनीले आधुनिक रोटरी क्लिङ्कर प्लान्ट स्थापना गर्ने योजना बनाएको छ । दीर्घकालीन औद्योगिक विस्तार, उत्पादन लागत न्यूनीकरण र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिलाई लक्ष्य गर्दै कम्पनीले पुँजी संरचना विस्तारको प्रक्रिया अघि बढाएको हो । आईपीओ निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको जनाएको छ । ऋण बढायो कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ऋण पनि बढाएको छ । सार्वजनिक विवरण अनुसार सन् २०२५ जुलाइसम्म २ अर्ब २५ करोड रुपैयाँ ऋण रहेकोमा सन् २०२६ मा आइपुग्दा उक्त ऋण बढेर ४ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार विभिन्न बैंकबाट ३ अर्ब ४ करोड रुपैयाँ दीर्घकालीन र ९५ करोड ९२ लाख रुपैयाँ अल्पकालीन ऋण लिइएको छ ।
छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालिएको छ । म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पिपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरवाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति हुन लागेको हो । संघीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य–पदमदीप जेभीले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम अघि बढाएको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले बताए । उनका अनुसार रु। दुई करोड पाँच लाख ५५ हजारमा ठेक्का सम्झौता भएको योजनाको आगामी २०८३ असार महिनासम्म म्याद रहेको छ । खहरेदेखि छिसवाङ हुँदै ओखोलासम्म एक किलोमिटर पाँच सय मिटर सडकलाई पक्की नाला सहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिने आचार्यले बताए । छिसवाङका दुर्गाबहादुर खत्रीले विसं २०६७ मा मार्ग खुलेको सडक स्तरोन्नतिका लागि योजना परेपछि स्थानीयवासी उत्साही भएको बताए । 'मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा तीनदेखि चार मिटर फराकिलो सडकमा एकतर्फीमात्र गाडी चल्ने गरेका थिए', उनले भने, 'सडक फराकिलो पार्न हामीहरूले स्व:स्फुर्त रूपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छौँ ।' यो सडकबाट मङ्गलाको वडा नं ५ का साथै मालिकाको १ र २ का बासिन्दा लाभान्वित हुनुका साथै बेनी–दरवाङ सडकको बाबियाचौर–दरवाङ खण्डमा पहिरोलगायत कारणले अवरुद्ध हुँदा वैकल्पिक रूपमा प्रयोग गर्न सकिने भएकाले रणनीतिक महत्त्व रहेको छ । यसअघिका दुई आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पिपलबोट खण्डमा र संघीय सरकारले हिलवाङ–खहरेखोला क्षेत्रमा स्तरोन्नति गरेका छन् । जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्त्व र प्राथमिकता दिइएको छ । हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गरेमा यो सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने छिसवाङका बासिन्दा किशोर मल्लले बताए । यसअघि संघीय सरकारले खहरेखोलामा ‘कल्भर्ट’ बनाएको छ । रासस
कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका /स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी आज राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सोलु हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज माघ ४ गते अन्तिम दिन रहेको छ । पुस २९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको ८२ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
होटेल फरेष्ट इनको आईपीओ बिक्री खुला, २ लाख कित्ता आवेदन दिन सकिने
काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले आज माघ ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरूले आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
नेको इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ३० गते बसेको बैठकले १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ६९ करोड १५ लाख रुपैयाँको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि १२.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत र आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव विष्णु प्रसाद धितालले जानकारी दिए ।
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, एक डलरको १४५.६९ रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४३ पैसा रहेको छ ।