विकासन्युज

त्रिभुवन विश्वविद्यालयको शिक्षा विभागले पायो अन्तर्राष्ट्रियस्तरको क्युएए

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यापन क्युएए प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले १२० प्रकारका विभिन्न मापदण्ड परीक्षण गरी शैक्षिक गुणस्तरको अन्तरराष्ट्रिय मापक मानिने ‘क्युएए’ विभागलाई प्रदान गरिएको हो । विभागद्वारा आज आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो ।  शिक्षा विभागका प्राध्यापक केशव पौडेलका अनुसार गुणस्तरीय शैक्षिक उपलब्धि एवं गुणस्तरीय भौतिक पूर्वाधारको पर्याप्त भएको अवस्थामा मात्र दिइन्छ ।  ‘यसका लागि उत्तीर्ण दर उच्च हुनुपर्ने, अनुसन्धानात्मक अध्ययनका लागि विशेष व्यवस्था भएको हुनुनपर्नेलगायतका पूर्वसर्त रहेका छन् । क्युएए प्राप्त भएपछि राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा पनि गुणस्तरीय शैक्षिक संस्थाको हैसियत प्राप्त हुने छ’, उनले भने ।       तीन चरणको क्युएएमध्ये विभागले अहिले पहिलो चरणको क्युएए पाएको हो । अहिलेभन्दा थप गुणस्तर सुधारेमा दोस्रो चरणको क्युएए प्राप्त हुन्छ भने तेस्रो चरणको क्युएए प्राप्त गरेपछि विभागले मानक विश्वविद्यालयको मान्यता पाउँछ । प्राप्त क्युएए मान्यतालाई जोगाउन र दोस्रो तहको क्युएए पाउन बेरुजु कम गर्न लगायतका  आर्थिक सुव्यवस्था कायम गर्नुपर्ने प्राध्यापक पौडेलको भनाइ थियो ।  कार्यक्रममा बोल्दै सङ्कायका वेदराज आचार्यले विभागले धरै मेहेनतपछि क्युएए प्राप्त गरेका बताउँदै उनले अन्य क्याम्पसका लागि पनि यसले प्रेरणा प्रदान गर्ने बताए । अनुसन्धानमा पर्याप्त बजेट छुट्याउनुपर्ने उनको भनाइ थियो ।  सङ्कायका पूर्वडिन एवं प्राध्यापक चित्रबहादुर बुढाथोकीले थप राम्रो काम गर्न क्युएए मान्यताले प्रेरणा दिएको बताए । ‘धेरै क्युएए पाएका कलेजको अवस्था पाउनुभन्दा अघिको भन्दा नाजुक भएको देखिन्छ, यसतर्फ सगज हुनुपर्छ’, उनले भने ।  यसका लागि शिक्षक विद्यार्थीको नियमित उपस्थिति मात्र नभई समग्र शैक्षिक वातावरण सुधार्नुपर्ने उनले बताए ।   

महालक्ष्मी विकास बैंकले ग‍र्यो स्वास्थ्यदेखि सीप विकाससम्मका विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार विकास तथा मानव सेवाजस्ता विविध क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीति अनुरूप सञ्चालन गरिएका यी कार्यक्रमहरू समाजको समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सम्पन्न गरिएको बैंकले जनाएको छ । सोही क्रममा महालक्ष्मी विकास बैंकले लायन्स क्लब अफ काठमाडौं गुराँससँगको सहकार्यमा ललितपुर महानगरपालिका वडा नम्बर २१ स्थित श्री गन्धकुटी विहार, खोकनामा बृहत् स्वास्थ्य शिविर सञ्चालनका लागि आर्थिक सहयोग गरेको छ । उक्त शिविरमा स्तन क्यान्सर, सर्भिकल क्यान्सर र कोलोन क्यान्सरको पहिचान, मधुमेह तथा थाइराइड परीक्षण, सामान्य स्वास्थ्य जाँच र दन्त परीक्षण सेवा प्रदान गरिएको थियो । त्यसैगरी सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा अव्यवस्थित पार्किङ समस्याको समाधानका लागि ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौंसँगको सहकार्यमा विभिन्न ट्राफिक संकेतसहितका रोड फर्निचरहरू हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दलित सशक्तिकरण केन्द्र नेपालसँगको सहकार्यमा हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका स्थानीय बासिन्दालाई सिलाई मेसिन वितरण गरिएको छ । परम्परागत व्यवसायिक सीप, पेशा तथा कलाको संरक्षण, आधुनिकीकरण र प्रमाणीकरण गर्दै आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । यसैगरी, रुपन्देहीको सिदार्थनगर नगरपालिका–०९ स्थित श्री भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि बैंकको भैरहवा शाखा कार्यालयमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ । खेलमैदानमा माटो भर्ने, रोलिङ गर्ने तथा पानी निकासका लागि आवश्यक निर्माण कार्यमा बैंकले सहयोग गरेको हो । बैंकले यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर रूपमा अघि बढाउँदै लैजाने र यसबाट समाजको दिगो आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।

जगदम्बा मोटर्सले ल्यायो ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर

काठमाडौं । नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले आफ्ना ग्राहक लक्षित नयाँ राष्ट्रव्यापी योजना ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर सार्वजनिक गरेको छ ।  विश्व बजारमा बढ्दो सुनको मूल्य र नेपाली समाजमा विहे तथा चाडपर्वसँग जोडिएको भावनालाई समेट्दै, यो अफर ग्राहकलाई मूल्य र भरोसाको अनुभूति दिलाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सका अनुसार यस अफरको मूल भावना ग्राहकको जीवनका महत्वपूर्ण मोड नयाँ परिवारको सुरुवात, नयाँ घर र नयाँ यात्रासँग टीभीएस सवारी साधनलाई विश्वासयोग्य साझेदारका रूपमा प्रस्तुत गर्नु हो ।  सुनको दीर्घकालीन मूल्य र टीभीएस सवारीको विश्वसनीयताबीचको संयोजनमार्फत कम्पनीले स्मार्ट निर्णय र भावनात्मक सन्तुष्टि एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरेको जनाएको छ । अफर अवधिमा टीभीएस बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले नगद, फाइनान्स वा एक्सचेन्ज सबै माध्यममा आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन् । जसमा दैनिक सुनको सिक्का जित्ने अवसर, १ लाख रुपैयाँसम्मको क्यास छुट, सबै टीभियस मोडलमा एक्सचेन्ज सुविधा, नागरिकता वा ड्राइभिङ लाइसेन्सका आधारमा सजिलो फाइनान्स तथा सबै टीभीएस मोडलमा लाइफटाइम वारेन्टीलगायत अफर अवधिसम्म पाउन सकिनेछ ।  ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर माघ १८ गतेदेखि चैत ३ गतेसम्म (४५ दिन) नेपालभरका सबै आधिकारिक त्ख्क् शोरुमहरूमा लागू हुनेछ । अफरबारे प्रतिक्रिया दिँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘यो विशेष अफर केवल सवारी खरिदको योजना मात्र होइन, नयाँ सुरुवातको उत्सव हो । हामी ग्राहकलाई सवारीसँगै दीर्घकालीन मूल्य र विश्वासको अनुभूति दिलाउन चाहन्छौं । ’ नेपालभर फैलिएको सशक्त डिलर नेटवर्क, प्रभावकारी सेवा प्रणाली र विश्वसनीय उत्पादन पोर्टफोलियोका साथ जगदम्बा मोटर्सले टीभीएस ब्रान्डलाई नेपाली उपभोक्ताको भरोसिलो मोबिलिटी पार्टनरका रूपमा मजबुत बनाउँदै आएको छ । नेपालको दुई-पांग्रे सवारी उद्योगको अग्रणी संस्थामध्ये एक रहेको जगदम्बा मोटर्सले इन्जिनियरिङ गुणस्तर, इन्धन दक्षता र दीर्घकालीन विश्वसनीयताका लागि परिचित टीभीएस मोटर कम्पनीका मोटरसाइकल तथा स्कुटरहरूको प्रतिनिधित्व गर्दै आएको छ । ‘टीभीएससँग सुनको सगुन’ जस्ता अभियानमार्फत कम्पनीले नवप्रवर्तन, मूल्य र ग्राहक-केन्द्रित दृष्टिकोणलाई समेट्दै नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै आएको छ । 

स्वास्थ्य उपचारमा बीमितले पाउने सुविधा कटौती, अब २५ हजारसम्मको मात्रै ओपीडी उपचार बेहोर्ने

काठमाडौं । स्वास्थ्य बीमामा आवद्ध नागरिकले अब बहिरंग (ओपीडी) मा उपचार गरेबापत वार्षिक २५ हजार रुपैयाँभित्रको मात्रै सेवा पाउने भएका छन् ।  स्वास्थ्य बीमा बोर्डको सञ्चालक समितिको बैठकले सोमबार (आज) यस्तो निर्णय गरेको हो । बोर्डको व्ययभार कम गर्ने उद्देश्यले यस्तो निर्णय लिनु परेको बोर्डले जारी सूचनामा उल्लेख छ ।  बोर्डको यो निर्णयसँगै ओपीडीमा भएको स्वास्थ्य उपचारमा बीमितले पाउने सुविधा कटौती हुने भएको छ । बोर्डले गरेको यो निर्णय फागुन १ गतेदेखि लागू हुनेछ ।  यसअघि तीन हजार ५०० रुपैयाँ प्रिमियम तिरेर स्वास्थ्य बीमा गरेपछि एक परिवारका पाँच सदस्यले वर्षभरिमा एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउने व्यवस्था थियो । बीमा नियमालीअनुसार ८ प्रकारका कडा तथा दीर्घरोगको उपचारको विषयमा भने हाल व्यवस्था भएबमोजिम नै हुने बोर्डले जनाएको छ । 

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड–२०२६ सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एम.डी.आर.टी अचिभर्स अवार्ड–२०२६’ सम्पन्न गरेको छ।  माघ १३ देखि १५ गतेसम्म पोखरामा आयोजित एक कार्यक्रममा सन् २०२५ जनवरीदेखि डिसेम्बरसम्मको कार्यसम्पादनका आधारमा एम.डी.आर.टी २०२६ का लागि योग्य ठहरिएका ११० जना अभिकर्तालाई सम्मान गरिएको हो । कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले अन्तर्राष्ट्रिय एम.डी.आर.टी मापदण्ड पूरा गरी सम्मानित हुन सफल अभिकर्ताहरूलाई बधाई दिँदै आगामी दिनका लागि शुभकामना व्यक्त गरे । उनले एम.डी.आर.टीमार्फत अन्तर्राष्ट्रिय अनुभव र असल अभ्याससँग साक्षात्कार हुने अवसरले नेपालमा बीमा क्षेत्रको नीति निर्माण र व्यावसायिक उन्नयनमा समेत योगदान पुग्ने बताए ।  स्वागत मन्तव्यमा सीईओ पराजुलीले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको उल्लेख गर्दै आगामी दिनमा बीमाको पहुँच अझ विस्तार गर्दै कम्पनीको उपस्थितिलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।  तीन दिनसम्म चलेको समारोहमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

हरि र नारायणकाजीबीच ‘नेक टु नेक’ प्रतिस्पर्धा, के नारायणकाजीले खोल्लान् जनमतको ढोका ?

काठमाडौं । नेपालको संसदीय राजनीतिमा लामो समयदेखि सक्रिय तर प्रत्यक्ष जनमतबाट प्रतिनिधिसभा छिर्न नसकेको एउटा नाम हो–नारायणकाजी श्रेष्ठ । चार दशकभन्दा लामो राजनीतिक यात्रामा भूमिगत राजनीति, पार्टी नेतृत्व, मन्त्री पद र राष्ट्रियसभा सदस्य हुँदै उपप्रधानमन्त्रीसम्मको उचाइ चुमेका श्रेष्ठको एउटा चाहना छ–प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधिसभा पुग्ने । यही अधुरो चाहनालाई पूरा गर्ने प्रयासका रूपमा उनले रोजेका छन् सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ । पार्टीभित्र सुरक्षित मानिएको क्षेत्र र मधेसमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रभाव भएका कारणले श्रेष्ठको उम्मेदवारीलाई अर्थपूर्ण बनाएको छ । तर, यो यात्रा सहज भने छैन । यसको एउटै कारण हुन् उनका सामु उभिएका नेकपा एमालेका सशक्त उम्मेदवार तथा निवर्तमान सांसद हरिप्रसाद उप्रेती । श्रेष्ठको चुनावी इतिहास हेर्दा राजनीतिक उचाइ र चुनावी परिणामबीच गहिरो विरोधाभास देखिन्छ । २०६४ मा पहिलो संविधानसभामा मनोनयन प्रक्रियाबाट संसद पुगेका उनी त्यसपछि मन्त्री बने, प्रभावशाली नेता बने तर जनमतको कसीमा भने बारम्बार असफल भए । श्रेष्ठ २०७० को आम चुनावमा मकवानपुर–३ मा नेकपा एमालेका उम्मेदवार सुवाषचन्द्र ठकुरीसँग पराजित भएका थिए । एमाले माओवादी गठबन्धनका बाबजुद पनि माओवादी गढ मानिएको आफ्नै गृहजिल्ला गोरखा–२ बाट २०७४ मा पनि श्रेष्ठ पराजित हुन पुगे । हरेक राजनीतिक कार्यकर्ता जनमतबाट अनुमोदित हुन चाहन्छ । यो चाहनाले नै श्रेष्ठलाई कहिले मकवानपुर पुर्‍यायो त कहिले गोरखा । यसपटक उनी सर्लाही पुगेका छन् । तर स्थानीय गुरु भट्टराई भने श्रेष्ठलाई पर्यटक उम्मेदवार मान्छन् । उनी भन्छन्, ‘श्रेष्ठले हारेपनि भाग्छन् जिते पनि फर्किँदैनन् ।’ २०७६ मा राष्ट्रियसभा सदस्य बनेपछि श्रेष्ठले उपप्रधानमन्त्रीसहित गृह, ऊर्जा, सहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हाले । तर, यी सबै उपलब्धिमाथि एउटा प्रश्न सधैं झुण्डिरह्यो–जनताले प्रत्यक्ष रूपमा किन जिताएनन् ? श्रेष्ठ त्यही प्रश्नको उत्तर खोज्दै अहिले सर्लाही–३ मा पुगेका हुन् । नेकपाका लागि लागि सर्लाही नयाँ जिल्ला होइन । मधेसका अन्य जिल्लाभन्दा सर्लाही–३ लाई पार्टीभित्र सम्भावनायुक्त क्षेत्र मानिन्छ । त्यसैले श्रेष्ठले सर्लाही रोजेको चर्चा राजनीतिक वृत्तमा छ । तर यही क्षेत्र २०७९ मा पाँच दलीय गठबन्धनका वावजुद पनि एमालेका हरिप्रसाद उप्रेतीले जितेको यथार्थ पनि छ । त्यसैले श्रेष्ठको आगमनमा सर्लाही–३ सुरक्षितभन्दा बढी रणनीतिक जुवाखेल जस्तो देखिन्छ । श्रेष्ठको बाटोमा सबैभन्दा ठूलो पहाड बनेर उभिएका छन् एमालेका उप्रेती । २०७९ मा पाँच दलीय गठबन्धनका उम्मेदवार नरेन्द्र साह कलवारलाई ७७० मतको अन्तरले पराजित गरेका उप्रेती यस क्षेत्रमै सक्रिय, संगठनमा पकड भएका र स्थानीय मतदातासँग प्रत्यक्ष सम्बन्ध बनाएका नेता हुन् ।  उप्रेतीको पक्षमा रहेका मुख्य आधारहरूमा निवर्तमान सांसदको हैसियत र एमालेको संगठित भोट बैंक रहेको स्थानीय नारायणप्रसाद गौतम बताउँछन् । उनका अनुसार स्थानीय विकास र पहुँचको दाबी सँगै स्थानीय हुनुको फाइदा उप्रेतीलाई रहेको छ । रास्वपालगायत अन्य दलहरू यो निर्वाचन क्षेत्रमा उप्रेती र श्रेष्ठबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र साह कलवार र नेपाली कांग्रेसका विनोदप्रसाद खनाल मैदानमा उत्रिएका छन् । श्रेष्ठ, उप्रेती, कलवार र खनालसहित ३७ जना यहाँ उम्मेदवार रहेका छन् । ढोलराम बारकोटी राप्रपा, जयप्रकाश राय जनता समाजवादी पार्टी, नेपाल, सुनिलप्रसाद गुप्ता जनमत पार्टी, सबिउल शेष     प्रगतिशील लोकतान्त्रिक पार्टी, वीर बहादुर रुम्बा मंगोल नेशनल अर्गनाइजेसन,    पवन कुमार महतो    नेपाल कम्युनिस्ट पार्टी माओवादी, त्रिभुवन कुमार सिंह     उज्यालो नेपाल पार्टी, राम बहादुर महतो कोइरी प्रजातान्त्रिक पार्टी नेपाल, शिवदयाल महरा    बहुजन एकता पार्टी नेपाल, महेश राज दाहाल राष्ट्रिय मुक्ति पार्टी नेपाल उम्मेदवार रहेका छन् । त्यसैगरी, सन्दिप थापा, उमेश कुमार राय,    रामपृत महरा, कृष्‍ण नन्दन राय, चन्दन राजवंशी, युवराज पाख्रिन, अनिल कुमार यादव, मुकेश कुमार राय, कृष्ण कुमार शाह, प्रमोद कुमार साह, कुमारी अधिकारी, लोक बहादुर दर्लामी, डम्वर बहादुर खड्का, युवराज लुईंटेल र राम चन्द्र चमार स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा रहेका छन् । २०७९ को मत हेर्दा गत निर्वाचन २०७९ मा यस निर्वाचन क्षेत्रमा नेकपा एमाले र पाँच दलीय गठबन्धनका उम्मेदवारबीच नेक टु नेक प्रतिस्पर्धा देखिएको थियो । प्रत्यक्षमा एमालेका उम्मेदवार उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनका उम्मेदवार तत्कालीन नेकपा माओवादी केन्द्रका नरेन्द्र कलवारले ३२ हजार १६८ मत ल्याएका थिए । उप्रेतीले कलवारलाई ७७० मतको झिनो अन्तरले पराजित गरेका थिए । समानुपातिक तर्फपनि एमाले र तत्कालीन माओवादी केन्द्रको मतान्तर सानो रहेको छ । समानुपातिक तर्फ माओवादी केन्द्रले १५ हजार ४७१ मत प्राप्त गर्दा एमालेले १५ हजार ५ मत प्राप्त गरेको थियो । समानुपातिकतर्फ जसपाले  १२ हजार ७९ लोकप्रिय मत ल्याएर तेस्रो हुँदा नेपाली कांग्रेसले ९ हजार ९७९ मत ल्याएर चौथो लोकप्रिय पार्टी बनेको थियो । रास्वपाले ६ हजार ९६२ लोकप्रिय मत ल्याएर छैटौं स्थान प्राप्त गरेको थियो ।  सर्लाही–३ उत्तरी भूभागमा फैलिएको मिश्रित क्षेत्र हो । यस निर्वाचन क्षेत्रमा हरिवन, बागमती, चक्रघट्टा, हरिपुर, बरहथवा, कबिलासी र बसबरीयाका ५१ ओटा वडा समेटिएका छन् । यो क्षेत्रमा पहाडी मूलका मतदाताको बाहुल्यता छ ।  स्थानीय मतदाता समेत रहेका गौतमका अनुसार पहाडी मतदातामा पुगेर मत बदल गर्न सक्ने अवस्था श्रेष्ठको छैन। उनी भन्छन्, ‘पहाडी मत सुरक्षित राखेर मधेसी समुदायमा आफ्नो रवाफ देखाउन सक्ने उम्मेदवारले जित निकाल्न सक्छ ।’ गौतमका अनुसार श्रेष्ठ राष्ट्रिय स्तरको नेता भएपनि यहाँका मतदाताहरूका लागि भने आफ्नो नेता होइन भन्ने भाव रहेको छ । श्रेष्ठले जित्नका लागि रास्वपाको प्रभाव न्यूनीकरण गर्नुपर्ने र आफूलाई केन्द्रको होइन, सर्लाहीकै उम्मेदवारका रूपमा स्थापित गर्नुपर्ने गौतमको सुझाव छ । 

हुन्डाई क्रेटा ईभीको ड्राइभिङ रेन्ज बीएमएस अपडेटमार्फत १५ देखि २५ किलोमिटरसम्म बढ्ने

काठमाडौं । हुन्डाई नेपालले क्रेटा ईभी प्रयोगकर्ताका लागि ड्राइभिङ रेन्ज थप विस्तार गर्ने उद्देश्यले ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) सफ्टवेयर अपडेट सार्वजनिक गरेको छ। कम्पनीले सबै क्रेटा ईभी ग्राहकलाई नजिकको आधिकारिक हुन्डाई सेवा केन्द्रमा पुगेर यो अपडेट गराउन आग्रह गरेको छ । हुन्डाई नेपालका अनुसार नयाँ बीएमएस अपडेटमा ब्याट्री प्रणालीलाई नेपाली सडक अवस्था र ड्राइभिङ शैलीलाई ध्यानमा राखेर विशेष रूपमा अप्टिमाइज र क्यालिब्रेट गरिएको छ । यसले ब्याट्रीको कार्यक्षमता अझ प्रभावकारी बनाउँदै ऊर्जा प्रयोगलाई सन्तुलित गर्नेछ ।  कम्पनीको दाबीअनुसार यस अपडेटपछि क्रेटा ईभीको ड्राइभिङ रेन्ज हालको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने अपेक्षा गरिएको छ । नयाँ अपडेटले दैनिक आवागमनदेखि लामो यात्रासम्म क्रेटा ईभी प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्ने हुन्डाई नेपालले जनाएको छ ।  यो बीएमएस अपडेट सेवा देशभर रहेका हुन्डाईका आधिकारिक सेवा सञ्जालमार्फत निःशुल्क रूपमा उपलब्ध गराइएको छ, जसको लाभ क्रेटा ईभीका सबै ग्राहकले लिन सक्नेछन् ।  विश्वसनीय अटोमोबाइल ब्राण्डका रूपमा परिचित हुन्डाई नेपालले भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीसँग देशभर ६३ भन्दा बढी ‘रिल्याक्स रिचार्ज’ नेटवर्क सञ्चालनमा छन्, जसले ईभी प्रयोगकर्तालाई अझ सहज र ढुक्क यात्राको अनुभूति गराइरहेको छ । 

बानेश्वरमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो शाखा, अब एकै छानामुनि सबै स्वाद चाख्न पाइने

काठमाडौं । ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा नेपाली बजारमा आफ्नो पहिचान बनाइसकेको करेन्ट नुडल्स उत्पादक कम्पनी यसोदा फुड्स प्रालिले रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यायनी चोकमा आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । करेन्ट मार्ट भैरहवामा रहेको पहिलो आउटलेटको उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै विस्तार गरिएको कम्पनीले जनाएको छ ।  नयाँ शाखाको उद्घाटन यसोदा फुड्सका निर्देशक मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर नतसी योगराज पाण्डेले गरेका थिए । कार्यक्रममा निर्देशक घिमिरेले करेन्ट मार्टको अबको भविष्य र योजनाबारे जानकारी गराएका थिए । यस्तै, कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पासैनी, विमला खाती र सपना भुसाल लगायतको उपस्थिति रहेको थियो । यसका साथै ग्राहकहरूको समेत उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ ।  नवनिर्मित करेन्ट मार्टमा उपभोक्ताले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । जसमा करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्सका साथै चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया उपलब्ध छन् ।  त्यसैगरी जिरा पाउडर, धनियाँ पाउडर र रातो खुर्सानी पाउडर जस्ता मसला सामग्रीहरू पनि मार्टमा पाइने कम्पनीले जनाएको छ । ‘भैरहवाका उपभोक्ताले करेन्ट मार्टप्रति देखाएको विश्वास र माया नै हामीलाई राजधानीसम्म सेवा विस्तार गर्न प्रेरणा बनेको हो । अब काठमाडौंका उपभोक्ताले पनि कात्यायनी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नुहुनेछ’, यसोदा फुड्सका अध्यक्ष चन्न प्रसाद पौडेलले भने ।  यसअघि कम्पनीले अनामनगर र शंखमूलमा ‘करेन्ट पोइन्ट’मार्फत नुडल्स पारखीलाई सेवा दिँदै आएको थियो । नयाँ करेन्ट मार्टले भने यसोदा फुड्सका सबै प्याकेज्ड फुड उत्पादनहरू एकै स्थानबाट खरिद गर्ने सुविधालाई अझ सहज बनाउने विश्वास लिइएको छ ।  सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रा. लि. नेपालकै अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। गुणस्तर र नवीनतामा निरन्तर ध्यान दिँदै आएको कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । ‘करेन्ट’ ब्रान्डअन्तर्गत उत्पादन हुने विभिन्न पिरो र स्वादिष्ट चाउचाउहरू विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छन् । हाल कम्पनीले आफ्ना उत्पादनहरू नेपालसहित विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै आएको छ ।