नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । माघ २२ गते प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको माघ २३ गतेको निर्णयमार्फत उनलाई उक्त पदमा नियुक्त गरिएको हो । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई उत्तीर्ण गरेकी छन् । उनले २०५१ जेठ १ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५२ जेठ ९ गते स्थायी नियुक्ति प्राप्त गरेकी थिइन् । डंगोल २०८० जेठ ३२ गते नेपाल टेलिकमको नायब प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् । यस क्रममा उनले प्रादेशिक निर्देशनालय विराटनगर र काठमाडौं तथा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारीसमेत सफलतापूर्वक पूरा गरिसकेकी छन् । हाल उनी प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत थिइन् । पदभार ग्रहण गर्दै डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गरिन् । उनले ग्राहकको चाहना र सरकारको प्राथमिकताअनुसार कम्पनी, कर्मचारी तथा राष्ट्रको हितलाई केन्द्रमा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल टेलिकमलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री तथा आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने लक्ष्य लिएको बताइन् । साथै, आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यका साथ अघि बढ्न कर्मचारीहरूलाई आह्वान गरिन् ।
नेपाल एसबिआई बैंक र जीआईजेट नेपालबीच हरित यातायात प्रवर्द्धनका लागि सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र जीआईजेट नेपालबीच दिगो विद्युतीय यातायात प्रवर्द्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकले ‘सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल’ (एसईटी–४ एनपीएल) परियोजनासँग सहकार्य गर्दै हरित यातायात विस्तारमा योगदान गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो । एसईटी–४ एनपीएल परियोजना माइग्रेसन एक्सन फ्यासिलिटीको आर्थिक सहयोग, नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युसनको सहकार्यमा जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जीआईजेट)द्वारा सञ्चालित कार्यक्रम हो । उक्त परियोजनाले नेपालको सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्दै सार्वजनिक यातायात सञ्चालक तथा लगानीकर्ताहरूलाई विभिन्न वित्तीय तथा गैरवित्तीय प्रोत्साहन प्रदान गर्दै आएको छ । परियोजनाअन्तर्गत करिब ३ हजार ५०० विद्युतीय माइक्रोबस तथा मिनिबस खरिद तथा सञ्चालनका लागि प्रोत्साहन प्याकेज उपलब्ध गराइनेछ । यसैगरी, विद्युतीय सवारीसाधनमा जीपीएस, ई–टिकटिङ उपकरण तथा नेटवर्किङ प्रणाली जडान गरी केन्द्रीय वेब पोर्टलमार्फत सबै सवारीसाधनलाई एकीकृत गरिने व्यवस्था रहेको छ । यसले सार्वजनिक यातायातलाई दिगो, सुरक्षित तथा प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ । नेपाल एसबिआई बैंकले परियोजनामा वित्तीय मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै नेपालको हरित पहलमा जिम्मेवार साझेदार बन्ने उद्देश्य लिएको जनाएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कर्जा अधिकृत रोशन कोइराला र परियोजनाका तर्फबाट जीआईजेट नेपालका मुख्य सल्लाहकार डा. मेघा कनोजिया बीच हस्ताक्षर आदान–प्रदान भएको हो । नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०२ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न वार्षिक ३० करोड खर्च हुने, सडक दस्तुर सरकारको खातामा
काठमाडौं । बहुप्रतीक्षित सुरुङमार्ग नागढुंगा आयोजनाको भौतिक निर्माण कार्य सम्पन्न भएसँगै अब यसलाई सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ । आयोजना प्रमुख सौजन्य नेपालले सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि १० वटा कम्पनीहरूले बोलपत्र (टेन्डर) पेस गरेको जानकारी दिए। सुरुङमार्ग सञ्चालनका लागि नेपाली र विदेशी गरी १० कम्पनीले निवेदन दिएका छन् । जसमा छनोटमा पर्ने एक विदेशी र एक स्वदेशी कम्पनी जोइन्ट भेन्चरको रूपमा मिलेर काम गर्ने आयोजनाले जनाएको छ । आयोजना प्रमुख नेपालले हाल ती बोलपत्रहरूको प्राविधिक मूल्यांकन भइरहेको बताए । आयोजना प्रमुख नेपालका अनुसार छनौट प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन दुई चरणको मूल्यांकन गरिँदैछ । ‘अहिले हामी प्राविधिक प्रस्तावको मूल्यांकन गर्दैछौं । त्यसमा दक्ष र योग्य कम्पनी छनौट हुनेछ । सफल हुने कम्पनीहरूको मात्र आर्थिक प्रस्ताव खोलिनेछ,’ उनले भने । सुरुङमार्गको मुख्य निर्माण कार्य ९९ प्रतिशत सकिएको आयोजना प्रमुख नेपालले जानकारी दिए । उनका अनुसार अब केही सहायक कामहरू मात्र बाँकी छन् । ‘सुरुङमार्गको मुख्य कामहरू सबै सकिएका छन् । अहिले पश्चिम पोर्टल (धादिङतर्फ) मा पहिरो रोकथामको काम र टोल प्लाजा (शुल्क संकलन केन्द्र) निर्माणको काम भइरहेको छ,’ उनले भने । सबैभन्दा उपयुक्त र प्रतिस्पर्धी कम्पनीलाई सडक विभागका महानिर्देशकमार्फत छनौट गरी सम्झौता गरिनेछ । सञ्चालनको जिम्मेवारी पाउने कम्पनीले सुरुङमार्ग भित्रको सुरक्षा, ट्राफिक व्यवस्थापन र प्राविधिक मर्मतसम्भारको काम हेर्नु पर्नेछ । कहिले खुल्छ सुरुङमार्ग ? सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही महिना लाग्ने देखिएको आयोजना प्रमुख नेपालले जानकारी दिए । बोलपत्रको मूल्यांकन, कम्पनीसँगको सम्झौता, नयाँ आउने कर्मचारीहरूको तालिम र ‘ट्रायल अपरेसन’ का लागि थप २ देखि ४ महिना लाग्ने आयोजनाको अनुमान छ । सम्झौता भएलगत्तै सेवा प्रदायकलाई तालिम दिइने र त्यसपछि मात्र सर्वसाधारणका लागि सुरुङमार्ग खुला गरिने तयारी छ । सुरुङमार्ग सञ्चालनका लागि सरकारले वार्षिक करिब ३० करोड रुपैयाँ खर्च बेहोर्ने अनुमान गरिएको छ । आयोजना प्रमुख नेपालका अनुसार सुरुङमार्ग सञ्चालनका लागि छनोट हुने सेवा प्रदायक कम्पनीलाई यो रकम सरकारले भुक्तानी गर्नेछ । सवारी साधनबाट संकलन हुने टोल सडक दस्तुर सेवा प्रदायकको हातमा नजाने आयोजना प्रमुख नेपालले बताए । उनले भने, ‘टोलबाट उठेको सम्पूर्ण रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुन्छ । सेवा प्रदायकले त्यो रकम चलाउन पाउँदैन । उनीहरूको वास्तविक लागतका आधारमा सरकारले मात्रै भुक्तानी गर्ने हो ।’ सुरुङमार्ग वर्षको ३ सय ६५ दिन र दिनको २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले करिब १५० जना जनशक्ति आवश्यक पर्ने आयोजनाले जनाएको छ । यसमा सुरुमार्ग सञ्चालनमा विशेष अनुभव भएका करिब ५ जना विदेशी विज्ञ रहनेछन् भने बाँकी सबै नेपाली कर्मचारी हुनेछन् । अयोजनाका अनुसार जनशक्तिमा १०/१२ जना इन्जिनियर, टोल कलेक्सन कर्मचारी, चालक, अग्नि नियन्त्रण (फायर फाइटिङ) टिम, रेस्क्यु टिम तथा अन्य प्राविधिक जनशक्ति समावेश हुनेछन् । सुरुङमार्ग सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन भने ठेक्का सम्झौता अनुसार सेवा प्रदायक कम्पनीले नै गर्नेछ भने वार्षिक सञ्चालन खर्च सरकारले उपलब्ध गराउनेछ । २०७६ साल कात्तिकदेखि जापानको निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरिरहेको यो सुरुङमार्गको कुल लागत करिब २३ अर्ब रुपैयाँ पुगेको छ । सुरुमा यस परियोजनाका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बाट १७ अर्ब १५ करोड रुपैयाँ सहुलियत ऋण लिइएको थियो । तर निर्माण लागत र परामर्श खर्च बढेपछि दोस्रो चरणमा थप ५ अर्ब २७ करोड रुपैयाँ ऋण लिनुपरेको आयोजनाले जनाएको छ । यो सुरुङमार्ग २०८३ साल वैशाख १२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने र यात्रा छिटो तथा सुरक्षित हुने विश्वास गरिएको छ । नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि १० विदेशी कम्पनी मैदानमा, मूल्यांकन प्रक्रिया सुरु
वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी
वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै यहाँ सुन–चाँदीलगायत गरगहना चोरीका घटना सार्वजनिक भएका छन् । यही माघ १२ गते वीरगञ्ज–१५ स्थित एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोर लाल कर्णको घरबाट करिब ५० लाख रुपैयाँ बराबरको सुनचाँदी चोरी भएको छ । घरमा कोही नभएको मौका पारेर तीन जना अपरिचित व्यक्ति सो मूल्य बराबरको सुनचाँदीका गरगहना चोरेर फरार भएका हुन् । माघ १३ गते त्यस्तै वीरगञ्ज–१४ स्थित लिङ्करोडस्थित वीरेन्द्र सिंहको घरबाट मूल्य यकीन नभएको सुन र घडी चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको छ । पछिल्ला यी दुई घटनाले पर्सामा घरमा मान्छे नभएको मौका छोपेर सुनचाँदीलगायत गरगहना चोरी भएको देखाउँछ । पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले मान्छे नभएको घरलाई लक्षित गरेर सुनचाँदीलगायत गरगहनाको चोरीका घटना भएको बताए । 'केही दिनयता वीरगञ्ज महानगर आसपासमा दुई वटा चोरी भएको उजुरी आएको छ', उनले भने, 'अहिले प्रहरीसँग भएको उपलब्ध स्रोतसाधन र विधिको प्रयोग गरेर चोरी गर्नेको खोजी कार्य जारी राखेका छौँ ।' पर्सा प्रहरीका प्रवक्ता बस्नेतले अधिकांश घरमा मान्छे नभएको मौका छोपेर चोरीका घटना भएको अनुसन्धानले देखाएको बताए । 'सकभर आफ्नाको घरको सबै सदस्य बाहिर जानुपर्ने अवस्था आएको खण्डमा स्थानीय प्रहरीलाई खबर गरेर जानका लागि सर्वसाधारणसमक्ष अनुरोध गर्दछौँ, त्यस्तो खबर पाएको खण्डमा प्रहरीले निगरानी बढाएर आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाउने थियौँ', उनले भने । प्रवक्ता बस्नेतले दुई चोरीका घटनाको विषयमा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको दाबी गरे । पर्सा जिल्लामा चालु आर्थिक वर्षको माघ तेस्रो सातासम्म चोरीसम्बन्धी २६ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ४४ जना प्रतिवादी पक्राउ परेका छन् भने नौ जना प्रतिवादी फरार रहेका छन् । चोरीमा संलग्न रहेका १३ प्रतिवादी पुर्पक्षका लागि थुनामा पठाइएको छ भने २४ जना प्रतिवादी धरौटी राखेर छुटेका छन् । हालसालै छ जना चोरीमा संलग्न अभियुक्तलाई अदालतबाट म्याद थप गरेर अनुसन्धानका क्रममा रहेको पर्सा प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा पर्सामा ३८ वटा चोरीका मुद्दा दर्ता भएका थिए । त्यसमध्ये ५५ जना प्रतिवादी पक्राउ परेका थिए भने आठ जना प्रतिवादी फरार रहेका छन् । चोरीमा संलग्न रहेर पक्राउ परेका अभियुक्तमध्ये १७ जना प्रतिवादी पुर्पक्षका लागि थुनामा पठाइएको थियो भने ३६ जना धरौटी राखेर छुटेका छन् । दुई जना साधारण तारेखमा छुटेका थिए ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी अभिव्यक्ति दिएकाले साइबर ब्यूरोले उनलाई ललितपुरबाट पक्राउ गरेको हो । निर्वाचन आयोगले आचारसंहिता उंल्लघन गरेको भनी पत्र पठाएकाले पक्राउ गरिएको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए । ब्यूरोका एक प्रहरी अधिकृतका अनुसार प्रसाईंले ‘निर्वाचन नहुने भन्दै’ अभिव्यक्ति दिएका थिए । सर्वसाधारणमा भ्रम छर्ने अभिव्यक्ति दिएकाले उनलाई ब्यूरोले नियन्त्रणमा लिएको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । आयोगले त्यसबारे अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो ।
नबिल इन्भेस्टमेन्ट १६औँ वर्षमा प्रवेश, रक्तदान कार्यक्रम आयोजना
काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले १५ वर्षको सफल सेवा पूरा गर्दै शुक्रबार १६औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्सालस्थित नारायणचौरको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । स्थापना कालदेखि नै व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल हुँदै आएको संस्थाले बदलिँदो वित्तीय परिवेशअनुसार आफूलाई निरन्तर परिमार्जन गर्दै आएको जनाएको छ । नबिल इन्भेस्टमेन्टले मर्चेन्ट बैंकिङ अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धन, डिपी सेवा, सेयर रजिस्ट्रार, सेयर प्रत्याभूति लगायतका सेवाहरू प्रदान गर्दै आएको छ । साथै इन्भेस्टमेन्ट बैंकिङ अन्तर्गत लगानी व्यवस्थापन, सामूहिक लगानी कोष तथा संस्थागत परामर्श सेवासमेत सञ्चालन गर्दै आएको छ । यसका अतिरिक्त संस्थाले कर्पोरेट एडभाइजरी सेवाअन्तर्गत पुनर्संरचना, मूल्यांकन, व्यवसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्विजिसन तथा लगानीसम्बन्धी परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । निकट भविष्यमा विशिष्टिकृत लगानी कोषअन्तर्गत प्राइभेट इक्विटी फन्ड सञ्चालन गर्ने तयारीमा पनि संस्था रहेको जनाएको छ । १५औँ वर्षको उपलब्धिलाई संस्थागत गौरवका रूपमा मनाउँदै नबिल इन्भेस्टमेन्टले आगामी दिनमा नवीन सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रविधिमैत्री सेवा तथा दिगो लगानी अभ्यासमार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाले आफ्ना ग्राहक, नियामक निकाय, सञ्चारकर्मी, संस्थापक कम्पनी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
देउरानीको कलेजोको टुक्राले जोगियो जेठानीको जीवन
‘हामी जेठानी–देउरानी सधैं सुख बाँड्दै आएका थियौं, आज दुःख पनि बाँडेका छौं । सुखमात्र होइन, दुःख पनि बाँड्न सकिँदो रहेछ,’ पोखरा–हेम्जाकी सुनिता खड्काले भनिन् । सुनिता जसले आफ्नो कलेजोको एक टुक्रा दान गरेर आफ्नी जेठानी गंगाकुमारी थापा कुँवरको जीवन जोगाइन् । आफ्नो कारण जेठानी, जेठाजुलगायत परिवारमा सबैको मुहारमा हाँसो देख्न पाउँदा आफै भाग्यमानी भएको अनुभूति गर्छिन् सुनिता । माघ ४ गते नेपाल मेडिसिटी अस्पतालमा गंगाको सफल कलेजो प्रत्यारोपण भयो । हाल दुवैको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ । बिहीबार सुनिता जेठानीको फलोअपसँगै आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि नेपाल मेडिसिटी अस्पताल पुगेकी थिइन् । अस्पतालको करिडोरमा हिँड्दा उनको अनुहारमा थकानभन्दा बढी सन्तोष झल्किन्थ्यो । ‘अहिले म शारीरिक रूपमा एकदमै ठीक छु,’ विकासन्युजसँग कुरा गर्दै उनी भन्छिन्, ‘तर डाक्टरले केही समय पूर्ण आराम गर्नुपर्ने भनेका छन् । त्यसैले दिदीसँगै काठमाडौंमा बसेकी छु । बेलाबेलामा अस्पताल आएर जाँच गराउनुपर्छ ।’ यस घटनाले देउरानी–जेठानीको सम्बन्ध केवल परम्परागत धारणा मात्र नभई माया, विश्वास र त्यागले भरिएको गहिरो बन्धन पनि रहेको देखिन्छ । नेपाली समाजमा देउरानी–जेठानीको सम्बन्ध निकै कम मात्रामा प्रगाढ भएको देखिन्छ । दुईबीच आपसी मनमुटाव, दूरी र असमझदारीको उदाहरण धेरै सुनिन्छ । तर सबै सम्बन्ध एउटै हुँदैनन् भन्ने कुरा गंगा र सुनिताको सम्बन्धले प्रमाणित गरेको छ । गंगाको स्वास्थ्यमा समस्या देखिँदा परिवारका अन्य सदस्यले पनि सहयोगी भावना नदेखाएका होइनन् । बुहारी, दिदी सबैजनाको जाँच गर्दा बिरामीसँग मेल खाएन तर सुनितासँग मेल खायो । सुनिता भन्छिन्, ‘भाग्यले नै होला, सबैको जाँच गर्दा दिदीसँग केही मिलेन, मेरो रगतदेखि सबैकुरा मेल खान गयो । घर परिवारबाट साथ पाएपछि ममा पनि आँट पलायो ।’ पोखराको हेम्जाकी ४८ वर्षीया गंगाकुमारी कुँवर लामो समयदेखि जन्डिसबाट पीडित थिइन् । विभिन्न अस्पतालमा उपचार गर्दा पनि रोग निको भएन । पोखरा, काठमाडौंका अस्पताल चहार्दौ गर्दा निको नभएपछि उनलाई ललितपुरको भैंसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा पुर्याइयो । अस्पताल पुग्दा उनमा जन्डिसको मात्रा २५ पुगेको थियो भने पेट फुल्ने, पेटमा पानी जम्ने, हातखुट्टा सुन्निने समस्या देखा परिसकेको थियो । उनलाई खाना मन नलाग्ने र हिँड्न गाह्रो हुने जस्ता गम्भीर लक्षण देखिएका थिए । चिकित्सकीय परीक्षणपछि उनलाई अटो इम्युन हेपाटाइटिस भएको पत्ता लाग्यो, जसका कारण लिभर सिरोसिस भई कलेजो बिग्रिसकेको थियो । कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.रामबाबु शाहका अनुसार बिरामीमा अत्यधिक जन्डिस, लिभर फङ्सन टेस्ट असन्तुलित र पेटमा पानी जमेको थियो । यस्तो अवस्थापछि अस्पतालले तत्काल लिभर प्रत्यारोपण आवश्यक रहेको निष्कर्ष निकाल्यो। गंगाका परिवारलाई कलेजो दिने व्यक्तिको व्यवस्था गर्न भनियो । सुरुमा गंगाका दिदी, श्रीमान् र बुहारीको परीक्षण गरिएको भए पनि मेल नखाएपछि देउरानी सुनीताको परीक्षण गर्दा उनको रगतदेखि सबै कुरा मिल्न गयो । कलेजो दान गर्न मन भए पनि सुरुमा सुनितालाई निकै डर लागेको थियो । आफ्नो छाला चिरेर कलेजो निकाल्दा मलाई पो केही हुने हो कि भन्ने उनको मनमा थियो । तर उनको श्रीमान, छोरा माइतीपट्टीका आमाबुवा सबैले पूण्यको काम भनेपछि सुनिता पनि तयार भइन् । ‘सुरुमा त मलाई पनि डर लाग्यो नि, के हुन्छ कसो हुन्छ भन्ने भयो तर सबैले हौसला दिएपछि डर हरायो । त्यसपछि जे-जे अस्पतालले भन्यो, त्यो सबै गरियो, अहिले म पनि ठीक छु, दिदी पनि ठीक हुनुहुन्छ,’ सुनिताले भनिन् । प्रत्यारोपणपछि दाता सुनिता ८ दिनमा र जेठानी गंगा १५ दिनमा डिस्चार्ज भए । हाल दुवै फलोअपमा छन् । नेपाल मिडिसिटी अस्पतालको कलेजो प्रत्यारोपण क्षेत्रमा कार्यरत शल्यचिकित्सक डा.रामबाबु शाह यो पारिवारिक बन्धन र चिकित्सा विज्ञानको उल्लेखनीय उदाहरण रहेको बताउँछन् । उनी यो घटनाले देउरानी–जेठानीबीच पनि गहिरो माया, त्याग र विश्वास हुन सक्छ भन्ने सन्देश समाजमा प्रवाह गरेको बताउँछन् । नेपार र भातका विभिन्न अस्पतालमा काम गरेका उनले दिदीले भाइ–बहिनी, छोराले आमा, आमाले छोराछोरीलाई अंगदान गरेर ज्यान जोगाएको देखे पनि देउरानीले जेठानीलाई अंग दान गरेको पहिलो पटक देखेको बताउँछन् । शाह भन्छन्, ‘मैले भक्तपुरमा रहेको शहिद धर्मभक्त अस्पतालमा २० वटा कलेजो प्रत्यारोपण गरेको थिएँ, त्यो बेला ज्वाइँले सासूलाई कलेजो दिएको देखेको थिएँ । भारतको अपोलोमा पनि चार वर्ष काम गरेँ तर त्यहाँ देउरानीले जेठानीलाई अंग दिएकोे देख्न पाइएन । यस्तो केस पहिलो पटक देखेको हुँ ।’ शाह देउरानीले जेठानीलाई पुनर्जन्म नै दिएको उल्लेख गर्दै यस घटनाले समाजलाई नयाँ सन्देश दिएको बताउँछन् । ‘हाम्रो समाजमा देउरानी–जेठानीको सम्बन्धलाई राम्रो नजरले हेरिँदैन । यो घटनाले सकारात्मक सन्देश दिने उनको भनाइ छ । नेपाल मेडिसिटीको हेपाटो–प्यान्क्रियाटो–बिलियरी तथा लिभर ट्रान्सप्लान्ट युनिटका प्रमुख डा.उमिदकुमार श्रेष्ठले कलेजो बिग्रिनुको कारण केवल मदिरा सेवन मात्र नभई जन्डिस तथा पहिचान नभएका रोगहरूले पनि गम्भीर क्षति पुर्याउने बताए । फ्याटी लिभरले पनि समयमै उपचार नपाएमा कलेजो बिगार्न सक्ने भएकाले प्रारम्भिक पहिचानले गम्भीर क्षतिबाट जोगाउन सक्ने उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने
काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका छ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो । बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका वा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये जो अनुभवी छ, तिनैलाई मतदाता शिक्षाका लागि स्वयंसेवक नियुक्ति प्रक्रिया सुरु भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । यसका लागि आयोगले माघ १९ गते मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको छ । स्वयंसेवकलाई मतदाता शिक्षामै केन्द्रित गर्नेगरी परिचालन गर्न लागिएको र मत बदर नहुनेगरी स्वयंसेवकले मतदातालाई शिक्षा दिइने सहायक प्रवक्ता जिसीले बताए । राष्ट्रियसभा सदस्य निर्वाचनमा खसेको मतसमेत बदर भएकाले पनि मतदाता शिक्षा दिनुपर्ने आवश्यकता आयोगले देखेको हो । मतदाता शिक्षा दिने स्वयंसेवकको छनोट र नियुक्ति गरेर सातै प्रदेशमा फागुन ३ गते अनुशिक्षण दिनेगरी तयारी गरिएको छ । अनुशिक्षणपछि फागुन पहिलो साता पुग्नेगरी देशभरका ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा खटाइने आयोगले जनाएको छ ।