नेपालगन्जमा ई-ड्राइभ नेपालको सेवा शुभारम्भ, ७ करोड बढी लगानी
काठमाडौं । लुम्बिनी प्रदेशमै पहिलो अनलाइन माध्यमबाट सञ्चालन हुने ट्याक्सी तथा मोटरसाइकल सेवा ‘ई-ड्राइभ नेपाल’ले आजदेखि नेपालगन्जमा औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज उक्त सेवाको शुभारम्भ गरेका हुन् । उक्त सेवा आजदेखि बाँके र बर्दियामा सुरु भएको हो । सो अवसरमा नगर प्रमुख विष्टले भने, ‘प्रविधिमैत्री यस्ता सेवाले शहरको यातायात सेवालाई सहज बनाउनुका साथै नागरिकलाई सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास छ ।’ नेपालगन्जमा सुरु गरिएको विद्युतीय ट्याक्सी सेवाले आफ्नै देशमा काम गर्ने वातावरण सिर्जना गरेको उनको भनाइ छ । १८ महिना अघि बुटवल-भैरहवा क्षेत्रबाट सुरु गरिएको ई-ड्राइभ सेवा अब बाँकेको प्रमुख सहर नेपालगन्जमा विस्तार गरिएको ई-ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारीले जानकारी दिए । उनअनुसार आजदेखि बाँके र बर्दियामा एकसाथ ई-ड्राइभ नेपालको सेवा विस्तार भएको छ । निर्देशक भण्डारीले भने, ‘समयअनुसार सेवा प्रणाली प्रविधियुक्त डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा सेवा सञ्चालनमा ल्याएका हौँ ।’ कार्यक्रममा ई-ड्राइभ लुम्बिनीका अध्यक्ष राजकुमार गुप्ताले युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो सेवा सुरु गरिएको बताए । उनले भने, ‘युवालाई विदेश जान बाध्य पार्नुका सट्टा स्वदेशमै रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो । आगामी दिनमा ई-ड्राइभ सेवालाई देशभर विस्तार गर्ने योजना बनाएका छौँ ।’ हाल ई-ड्राइभ लुम्बिनीले ७ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । हाल रुपन्देहीमा ११० ट्याक्सी तथा ५ सयभन्दा बढी मोटरसाइकल चालकमार्फत सेवा दिँदै आएको ई-ड्राइभले नेपालगन्जमा प्रारम्भिक चरणमा १५ विद्युतीय ट्याक्सीमार्फत सेवा सुरु गरेको ई-ड्राइभ लुम्बिनीका निर्देशक भण्डारीले बताए ।
झापा-४ मा मतदाताको एउटै प्रश्न- कन्काई पुल कहिले बन्छ ?
काठमाडौं । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने कन्काई नदीमा पुल निर्माण थालिएको १४ वर्ष भइसकेको छ तर त्यो अझै पूरा भएको छैन । ‘डिजाइन एण्ड बिल्ड’ ढाँचामा करसहित ३४ करोड ९ लाख रुपैयाँको लागतमा थालिएको ७२३ मिटर लामो पुलको निर्माण प्रगति भने ५६ प्रतिशत मात्र छ । निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित भएको सडक विभागले ठेक्का रद्द गरेपछि अब पुल कहिले पूरा हुन्छ भन्ने अनिश्चितता बढेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यासी भएकाहरूसँग यस क्षेत्रका मतदाताको एउटै प्रश्न छः कन्काई पुल कहिले बन्छ ? नेपाली कांग्रेस झापाका सभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेवे लिम्बूले भने, ‘हामी प्रतिनिधिसभा सदस्यका उम्मेदवारले मतदाता भेट्न पुग्नासाथ आफ्ना एजेन्डा सुनाउनु पूर्व नै स्थानीयले पुल निर्माणको विषय उठाउने गरेका छन् । विकासको दृष्टिकोणले पछि परेको झापा-४ को विकास एजेन्डा नै हाम्रो पहिलो प्राथमिकता हो ।’ झापा गाउँपालिका-१ सितुमारीका छवि पौडेल भन्छन्, ‘अब मत माग्न आउने उम्मेदवारले विगतमा सुनाएजस्तो आश्वासनमा हामी अल्मिलिदैनौँ ।’ झापा-४ मा १ लाख ३० हजार ७१२ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा १६ जना उम्मेदवारले चुनावी मैदानमा रहेका छन्, जसमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य वैकल्पिक दलका उम्मेदवार रहेका छन् । विसं २०४८ को पहिलो आम निर्वाचनदेखि झापा-४ राजनीतिक रूपमा मुख्य रूपमा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धाको केन्द्रमा रहँदै आएको छ । विगतका निर्वाचन परिणामले देखाउँछ कि परम्परागत दुई दल अझै बलिया छन्, तर नयाँ राजनीतिक शक्ति र वैकल्पिक धारप्रति मतदाताको आकर्षण बढ्दै गएको छ । विसं २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेको वर्चस्व कायम रह्यो, तर राष्ट्रिय स्वतन्त्र पार्टी र वैकल्पिक दलहरूको प्रभावले पुराना र नयाँ शक्तिबीचको चुनावी समीकरणलाई रोचक बनाएको छ । फागुन २१ पछि मात्र झापा-४ मा परम्परागत राजनीतिक शक्ति कायम रहनेछ वा नयाँ राजनीतिक धारको उदय हुनेछ भन्ने टुङ्गो लाग्ने छ ।
पाँचथरमा मुख्य दल दबाबमा, नयाँ दलले बढाए प्रतिस्पर्धा
काठमाडौं । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा नयाँ दलहरूको प्रभावले आगामी निर्वाचनको प्रतिस्पर्धालाई रोचक बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि पाँचथरमा १५ राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मतदातामाझ नयाँ राजनीतिक दलहरूको बढ्दो प्रभावले प्रतिस्पर्धालाई बहुपक्षीय बनाउने सङ्केत गरेको छ । पाँचथरमा नेपाली कांग्रेसका नरेन्द्र कुमार केरुङ, नेकपा (एमाले) का अइन्द्रसुन्दर नेम्बाङ, नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रविक्रम थाम्सुहाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजकुमार कुरुम्बाङ र जनता समाजवादी पार्टी नेपालका मचिन्द्रप्रसाद बेघा चुनावी प्रतिस्पर्धामा छन् । यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रकाश काफ्ले, श्रम संस्कृति पार्टीका हस्तराज शेर्मा, नेपाल मजदुर किसान पार्टीका लक्षुमन तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विजय नेम्बाङ, मङ्गोल नेसनल अर्गनाइजेसनका रामकुमार तुम्रोक, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भानुभक्त फियाक, नेपाल जनमुक्ति पार्टीका नरेन्द्रप्रसाद कुरुम्बाङ, राष्ट्रिय परिवर्तन पार्टी उज्यालो नेपाल पार्टीबाट संयुक्त रुपमा टेकबहादुर सुब्बा र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) का मित्र लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचथरमा रोमाञ्चक प्रतिस्पर्धाबाट नेकपा (एमाले) का वसन्तकुमार नेम्बाङ विजयी भएका थिए । नेम्बाङ र कांग्रेसहितको तत्कालीन गठबन्धनका उम्मेदवार भीष्मराज आङ्देम्बेले प्राप्त गरेको मतको अन्तर केवल ४६ मात्रै थियो । नेम्बाङले ३२ हजार १३५ मत प्राप्त गर्दा आङ्देम्बेले ३२ हजार ८९ मत पाएका थिए । उक्त निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङले १ हजार ५७८ मत, जनता समाजवादी पार्टी नेपालका प्रेमराज लावतीले १ हजार २७४ मत र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङले १ हजार ११ मत पाएक थिए । अन्य उम्मेदवारले १ हजारभन्दा कम मात्रै मत पाएका थिए । उक्त निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ समेत पाँचथरमा एमाले पहिलो पार्टी बनेको थियो । एमालेले २६ हजार ५९२ मत प्राप्त गर्दा कांग्रेसले १९ हजार ४४ मत, तत्कालीन नेकपा (माओवादी केन्द्र) ले १२ हजार १६९ मत, तत्कालीन नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ३८७ मत, राप्रपाले २ हजार ४४२ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ९४८ मत, जसपा नेपालले १ हजार ७११ मत र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ हजार ६४० मत पाएका थिए । सङ्घीय व्यवस्था लागू भएपछिका दुवै निर्वाचनमा एमालेका नेम्बाङ र कांग्रेसका आङ्देम्बेको प्रतिस्पर्धाले धेरै मतदाता उहाँहरुकै प्रभावमा देखिन्थे । तर बिरामी परेर उपचाररत नेम्बाङ र समानुपातिक बन्दसूचीमा रहनुभएका आङ्देम्बेको प्रतिस्पर्धात्मक उपस्थिति नहुँदा मतदाताको रुझान कुन दल र उम्मेदवारतर्फ हुन्छ भन्ने यकिन हुन चुनावी परिणाम पर्खनै पर्ने अवस्था बनेको छ । पाँचथरमा २०७४ साल र २०७९ सालको निर्वाचनमा पहिलो दल बनेको एमालेलाई आफ्नो विरासत जोगाइ राख्नुपर्ने चुनौती छ । विसं २०७९ मा गठबन्धनका उम्मेदवारलाई पराजित गरेको एमाले आफ्नो मत कायम गराउन लागिपरेको देखिन्छ । दुवै पटक कुनै पनि उम्मेदवारलाई विजयी गराउन नसकेको कांग्रेस यस पटक जित निकाल्ने ध्याउन्नमा छ । विशेष महाधिवेशनबाट पाएको ऊर्जालाई कांग्रेसले मतदातामाझ पुर्याउने प्रयास गरिरहेको छ । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीको एकतापछि पाँचथरमा नेपाली कम्युनिष्ट पार्टी पनि प्रतिस्पर्धी शक्तिका रुपमा स्थापित भएको छ । कतिपय पहिचान पक्षधर व्यक्तिलाई पनि समेट्न सफल भएका कारण नेकपा उत्साहित देखिन्छ । तर पाँचथरमा मुख्य गरी राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी एवं राष्ट्रिय परिवर्तन पार्टीले मुख्य दलहरुलाई चुनौती दिइरहेका छन । यी दलका तीन उम्मेदवारले मुख्य तीन दलकै मतदातालाई क्रमशः प्रभावित गरिरहेका छन् । तीनवटै दलले चुनाव जित्ने दाबीसहित चुनाव प्रचारसँगै गाउँगाउँमा सङ्गठन निर्माण गरेपछि मुख्य दलको वास्तविक शक्ति यकिन हुन सकेको छैन । नयाँ दलको प्रभावले दबावमा परेका मुख्य दलसहित सबै दलका उम्मेदवार मतदाता भेट्न गाउँगाउँ पुगिरहेका छन् । वडा, टोल तथा बस्तीसम्म पुगेर उम्मेदवारले चुनावी माहौल तयार गरिरहँदा मतदाता पनि मतदानका लागि उत्साहित बन्न थालेका छन् । पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन् । पुरुष मतदाता ७६ हजार ७८ र महिला मतदाता ६७ हजार ३३० रहेका छन् ।
ट्रम्प-मोदीबीच व्यापार सम्झौता, ५०० अर्ब डलर अमेरिकी उत्पादन खरिद गर्ने प्रतिबद्धता
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरी मा सुरु गरेको अमेरिका-भारत द्विपक्षीय व्यापार सम्झौता (बिटीए) वार्तालाई अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिका र भारत बीचको अन्तरिम सम्झौताले व्यापारमा ऐतिहासिक, आपसी हित र पारस्परिक सन्तुलित व्यापारको साझा प्रतिबद्धता प्रदर्शन गर्ने जनाइएको छ । सम्झौताको एक हिस्साको रूपमा भारतले सबै अमेरिकी औद्योगिक सामानहरू र अमेरिकी खाद्य र कृषि उत्पादनहरूको विस्तृत श्रृंखलामा शुल्क हटाउने वा घटाउने छ । जसमा सुकेको अन्न, रूख बदाम, ताजा र प्रशोधन गरिएका फलफुलहरू, सोयाबिन तेल, वाइन लगायत समावेश छन् । संयुक्त वक्तव्य अनुसार संयुक्त राज्य अमेरिकाले कपडा, छाला जुत्ता, प्लास्टिक, रबर, जैविक रसायन, घरको सजावट र केही मेसिनरी क्षेत्रहरूलाई समेट्ने सान्दर्भिक कार्यकारी आदेश अन्तर्गत भारतीय मूलका सामानहरूमा १८ प्रतिशतको पारस्परिक शुल्क लागू गर्नेछ । ‘अन्तरिम सम्झौताको सफल निष्कर्षमा, अमेरिकाले जेनेरिक फार्मास्यूटिकल्स, रत्न र हीरा, र विमानका भागहरू लगायत सामानहरूको विस्तृत श्रृंखलामा पारस्परिक शुल्क हटाउनेछ,’ सम्झौतामा उल्लेख छ । सम्झौताले आल्मुनियम, स्टिल र तामामा राष्ट्रिय सुरक्षा सम्बन्धी घोषणाहरू अन्तर्गत लगाइएका केही भारतीय विमान र विमानका भागहरूमा अमेरिकी शुल्क हटाउने पनि व्यवस्था गरेको छ । भारतले अमेरिकी राष्ट्रिय सुरक्षा आवश्यकता अनुरूप अटोमोटिभ पाट्र्सका लागि प्राथमिकता शुल्क दर प्राप्त गर्नेछ । अमेरिकी अनुसन्धानको नतिजाको आधारमा, भारत पनि जेनेरिक औषधि र औषधि सामग्रीका लागि वार्ताको नतिजाहरु प्राप्त गर्न तयार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवै देशहरू एक-अर्कालाई दिगो आपसी हितका क्षेत्रहरूमा बजार पहुँच प्रदान गर्न र सम्झौताको लाभ संयुक्त राज्य अमेरिका र भारतलाई सुनिश्चित गर्न उत्पत्ति नियमहरू स्थापना गर्न प्रतिबद्ध रहेको जनाइएको छ । दुवै पक्षले द्विपक्षीय व्यापारलाई असर गर्ने गैर-शुल्क बाधाहरूलाई सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ । भारत अमेरिकी चिकित्सा उपकरण, सूचना र सञ्चार प्रविधि सामान, खाद्य र कृषि उत्पादन जस्ता क्षेत्रमा लामो समय देखि रहेका बाधाहरूलाई सम्बोधन गर्न कदम चाल्न छ महिना भित्र अन्तर्राष्ट्रिय मापदण्डको स्वीकृतिको समीक्षा गर्न सहमत भएको जनाइएको छ । अन्तरिम सम्झौता बाहेक, दुवै देशले बिटिए वार्ताको माध्यमबाट बजार पहुँच थप विस्तार गर्ने काम गर्ने बताएका छन् । वार्ताका क्रममा अमेरिकाले भारतीय सामानमा कर घटाउने प्रयास जारी राख्ने भारतको अनुरोधलाई विचार गर्ने बताएको छ । सम्झौताले आपूर्ति श्रृंखलामा लचिलोपन, लगानी समीक्षा, निर्यात नियन्त्रण, र तेस्रो पक्षहरूको गैर-बजार नीतिहरूको सम्बोधनमा सहयोग सहित आर्थिक सुरक्षालाई सुदृढ पार्ने जनाइएको छ । सम्झौता अनुसार भारतले आगामी पाँच वर्षमा ५०० अर्ब अमेरिकी डलर मूल्यका अमेरिकी ऊर्जा उत्पादनहरू, विमान र विमानका पुर्जाहरू, बहुमूल्य धातुहरू, कोइला खरिद गर्ने इच्छा व्यक्त गरेको छ । डाटा सेन्टरमा प्रयोग हुने ग्राफिक्स प्रशोधन एकाइसहित प्रविधि उत्पादन व्यापारमा उल्लेखनीय वृद्धि गर्न र संयुक्त प्रविधि सहयोग विस्तार गर्न दुवै पक्ष सहमत भएका छन् । संयुक्त राज्य अमेरिका र भारत डिजिटल व्यापारका बाधाहरूलाई सम्बोधन गर्न र बिटिए अन्तर्गत बलियो, पारस्परिक रूपमा फाइदाजनक डिजिटल व्यापार नियमहरूको लागि मार्ग प्रशस्त गर्न प्रतिबद्ध छन् । दुवै पक्षको सहमति अनुरूप व्यापक र पारस्परिक रूपमा फाइदाजनक द्विपक्षीय व्यापार सम्झौता सम्पन्न गर्ने दृष्टिकोणका साथ अन्तरिम सम्झौतालाई अन्तिम रूप दिन यथासिग्र काम गर्ने र यस सम्झौतालाई तुरुन्तै कार्यान्वयन गर्ने बताइएको छ ।
टुथपेष्टसहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक प्रयोग, कडा अनुगमनको माग
काठमाडौं । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन (टुथपेष्ट) सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न माग गरेको छ । सङ्घका महासचिव डा. सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा दैनिक प्रयोगमा आउने टुथपेष्ट लगायत मुख तथा दन्त सरसफाइका सामग्रीसहित अन्य विभिन्न सौन्दर्य सामग्रीमा मानव स्वास्थ्यका लागि हानिकारक सिसा (लिड) को मात्रा पाइएको भन्दै कडा अनुगमनको माग गरेको हो । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सेफेड) ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देशका विभिन्न सहरमा गरेको पसलको नमूना सङ्कलन गरी परीक्षण गरिएकामा ३१ प्रतिशत सङ्कलित नमूनामा स्वीकृत अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी सिसा भेटिनु गम्भीर विषय रहेको सङ्घले जनाएको छ । दैनिक प्रयोग हुने दन्तमञ्जनका ४५ प्रतिशत नमूना र बालबालिकाका लागि बजारमा उपलब्ध केही सामग्रीमा सिसा भेटिएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्घले बालबालिकासहित आमनागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याउने यस्ता सामग्रीको गुणस्तर मापन गरी कडा नियमन गर्न सरकारसँग माग गरेको हो । विश्व स्वास्थ्य सङ्गठन लगायतका स्वास्थ्य सङ्घ सम्बन्धित निकायले सिसा मानिसको स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको तथ्य प्रमाणित गरेका छन् । विज्ञप्तिमा बालबालिकामा सिसाको असरले बौद्धिक विकासमा अवरोध, सिकाइमा कठिनाइ, व्यावहारिक समस्या देखिनुका साथै दीर्घकालीन रूपमा दृष्टि, श्रवण र स्नायु प्रणालीमा गम्भीर नकारात्मक प्रभाव पार्ने वैज्ञानिक प्रमाणित तथ्य रहेको पाइएको छ ।
नेप्सेको ३ अर्ब रुपैयाँ पुँजी पुर्याउन तीन विकल्प प्रस्ताव
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुँजी वृद्धिका लागि विभिन्न तीन वटा विकल्प अघि सारिएका छन् । प्रकाश जङ्ग थापाको नेतृत्वमा गठित नेप्से पुनर्संरचना सम्बन्धी सुझाव समितिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि नेप्सेको पुँजी हालको स्तरमा अपर्याप्त रहेको र तीन वटा विकल्पसहित पुँजी वृद्धि गर्न सकिने सुझाव पेस गरेको हो । धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ अनुसार दोस्रो बजार सञ्चालक संस्थाले न्यूनतम् ३ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था छ । यद्यपि, सो नियमावलीले नेप्सेलाई उक्त प्रावधानबाट उन्मुक्ति दिएको भए पनि आधुनिक र विकसित दोस्रो बजार सञ्चालकले प्रदान गर्नुपर्ने सम्पूर्ण सेवा र दायित्व वहन गर्नुपर्ने हुन्छ । प्रतिवेदनमा प्रविधि, मानव संसाधन, भौतिक पूर्वाधार, अनुसन्धान तथा विकास, सेवा विस्तार तथा सहायक संस्थाको विकासका लागि आगामी दिनमा उल्लेख्य लगानी आवश्यक पर्ने उल्लेख छ । हाल नेप्सेको पुँजी लगानी करिब १ अर्ब रुपैयाँ मात्र रहेको र यो दीर्घकालीन उद्देश्य पूरा गर्न पर्याप्त नदेखिएको समितिको ठहर छ । यस्ता छन् तीन विकल्प समितिले नेप्सेको पुँजी वृद्धि गर्न तीन विकल्प सुझाएको छ । पहिलो विकल्पअन्तर्गत नेप्सेले अवितरित मुनाफालाई बोनस सेयरमार्फत पुँजीकरण गर्न सक्ने उल्लेख छ । आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार नेप्सेसँग २ अर्ब १७ करोड रुपैयाँ संचित मुनाफा र १ अर्ब ९५ करोड रुपैयाँ जगेडा कोष गरी कुल ४ अर्ब १२ करोड रुपैयाँ सञ्चिति रहेको छ । यसलाई बोनस सेयरका रूपमा पुँजीकरण गरेमा ३ अर्ब रुपैयाँ चुक्ता पुँजीको मापदण्ड सहजै पूरा गर्न सकिने समितिको भनाइ छ । यद्यपि, बोनस सेयर जारी गर्नुअघि रणनीतिक साझेदारसम्बन्धी स्पष्टता आवश्यक रहने उल्लेख गरिएको छ । दोस्रो विकल्पमा हकप्रद सेयर जारी गरी पुँजी जुटाउने प्रस्ताव गरिएको छ । यसमा विद्यमान सेयरधनीहरूले आफ्नो स्वामित्व अनुपातअनुसार थप लगानी गर्नुपर्ने हुन्छ । यस विकल्पबाट सेवा विस्तारका लागि आवश्यक नगद परिचालन हुने भए पनि सेयरधनीहरू थप लगानी गर्न अनिच्छुक हुन सक्ने जोखिम रहेको प्रतिवेदनमा औंल्याइएको छ । तेस्रो विकल्पअन्तर्गत नयाँ सेयर जारी गरी पुँजी वृद्धि गर्ने सुझाव दिइएको छ । यसबाट रणनीतिक साझेदार, संस्थागत लगानीकर्ता वा सर्वसाधारणलाई सेयर निष्कासन गर्न सकिने र प्रिमियमसहित थप पुँजी परिचालन हुने समितिको भनाइ छ । तर, यसले नेप्सेको विद्यमान स्वामित्व संरचनामा परिवर्तन ल्याउने सम्भावना रहने उल्लेख गरिएको छ । समितिका अनुसार पहिलो र दोस्रो विकल्प सञ्चालक समितिको निर्णयपछि अर्थमन्त्रालयको सहमति र साधारण सभाबाट पारित गरी छोटो अवधिमै कार्यान्वयन गर्न सकिने छन् । तेस्रो विकल्प भने सेबोनको स्वीकृति, सेयर मूल्याङ्कन र निष्कासन प्रक्रियासहित दुई वर्षसम्म लाग्न सक्ने प्रतिवेदनमा उल्लेख छ । समितिले नेप्सेको दीर्घकालीन सुदृढीकरण र सेवा विस्तारका लागि समयसापेक्ष रूपमा पुँजी वृद्धि अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।
भाटभटेनीको कोटेश्वर शाखा पुन: सञ्चालनमा, गुरुङ भन्छन्- ‘अब नेपाल उठ्छ’
काठमाडौं । कुनै पनि विपत्ति वा दुर्घटनाले मानिसलाई कमजोर बनाउन सक्छ, तर दृढ संकल्प भएको नेतृत्व छ भने त्यसले खरानीबाट पनि नयाँ जीवन पाउन सक्छ भन्ने उदाहरण बनेको छ, भाटभटेनी सुपरमार्केट । गत भदौकाे आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको भाटभटेनीको कोटेश्वर शाखा शनिबारबाट पुनः सञ्चालनमा आएको छ । लामो समयको पुनर्निर्माणमा रहेको भाटभटेनी फेरि ग्राहकको सेवामा फर्किएको हो । कोटेश्वर शाखाको उद्घाटनका क्रममा भावुक तर उत्साहित देखिएका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले भने, ‘एउटा ठूलो दुर्घटनाबाट हामी उठ्न सफल भयौं । एक कदम अगाडि बढ्ने हिम्मत गर्दा आज खुसी महसुस भइरहेको छ ।’ करिब ३ महिनाको तीव्र मिहिनेत र पछिल्ला दुई महिनाको रात दिनको परिश्रमपछि कोटेश्वर शाखा पुरानो लयमा फर्काएको छ । कोटेश्वरबाहेक भाटभटेनीका बाँकी ११ वटा शाखाहरू पनि क्रमशः पुनः सञ्चालन हुने उनको भनाइ छ । नक्सालको शाखामा केही समय लाग्ने उनी बताउँछन् । उनका अनुसार फागुनको दोस्रो साताभित्र महाराजगञ्ज शाखा र बैशाख महिनामा बौद्धको चुच्चेपाटी शाखा पुनः सञ्चालनमा ल्याइने तयारी छ । जेनजी आन्दोलनमा पूर्ण रूपमा ध्वस्त बनेको कोटेश्वर शाखालाई यसपटक पहिलाभन्दा अझ अत्याधुनिक, सुरक्षित र व्यवस्थित बनाएर पुनः सञ्चालनमा ल्याइएको छ । शाखाको भुइँतलामा सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिँदै नयाँ र मजबुत संरचनाको भवन निर्माण गरिएको छ । गुरुङले विशेष पूजाआजा गरी भाटभटेनीको उद्घाटन गरेसँगै पाँच महिनादेखि ठप्प भाटभटेनी सेवा सुचारु भएको हो । भाटभटेनीमा ३०० भन्दा बढी कर्मचारी काममा फर्किएका छन् । यस्तै, देशभरका २८ शाखाहरूमध्ये आन्दोलनको मारमा परेका १२ वटा शाखाहरू अहिले पुनर्निर्माणको चरणमा छन् । गुरुङका अनुसार आउँदो भदौसम्ममा र दशैं अगावै सबै शाखाहरू पूर्ण क्षमतामा सञ्चालनमा आउनेछन् । आन्दोलनको निशानामा निजी क्षेत्र पर्नु दु:खद रहेको बताउँदै गुरुङले निजी क्षेत्र नै देश विकासको संवाहक भएको उल्लेख गरे । ‘निजी क्षेत्रलाई पछाडि धकेलेर देश अगाडि बढ्न सक्दैन । यो अज्ञानताको उपज हो, ’ उनले भने, ‘म भगवानसँग प्रार्थना गर्छु कि मेरो देशमा अब उप्रान्त यस्ता घटना कहिल्यै नदोहोरिउन् ।’ अध्यक्ष गुरुङले विनाश र त्रासको बीचबाटै समृद्धिको नयाँ मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे । भदौ २३ गतेको दु:खद आगजनी र आक्रमणको घटनालाई बिर्सिएर अब पुनर्निर्माण र राष्ट्रिय समृद्धिको यात्रामा अगाडि बढ्ने उनले बताए । उनले भने, ‘जसरी दोस्रो विश्वयुद्धको महाविनाशपछि जापान विश्वकै विकसित मुलुक बन्यो र खरानी भएको कारखानाबाट बीएमडब्लु जस्तो विश्व प्रख्यात ब्रान्ड जन्मियो, त्यसरी नै भाटभटेनी पनि अझ सशक्त भएर उठ्नेछ ।’ गुरुङले सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा भएको बमबारी तथा १९४४ मा जर्मनीको म्युनिखमा ध्वस्त भएको विमान इन्जिन कारखानाको उदाहरण दिए । ‘विनाश नै अन्त्य होइन, यो त नयाँ सुरुवातको अवसर पनि हो,’ उनले भने, ‘जसरी ती देश र कम्पनीहरूले पुरानो घाउलाई कोट्याउनुको साटो भविष्य निर्माणमा ध्यान दिए, हामी पनि त्यसै गर्नेछौँ ।’ भदौ २४ जेनजी आन्दोलनको दोश्रो दिनको घटनालाई नेपालको नकारात्मकता जलेको दिनका रूपमा व्याख्या गर्दै अध्यक्ष गुरुङले अबको १५ वर्षभित्र नेपाललाई सम्पन्न देशको सूचीमा पुर्याउने सपना सुनाए । उनले भने, ‘भाटभटेनी मात्र उठ्दैन, अब नेपाल उठ्छ । नेपालीहरू अब अर्काको देशमा काम गर्न जाने होइन, आफ्नै सिर्जना र क्षमताले देश बनाउनेछन् । हामीसँग हिम्मत छ, हामी गर्न सक्छौं ।’ विपद्को समयमा पनि भाटभटेनीले आफ्ना १० हजार कर्मचारीहरूको साथ छोडेन । संरचना जलेर व्यवसाय ठप्प हुँदा पनि कुनै पनि कर्मचारीले रोजगारी गुमाउनु परेन । गुरुङका अनुसार बन्द रहेको समयमा पनि कर्मचारीहरूले सेवा-सुविधा र तलब पाइरहे । भाटभटेनीले व्यवसाय मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि अग्रणी भूमिका खेल्दै आएको गुरुङको भनाइ छ । उनका अनुसार शिक्षण अस्पतालको भवन निर्माणदेखि दुर्गमका विद्यार्थीलाई डाक्टर बनाउनेसम्म र भूकम्प-बाढीजस्ता प्राकृतिक विपत्तिमा अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएको यो संस्था नेपालकै ठूलो करदाता र रोजगारदातामध्ये एक हो । गुरुङले युवाहरूलाई कडा परिश्रम र इमानदारिताको पाठ सिक्न आग्रह गरे । खोटाङबाट आएर शून्यबाट व्यवसाय सुरु गरेका उनले भने, ‘कडा परिश्रम बिना केही हुँदैन । हल्ला गरेर मात्र देश बन्दैन । यदि हामी इमानदार भएर लाग्यौं भने आगामी १५ वर्षभित्र नेपाललाई सम्पन्न मुलुक बनाउन सकिन्छ ।’ आगोले संरचना त जलायो, तर मीन बहादुर गुरुङको देशप्रतिको भक्ति र हिम्मत जलाउन सकेन । उनी भन्छन्, ‘मैले हार मानेको भए देशको अर्थतन्त्रमा ठूलो असर पर्थ्यो । तर, राष्ट्र प्रेमले मलाई अघि बढ्न प्रेरित गर्यो । अब नकारात्मकतालाई भदौ २३ सँगै जलाइ दिऊँ र देश निर्माणको सकारात्मक बाटोमा लागौँ । ’
रहेनन् अभिनेता सुनिल थापा, नेपाली कला जगत स्तब्ध
काठमाडौं । अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताए । ‘बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ । अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो,’ अध्यक्ष निरौलाले भने । अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । ‘उहाँको परिवारका सदस्यहरू भारतको मुम्बईमा बस्नुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ,’ अध्यक्ष निरौलाले भने । लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रमा अभिनयमा सक्रिय रहेका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत स्तब्ध बनेको छ । चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय थिए । उनी शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए ।