२१४ कम्पनीको सेयर मूल्य घट्यो, ८ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अंकले घटेर २६४२ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३५४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडि पावरको ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युत कम्पनीको ४४ करोड, न्यादी गुप्रको ३१ करोड २८ लाख, सीईडीबी होल्डीङसको ३१ करोड र एसवाई प्यानलको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
नागरिक लगानी कोषले पायो ‘ए प्लस’ रेटिङ
काठमाडौं । आईसीआरए (इक्रा) नेपालले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्वहरूको समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानिन्छ । आईसीआरए नेपालको मूल्यांकन समितिले उक्त निर्णय गरेको हो । २०४७ सालमा स्थापना भएको नागरिक लगानी कोषले २०४८ माघ १ गतेदेखि सेवा सुरु गरेको थियो । कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष योजना, राष्ट्रसेवक कर्मचारीको जीवन बीमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बीमा कोष जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । हाल कोषमा करिब ७ लाखभन्दा बढी सहभागी छन् ।
सब–इन्जिनियर यादव हत्या घटना : शीघ्र छानबिनको माग
धनुषा । भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेशअन्तर्गत कार्यरत कर्मचारीले सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या घटनाको विरोधमा मंगलबार ‘पेनडाउन’ गरेका छन् । कर्मचारीले हातमा कालोपट्टी बाँधेर कार्यालयको कामकाज पूर्ण रूपमा ठप्प पार्नुका साथै घटनाको निष्पक्ष तथा शीघ्र छानबिनको माग गरेका छन् । पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इन्जिनियर यादवको आइतबार राति मलङ्गवा नगरपालिका–१० मा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । यस घटनापछि प्रदेशभरिका प्राविधिक र प्रशासनिक कर्मचारी आन्दोलित बनेका छन् । आन्दोलनमा सहभागी कर्मचारीले सार्वजनिक सेवामा खटिएका प्राविधिकमाथि भइरहेको आक्रमणले कार्यस्थलको सुरक्षा कमजोर भएको बताए । साथै, दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । कर्मचारीका विभिन्न सङ्घसङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् । यस्ता हिंसात्मक घटनाले कर्मचारीको मनोबल घटाउने र सेवा प्रवाहमा प्रत्यक्ष असर पार्ने विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मंगलबार मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ । योससँगै मंगलबार काठमाडौं उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा पुगिसकेको छ । ‘एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार मंगलबार काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । भारतको दिल्ली २२९ एक्युआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्युआईसहित दोस्रो स्थानमा सूचीकृत भएको छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझै बढ्न सक्ने बताए । वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषणको मात्रा उच्च हुने उनको भनाइ छ । दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको महानिर्देशक सुवेदीले जानकारी दिए । वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा सवारीसाधनको तीव्र वृद्धि, डिजेल तथा पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलो, साथै वन डढेलो र लामो समयसम्मको सुक्खा मौसमले वायु प्रदूषण बढाएको छ । 'यदि समयमै नियन्त्रणका उपाय अपनाइएन भने स्थिति अझ जटिल बन्न सक्छ,' उनले भने । सुक्खा रहेमा अझ झन् प्रदूषण बढ्न सक्ने भन्दै समयमा नै सचेत हुन समेत पराजुलीले आग्रह गरेका छन् । इन्डेक्सको तथ्याङ्कअनुसार देखि ५० एक्युआई राम्रो (हरियो सङ्केत) तथा ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेँलो सङ्केत) मानिन्छ । त्यसैगरी, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ । यस्तै १५१ देखि २०० एक्युआई सबैका लागि अस्वस्थ, २०१ देखि ३०० एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ । काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई ३०० भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ । यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ‘ब्रुमर’ तथा ‘भ्याकुम’को प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ । राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति छ । साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्साङ्कन गरिने उल्लेख गरिएको छ ।
कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेबाट हुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने जनाएको छ । बोर्डले मंगलबार सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार परीक्षा वैशाख १४ गतेबाट सुरु भई २७ गते सम्पन्न हुनेछ । साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक विद्यार्थीहरूले तोकिएको परीक्षा केन्द्रमा गएर परीक्षा दिन सक्नेछन् । यस वर्ष कक्षा १२ मा नियमिततर्फ तीन लाख ६० हजार विद्यार्थी छन् भने आंशिकको संख्या यकिन भइसकेको छैन । गत वर्ष कक्षा १२ मा नियमिततर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आंशिकतर्फ एक लाख १४ हजार छ सय ४० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बोर्डले सार्वजनिक गरेको कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था गरिने छैन । कुनै आकस्मिक बिदा परेमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाविना परीक्षा स्थगित नगरिने बोर्डले जनाएको छ । परीक्षा दिने विद्यार्थीले परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि नै परीक्षा केन्द्रमा पुगिसक्नुपर्नेछ । १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइनेसमेत बोर्डको सूचनामा उल्लेख गरिएको छ ।
निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी गर्नुपर्ने रकम ५० अर्ब बढी
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी दाबी रकम चुलिँदै गएको छ । गत भदौ महिनामा भएको जेनजी आन्दोलन, बाढी-पहिरोजस्ता प्राकृतिक विपत्तिलगायतको कारण बीमा कम्पनीहरूमा ठूलो रकमको दाबी पर्दा भुक्तानी गर्नुपर्ने रकम बढेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १ लाख १३ हजार ७२८ वटा दाबी संख्या अन्तर्गत ५० अर्ब ७९ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५०.६७ प्रतिशतले वृद्धि भएको छ । बीमा प्राधिकरणले प्रकाशन गरेको दोस्रो त्रैमासिक रिर्पोटअनुसार गत आवको यही अवधिमा बीमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी दाबी रकम ३३ अर्ब ७१ करोड १४ लाख रुपैयाँ थियो । १३ अर्ब मात्रै भुक्तानी बीमा प्राधिकरणको तथ्यांकअनुसार दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुबाट कुल ७१ हजार २४९ वटा दाबी संख्या बराबरको १३ अर्ब २७ करोड ५३ लाख रुपैयाँ रकम भुक्तानी भएको छ । गत आवको पुस मसान्तसम्मको तुलनामा दाबी भुक्तानी संख्यामा ९.४१ प्रतिशतले वृद्धि भएको छ भने दाबी रकममा ३०.६६ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले ६५ हजार १२० वटा दाबी संख्याको १० अर्ब १६ करोड १ लाख रुपैयाँ रकम भुक्तानी गरेको थियो । ६ महिनाको अवधिमा सबैभन्दा बढी दाबी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । कम्पनीले ६ महिनामा २ अर्ब ४७ करोड २३ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बाट १ अर्ब ७४ करोड १२ लाख रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब २४ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ । दोस्रो त्रैमाससम्ममा आईजिआई प्रुडुन्सियलले १ अर्ब १३ करोड ९० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९७ करोड २९ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३२ करोड ३२ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ९२ करोड ४५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६७ करोड ५० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ३० करोड, प्रभु इन्स्योरेन्सले २२ करोड ६१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ७ करोड ७८ लाख रुपैयाँ, सानिमा जिआईसीले ७५ करोड ७५ लाख रुपैयाँ, दि ओरियन्टल ६१ करोड १७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ६८ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेका छन् । बीमा प्राधिकरणका अनुसार दोस्रो त्रैमाससम्ममा नेपाल माइक्रोले ३ करोड ७ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले ३ करोड १८ लाख रुपैयाँ, स्टार माइक्रोले २ करोड ९ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ३ करोड ८१ लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको छ ।
पूर्वसञ्चारमन्त्रीकै गाउँमा मोबाइल नचलेपछि शिवाकोटीले भने- सुरीमा टावर ठड्याउने मेरो पहिलो काम हुनेछ
चरीकोट । नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले पूर्वसञ्चारमन्त्री एवं एमालेका हालका उम्मेदवार पार्वत गुरुङको आफ्नै गाउँमा टेलिफोन टावर ल्याइदिने प्रतिबद्धता जनाएका छन् । चुनावी अभियानका क्रममा गौरीशंकर गाउँपालिका वडा नम्बर ५, सुरी पुगेका शिवाकोटीले त्यहाँ मोबाइल नेटवर्कको गम्भीर समस्या भोगेपछि संसद भएर गएपछि यो प्रतिबद्धता पूरा गर्ने वाचा गरेका हुन् । सुरी पुग्दा आफ्नो गाडीमा केही समस्या आएको र पछाडि छुटिरहेका साथीहरूलाई सम्पर्क गर्न खोज्दा मोबाइलमा नेटवर्क नभएर फोन नलागेको अनुभव उनले सुनाए । शिवाकोटीले भने, ‘हामी यात्रामा थियौं, गाडी कहाँ छ भनेर बुझ्न खोज्दा मोबाइलमा सिग्नल नै थिएन । यस्तो ठाउँमा सञ्चारको यो हालत देख्दा मलाई अचम्म लाग्यो ।’ स्थानीय बासिन्दाका अनुसार सुरी क्षेत्र चारैतिर डाँडाले घेरिएकाले चरीकोट वा हनुमन्ते डाँडाका टावरले यहाँ काम गर्दैनन् । नेटवर्क खोज्नकै लागि डाँडाकाँडा धाउनुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । उनले भने, ‘यहाँ चाहिँ चारैपट्टी डाँडा छ । हनुमन्ते डाँडाँको नेटवर्कले भ्याउनुपर्ने कि चरीकोटकोले भ्याउनुपर्ने समस्या छ । कहीँ टावर वरपर देखिँदैन । त्यो समस्याले गर्दा टावर पनि छैन । हाम्रो मोवाइलमा नेटवर्क नै आउँदैन । हामीले नेटवर्क कहाँ छ भनेर खोज्न जानुपर्ने अवस्था छ ।’ एक वृद्धाले हातमा मोबाइल बोकेर गीत सुन्न मात्रै ठिक्क भएको भन्दै नेटवर्क आक्कलझुक्कल मात्रै आउने सुनाइन् । अर्का स्थानीयले सञ्चार मात्र नभई यो क्षेत्रमा बस सेवासमेत नपुगेको गुनासो गरे । गौरिशंकर वडा नम्बर ५ सुरी पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको आफ्नो गाउँ हो । तर सञ्चारमन्त्री भैसकेको मानिसको गाउँमै टेलिफोनको असुविधा, नेटवर्कका कारण संचार सम्पर्क नहुने अवस्था छ । सञ्चार मन्त्रालय सम्हालिसकेका व्यक्तिकै गाउँमा अहिलेसम्म टेलिफोनको असुविधा हुनु दुःखद रहेको शिवाकोटीले बताए । उनले भने, ‘म प्रतिनिधि सभाको उम्मेदवार छु । म जितेर गएपछि गर्ने पहिलो काम नै सुरी र यस आसपासका क्षेत्रलाई टेलिफोन नेटवर्कमा जोड्ने हुनेछ । म पार्वत दाइलाई समेत सहजै फोन गर्न मिल्ने गरी सञ्चार मन्त्रालय र नेपाल टेलिकमसँग समन्वय गरेर अर्को वर्ष यहाँ टावर ठड्याउने छु। यो मेरो प्रतिबद्धता हो ।’