निर्वाचनका निम्ति चीनले ४० लाख डलर बराबरको अनुदान सहयोग गर्ने
काठमाडौं । चीन सरकारले आसन्न निर्वाचनका निम्ति ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्यण गरेको छ । साथै बैठकले काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्नेगरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा पनि निर्धारण गरेको छ । बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।
पोखरामा वाडा अटो शो २०२६ आयोजना हुने, स्टल बुकिङ खुला
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रस्तुतीमा ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ । अटो शोको दोस्रो संस्करण पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकैको खेल मैदानमा चैत ११ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । पहिलो संस्करणको सफलतापछि सवारीसाधन खरिद–बिक्री तथा अटोमोबाइल क्षेत्रमा विकसित आधुनिक प्रविधिप्रति सवारीधनी, सम्भावित ग्राहक र सर्वसाधारणको बढ्दो चासोलाई ध्यानमा राख्दै अटो शो आयोजना गर्न लागिएको हो । अटो शोको आयोजना पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनले गर्नेछ । अटो शोमा साना, मझौला तथा ठूला सवारीसाधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीहरूलाई सहभागी हुन आह्वान गरिएको छ । प्रदर्शनीका लागि स्टल बुकिङ फागुन १२ गतेदेखि १९ गतेसम्म खुला गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज प्रा.लि.ले गर्नेछ । स्टल बुकिङ गर्न इच्छुक कम्पनी तथा संस्थाहरूले आयोजकसँग सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नेछन् । आयोजकका अनुसार अटो शोले अटोमोबाइल क्षेत्रका नवीनतम प्रविधि, नयाँ मोडेलका सवारीसाधन तथा सम्बन्धित सेवाहरूको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
२०२६ को सुरुवातमै नेक्सन र पन्चले मार्यो बाजी, २३ हजारभन्दा बढी युनिट बिक्री
काठमाडौं । अग्रेंजी नयाँ वर्ष सन् २०२६ को सुरुवातसँगै भारतीय अटो बजारमा कारको प्रतिस्पर्धाले नयाँ उचाइ छोएको छ । टाटा मोटर्सले आफ्नो लोकप्रिय एसयूभी नेक्सनमार्फत बिक्रीको दौडमा सबैलाई पछि पारेको छ । यद्यपि परम्परागत बजार लिडर मारुती सुजुकीले आफ्ना विभिन्न मोडेलमार्फत आफ्नो बलियो पकड कायमै राखेको छ । जनवरी महिनामा टाटा मोर्टसको नेक्सनले बिक्रीमा उत्कृष्ट प्रदर्शन गर्यो । नेक्सनले २३ हजारभन्दा बढी युनिट बिक्री गर्दै भारतको सबैभन्दा धेरै बिक्री हुने कार बन्न सफल भएको छ । जसमा गत वर्षको सोही अवधिको तुलनामा यो ५२ प्रतिशतले वृद्धि भएको हाे । भारतीय अटो बजारमा शीर्ष सूचीमा टाटा नेक्सन, टाटा पन्च, मारुती ब्रिजा, हुन्डाई भेन्यू र मारुती फ्रोन्क्सजस्ता एसयूभीले स्थान बनाएका छन् । टाटा पन्च (ईभी सहित) १९ हजारभन्दा बढी युनिट बिक्री गर्दै तेस्रो स्थानमा उक्लिएको छ । हुण्डाईले १७ हजारभन्दा बढी युनिट बिक्री गरेको छ भने टप १५ सूचीमा पर्ने मारुती डिजायर एक मात्र सेडान रहेको छ । ट्याक्सी र फ्लीट बजारमा बलियो मागका कारण यसले दोस्रो स्थान सुरक्षित गरेको बताइएको छ । यस्तै,अर्टिगाले करिब १८ हजार युनिट बिक्री गर्दै भारतको नम्बर १ एमपीभी बनेको छ भने स्विफ्ट ४ प्रतिशतको सामान्य वृद्धिसहित स्थिर रहेको जनाइएको छ । अल्टो १२ हजारभन्दा बढी युनिट बिक्री गर्दै साना सहरहरूमा ह्याचब्याक गरिरहेको बताइएको छ । महिन्द्राका दुई एसयूभीले बजारमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । जसमा महिन्द्रा स्कोर्पियोसहितको बिक्री स्थिर रहँदा अफ-रोड किङ महिन्द्रा थारको बिक्री झन्डै दोब्बर भएको छ । यसैबीच, ‘इन्डियन कार अफ द इयर २०२६’ को उपाधि जितेको मारुतीको नयाँ कम्प्याक्ट एसयूभी भिक्टोरिसले १५ हजारभन्दा बढी युनिट बिक्री गर्दै १० औं स्थानमा प्रवेश गरेको छ ।
ओमेगा क्यापिटल एडभाइजर्सले पायो घरजग्गा किनबेच गर्ने कानुनी अनुमति
काठमाडौं । ओमेगा क्यापिटल एडभाइजर्स प्रालिले घरजग्गा खरिद–बिक्रीसम्बन्धी कारोबार सञ्चालन गर्न नेपाल सरकारबाट आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले कम्पनीलाई घरजग्गा कारोबार गर्न इजाजतपत्र (इजाजतपत्र नं. बिआरके १८३५६०१) प्रदान गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको विभागबाट प्रचलित कानून तथा नियमावलीअनुसार उक्त इजाजतपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । इजाजतपत्रअनुसार कम्पनीले तोकिएका महानगरपालिका तथा उप–महानगरपालिका क्षेत्रभित्र कानुनी रूपमा घरजग्गा खरिद–बिक्रीसम्बन्धी कारोबार सञ्चालन गर्न सक्नेछ । साथै, इजाजतपत्रमा तोकिएको व्यवस्थाअनुसार कम्पनीले एक पटकको कारोबारमा पाँच करोड रुपैयाँभन्दा बढी वा कम जुनसुकै रकमको घरजग्गा कारोबार गर्न पाउने अधिकार प्राप्त गरेको छ । इजाजतपत्र प्राप्तिपछि कम्पनीले प्रचलित कानून तथा नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्ने, पारदर्शी, जिम्मेवार र नैतिक व्यावसायिक अभ्यास अवलम्बन गर्ने, सुरक्षित तथा विश्वसनीय घरजग्गा कारोबार सेवा प्रदान गर्ने तथा ग्राहक र सरोकारवालाको हितलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनी व्यवस्थापनका अनुसार उक्त इजाजतपत्र प्राप्ति संस्थाको व्यावसायिक विश्वसनीयता, कानुनी वैधता र दीर्घकालीन विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ । कम्पनीले आगामी दिनमा थप गुणस्तरीय, पारदर्शी र कानुनसम्मत घरजग्गा परामर्श तथा कारोबार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सरकारले निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिने
काठमाडौं । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।
बीसीए कप फुटसल : नागार्जुन कलेजले जित्यो १ लाख ५० हजार पुरस्कार
काठमाडौं । डीएभी कलेजको आयोजनामा चौथो बीसीए कप पुरुष अन्तर–कलेज फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कलेजका २८ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता व्हिजी डेभियन्स र कोग्निटो आईटी क्लबको संयोजनमा डीएभी कलेजको सहयोगमा आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता डीएभी कलेजका अध्यक्ष अनिल केडियाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय फुटबल खेलाडी बिकेश कुथु उपस्थित थिए । साथै, डीएभी कलेज तथा अन्य संस्थाका प्राध्यापक, शिक्षाविद् र अतिथिहरूको पनि उपस्थिति रहेको थियो । प्रतिस्पर्धात्मक खेलपछि नागार्जुन कलेज अफ आईटी विजेता बनेको छ । विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । पास्कल नेशनल कलेज उपविजेता बन्दै ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भयो । व्यक्तिगततर्फ नागार्जुन कलेज अफ आईटीका रिशव श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए भने श्रेयन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट खेलाडीको उपाधि पास्कल नेशनल कलेजका आवास योञ्जनले प्राप्त गरे । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बिकेश कुथु र डीएभी कलेजका अध्यक्ष अनिल केडियाले आईटी विषय अध्ययन गर्ने विद्यार्थीका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताए । प्रविधिसँग बढी समय बिताउने विद्यार्थीका लागि शारीरिक गतिविधि आवश्यक रहेको उनीहरूको भनाइ थियो । अध्यक्ष केडियाले प्रविधिमुखी जीवनशैलीका कारण खेलकुदको महत्त्व झन् बढेको उल्लेख गरे । डीएभी कलेजका बीएससी र बीसीएका एकेडेमिक हेड शशि भूषण चतुर्वेदीका अनुसार प्रतियोगिताको उद्देश्य विभिन्न बीसीए कलेजबीच मित्रता, सहकार्य र समन्वय अभिवृद्धि गर्नु हो । प्रतियोगिताको समन्वय बीसीए प्रोग्राम हेड सुदीप अधिकारीले गरेका थिए । प्रतियोगिताका खेलहरू एन्फा रेफ्री उज्ज्वल लिम्बू, यमबहादुर सुनुवार र सुरज भण्डारीले सञ्चालन गरेका थिए । व्हिजी डेभियन्सका अध्यक्ष महेश्वर सिलवालको नेतृत्वमा आयोजक समितिले शिक्षक, विद्यार्थी र प्रायोजकहरूको सहयोगमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
२१ अंकले बढ्यो नेप्से, ४ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले बढेर २६३८ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २१३ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२८ कम्पनीको ९३ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको २४ करोड, राधी विद्युत कम्पनीको १६ करोड, न्यादी गुप्रको १५ करोड र रिडि पावरको ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०२ प्रतिशत बढेको छ । साथै, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । साल्पा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
पुरानो स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन लिन सकिने सामसङको अफर सुरु
काठमाडौं । सामसङले आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक सार्वजनिक हुनुअघि नै ग्राहकहरूका लागि ‘ह्यान्ड रेजर’ (प्रि–रिजर्भ) अफर सार्वजनिक गरेको छ । यस अफरमार्फत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन अग्रिम बुकिङ गर्दै अधिकतम २० हजार ९९९ रुपैयाँसम्मका लाभ प्राप्त गर्न सक्नेछन् । प्रारम्भिक ग्राहक तथा ब्रान्डप्रति निष्ठावान प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन् । प्रि–रिजर्भ गर्ने ग्राहकहरूले १ टीबीसम्मको मेमोरी अपग्रेड (१५ हजार रुपैयाँसम्म बराबर) र ६० वाटको फास्ट चार्जर (५ हजार ९९९ रुपैयाँसम्म बराबर) प्राप्त गर्नेछन् । यो एक्सचेन्ज सुविधा ग्यालेक्सी एस२३, एस२४, एस२५ तथा आईडिभाइस १४, १५ र १६ जस्ता प्रिमियम स्मार्टफोनहरूका लागि उपलब्ध हुनेछ । ‘ह्यान्ड रेजर’ अफर फेब्रुअरी २३ देखि २६, २०२६ सम्म मात्र मान्य रहनेछ । यस अवधिमा ग्राहकहरूले योग्य डिभाइस एक्सचेन्ज गर्दै नयाँ एआई–सञ्चालित ग्यालेक्सी स्मार्टफोन विशेष मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन् । सामसङ एमएक्स डिभिजनका निर्देशक प्रणय रत्न स्थापितका अनुसार यस अफरमार्फत कम्पनीले आफ्ना निष्ठावान ग्राहकहरूलाई नयाँ प्रविधिमा अपग्रेड गर्दा अतिरिक्त लाभ र प्राथमिक पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ । उनले यो कार्यक्रम नेपालका उपभोक्तालाई स्मार्ट प्रविधि, थप मूल्य र सहज अपग्रेड अनुभव उपलब्ध गराउने प्रतिबद्धताको हिस्सा भएको बताए । ग्राहकहरूले samsungcampaigns.com मा गई ‘ह्यान्ड रेजर’ अफर चयन गरी आफ्नो विवरण दर्ता गरेर प्रि–रिजर्भेसन सुनिश्चित गर्न सक्नेछन् । साथै, सामसङका अधिकृत स्टोरहरूमा हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याज, शून्य प्रतिशत डाउन पेमेन्ट र २४ महिनासम्मको किस्ता सुविधासहित नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सक्नेछन् । यसका लागि ग्राहकलाई नागरिकता प्रमाणपत्र मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ ।