विकासन्युज

नौविसे–नागढुंगा सडक अन्तिम चरणमा, ३५ दिनभित्र कालोपत्रे सक्ने

काठमाडौं । धादिङ जिल्लामा निर्माण भइरहेको नौविसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।  नौविसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौविसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो । सोही बमोजिम आयोजनाले धेरै काम सम्पन्न गरी सकेको छ । आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गनुपर्नेछ । अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम शुरु गरिने आयोजनाले जनाएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ ।  आकाशे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाई भएको छ । आकाशे पुल निर्माण लगायत मुख्य कामहरु ३५ दिनभित्र सक्ने आयोजनाको दाबी छ । सडक निर्माण स्थानीय वासिन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभक्त हुँदा निर्माणमा समस्या हुँदै आएको छ ।  अकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई सार्ने काम सकिएकाले पनि कामले  गति लिने विश्वास आयोजनाले लिएको छ ।  सगुन कन्टक्सनका प्रवन्ध निर्देशक शहदेव खड्का निर्वाचनका कारणले निर्माणमा केही ढिलाई हुने बताउँछन् । यसअघि सडकमा रहेका विद्युत पुलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो । २०७९ बाट निर्माण शुरु गरिएको आयोजना तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।   

पर्यटकको संख्या र खर्च दुबै दोब्बर बनाउने लक्ष्य

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख चार राजनीतिक दलसहित विभिन्न दलहरूले जारी गरेको घोषणापत्रमा पर्यटनका मुद्दाहरूलाई अघि सारेका छन् । चार दलले जारी गरेको घोषणापत्रमा धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्राथमिकताका साथ उठाएका छन् । नेपाली कांग्रेसले नेपालमा रहेका धार्मिक र सांस्कृतिक धरोहरहरूलाई विश्व बजारलाई चिनाउन सांस्कृतिक करिडोर बनाउन ‘आस्थाको यात्रा’ नारासहित विभिन्न कार्यक्रम अघि सारेको छ । सांस्कृतिक र आध्यात्मिक अनुसन्धानका लागि काठमाडौं, पोखरा, लुम्बिनी, जनकपुर, मुक्तिनाथ र कर्णालीमा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापना गर्ने कांग्रेसले घोषणा गरेको छ । कांग्रेसको घोषणापत्रमा जनकपुर–मिथिला, लुम्बिनी, काठमाडौं उपत्यका, हिमाली, किरात, कर्णाली तथा सुदूरपश्चिमका संस्कृतिअनुसार क्षेत्रीय सांस्कृतिक राजधानी र पर्यटन सर्किट निर्माण गर्ने उल्लेख गरिएको छ । ‘जनकपुर–लुम्बिनी–काठमाडौं’ आध्यात्मिक र ‘बुद्ध–टु–शिव’ जस्ता डिजिटल करिडोर लगायत मुक्तिनाथ, जनकपुर र लुम्बिनीलाई हवाई र सडक सञ्जालले जोडी एकीकृत पर्यटकीय सर्किट बनाउने काम गर्नेछौं,’ कांग्रेसद्वारा जारी घोषणापत्रमा उल्लेख गरिएको छ ।  ग्रामीण होमस्टे र पदमार्गहरूलाई सहरी र अन्तर्राष्ट्रिय पर्यटकसँग जोडेर स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने, कृषि–पर्यटन, सांस्कृतिक पर्यटन र ग्रामीण पर्यटनको प्रवर्धन गर्दै स्थानीय उत्पादन (हस्तकला, जैविक खाद्यान्न, महजस्ता उत्पादनको) को बिक्रीलाई प्रोत्साहन गर्न स्थानीय सरकार, निजी क्षेत्र र पर्यटन व्यवसायीबीच स्थायी साझेदारी स्थापित गर्ने घोषणा कांग्रेसले गरेको छ । कांग्रेसले पर्यटन पूर्वाधारको व्यवस्थापनको कमजोरी, हवाई भाडादरलाई प्रतिस्पर्धी बनाउन नसकिएको, युरोपेली हवाई सुरक्षा प्रतिवन्धबाट नेपाललाई हटाउन नसक्नु लगायतका पर्यटनसम्बन्धी कमी–कमजोरी सुधार्न र पर्यटनलाई स्थानीय रोजगारी, उद्यमशीलता र समुन्नतिको मूल आधार बनाउने संकल्प गरेको छ । योग, ध्यान, आयुर्वेद र जडीबुटीलाई एकीकृत गरी ‘आरोग्य नेपाल’ अभियानलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सञ्चालन गर्ने योजना अघि सारेको छ । त्यस्तै, कांग्रेसले नेपाललाई विश्वको ‘आध्यात्मिक राजधानी’ का रूपमा ब्रान्डिङ गर्ने योजना अघि सारेको छ । स्वास्थ्य सेवामा आयुर्वेद, प्राकृतिक उपचार र योग–ध्यानलाई जोड्दै प्रमुख पर्यटकीय क्षेत्रहरूमा ‘वेलनेस जोन’ र योग प्रयोगशालाहरू निर्माण गर्ने विषय पनि कांग्रेसले गरेको छ । विदेशी पर्यटकका लागि ‘वेलनेस र डिजिटल नोम्याड भिसा’ को व्यवस्था गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसले नेपाली सभ्यता र संस्कृतिलाई रोजगारी र उद्यमशीलतासँग जोड्न जीवन्त सभ्यता र स्थानीय जीवनशैलीको अनुभव नारासहित विभिन्न कार्यक्रमहरू घोषणा गरेको छ । नेपाली सभ्यता र जीवनशैलीको प्रत्यक्ष अनुभवका लागि सामुदायिक होम स्टे र सहरी घरवास कार्यक्रम प्रवर्धन गर्ने, स्थानीय भेषभूषा, रैथाने खानपान र शिल्पकलालाई पर्यटन प्याकेजका रूपमा ब्रान्डिङ गरिने र प्रमुख पर्यटकीय गन्तव्यहरूमा स्थानीय परम्परा झल्किने सांस्कृतिक भिलेज निर्माण गर्ने घोषणा कांग्रेसले गरेको छ । सामुदायिक वन र सिमसार क्षेत्रलाई स्थानीय सहभागितामा पर्या–पर्यटन केन्द्र बनाउने व्यवस्था गर्छौं । १० वर्षमा ३० लाख पर्यटक भित्र्याउने लक्ष  आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य कांग्रेसले लिएको छ । साथै पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १५–२० प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । यसका लागि नेपालका विमानस्थलहरूलाई यात्रीमैत्री र सुविधासम्पन्न बनाउन आवश्यक स्रोत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल एयरलाइन्सलाई ६ महिनाभित्र व्यवस्थापन सुदृढीकरणमार्फत ‘जनताको ध्वजावाहक’ मा रूपान्तरण गर्ने घोषणा पनि गरिएको छ । पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न तथा विश्वका प्रमुख सहरहरूसँग सिधा उडान सम्पर्क विस्तार गर्न उच्चस्तरीय कुटनीतिक पहल गर्ने प्रतिबद्धता कांग्रेसले गरेको छ । प्रदेशस्तरमा विषयगत पर्यटकीय गन्तव्य विकास गर्दै सम्पदाको जीर्णोद्वारमा मौलिक शैली अनिवार्य गरिने उल्लेख छ । पर्यटन यात्रालाई सहज र झन्झटरहित बनाउन बहुभाषिक डिजिटल पर्यटन प्लेटफर्म लागू गर्ने घोषणा गरिएको छ । सम्पदाबारे जानकारी दिन अन्तरक्रियात्मक एप, फाइभ–जी कनेक्टिभिटी र डिजिटल अर्काइभको व्यवस्था गरिने कांग्रेसले उल्लेख गरेको छ । कला–संस्कृतिको डिजिटल ब्रान्डिङमा युवालाई प्रोत्साहन गर्न विशेष कोष स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । घोषणापत्रमा कांग्रेसले सुरक्षित र किफायती हवाई सेवा प्राथमिकतामा राखिएको छ । विदेशी तथा आन्तरिक यात्रुका लागि हवाई भाडा सुलभ बनाउन विमानस्थल सञ्चालन शुल्क र हवाई इन्धनमा लाग्ने अतिरिक्त शुल्क घटाउने योजना अघि सारिएको छ । एयर ट्राफिक व्यवस्थापन चुस्त बनाउँदै आकाशमा हुने विमानको होल्डिङ समय न्यूनीकरण गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी दुई स्वायत्त निकायमा विभाजन गरी हवाई सुरक्षा सुदृढ गर्ने घोषणा गरिएको छ । साथै नेपाललाई युरोपियएन युनियन (ईयू) को हवाई सुरक्षा ‘सेफ्टी लिस्ट’ बाट हटाउन पहल गर्ने उल्लेख  छ ।  युनेस्को विश्व सम्पदा क्षेत्रमा परम्परागत कला झल्किने ‘इन्टरप्रिटेटिभ भिलेज’ निर्माण गर्ने योजना अघि सारिएको छ । विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत रैथाने खाना, भेषभूषा र संगीतको प्रवर्द्धन गरिनेछ । हस्तकलालाई पर्यटन आपूर्ति शृङ्खलासँग जोड्दै ऐतिहासिक गढी, किल्ला र दरबारहरूको संरक्षण गरिने उल्लेख छ । पर्यटन क्षेत्रमा आबद्ध महिला तथा युवा उद्यमीलाई विशेष कर छुट र सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । सार्वजनिक–निजी–सामुदायिक साझेदारी मोडेलमार्फत पर्यटन विकास अघि बढाइने र मर्यादित रोजगारी तथा समान ज्यालाको नीति सुनिश्चित गरिने प्रतिबद्धता पनि गरिएको कांग्रेसले गरेको छ । उच्च हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनसँगै हिमाल संरक्षण र जलवायु अनुकूलतालाई प्राथमिकतामा राख्दै ‘सफा हिमाल, सुरक्षित आरोहण’ अभियान सञ्चालन गरिने कांग्रेसले घोषणा गरेको छ । त्यस्तै, पर्वतारोहण रोयल्टीको ३० प्रतिशत रकम हिमताल संरक्षण र स्थानीय जलवायु अनुकूलनमा खर्च गरिने छ । आरोहीका लागि व्यक्तिगत पूर्वानुमान सेवा उपलब्ध गराइने उल्लेख छ । कांग्रेसले पर्यावरणमैत्री रिसोर्ट स्थापना गर्न सहुलियतपूर्ण ऋण तथा विद्युतीय महसुलमा छुटको व्यवस्था गरिने घोषणा गरेको छ । त्यस्तै, नेपाललाई ‘कार्बन–नेगेटिभ’ पदयात्रा गन्तव्यका रूपमा ब्रान्डिङ गरिने र हिमालमा फोहोर फाल्नेलाई कडा जरिवाना तथा सरसफाइमा योगदान गर्नेलाई विशेष पुरस्कारको व्यवस्था गरिने घोषणा गरिएको छ । रैथाने खानपानको प्रवर्द्धन तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारीकरणका लागि ‘नेपाल गौरमेन्ट गाइड’ तयार गरी सातै प्रदेशका मौलिक परिकार, सामग्री र गुणस्तर समेटेर नेपाली स्वादको अन्तर्राष्ट्रिय ब्रान्डिङ गरिनेछ । अर्गानिक कृषि र स्थानीय पेय पदार्थलाई गुणस्तर प्रमाणीकरणसहित पर्यटन आपूर्ति शृङ्खलासँग जोडिनेछ । पर्यटकीय होटलहरूमा स्थानीय रैथाने मेनु प्रोत्साहित गरिने र नेपाली मसला तथा जडीबुटीयुक्त खानालाई ‘मेडिसिनल फुड’ का रूपमा प्रचार गरिने उल्लेख गरिएको छ । नेकपा एमालेको घोषणापत्र : ५ वर्षमा दोब्बर पर्यटक  नेकपा एमालेले पाँच वर्षमा पर्यटक आगमन दोब्बर पुर्‍याउने घोषणा गरेको छ । पर्यटनको पूर्वाधार विकास, बजार प्रवद्र्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्यको विकास गरेर पाँच वर्षमा पर्यटक आगमन दोब्बर बनाउने एमालेले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । एमालेले भिसा तथा आन्तरिक उडान भाडादरमा पुनरावलोकन गरी ‘गन्तव्य नेपाल’ लाई थप आकर्षक बनाउने योजना अघि सारेको छ । एमालेद्वारा जारी घोषणा पत्रमा भनिएको छ, ‘लक्जरी रिसोर्ट, इकोलज, वेलनेस सेन्टरको निर्माण र सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नेछौं । सामाजिक सञ्जाल, अन्तर्राष्ट्रिय ट्राभल ब्लगर, इन्फ्लुएन्सर, वृत्तचित्र र चलचित्रमार्फत नेपालका विविध पर्यटन गन्तव्य, क्षेत्र र अनुभवहरूको आक्रामक प्रचार–प्रसार गर्नुका साथै यस कार्यमा नेपाली डायस्पोराको समेत सक्रिय सहभागिता सुनिश्चित गर्नेछौं ।’  ‘पर्यटकको सुरक्षा पहिलो प्राथमिकता’ र ‘हृदयस्पर्शी, अविस्मरणीय नेपाली सत्कार’ लाई मूल मन्त्र बनाएर पर्यटन सेवाको गुणस्तर वृद्धि गर्दै पर्यटकको बसाइँ लम्ब्याउने रणनीति एमालेले अघि सारेको छ । त्यस्तै, एमालेले नेपाललाई धार्मिक र सांस्कृतिक विशेषता, विशिष्ट संस्कृति र असाधारण साहसिक पर्यटनको अनुपम अनुभवको अवसर दिने विशिष्ट पर्यटन गन्तव्यको रूपमा विश्व पर्यटन बजारमा ब्राण्डिङ गर्ने उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय उडानलाई सुविधाजनक बनाउन अन्तर्राष्ट्रिय उडान सेवा प्रदायकहरूसँग सहकार्य गनेदेखि लिएर आन्तरिक हवाई सेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने घोषणा एमालेले गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिबद्दता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पनि प्रतिबद्दता पत्रमा धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्राथमिकताका साथ अघि सारेको छ । पशुपति, लुम्बिनी, जनकपुर, स्वर्गद्वारी, हलेसी, मुक्तिनाथ, उग्रतारा, ठाकुरद्वारा, बराहक्षेत्र, रिडी, देवघाट, बागलुङ कालिका, पर्वतको गुप्तेश्वर, सेतिवेणी शिला, भिमेश्वर, कालिञ्चोक, हलेसी, निगलासैनीलगायत ऐतिहासिक धरोहरको संरक्षण तथा प्रवर्धन गरिने घोषणापत्रमा उल्लेख छ । खप्तड, बडिमालिका, पाथीभरा लगायतका हरेक प्रदेशका विशिष्ट पर्यटकीय क्षेत्रको विकासका लागि विशेष पहल गरिने पनि नेकपाले जनाएको छ । त्यस्तै, पर्यटन तथा सेवा क्षेत्रको गुणस्तरीय विकास गरिने नेकपाले घोषणापत्रमा उल्लेख गरेको छ । डिजिटल टुरिजम ड्यासबोर्डमार्फत गन्तव्य, मार्ग, सेवाहरू र स्थानीय व्यवसायको तथ्यांक उपलब्ध गराइने र पर्यटन क्षेत्रलाई स्मार्ट, डेटा ड्राइभन, योजना आधारित बनाई व्यवस्थित विकास गरिने घोषणा गरेको छ ।  नेकपाले पर्यटन पूर्वाधार अन्तर्गत मुख्य स्थलमा सडक, यातायात, स्वास्थ्य, सुरक्षा र डिजिटल सेवाहरू उपलब्ध गराइने,  ट्रेकिङ मार्गमा सुरक्षित मार्ग चिन्ह र सूचना प्रणाली लागू गरिने उल्लेख गरेको छ । त्यस्तै, एयरपोर्ट र विमान सेवा सुधार नेकपाको प्राथमिकतामा रहेको छ । नेपाल एयरलाइन्स र निजी एयरलाइन्सको प्राविधिक सुधार गरिनुका साथै भैरहवा र पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान विस्तार गरिने योजना नेकपाको छ । नेकपाले ईको–टुरिज्म, साहसिक पर्यटन, स्वास्थ्य/वेलनेस पर्यटन, जडीबुटी/हर्बल पर्यटन प्रवर्द्धन गरिने घोषणा गरेको छ । १५ भन्दा बढी हिल स्टेसन/रिसोर्ट हब-भारतीय सीमा नजिक मनोरञ्जन, वेडिङ हब र ईको–टुरिज्म क्षेत्र बनाइने प्रतिबद्धता अघि सारेको छ । कम चिनिएका हिमाली क्षेत्र (९७ पिक) खोलेर आरोहण प्रवर्द्धन गरिने पनि कांग्रेसले घोषणा गरेको छ ।  रास्वपाको वाचा : पर्यटक र प्रतिव्यक्ति खर्च दोब्बर  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्रमार्फत पर्यटन, उड्डयन र सार्वजनिक यातायात क्षेत्रलाई व्यापक सुधार र संरचनात्मक पुनर्गठन गर्ने घोषणा गरेको छ । पाँच वर्षभित्र नेपाल भित्रिने पर्यटक संख्या र उनीहरूको प्रतिव्यक्ति खर्च दोब्बर बनाउने लक्ष्यसहित पार्टीले धार्मिक-सांस्कृतिक पर्यटनदेखि हवाई सुरक्षासम्मका विषयलाई प्राथमिकतामा राखेको छ । रास्वपाले पशुपतिनाथ, लुम्बिनी, काठमाडौं उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मको हिन्दु–बौद्ध महिमा तथा जनकपुरलाई धार्मिक-सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्न विशेष पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ । साथै सुदूरपश्चिम, कर्णाली, मधेस र कोशी प्रदेशका अन्तर्राष्ट्रिय ब्रान्डिङ नपुगेका गन्तव्यहरूको प्रवर्द्धनमा जोड दिइने बताइएको छ । नेपाल पर्यटन बोर्डलाई पुनर्गठित गरी नयाँ र सिर्जनात्मक मार्केटिङ रणनीति अपनाउने, स्थानीय समुदायका उत्पादनलाई ‘कथा’मार्फत बजारीकरण गर्ने तथा अनुभव संकलन र प्रसारणलाई प्राथमिकता दिने योजना अघि सारिएको छ । नेपाललाई विश्वकै प्रमुख पर्वतारोहण प्रशिक्षण केन्द्र बनाउने लक्ष्यसहित ‘माउन्टेन स्कुल’ को नीतिगत ढाँचा तयार गरिने र उच्च हिमाली उद्धार तथा चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय एकेडेमी सञ्चालन गरिने उल्लेख छ । नेपाल नागरिक उड्डयन प्राधिकरणभित्र नियामकीय र सेवा प्रवाह गर्ने निकाय अलग गरिने, अन्तर्राष्ट्रिय विज्ञ टोलीमार्फत हवाई सुरक्षा अडिट गराई नेपाललाई अन्तर्राष्ट्रिय कालोसूचीबाट हटाउन पहल गरिने वाचा रास्वापाले गरेको छ । नेपाल वायुसेवा निगमलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै खुला प्रतिस्पर्धाबाट छनोट गरिएको व्यावसायिक टोलीमार्फत सञ्चालन गर्ने, सरकारको ५१ प्रतिशत स्वामित्व कायम राखी निजी क्षेत्रको सहभागिता भित्र्याउने र अन्ततः धितोपत्र बजारमा सूचीकृत गर्ने रणनीति पनि सार्वजनिक गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन शुल्क सहुलियत प्रभावकारी बनाउने, अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने तथा भारतसँग प्रवेश–निर्गमन र आइएलएस सञ्चालनका लागि कुटनीतिक पहल गरिने जनाइएको छ । त्यस्तै, घोषणापत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि नयाँ अन्तर्राष्ट्रिय टर्मिनल निर्माण प्रक्रिया अघि बढाइने र दीर्घकालीन अध्ययनका आधारमा निजगढ वा वैकल्पिक स्थानमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने उल्लेख छ ।  एकद्वार डिजिटल पर्यटन प्रणालीमार्फत अध्यागमन, ट्रेकिङ, राष्ट्रिय निकुञ्ज र सम्पदा स्थलका अनुमति तथा शुल्क प्रणालीलाई एकीकृत गरिने योजना अघि सारेको छ । त्यस्तै रास्वपाले पर्यटनलाई विविधीकरण गर्दै प्रकृति, संस्कृति र समुदायलाई जोड्ने ‘इकोसिस्टम’ निर्माण गर्ने तथा सडक निर्माणले प्रभावित पदमार्गको विकल्प विकास गर्न बजेट छुट्याउने घोषणा गरेको छ ।

होटलमा अपहरण गरेर राख्ने स्वास्थ्य सहायकसहित तीन जना पक्राउ

काठमाडौं । अपहरण गरेर होटलमा राखी घाइते बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । टेकुस्थित प्यालेस होटलमा पूर्णबहादुर बोहरालाई बन्धक बनाइ कुटपिट गरी घाइते बनाउने फपेन्द्र न्यौपाने, धनराज बस्नेत र शिवबहादुर घर्तीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले पक्राउ गरेको हो । सोमबार राति ९ बजे बन्धकमा परेका पुर्णबहादुर बोहरालाई प्रहरीले उद्धार गरेको थियो । अपहरणमा संलग्न होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले बताए । प्रहरीका अनुसार अपहरणमा संलग्न सुर्खेत वीरेन्द्रनगरका २६ वर्षीय न्यौपाने टेकु अस्पतालका स्वास्थ्य सहायकसमेत हुन् । जुम्लाका ३६ वर्षीय बस्नेत कृषिमा आवद्ध र होटल सञ्चालक ४२ वर्षीय घर्ती कास्कीका माछापुच्छ्रेका हुन् । उनीहरूलाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कार्यालयले बताएको छ ।

कृषि विकास बैंकले साम्बालाई गर्यो १० लाख रुपैयाँ सहयोग

काठमाडौं । कृषि विकास बैंकले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई घुँडाको जटिल शल्यक्रिया तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । फुटबल खेल्ने क्रममा लागेको गम्भीर चोटपछि शल्यक्रिया र लामो पुनःस्थापना प्रक्रियाका लागि साम्बाले सार्वजनिक रूपमा आर्थिक सहयोगको अपिल गरेकी थिइन् । सोही अपिलअनुसार बैंकले मंगलबार सहयोगस्वरूप उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । बैंकका अनुसार ब्रान्ड एम्बेसडरसमेत रहेकी साम्बाको उपचार तथा पुनःस्थापनामा उक्त सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । साथै, साम्बाको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै चाँडै नै नेपाली जर्सीमा मैदानमा फर्किएको देख्न पाइने अपेक्षा व्यक्त गरिएको छ । कृषि विकास बैंकले खेलकुद क्षेत्रको प्रवर्द्धन र राष्ट्रिय खेलाडीहरूको मनोबल अभिवृद्धिमा निरन्तर साथ दिँदै आएको उल्लेख गरेको छ ।  

भिभो वाई ३१डि सार्वजनिक, मूल्य २९ हजार ४९९ रुपैयाँबाट सुरु

काठमाडौं । भिभोले अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन ‘भिभो वाई ३१डि’ नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ब्याट्री, भरपर्दो टिकाउपन र सहज प्रदर्शनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो स्मार्टफोनले दैनिक प्रयोगमा शक्तिशाली र स्थिर अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यस फोनको प्रमुख विशेषता ७२०० एमएएच क्षमताको ‘ब्लुभोल्ट ब्याट्री’ हो, जसलाई ४४ वाट ‘फ्ल्यास चार्ज’ प्रविधिले सहयोग गरेको छ । कम्पनीका अनुसार २५ आयामी सुरक्षा संरक्षण र ६ वर्षे ब्याट्री स्वास्थ्य सुविधासहितको यस ब्याट्रीले १६०० पटक चार्ज गरिसकेपछि पनि कम्तीमा ८० प्रतिशत क्षमता कायम राख्नेछ । डिभाइसलाई वास्तविक जीवनका चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको छ । यसमा आईपी ६८ र आईपी ६९ धुलो तथा पानी प्रतिरोध क्षमता, एसजीएस ५–स्टार ड्रप रेसिस्टेन्स प्रमाणीकरण, मिलिट्री–ग्रेड ड्रप प्रोटेक्सन तथा टाइटन ग्लास जस्ता सुरक्षात्मक विशेषता समावेश छन् । ‘वन–ट्याप वाटर एन्ड डस्ट इजेक्सन’ र ‘वेट–ह्यान्ड टच’ जस्ता सुविधाले भिजेको हातले समेत सहज सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ । स्मार्टफोन स्न्यापड्रागन ६एस जेन २ (फोरजी) प्रोसेसरद्वारा सञ्चालित छ, जसले कम ऊर्जा खपतमा पनि स्थिर र कुशल प्रदर्शन दिने बताइएको छ । ओरिजिनओएस ६ मा आधारित यस फोनमा ‘ओरिजिन आइल्याण्ड’, एआई–सञ्चालित ‘एआई सुपरलिंक’ र ‘एआई क्याप्सन’ जस्ता सुविधा समावेश छन्, जसले उत्पादकत्व, सिर्जनात्मकता र कनेक्टिभिटीलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । भिभो वाई ३१डि ‘फेदर गोल्ड’ र ‘स्टारलाइट ग्रे’ गरी दुई रंगमा उपलब्ध हुनेछ । यो स्मार्टफोन दाराज तथा नेपालभरका आधिकारिक खुद्रा पसलहरूमा पाइनेछ । यसको मूल्य ६ जीबी + १२८ जीबी भेरियन्टका लागि २९ हजार ४९९ रुपैयाँ, ८ जीबी + १२८ जीबी भेरियन्टका लागि ३३ हजार ९९९ रुपैयाँ र ८ जीबी + २५६ जीबी भेरियन्टका लागि ३८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

भायानेटले साम्बाको उपचारका लागि ५ लाख सहयोग गर्ने

काठमाडौं । नेपाली महिला फुटबलकी अग्रणी खेलाडी तथा देशको गौरव सावित्रा भण्डारी (साम्बा) यतिबेला आफ्नो खेल जीवनको कठिन मोडमा छिन् । मैदानमा देशको झण्डा उँचो राख्दै उत्कृष्ट प्रदर्शन गर्दै आएकी साम्बा घुँडाको गम्भीर चोटका कारण हाल मैदान बाहिर छिन् । यस चुनौतीपूर्ण घडीमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशनले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचार तथा पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साम्बाको शल्यक्रिया तथा त्यसपछिको करिब आठ महिना लामो पुनर्स्थापना (रिह्याब) प्रक्रियाका लागि पर्याप्त स्रोत आवश्यक पर्ने जनाइएको छ । ‘थाकेको हो, हारेको छैन’ भन्ने साम्बाको अदम्य आत्मबललाई सम्मान गर्दै कम्पनीले उनलाई पुनः मैदानमा फर्काउन सानो योगदान स्वरूप उक्त सहयोग घोषणा गरेको जनाएको छ । साम्बाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भायानेटले विज्ञप्तिमा उल्लेख गरेको छ, 'देशको गहना साम्बाको रिकभरीको हरेक पाइलामा हामी साथमै रहनेछौँ । उहाँ चाँडै निको भएर मैदानमा फर्कनुहुनेछ र देशलाई पुनः गौरवान्वित बनाउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।' कम्पनीले ब्रान्ड एम्बेसडरप्रति देखाएको तत्परताले कठिन परिस्थितिमा पनि प्रयोगकर्ता र सरोकारवालासँग अटुट सम्बन्ध तथा भरपर्दो कनेक्सन कायम राख्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जनाएको छ ।

सुन्तला किलोको १७० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ७० र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ६०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ५५ कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ८०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ४०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २५०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २६०, अङ्गुर (कालो) प्रतिकिलो रु ४००, सुन्तला (भारतीय) प्रतिकिलो रु १७०, तरबुजा हरियो प्रतिकिलो रु ९०, मौसम प्रतिकिलो रु १३०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १४५, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ७०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु १००, रुख कटहर प्रतिकिलो रु ११०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु १८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २६० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १००, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो प्रतिकिलो रु १८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १४०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ९००, भेडे खुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ४०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १५०, छ्यापी हरियो प्रतिकिलो रु १२०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ । 

मर्स्याङ्दी जलविद्युतको मर्मत सम्भार धमाधम, फागुन २२ गतेदेखि सुचारु गर्ने

काठमाडौं । तनहुँको आँबुखैरेनीमा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँध, सुरुङ, पावरहाउस लगायतका संरचना मर्मत सम्भार कार्य धमाधम भइरहेको छ ।  ६९ मेगावाट क्षमताको सो जलविद्युत केन्द्रबाट अहिले विद्युत् उत्पादन ठप्प भएको सो केन्द्रले जनाएको छ । गत फागुन २ गतेदेखि २२ दिनसम्मका लागि विद्युत् उत्पादन बन्द गरी मर्मत कार्य अघि बढाइएको केन्द्रका कर्मचारी शैलेन्द्र भट्टले जानकारी दिए ।  कालीगण्डकी लगायतका विभिन्न आयोजनाबाट मिस्त्री, मजदुर झिकाएर मर्मत कार्य थालिएको हो । उनले भने, ‘बाँधमा बालुवा थुप्रिएका कारण सफा गर्न र गेट भत्किने अवस्थामा पुगिसकेकाले निर्माण कार्य थालिएको हो ।’ सुरुङ र अन्य संरचनाहरूको मर्मत सम्भार गर्नुपर्ने भएको थियो । उनले भने, ‘कार्यालयबाट पूर्व सूचना दिएर आउँदो २२ गतेसम्म उत्पादन बन्द गरिएको हो ।’  फागुन २२ गतेदेखि सो आयोजनाको विद्युत् उत्पादन सुचारु गर्ने योजना रहेको सो केन्द्रले जनाएको छ । वि.सं २०४२ देखि सञ्चालन गरिएको मर्स्याङ्दी जलविद्युत आयोजनाको तीन टर्वाइनबाट ६९ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।