विकासन्युज

आगामी बजेटको कसरत सुरु : अर्थमन्त्री खनालले गरे उच्चस्तरीय राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ ।  बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव संकलन गर्ने उद्देश्यले गत माघ २८ गतेको मन्त्रिस्तरीय निर्णयबाट राजस्व परामर्श समिति गठन गरिएको छ ।  अर्थ मन्त्रालयका सचिव (राजस्व) को संयोजकत्वमा समिति गठन भई कार्य प्रारम्भ गरिसकेको प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए । समितिमा सरकार, केन्द्रीय बैंक, प्राज्ञिक क्षेत्र तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूको सहभागिता रहेको छ।  समितिको सदस्यमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख वा तोकिएका वरिष्ठ प्राध्यापक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, अर्थ मन्त्रालयबाट मनोनित दुई जना विज्ञ (अर्थविज्ञ र करविज्ञ) रहेका छन् । यस्तै, निजी क्षेत्रका छाता सङ्गठनबाट पनि प्रतिनिधित्व गरिएको छ । समितिमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल आर्थिक सङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग व्यापार महासङ्घ तथा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष वा तोकिएका वरिष्ठ पदाधिकारी सदस्यका रूपमा रहेका छन् । अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका सहसचिवलाई सदस्य–सचिव तोकिएको छ । राजस्व परामर्श समितिलाई आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सर्भिस ट्याक्स, ई–कमर्समा लाग्ने कर तथा आर्थिक ऐनबमोजिमका अन्य आन्तरिक करसम्बन्धी नीतिगत तथा कानुनी सुधारका विषयमा सुझाव दिन कार्यादेश दिइएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।  करका दर पुनरावलोकन, प्रक्रिया सरलीकरण, कर प्रणाली सुधार तथा राजस्व प्रशासन र सङ्गठन संरचनामा आवश्यक सुधारबारे सिफारिस गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको उनले बताए । यसैगरी, औद्योगिक प्रवर्द्धन तथा संरक्षण, आयात–निर्यात, सेवा व्यापार, लगानी प्रवर्द्धन, आपूर्ति व्यवस्थापन तथा कर तथा गैरकर प्रोत्साहनका विषयमा नीतिगत र कानुनी सुधारका सुझाव पनि समितिले तयार गर्नेछ । भन्सार दर पुनरावलोकन, आन्तरिक उत्पादन संरक्षणका उपाय, मूल्याङ्कन प्रणाली सुधार, व्यापार सहजीकरण, सीमा व्यवस्थापन तथा भन्सार प्रशासन सुधारसम्बन्धी विषय पनि कार्यक्षेत्रभित्र समेटिएका छन् । राजस्व चुहावट नियन्त्रण, चोरी निकासी–पैठारी नियन्त्रण, विदेशी विनिमय नियमन, आर्थिक अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण अनुसन्धान तथा त्यसका लागि आवश्यक कानुनी र सङ्गठनात्मक सुधारका विषयमा समितिले अध्ययन गरी सुझाव दिनेछ । कृषि, ऊर्जा, पर्यटन, नागरिक उड्डयन तथा प्राकृतिक स्रोत व्यवस्थापन क्षेत्रका राजस्व तथा नीतिगत सुधारका विषय पनि समावेश गरिएका छन् । बैंक, वित्तीय संस्था, बिमा, रेमिटेन्स, पुँजी बजार, सहकारी र घरजग्गा कारोबारमा देखिएका समस्या र तिनको समाधान, राजस्व परिचालनसँग सम्बन्धित विषयमा पनि समितिले सिफारिस गर्नेछ । गैरकर राजस्वका नयाँ क्षेत्र पहिचान, दर निर्धारण तथा पुनरावलोकन, सङ्घ–प्रदेश–स्थानीय तहबीचको कर दोहोरोपनाको समस्या समाधान, अन्तरसरकारी राजस्व व्यवस्थापन र राजस्व बाँडफाँट सुधारका विषयमा सुझाव दिने कार्यादेश छ । समितिले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय अर्थतन्त्रको तुलनात्मक विश्लेषण गर्दै आर्थिक विकाससँग सम्बन्धित विषयमा सुझाव दिनेछ । करको दायरा विस्तार, नयाँ कर लागू वा खारेज गर्ने विषयमा अध्ययन–अनुसन्धान गरी सम्बन्धित क्षेत्रका विज्ञ, उद्योगी तथा व्यवसायीसँग छलफल गरेर सिफारिस गर्ने व्यवस्था गरिएको छ । समितिको प्रभावकारी कामका लागि विभिन्न विषयगत नौ वटा उपसमिति गठन गरिएको पनि अर्थ मन्त्रालयले जनाएको छ । आन्तरिक राजस्व उपसमितिले आयकर, भ्याट, अन्तःशुल्क, डिजिटल करलगायत आन्तरिक करसम्बन्धी सुधारका विषयमा काम गर्नेछ । भन्सार उपसमितिले भन्सार दर, मूल्याङ्कन प्रणाली, व्यापार सहजीकरण तथा सीमा व्यवस्थापनमा केन्द्रित भई सुझाव तयार पार्नेछ । राजस्व चुहावट नियन्त्रण तथा अनुसन्धान उपसमितिले चुहावटका प्रवृत्ति विश्लेषण, नियन्त्रणका उपाय तथा विदेशी विनिमय र आर्थिक अपराध नियन्त्रणका विषय सम्हाल्नेछ । उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवद्र्धन उपसमितिले औद्योगिक संरक्षण, व्यापार नीतिगत सुधार तथा प्रोत्साहनका विषयमा सिफारिस गर्नेछ । यस्तै, कृषि, ऊर्जा तथा पर्यटन क्षेत्र उपसमितिले कृषि व्यवसायीकरण, विद्युत् उत्पादन, पर्यटन प्रवर्द्धन तथा प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी सुधारका विषय अध्ययन गर्नेछ । बैंक, वित्तीय संस्था, बिमा, सहकारी तथा पुँजी बजार उपसमितिले वित्तीय क्षेत्रका समस्या र राजस्व परिचालनबीचको सम्बन्धबारे सुझाव दिनेछ । गैरकर तथा अन्तरसरकारी राजस्व व्यवस्थापन उपसमितिले गैरकर राजस्वका स्रोत, दर तथा सङ्घीय संरचनामा देखिएको कर दोहोरोपनाको समाधानबारे काम गर्नेछ । समष्टिगत आर्थिक उपसमितिले आर्थिक परिसूचक, राजस्व सम्भाव्यता र प्रक्षेपण विश्लेषण गर्नेछ भने सम्पत्ति शुद्धीकरण निवारण तथा अनुसन्धान उपसमितिले एफएटीएफको ग्रे–लिस्टबाट बाहिरिने रणनीतिसहित जोखिम विश्लेषण र सुधारका उपाय सिफारिस गर्नेछ । आगामी आर्थिक वर्षको बजेटमार्फत अवलम्बन गरिने कर नीतिका सन्दर्भमा सम्बन्धित सरकारी निकाय, निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्था, प्राज्ञिक क्षेत्र, सरोकारवाला निकाय तथा सर्वसाधारणबाट सुझाव आह्वान गरिएको पनि अर्थ मन्त्रालयले जनाएको छ ।  सुझाव सङ्कलनपछि उपसमितिले आगामी चैत मसान्तसम्म मुख्य समितिसमक्ष आफ्नो प्रतिवेदन पेस गर्नेछन् । त्यसपछि समितिले समग्र सिफारिस समेटिएको अन्तिम प्रतिवेदन २०८३ वैशाख मसान्तभित्र अर्थमन्त्रीसमक्ष बुझाउने कार्यतालिका तय गरिएको छ ।

काठमाडौं जिल्ला प्रशासनले भन्यो :  लाइसेन्स लिएर घरमा राखेको हतियार बुझाउनु

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले लाइसेन्स लिएर घरमा राखिएको हतियार बुझाउन आग्रह गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षा प्रयोजनका लागि हतियार बुझाउन अनुरोध गरेको हो । ‘व्यक्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियारहरू नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा लगत रहने गरी बुझाउनु । माघ ६ गतेको सार्वजनिक सूचनाबाट सरोकारवाला सबैमा अनुरोध गरिएको छ । अझैसम्म पनि केही व्यक्तिहरुबाट त्यस्ता प्रकृतिका हातहतियार बुझाउन बाँकी भएको देखिएकाले मिति १८ गतेभित्र हातहतियार बुझाउनुहुन पुनः यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ ।  

चितवनमा पृथक पोशाकमा देखिए बालेन, ‘देश हेटौंडा सिमेन्ट उद्योगजस्तै भयो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ले देश हेटौंडा सिमेन्ट उद्योगजस्तै भएको बताएका छन् । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी सभामा बोल्दै उनले आफू देशका विभिन्न ५० वटा देशमा पुगेको बताउँदै स्रोतसाधन भएको तर चल्न नसकेको हेटौंडा उद्योगजस्तै देश बनेको बताए ।  उनले किसानले बजार नपाएको गुनासो वर्सेनि आउँदै गरेको बताउँदै अब रास्वपाको सरकारले त्यसलाई रोक्ने बताए । नेपालमै उत्पादन भएको सस्तो बिजुली प्रयोग गरेर किसानले कोल्ड स्टोरेजमा भण्डारण गरेर जतिबेला पनि उपभोग गर्न सक्ने वातावरण बनाउने उनले घोषणा गरे ।  उनले पर्यटनको हबका रुपमा चितवनलाई बनाउन सकिने बताउँदै बर्खायामको बेला खेर गइरहेको बिलुजीलाई पनि स्टोर गरेर ब्याट्री बनाउने पार्टी रास्वपा रहेको बताए ।  चितवनको क्रममा देशभरका ५० जिल्ला गएको बताउँदै एउटा जिल्लामा रहेको समस्या अर्को जिल्लाले समाधान रहेको बताए । उनले देश हेटौडा उद्योगजस्तो भएको बताए ।  सभापति नै चितवनबाट उम्मेदवार बनेको बताउँदै चितवनका जनताले समस्या हुने बताए ।  चितवनको सभामा उनी पृथक पोशाकमा देखिएका छन् । यसअघि कालो कोट, कालो पेन्टर कालो चस्मामा देखिने उनी शुक्रबार ढाकाको ढाकाको भोटोसहित सेता कमिजमा देखिएका छन् ।   

भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि पूर्वमुख्यमन्त्री केजरीवालले भने- मैले जीवनभर इमानदारी मात्र कमाएको छु

काठमाडौं । भारतको राजधानी दिल्लीको राउज एवेन्यू अदालतले मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मामिलामा दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई सफाइ दिएको छ । यसका साथै अदालतले आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि आरोपमुक्त गरेको छ । अदालतको यो फैसला केन्द्रीय अनुसन्धान एजेन्सी (सीबीआई) द्वारा दायर गरिएको मुद्दामा आएको हो । ‘लाइभ ल’ का अनुसार फैसला सुनाउँदै अदालतले सीबीआईको अनुसन्धानमा रहेका कमजोरीहरूमाथि कडा टिप्पणी समेत गरेको छ । अदालतले भनेको छ कि हजारौं पानाको चार्जसिटमा त्यस्ता सामग्रीहरू छन् जसले कुनै पनि साक्षीको बयानलाई समर्थन गर्दैनन् । विशेष न्यायाधीश जितेन्द्र सिंहले चार्जसिटमा ‘भ्रामक दाबीहरू’ गरिएको बताए । अदालतले सिसोदियाविरुद्ध प्रिमा फेसी मुद्दा स्थापित गर्न सीबीआई असफल भएको उल्लेख गर्‍यो । यसका साथै न्यायाधीशले केजरीवाललाई कुनै ठोस प्रमाणबिना नै यस मामिलामा मुछिएको पनि बताए । राउज एवेन्यू अदालतले दुवै नेतासहित यस मामिलाका सबै २३ अभियुक्तहरूलाई आरोपमुक्त गरिदिएको छ । अदालतको फैसलामा अरविन्द केजरीवालले प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनी भावुक  देखिएका थिए । केजरीवालले भने, ‘विगत केही वर्षदेखि भारतीय जनता पार्टीले जुन किसिमले हामीमाथि आरोप लगाइरहेको थियो, आज अदालतले ती सबै आरोप खारेज गरिदियो र जति पनि अभियुक्त थिए, सबैलाई आरोपमुक्त गरिदियो ।’ दिल्लीका पूर्वमुख्यमन्त्रीले आफूलाई भारतीय न्याय प्रणालीमाथि विश्वास रहेको बताए । उनले भने, ‘सत्यको जित भएको छ ।’ यसबाहेक केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहमाथि पनि निशाना साध्दै पूरा मामिलालाई ‘फर्जी’ (झुटा) बताएका छन् । उनले भने, ‘मोदीजी र अमित शाहजीले मिलेर आजाद भारतको सबैभन्दा ठूलो राजनीतिक षड्यन्त्र रचे । आम आदमी पार्टीलाई सिध्याउनका लागि पार्टीका पाँच सबैभन्दा ठूला नेताहरूलाई जेलमा हाले, यहाँसम्म कि बहालवाला मुख्यमन्त्रीलाई समेत जेल हालियो ।’ यस क्रममा केजरीवाल भावुक हुँदै भने, ‘केजरीवाल भ्रष्ट छैन । मैले आफ्नो जीवनमा केवल इमानदारी कमाएको छु । उनीहरूले झुटा मुद्दा लगाए र आज त्यो प्रमाणित भयो ।’ अदालतको फैसलामा अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले पनि प्रतिक्रिया दिएकी छन्। उनले एक्सु (पूर्व ट्विटर) मा लेखेकी छन्, ‘सत्यको सधैँ जित हुन्छ ।’  

सबैलाई मिलाएर लैजाने तागत कांग्रेससँग मात्र छ, घर-घर पुगेर रूखमा भोट माग्नूस् : गगन थापा

बुटवल । नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको बताएका छन् ।  शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन, राष्ट्रिय मुद्दामा अन्य दललाई समेत मिलाएर अगाडि बढ्ने तागत रहेको बताएका हुन् ।  उनले यही कारणले पनि कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको बताए । उनले उम्मेदवारसँगै कांग्रेस नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर घरमा गएर रुखमा मतदान गरेर कांग्रेसलाई जिता‍औं भनेर आग्रह गर्नूहोस् ।’ सभापति थापाले अगाडि भने, ‘किसानका खेतमा मल पुर्याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ । सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नूहोस् ।’   यो क्षेत्रका उम्मेदवारका लागि आफूले मेहनत गरेर केही नहुने भन्दै सभापति थापाले भने, ‘यस क्षेत्रका उम्मेदवार सबैलाई आ–आफ्नो क्षेत्रमा दिनरात मेहनत गरेका छन् । उम्मेदवारले मेहनत गरेर म गगन थापा भएर तपाईंसँग भोट माग्न आग्रह गरेको छ । पाँच वर्षलाई रूखलाई भोट दिनूहोस् देश हामी बनाउँछौं ।’ उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरे ।  सभापति थापाले भने, ‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिनमात्र बाँकी छ । नअलमलिनूस् कोही पनि साथीहरू । घर–घरमा जानूस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नूस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नूस् ।’ सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता –कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे ।  ‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नूस् । तपाईंको हात चलाउनूस्, गएर ढोग्नूस्,’ उनले भने, ‘तपाईंको मुख चलाउनूस्, गएर संवाद चलाउनूस् । नौजवानहरूको कुरा सुन्नूस् ।’ थापाले नवयुवासँग कुरा गर्दा सुरुमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे । कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गरे ।  ‘हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ । यो कांग्रेसले एउटा मौका पाउनुपर्छ,’ उनले भने, ‘यो कांग्रेसले ५ वर्षभित्र परिणाम दिने संकल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएको छ । यो कांग्रेसले मौका पाउनुपर्छ ।’ सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि आग्रह गरेका छन् ।  ‘हामी उत्तेजनाको राजनीतिमा धेरै नबहकिऊँ । यो टेलिफोनले धेरैलाई झुक्याएको छ,’ उनले भने, ‘बेलुका घर गएर हेर्दाखेरि तपाईंले हेरेको युट्युवले, तपाईंले हेरेको फेसबुकले धेरैलाई झुक्याएको छ । धेरै भ्रममा नपरौं ।’ सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए । ‘संसारभर छरिएर रहेका नेपालीलाई पनि आह्वान गर्छौं– तपाईंहरूको सहयोग चाहिएको छ । तपाई–हामी मिलेर एउटा तागत बनाउनुपर्ने छ,’ उनले भने ।

काठमाडौंमा १८ गतेदेखि रात्रिकालीन व्यवसाय ९ बजेसम्म सञ्चालन हुने

काठमाडौं । काठमाडौंमा रात्रिकालीन व्यवसाय राति ९ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ ।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर १८ गतेदेखि अर्को निर्णय नभएसम्म ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको हो ।  १८ गतेदेखि ९ बजे पछाडि रात्रिकालीन व्यवसाय बन्द गर्नुपर्ने सीडीओ कार्यालयले जनाएको छ । अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।  

निक्षेप तथा कर्जा सुरक्षण कोष र यूएनडीपीको सहकार्यमा कृषि कर्जा सुरक्षण सम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त आयोजनामा बिहीबार ललितपुरस्थित होटल स्क्वायरमा ‘एकल कृषि कर्जा सुरक्षण योजना’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने र आम जनताको कर्जामा पहुँच पुर्‍याउने उद्देश्यका साथ कोष र यूएनडीपीले नौवटा स्थानीय तहहरूसँगको साझेदारीमा एक नमुना परियोजना अघि बढाएका छन् ।  यसै परियोजना अन्तर्गत तयार पारिएको ‘एकल (ऋणीगत) कर्जा सुरक्षण’ स्किमको मस्यौदामाथि वाणिज्य बैंकहरूको राय र सुझाव संकलन गर्न यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनएमबी बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सहभागी बैंकका प्रतिनिधिहरूले प्रस्तावित स्किमको मस्यौदामाथि व्यावहारिक र प्राविधिक सुझावहरू प्रस्तुत गरेका थिए । यो योजना कार्यान्वयनका लागि छुट्टै कोष खडा गरिने र छानिएका नौ स्थानीय तहहरूमा तोकिएका कृषि क्षेत्रमा लगानी गरिने लक्ष्य राखिएको जनाइएको छ । कार्यक्रमको समापनमा कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले बैंकहरूबाट प्राप्त सुझावहरूलाई थप छलफल गरी ग्रहणयोग्य सुझावहरूलाई समावेश गर्दै स्किमलाई अन्तिम रूप दिइने प्रतिबद्धता व्यक्त गरे । कोषले यस सहकार्य मार्फत कृषि क्षेत्रमा वित्तीय जोखिम न्यूनीकरण गरी बैंकिङ क्षेत्रलाई कृषि कर्जामा थप उत्साहित बनाउने विश्वास लिएको छ ।

निष्पक्ष निर्वाचनको वातावरण नबनेको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष र विश्वासिलो निर्वाचनको वातावरण तयार गर्न नसकेको आरोप लगाएका छन् । झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको बासँग विद्यार्थी कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो समय लोकतान्त्रिक प्रक्रियामाथि नै प्रहार भएको टिप्पणी गरेका हुन्। सार्वभौम संसदलाई बलपूर्वक विघटन गरिएको घटनाले मुलुकलाई अस्थिरता र संकटतर्फ धकेलेको उनको भनाइ रहेको छ । अध्यक्ष ओलीले देश वर्तमानमा राजनीतिक अन्योलबाट गुज्रिइरहेको उल्लेख गर्दै त्यसबाट निकास दिन आफ्नो पार्टी चुनावी मैदानमा होमिएको बताए । ‘एमाले चुनावबाट भाग्ने पार्टी होइन, जनताको मतबाटै समाधान खोज्ने पार्टी हो,’ उनले भने । आगामी निर्वाचनबाट एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै उनले त्यसपछि देशमा देखिएका आर्थिक, राजनीतिक र प्रशासनिक समस्याको समाधान निकालिने विश्वास व्यक्त गरे ।  उनले युवापुस्तालाई लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन सक्रिय भूमिका खेल्नसमेत आह्वान गरे ।