विकासन्युज

३०० किसानबाट ११ हजार क्विन्टल धान खरिद,  प्रतिक्विन्टल ३ हजार ६२८ रुपैयाँ

काठमाडौं । यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मधेस प्रदेश कार्यालय जनकपुरधामले विगत तीन महिना महोत्तरी र धनुषाका किसानबाट ११ हजार ६६५ क्विन्टल धान खरिद गरेको छ ।  कार्यालयका प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार  महोत्तरी र धनुषा जिल्लाका ३०० किसानबाट ४ करोड २३ लाख २४ हजार रुपैयाँको धान खरिद गरिएको हो । साथै कार्यालयको गोदाम भरिएपछि अहिले धान खरिद गर्न रोक्का गरिएको छ । प्रति क्विन्टल ३ हजार ६२८ रुपैयाँ ३३ पैसाका दरले धान खरिद गरिएको हो । गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरिएको थियो । यस वर्ष धान बिक्रीका लागि धनुषा र महोत्तरीका ठूलो सङ्ख्यामा किसानले धान बेचेको सो कार्यालयका सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिए । बजार मूल्यभन्दा यस कार्यालयबाट धान खरिद मूल्य अत्यधिक भएकाले धान बिक्री गर्ने किसान अत्यधिक रूपमा आएका थिए । कम्पनीले प्रति किसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको छ । स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट ५५ क्विन्टलसम्म धान खरिद गरिएको सहायक प्रबन्धक साहले बताए । धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामै पठाउने व्यवस्था गरेको छ । धान बिक्री गर्ने किसानमध्ये धनुषा लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसान बढी रहेको उनको भनाइ छ  । यस वर्ष कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर धान राख्ने ठाउँ कमीका कारण धान किन्न बन्द गरेको थियो । धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयको गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले जानकारी दिइन् । 

उत्तरगङ्गा नदीमा साढे ९ लाखमा मौलिकतासहितको साँघु निर्माण

काठमाडौं । ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न सहज होस् भन्दै नगरपालिकाले साँघु निर्माण गरेको हो । हरेक वर्षाको समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत ठाउँमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । चालु आर्थिक वर्षमा विनियोजन गरेको ९ लाख ५० हजार रुपैयाँको लागतमा मौलिकतासहितको साँघु निर्माण गरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। साँघुको सतहमा सिमेन्टको ढलानसहित काठ र ढुङ्गाको छानो हालेर निर्माण गरिएको छ ।  उनले भने, ‘पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ, तर उत्तरगङ्गामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या समाधान भएको छ, यसले स्थानीय र पर्यटकलाई सहज बनाउनेछ ।’ ढोरबहार मन्दिरदेखि स्यालपाखे जोड्ने गरी उक्त साँघु निर्माण भएको छ । पुल नहुँदा हरेक वर्षान्तमा उत्तरगङ्गाको बाढीले मानवीय क्षति हुने गरेको थियो । साँघु नबन्दा ढोरबहार मन्दिरदेखि स्यालपाखे, पाखाथर, छेन्तुङ, ढोरपाटन सिकार आरक्ष, बुकी पाटन र जलजला जाने पर्यटकले घस्टौँ लगाएर नवी र मोराङ दोगाडी घाटमा रहेको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता थियो ।

निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन फागुन २१ गते विभिन्न सवारी साधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।  आयोगले सवारी साधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवा मैत्री बनाउन सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरूप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारी साधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सिफारिस गरिएको उल्लेख गरिएको छ । आयोगले दमकल, एम्बुलेन्स, शव वाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनलाई कुनै प्रकारको पास आवश्यक पर्ने छैन । दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) पास आवश्यक नपर्ने आयोगले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारी साधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) लाई पनि कुनै पास जरुरी नपर्ने स्पष्ट पारिएको छ । त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, कीरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारी साधनले पनि निर्वाध सञ्चालन हुन सक्नेछन् ।  नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्र वाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारी साधन (परिचयपत्रमा उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमन र पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुन सक्नेछन् । यस्तै, निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना भई जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरबाट जारी हुनुपर्ने सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको स्पष्ट पारिएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव​​​​​​​, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल तथा अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लागेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ । तराई भागका केही स्थानमा तुवाँलो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ भने देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम सफा रहनेछ ।  तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थान तथा  अन्य प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी आज राति तराई भू-भागका केही स्थानमा तुवाँलो रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागसहित अन्य हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम सफा रहनेछ ।  कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात र वर्षा हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानी पूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ । 

विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए । ‘सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ’ उनले भने । यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

लागुऔषधसहित विभिन्न स्थानबाट एघार जना पक्राउ

काठमाडौं । हिजो शुक्रबार र शनिबार देशका विभिन्न भागमा गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गरेको छ ।      केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, चितवन, कञ्चनपुर, सिरहा, मकवानपुर, डडेलधुरा र कैलालीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।      अभियुक्तहरुबाट चिकित्सकको सिफारिसमा मात्र पाइने विभिन्न किसिमका औषधि र लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।      यसैबीच, गस्तीमा रहेको प्रहरीले गोरखा, ताप्लेजुङ र कपिलवस्तुमा तीन जनाको शव फेला परिएको जनाइएको छ ।   

शीर्ष नेताकै सम्पत्ति छानबिन गरेर सुशासन सुरु गर्छौँ : विश्वप्रकाश शर्मा

गुल्मी । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु गर्ने बताएका छन् ।  नेपाली कांग्रेस छत्रकोटले शनिबार गुल्मी क्षेत्र नं १ को चोयगामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले उनले सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरेर सुधारको थालनी गरिने बताए ।  'भ्रष्टाचारको आरोप लागेमा जोसुकै नेता भए पनि पार्टी सदस्यताबाट हटाएर कानुनी प्रक्रियालाई सघाउँछौँ, मुद्दा लागेपछि राजनीतिक संरक्षण होइन, कानुनलाई सहयोग गर्ने संस्कार बसाल्छौँ', शर्माले भने । उनले कर्मचारी प्रशासनको मनोबल खस्किएको उल्लेख गर्दै इमानदार कर्मचारीलाई काम गर्ने वातावरण बनाइने प्रतिबद्धता जनाए । 'नागरिकले सबै कागजात लिएर कार्यालय पुग्दा पनि काम नहुने अवस्थाको अन्त्य गर्छौँ', उनले भने । शर्माले कांग्रेस भरपर्दो र पुरानो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै २०६४ सालको जस्तो आवेगमा विवेक गुमाउने गल्ती नदोहोर्‍याउन मतदातालाई आग्रह गरे । 'सिँगो टिम, विज्ञ र योग्य व्यक्तिहरूलाई समेटेर देश हाक्ने क्षमता कांग्रेससँग छ', उनले भने । जेनजी युवाहरुले खोजेको परिवर्तनलाई संस्थागत गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने उनको तर्क थियो ।  विदेशमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्नका लागि विशेष पहल गरिने तथा गैरआवासीय नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न पहल गरिने शर्माको भनाइ थियो । विकास निर्माणमा ढिलासुस्ती अन्त्य गर्न तीन सिफ्टमा काम गर्ने कार्यशैली अपनाइने बताउँदै शर्माले श्रमिक, ठेकेदार र इञ्जिनियरबीच समन्वय गरी समयमै आयोजना सम्पन्न गरिने दाबी गरे ।  कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार चन्द्रकान्त भण्डारीले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताए । उनले आफ्नो क्षेत्रका अधुरा विकासका योजना पूरा गर्ने र युवालाई रोजगारीका अवसर सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

निर्वाचन आचारसंहिता उल्लङ्घन : आठ जनालाई कारबाही

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही र ९४ जनालाई स्पष्टीकरण सोधेको छ ।     राजनीतिक दल तथा उम्मेदवारबाट ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भएको तथा छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए ।      आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई पनि स्पष्टीकरण सोधेको छ । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण सोधिएको छ ।      देशभरबाट हालसम्म एक हजार ७६ वटा उजुरी प्राप्त भएकामा एक हजार ६१ वटा किनारा लगाइएको आयोगले जनाएको छ । सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशबाट प्राप्त भएका छन् ।