विकासन्युज

गोरखा-२ मा कबिन्द्र बुर्लाकोटी अग्र स्थानमा, चक्रे मिलन ४ मतसहित चौथोमा

काठमाडौं । गोरखा २ मा प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कबिन्द्र बुर्लाकोटीले ७३ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले १३ मत ल्याएका छन् भने नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले १० मत ल्याएका छन् ।  यस्तै, नेकपा एमाले चक्रे मिलन गुरुङले ४ मत मात्र प्राप्त गरेका छन् ।

पूर्वअर्थमन्त्री: रेड जोनमा पौडेल र महत, मतान्तर बढाउँदै वर्षमान र जनार्दन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री संघीय संसदमा पुग्न प्रतिस्पर्धामा रहेका छन् । प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पूर्वअर्थमन्त्रीहरूमा विष्णुप्रसाद पौडेल, वर्षमान पुन, जनार्दन शर्मा, ज्ञानेन्द्रबहादुर कार्की र प्रकाशशरण महत रहेका छन् । त्यस्तै, पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जबरा पनि प्रत्यक्ष निर्वाचनबाट उम्मेदवार बनेका छन् । उनीहरू उम्मेदवार रहेका विभिन्न क्षेत्रमा मतगणना जारी छ । रुपन्देही-२ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल १८ हजार ५३९ मतसहित फराकिलो अग्रतामा रहेका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार ९९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले २ हजार ४५० मत पाएका छन् । नेकपाका सुभाष पाण्डे (विश्वदीप)ले ४९८ मत र श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४४३ मत प्राप्त गरेका छन् । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा १ हजार १७२ मतसहित अग्रस्थानमा छन् । नेपाल कम्युनिस्ट पार्टीका गोपाल शर्माले ८६४ मत र नेपाली कांग्रेसका राजु केसीले ५१३ मत प्राप्त गरेका छन् । रोल्पाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वर्षमान पुन १ हजार ४२१ मतसहित अग्रतामा छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का चुडामणी वलीले ५५७ मत, नेकपा एमालेका गोकुल प्रसाद घर्तीले २११ मत, नेपाली कांग्रेसका सुदन कुमार वलीले १५६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ७७ मत र मंगोल नेशनल अर्गनाइजेशनका कुमार घर्ती मगरले ४१ मत प्राप्त गरेका छन् । नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिना ५७९ मतसहित अग्रस्थानमा छन् । नेकपा (एमाले) का बद्री मैनालीले ५१५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रकाश शरण महतले ३७९ मत पाएका छन् । नेपाल कम्युनिस्ट पार्टीका हितबहादुर तामाङले ३३८ मत प्राप्त गरेका छन् । यता पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी-४ मा भने मतगणना सुरु हुन बाँकी रहेको जनाइएको छ । यसैबीच ललितपुर-१ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ५ हजार ४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ३ हजार २४३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । यस्तै, नेकपा एमालेका चेतनाथ सञ्जेलले २ हजार ९२२ मत, उज्यालो नेपाल पार्टीका पदम कुमार लामाले ७९२ मत ल्याएका छन् ।

सिन्धुली-२ मा रास्वपाका आशिष गजुरेल अगाडि

काठमाडौं ।  सिन्धुली-२ मा रास्वपाका उम्मेदवार आशिष गजुरेलले अग्रता कायम गरेका छन् । उनले १ हजार ६९७ मत प्राप्त गर्दै अगाडि लागेका छन् ।  नेपाली कांग्रेसकी उम्मेदवार सुशिला थिङले ९२६, एमालेका उम्मेदवार मनोज जंग थापा ७४५ र नेकपाका लेखनाथ दाहालले ८७८ मत प्राप्त गरेका छन । सिन्धुली-२ मा हाल ४ हजार ६२० मत गणना भइसकेको छ ।

काठमाडौँ–१० मा रास्वपाका विष्ट  १० हजार मतले अगाडि

काठमाडौं  ।  निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मतगणनाअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १० राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले निकटम प्रतिद्वन्द्वीभन्दा अग्रता लिइरहेका छन् । पछिल्लो मतगणनाअनुसार विष्ट निकटम प्रतिद्वन्द्वीभन्दा १० हजार ३१३ मतले अगाडि छन् । हालसम्मको कुल सदर २६ हजार ७४३ मतमध्ये विष्टले १६ हजार ४३० मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका हिमाल कार्कीले चार हजार २१३ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका एमालेका विनोद श्रेष्ठले दुई हजार ६७  मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार   त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा भइरहेको मतगणनामा अहिले कीर्तिपुर नगरपालिका–७ को मतगणना भइरहेको छ । काठमाडौँ–१० मा हालसम्म एक हजार १२७ मत बदर भएको छ । काठमाडौँ–१० मा कुल ६० हजार १५१ खसेको थियो ।

कैलाली- ५: रास्वपा उम्मेदवार आनन्दबहादुर चन्द दोब्बर मतले अघि, प्रेम आले चौथोमा

काठमाडौं । कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द दोब्बरभन्दा बढी मतान्तरले अग्रस्थानमा छन् । चन्दले ३९४४ मत ल्याउँदा कांग्रेसका नरनारायण शाह १४७५ भोटसहित दोस्रो स्थानमा छन् ।  एमालेका यज्ञराज ढुङ्गानाले ८४६ मत पाउँदा प्रेम आले ७८७ भोटका साथ चौथो स्थानमा छन् । 

समानुपातिकतर्फ प्रारम्भिक मत परिणाम : रास्वपा अगाडि, कांग्रेस दोस्रो, एमाले चौथो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना जारी रहँदा समानुपातिक प्रणालीतर्फ भने नयाँ राजनीतिक शक्तिको प्रभाव देखिन थालेको छ । पछिल्लो प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिँदै पुराना दलहरूलाई पछि पारिरहेको छ ।  निर्वाचन आयोग नेपालका अनुसार अहिलेसम्मको पछिल्लो मतगणनाको विवरणमा रास्वपाले १ हजार ९५ मत प्राप्त गर्दै अग्रता कायमै बनाएको छ । प्रारम्भिक चरणमै रास्वपाले देखाएको यो मत परिणामले सहरी तथा सचेत मतदातामाझ ‘घण्टी’ चुनाव चिन्हप्रति आकर्षण बढेको संकेत दिएको छ ।  समानुपातिकको दौडमा नेपाली कांग्रेस ३७३ मतका साथ दोस्रो स्थानमा देखिएको छ । तर, रास्वपासँग कांग्रेसको मतान्तर ७२२ पुगेको छ, जसले प्रारम्भिक नतिजामै नयाँ दलको प्रभाव देखिएको विश्लेषण भइरहेको छ । त्यस्तै, समानुपातिकमा परम्परागत रूपमा बलियो मानिने नेपाल कम्युनिस्ट पार्टी (एमाले) भने सुरुआती गणनामै चौथो स्थानमा देखिएको छ। एमालेलाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो स्थानमा उक्लिएको छ । राप्रपाले १४७ मत पाउँदा एमालेले १०८ मत मात्र प्राप्त गरेको छ ।

काभ्रे २ मा रास्वपाका बदनले एमालेका उम्मेदवारलाई धेरै पछि पारे

काठमाडौं । काभ्रे २ मा रास्वपाका उम्मेदवार बदन भण्डारीले आफ्नो अग्रता कायमै राखेका छन् ।  उनले ८ हजार ५५१ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका मधु आचार्यले २ हजार १६२, नेकपा एमालेका अशोक ब्यन्जुले ३ हजार ६१८ र तारा चिन्हका उम्मेदवार बसुन्धारा हुमागाईंले ७२५ मत प्राप्त गरेकी छन्।

ताप्लेजुङमा कांग्रेसका उम्मेदवार तुम्याहाङ अगाडि, थेवे तेस्रो स्थानमा

काठमाडौं । ताप्लेजुङमा अहिले नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र तुम्याहाङले अग्रता लिएका छन् । पछिल्लो विवरण अनुसार तुम्याहाङले ५ सय ८० मत प्राप्त गर्दै आफ्नो प्रतिस्पर्धीलाई पछाडि पारेका हुन् ।  उनलाई तारा चिन्ह भएका नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्रीले ४ सय ४२ मतका साथ पछ्याइरहेका छन् । यसैगरी, सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका नेकपा एमालेका थेबेले हालसम्म २ सय ९३ मत प्राप्त गरेका छन् भने घण्टी चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वीरेन्द्र श्रेष्ठ ९७ मतका साथ चौथो स्थानमा रहेका छन् ।