विकासन्युज

धादिङ १ मा आशिका तामाङ विजयी, त्रिपाठी र पाण्डे पराजित

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशिका तामाङ विजयी भएकी छिन् । तामाङले ३९ हजार १२८ पाइन् । उनका नजिकका प्रतिस्पर्धी एमालेका भूमि त्रिपाठी १५ हजार ३१ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डेले १४ हजार ७०९ मत पाएका छन् । कांग्रेस कृष्ण रिजालको मत १० हजार ८० मत रहेको छ । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा राजेन्द्र पाण्डे विजयी भएका थिए ।

बिना मगरलाई पछि पार्दै कञ्चनपुर-१ मा रास्वपाका धामी निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन् ।  निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार धामीले १३ हजार २२२ मतले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बिना मगरलाई पछि पार्दै विजयी भएका हुन् । उनले ११ हजार ११० मत प्राप्त गरे ।  यस्तै नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले ८ हजार ४६७ मत प्राप्त गरे । यस्तै, नेकपा (एमाले) का तारालामा तामाङले ८ हजार ८८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिल्लीबहादुर शाहीले १ हजार ५६० मत प्राप्त गरे। यो क्षेत्रमा कुल १ लाख १ हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको थियो । 

गच्छदारलाई पराजित गर्दै रास्वपाका अशोक चौधरी विजयी

काठमाडौं । सुनसरी-३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरीले विजयी भएका छन् । चौधरीले ४७ हजार ४२१ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गच्छदारले २० हजार ५०१ मत पाए । यस्तै, नेकपा एमालेकी भगवती चौधरीले १५ हजार ८३ मत प्राप्त गरिन् ।

हुम्लामा कांग्रेसका जयपति रोकाया विजयी

काठमाडौं । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया ८ हजार ७९६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा. दिपेन्द्र रोकायाले ७ हजार २४३ मत प्राप्त गरे । यस्तै नेकपा (एमाले)का दल फडेराले ४ हजार ३३१, रास्वपाका टासी ल्हाजोमले १ हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गरे । हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो ।

मनाङको थप पर्यटन र पूर्वाधार विकासमा मेरो प्राथमिकता रहन्छ : नवनिर्वाचित सांसद गुरुङ

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ मनाङको समग्र उन्नयनमा आफूले पहिलो प्राथमिकता दिने बताएका छन् । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि उनले आफूलाई अमूल्य मतदान गरि विजयी गराउने सबै मतदातालाई विशेष धन्यवाद समेत दिए ।  प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार गुरुङ २ हजार ४१५ मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले नौ मत पाए । कूल ७ हजार मतदातामध्ये २ हजार ९२३ मत खसेको र ४५ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिए । जिल्ला कूल मतदाता ७ हजार रहेका छन् । अस्थायीसहित २९ मतदान केन्द्रमार्फत मतदाताले मतदान गरेका थिए । जिल्लाको विकासमा सक्रिय रहँदै उनी पर्यटन र पूर्वाधार विकाससँगै राजनितिक प्रतिनिधित्व गर्छन् ।  विसं २०११ मङ्सिर ११ गते मनाङ ङिस्याङ गाउँपालिका-८ टङ्की मनाङमा उनको जन्म भएको थियो  । ७१ वर्षीय नेता गुरुङ पार्टीका पाका नेताको रुपमा परिचित छन् । मनाङको पूर्वाधार, पर्यटन, उर्जा क्षेत्रमा विकासमा उनको विशेष योगदान रहेको छ । विसं २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा पनि गुरुङ निर्वाचित भएका उनी विसं २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङसँग २८९ मतले पराजित भएका थिए । त्यसपछि उनी पुनः विसं २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।  नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा विसं २०७० फागुन १३ गतेदेखि विसं २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्रीसमेत बनेका थिए । विसं २०३६ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका उनी कांग्रेस मनाङको पूर्व जिल्ला सभापति पनि हुन् ।

शरतसिंह भण्डारीलाई हराउँदै महोत्तरी-२ मा रास्वपाका साह निर्वाचित

काठमाडौं । गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतगणना सम्पन्न हुँदा महोत्तरी क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार साह निर्वाचित भएका छन् ।  रास्वपाका साह ३२ हजार ७३२ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले १० हजार १९८ र नेपाली कांग्रेसका किरण यादवले ९ हजार ७४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  सो क्षेत्रमा विभिन्न दलका र स्वतन्त्र समेत गरी ३७ उम्मेदवार चुनावी मैदानमा थिए ।

पूर्वउपसभामुखसँग पूर्वसभामुख घिमिरे पराजित, कसले कति मत ल्याए ?

काठमाडौं । पूर्वउपसभामुखले पूर्वसभामुखलाई पराजित गरेकी छिन् । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वसभामुख तथा नेकपा (एमाले)का उम्मेदवार देवराज घिमिरेलाई पराजित गर्दै पूर्वउपसभामुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार इन्दिरा राना मगर विजयी भएकी हुन् ।  निर्वाचन परिणामअनुसार मगरले ५२ हजार ३०६ मत प्राप्त गरी विजय हासिल गरिन् भने घिमिरेले ९ हजार ८०५ मत प्राप्त गरे । यसैगरी श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ६ हजार ३४७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी सरिता प्रसाईले ४ हजार ९७६ मत प्राप्त गरिन् ।

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा धनकुटाबाट नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी भएका छन् । उनले १८ हजार १३२ मत प्राप्त गरे । विजयी राईका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाए । यस्तै श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत तथा रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४ मत प्राप्त गरे । विजयी राईलाई निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले प्रमाणपत्र प्रदान गरे । जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । निर्वाचनमा ३ स्वत्रन्त्र र १४ दलसहित १७ उम्मेदवार चुनावी मैदानमा थिए ।