सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ४७५ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४४५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ललितपुर–२ मा रास्वपाका खरेल विजयी, पाए ३९ हजार ९४१ मत
पाटन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका छन् । ललितपुर क्षेत्र नं २ को निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरेका छन् । त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गरेका छन् । कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए । यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए ।
सर्लाही–३ मा रास्वपाका नरेन्द्र साह विजयी, नारायणकाजी श्रेष्ठ पराजित
काठमाडौं । सर्लाही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह निर्वाचित भएका छन् । साहले ४६ हजार ८ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नारायणकाजी श्रेष्ठले १३ हजार ३ सय ३८ मत ल्याएर दोस्रो भए । तेस्रोमा नेपाली कांग्रेसका बिनोद खनालले ६ हजार ६ सय २४ मत ल्याएका छन् ।
संसदीय यात्रामा पाँच पूर्वप्रहरी, सबै रास्वपाबाट निर्वाचित
काठमाडौं । पूर्वप्रहरीहरूले संसदीय यात्राको सुनिश्चिता गरेका छन् । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा केही पूर्वप्रहरीहहरू निर्वाचित भएका हुन् । पूर्व प्रहरीहरू विभिन्न जिल्लाका फरक–फरक क्षेत्रमा निर्वाचनमा होम्मिएका थिए । अधिकांश प्रहरीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर विजय हासिल गरेका छन् । कानुन कार्यान्वय गरेकाहरू पुनः नीति बनाउने ठाउँमा पुगेका छन् । जागिरे जीवनमा रहँदा प्रहरीहरूले कानुनको पालना गरेर सेवा प्रवाह गरेका थिए । अब भने कानुन बनाउने ठाउँमा पूर्वप्रहरी अधिकारीहरू पुगेका छन् । ओखलढुंगाबाट रास्वपाबा उम्मेदवार पूर्व एआईजी विश्वराज पोख्रेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् । उनी ५ मतले निर्वाचित भएका हुन् । झापा–४ बाट विजयी बन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकालले संसद भवनतर्फ पाइला अगाडि बढाएका छन् । ढकालले ४३ हजार ६ सय ३१ मत पाएर निर्वाचित भएका हुन् । ढकाल २२ वर्ष नेपाल प्रहरीमा कार्यरत रहे । उनी सईको जिम्मेवारीबाट अवकाश भएका हुन् । नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापाले कपिलवस्तु–२ बाट उनी २७ हजार ६३५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरे। त्यस्तै, गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् । उनी डिएसपीबाट अवकाश भएका थिए । अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । यस्तै, काठमाडौं महानगरका प्रमुख रहेर काम गरिसकेका राजुनाथ पाण्डे पनि सांसद बनेका छन् । उनी काठमाडौं प्रहरीको प्रमुखबाट राजीनामा दिएर काठमाडौं–३ मा चुनावी मैदानमा उत्रएका थिए । उनले उज्यालो नेपाल पार्टीका कुलमान घिसिङलाई पराजित गरेका हुन् । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी घिसिङले ११ हजार १७१ मत ल्याएका हुन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन् ।
मध्यपूर्व द्वन्द्वले तेल बजारमा हलचल, भारतको अर्थतन्त्र जोखिममा !
काठमाडौं । इरान–इजरायलबीचको युद्ध रोकिने संकेत अहिले देखिएको छैन । यस युद्धमा अमेरिका पनि इजरायलको पक्षमा उभिएको छ । साथै यो युद्धको प्रभाव खाडी मुलुकहरूमा पनि फैलिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्ध लामो समयसम्म चल्न सक्ने बताएका छन् । त्यसकारण क्रूड आयल अर्थात् कच्चा तेलको मूल्यमा तीव्र वृद्धि हुन सक्ने अनुमान गरिएको छ । यसको प्रभाव भारतको अर्थतन्त्रमा पनि देखिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरान–इजरायल द्वन्द्वको आज नवौं दिन पुगेको छ । संघर्ष सुरु हुनुअघि कच्चा तेलको मूल्य करिब ६२ डलर प्रति ब्यारेल थियो । तर एक साताभित्रै क्रूड आयलको मूल्यमा तीव्र उछाल आएको छ । शुक्रबार तेलको मूल्य ९० डलर प्रति ब्यारेलभन्दा माथि पुगेको थियो । अमेरिकी कच्चा तेल वेस्ट टेक्सास इन्टरमेडियट (डब्ल्यूटीआई) को मूल्य ९०.९० डलरमा स्थिर भएको छ, जुन एक साताअघि भन्दा करिब ३६ प्रतिशत बढी हो । त्यस्तै, अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रूडको मूल्य पनि एक सातामा २७ प्रतिशतले बढेर ९२.६९ डलर प्रति ब्यारेल पुगेको छ । होर्मुज जलडमरूमध्य मुख्य मार्ग खाडी मुलुकहरूबाट आउने अधिकांश तेल स्ट्रेट अफ होर्मुज हुँदै विश्व बजारमा पुग्छ । यो मार्ग इरानको सीमाक्षेत्र नजिकै पर्छ । युद्धको अवस्था हेर्दै इरानले यस मार्गमा विभिन्न प्रतिबन्धहरू लगाएको बताइएको छ । विश्वव्यापी तेल ढुवानीको करिब २०–२५ प्रतिशत यही मार्गबाट हुने गर्छ । भारतले आयात गर्ने कच्चा तेलको करिब आधा भाग पनि यही बाटो हुँदै आउँछ । यहाँ तनाव बढ्दा आपूर्ति अवरुद्ध हुने जोखिम मात्र होइन, जहाज बीमा र ढुवानी खर्च पनि बढेको छ, जसलाई ‘वार प्रिमियम’ भनिन्छ । मध्यपूर्वमा बढ्दो तनावका कारण पर्शियन गल्फ हुँदै जाने जहाजहरूको बीमा प्रिमियममा तीव्र वृद्धि देखिएको छ । युद्ध जोखिम बढेकाले शिपिङ कम्पनी र कार्गो मालिकहरूको लागत निकै बढ्न सक्छ । हालको संघर्षका कारण पहिले लागू गरिएको ‘वार रिस्क प्रिमियम’ पर्याप्त मानिएको छैन । भविष्यमा बीमा कभरेज उपलब्ध हुन सक्छ, तर त्यसका लागि जहाज मालिक र कार्गो कम्पनीहरूले धेरै महँगो प्रिमियम तिर्नुपर्ने अवस्था आउन सक्छ । यो कुरा पोलिसीबजार फर बिजनेसका मरीन इन्स्योरेन्स प्रमुख बालासुन्दरम आरले बताएका हुन् । भारतमा कस्तो प्रभाव पर्न सक्छ ? भारतले आफ्नो आवश्यकताको करिब ५० प्रतिशत कच्चा तेल मध्यपूर्वबाट आयात गर्छ । भारतीय रिफाइनरीहरू मुख्य रूपमा मध्यपूर्वी कच्चा तेल प्रशोधन गर्न मिल्ने गरी डिजाइन गरिएका छन् । भारतसँग करिब २५–३० दिनका लागि मात्र रणनीतिक पेट्रोलियम भण्डार छ, जुन आपतकालीन अवस्थाका लागि राखिएको हो । हालै कच्चा तेलको मूल्य प्रति ब्यारेल १०–१५ डलरसम्म बढेको देखिएको छ । यसको प्रभाव आगामी दिनमा भारतको आर्थिक वृद्धिदरमा देखिन सक्छ । विश्व बजारमा कच्चा तेलको मूल्य प्रत्येक १० डलरले बढ्दा भारतको जीडीपी वृद्धिदर करिब ०.५ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा देशमा महँगी बढ्ने सम्भावना पनि रहन्छ । तेलको मूल्य १५० डलरसम्म पुग्न सक्छ ? हालै अगेन क्यापिटलका पार्टनर जोन किलडुफले तेलको मूल्य १०० डलर प्रति ब्यारेलसम्म पुग्न सक्ने बताएका थिए । त्यस्तै, फाइनान्सियल टाइम्सलाई दिएको अन्तर्वार्तामा कतारका ऊर्जामन्त्रीले खाडी क्षेत्रका ऊर्जा उत्पादकहरूले केही हप्ताभित्रै निर्यात रोक्न सक्ने सम्भावना रहेको बताएका छन् । यदि यस्तो भयो भने तेलको मूल्य १५० डलर प्रति ब्यारेलसम्म पुग्न सक्छ । यस्तो अवस्थामा भारतमा महँगी अत्यधिक बढ्न सक्छ र अर्थतन्त्रमा गम्भीर असर पर्न सक्छ । मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरी विजयी
काठमाडौं । सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी विजयी भएका छन् । उनी ३२ हजार ८७५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव १५ हजार २३९ मत ल्याएर दोस्रो भए । नेपाली कांग्रेसका दिनेशकुमार गुप्ताले ८ हजार ४२४ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत प्राप्त गरेका छन् ।
रास्वपाले हालसम्म १०४ सिट जित्यो, समानुपातिकमा पनि ५० प्रतिशतभन्दा बढी मत
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पछिल्लो मतपरिणामले देशको राजनीतिक परिदृश्यमा आमूल परिवर्तनको संकेत गरेको छ । हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गर्दै दुई तिहाई बहुमत नजिक पुगेको छ । परम्परागत शक्ति मानिने दलहरू निकै पछि परेका छन् भने ‘घण्टी’ को लहरले देशभरका चुनावी नतिजालाई आफ्नो पक्षमा पारेको छ । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ सिटको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमा रास्वपा एक्लैले १०४ सिट जितेर इतिहास रचेको छ । बाँकी ३१ सिटको मतगणना जारी रहँदा पनि रास्वपाले नै अग्रता कायम राखेको छ । हालसम्मको नतिजाअनुसार रास्वपाले १०४ सिटमा विजयी भएको छ भने २० सिटमा अग्रता छ । यस्तै, नेपाली कांग्रेसले १५ सिटमा विजयी भएको छ । यस्तै, २ सिटमा अग्रता लिइरहेको छ । नेकपा एमालेले ७ सिट विजयी भएको छ भने ४ सिटमा अग्रता लिइरहेको छ । नेकपा ६ सिटमा विजयी भएको छ । २ सिटमा अग्रता लिइरहेको छ । राप्रपा १ सिटमा विजयी भएको छ । यस्तै, श्रम संस्कृति पार्टी १ सिटमा विजयी भएको छ भने २ सिटमा अग्रता लिइरहेको छ । स्वतन्त्रमा १ सिट विजयी भएको छ । प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीमा पनि रास्वपाले अप्रत्याशित जनमत प्राप्त गरेको छ । कुल २६ लाख ३० हजार मतगणना हुँदा रास्वपाले १३ लाख २१ हजारभन्दा बढी मत पाएको छ । यो कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी हो । यही अनुपात कायम रहेमा समानुपातिकतर्फका ११० सिटमध्ये रास्वपाले ५५ देखि ६० सिटसम्म प्राप्त गर्ने देखिन्छ । यसले गर्दा सदनमा रास्वपाको उपस्थिति अत्यन्तै शक्तिशाली हुने निश्चित भएको छ । प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये दुई तिहाई बहुमतका लागि १८४ सिट आवश्यक पर्दछ । हालको ट्रेन्डअनुसार रास्वपाले प्रत्यक्षतर्फ करिब १२४ सिट र समानुपातिकतर्फ ६० सिटसम्म जित्ने सम्भावना छ । यसरी हेर्दा रास्वपा १८४ सिटको दुई आँकडा पार गर्दै दुई तिहाई बहुमतको सरकार बनाउने दिशामा दृढताका साथ अघि बढेको देखिन्छ ।
कैलाली–४ मा रास्वपाका कोइराला विजयी, पाए २८ हजार ५५६ मत
कैलाली । कैलाली ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । गतबिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले बताए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का लेखराज भट्टले नौ हजार ४४४, नेपाली कम्युनिष्ट पार्टीका हरिराम चौधरीले पाँच हजार ६०९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले एक हजार ३५८ मत प्राप्त गरे । एक लाख १५ हजार १४३ मतदाता रहेको कैलाली–४ मा प्रत्यक्षतर्फ ६१ हजार ९४१ मत खसेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए । त्यसमा सदर मत ५८ हजार २८३ र बदर मत तीन हजार ६५८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।